हाइलाइट

नेफ्स्कूनमा नेतृत्व परिवर्तन आवश्यक छ ? अवको नेतृत्व कस्तो ?

नेफ्स्कूनमा नेतृत्व परिवर्तन आवश्यक छ ? अवको नेतृत्व कस्तो ? :: Sahakari Akhabar

बचत तथा ऋण सहकारी संघसंस्थाहरुको माउ निकायका रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ३२ औं बार्षिक साधारण सभाको संघारमा छ । संघले ३२ वर्ष पार गर्दैगर्दा देशमा १४ हजारको हाराहारीमा बचत ऋण सहकारी स्थापना भएका देखिन्छन् । संघमा भने ५ हजार हाराहारी सहकारी संघसंस्था मात्र आवद्ध भएका छन । पछिल्लो समय मुलुक संघिय संरचनामा गएपछि सहकारीका लेयर पनि थपिंदै गएको छ ।

पछिल्लो केही वर्षमा बचत ऋण सहकारीको साख खस्कँदै गएको छ भन्नुमा अत्तिसयुक्त नहोला । भनौं बचत ऋण सहकारीलाई सुशासनयुक्त र अझै ब्यवस्थित बनाउनु जरुरी छ । त्यसैगरी सबै संघसंस्थालाई समेटेर अघि बढ्नुपर्ने चुनौती नयाँ नेतृत्वलाई छंदैछ । त्यसैगरी पछिल्लो नेतृत्व र संघको काम कारवाही प्रति सरोकारवालाहरुको असंतुष्टिलाई पनि सम्बोधन गर्नुपर्ने जिम्मेवारी नयाँ नेतृत्वको छ । संघ सुसाशनमा चल्न नसक्नु, नेतृत्व परिवर्तनका आवाज उठ्नु अनि आगामी नेतृत्वका चुनौतीलगायत यी र यस्तै विषयमा सहकारी अखबारले नेफ्स्कूनका पूर्व अध्यक्षहरुसंग गरेको कुराकानीको सम्पादित भागः 

सहकारी मन्दिर हो, जुत्ता फुकालेर जाँउ

कैलाशभक्त प्रधानाङ्ग

सवै सहकारीले खराव काम गरेका छैनन् । राम्रो काम गर्ने सहकारी धेरै छन् । तर अहिले समाजमा सहकारी बदनाम छ । केही ठूला सहकारीले बदमासी गरेका कारण सहकारी क्षेत्र नै बदनाम भएको हो । सहकारी बदनाम हुनबाट रोक्ने कामको जिम्मा सवैभन्दा पहिला नेफ्स्कूनले लिनुपर्ने हो । त्यसो हुन सकेन ।

त्यसैले आगामी निर्वाचनबाट त्यो भावनालाई समेट्न सक्ने ब्यक्तिको नेतृत्व आउनुपर्छ भन्ने मलाई लाग्छ । भरखरको घटना हो, माइतीघर मण्डलामा मिटर ब्याज पिडितहरुले धर्ना दिए । त्यो किन भने मिटर ब्याज पिडितहरुमाझ सहकारी नभएर, उनीहरुको सहकारीसंग कारोबार नभएर त साहुकोमा चर्को ब्याजमा फसेका हुन नी ।

उनीहरुसंग सहकारी थियो भने मिटर ब्याज पिडित हुनुपर्ने थिएन । खै त्यो समुहमा सहकारीले उपस्थिति देखाउन सकेको ? उनीहरुको लागि खै नेफ्कून बोलेको ? उनीहरुको पिडामा नेफ्स्कून बोल्नुपर्ने हो, बोलेन । सहकारी गरिबकोलागि हुनुपर्ने भएन । त्यस्तो विषयमा नेफ्स्कूनको उपस्थिति हुनुपथ्र्यो ।

ग्लोबल भिजनमा बचत सहकारीले काम गर्न सकेका छैनन् । यस विषयमा नेफ्स्कूनको भूमिका कमजोर भयो । सहकारी पिडित महासंघ गठन हुनु अभियानकालागि दुर्भाग्य हो । अहिले सहकारीका केन्द्रीय संगठन राजनीतिक पार्टीका भातृ संगठन जस्तो हुन गयो ।

सहकारी नेताले पनि अभियानलाई नहेरी पार्टीलाई मात्र हेर्ने भयो, पार्टीको स्वार्थकालागि अभियानलाई लाने भयो, त्यसैले सहकारीमा पार्टीको मान्छेको हस्तक्षेपले गर्दा नराम्रो भएको हो । घनश्याम खतिवडाले त भनेका थिए, सहकारीमा पार्टीको आदेश मान्नु पर्दैन, उनी आफू पनि पार्टीले पठाएर आएका थिएनन् आफै आएका थिए ।

उनले भनेका पनि छन् ‘चर्पीमा जुत्ता लगाएर जानुपर्छ, मन्दिरमा जुत्ता फुकालेर जानुपर्छ, सहकारी मन्दिर हो जुत्ता फुकालेर जाउँ ।’ सहकारी पार्टीको छाँयामा परेको छ । हाम्रो पालामा केन्द्रीय सहकारी संघको अध्यक्ष भनेर परिचय हुन्थ्यो । अहिले सहकारीको मान्छेलाई यो पार्टीको मान्छे भनेर परिचय हुन्छ् । अहिले यस्तो अवस्था छ ।

म कुनै पार्टीको कार्यकर्ता हैन, सहकारी अभियानकर्ता हुँ । भन्नेले विभिन्न आक्षेप लगाउछन तर म मात्र सहकारी अभियन्ता हुँ । सहकारी भनेकै गरिबको उत्थानकोलागि हो, अभियानकर्मीले त्यही गरिबको पैसा खाएर भाग्न पाउँछ ? त्यसमा नियामक चुप लागेर बस्न पाउँदैन ।

पार्टीले पनि जिम्मेवारी लिनु पर्छ, आफ्नो कार्यकर्ताले पैसा खाएर भागेका छन् त्यस्तालाई कारवाही गर्नुपर्दैन ? नेफ्कूनको निर्वाचनको विषयमा गत वर्षको साधारण सभाले आगामी मंसिर १ गने निर्वाचन गर्ने भनेर पारित गरेको थियो । अहिले संचालक समितिले पौष ७ र ८ गतेलाई सारेको छ ।

साधारण सभाले गरेको निर्वाचनको मिति सार्न संचालक समितिलाई अधिकार कसले दियो ? यो त साधारण सभाको अपहेलना भयो । यो सवै निर्वाचनकालागि पार्टीको मुख ताक्नु पर्यो पार्टीको निर्देशन पर्खनुपर्यो, पार्टीले पनि सहकारीमा ठूलो मास देखेको छ, पैसा धेरै देखेकोछ ।

त्यसैले आफ्नो पकडमा ल्याउन चाहन्छ त्यसले सहकारीमा राजनीतिक दलको हस्तक्षेप भयो अनि सहकारी जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न सकेन । अहिले अव नेफ्स्कूनका बरिष्ठ उपाध्यक्षले राजनीतिक जुत्ता बाहिरै राखेर आउने सल्लाह गरेका छन्, त्यो राम्रो हो ।

नेफ्स्कून वित्तिय कारोबार गर्ने संस्था भएकोले अनुशासन एकदमै जरुरी छ, सहकारी र बचतको शिद्धान्तलाई आत्मसाथ गर्ने, निश्पक्षरुपमा कार्यान्वयन गर्ने र सहकारीमार्फत गरिबी निवारणमा योगदान गर्नसक्ने नेतृत्व आउनुपर्छ । पार्टीको आदेशमा उमेदवार हुने, पार्टीको आदेशमा भोट हाल्ने काम सहकारीमा गर्नुहुन्न ।

नेफ्स्कून आफू पनि सुशासनमा रहनु पर्छ

मिनराज कंडेल

नेफ्स्कून ४५ सालमा स्थापना भएको संस्था हो । जुन संस्था सहकारी ऐन  ०४८ आउनु भन्दा अगाडी स्थापना भएको संस्था हो । त्यस समय बचत समुहहरुलाई आवद्ध गराउँदै छाता संगठनको रुपमा काम गरिरहेको थियो ।

पछि २०५० सालमा मात्र केन्द्रीय संघको रुपमा दर्ता भएको हो । अव अहिले मूलुकमा भएका १४ हजार बचत तथा ऋण सहकारी संघ संस्थाको नेतृत्व गर्नुपर्ने हुन्छ । म २०५९ असारदेखि ६४ मंसिरसम्म उपाध्यक्ष भए, त्यसपछि ७० साल पुषसम्म अध्यक्ष रहेँ ।

म अध्यक्ष हुँदा ४२५ जती सहकारी संघसंस्था सदस्य थिए । पछि लगभग २२ सय भन्दा बढी सदस्य भएका थिए । सदस्यको पूँजीलाई ठिक ढंगबाट परिचालन गर्नुपर्छ, सहकारीका अन्तराष्ट्रिय मूल्य मान्यता र असल अभ्यासबाट अघि बढ्नुपर्छ भन्ने नै थियो र त्यही अनुसार बढेको पनि थियो । त्यसपछि निरन्तर नेतृत्व हस्तान्तरण हुँदैआएको अवस्था हो ।

पछिल्लो दिनमा कोभिडलगायतका परिस्थितिले गर्दा समग्र वित्तिय क्षेत्रमा असर गरेकै हो । तीनवर्षे कार्यकालमा रणनीति तथा कार्यतालिका बनाएर साकोस अभियानको लक्ष्य निर्धारण गरी अघि बढेका थियौं । अहिले पनि त्यो क्रम जारी छ । अहिले चारवर्षे कार्यकाल भएको छ । केही कारणले गर्दा पछिल्लो समय लक्ष्य अनुसार काम गर्न नसकेको चाँही पक्कै हो ।

महासंघले दुईपटक नेफ्स्कूनको सघन अनुगमन पनि गरेको छ । भएका कमी कमजोरीहरुलाई औंल्याएका र सुधार गर्नुपर्ने कुराहरुलाई पनि सुझाव दिएका छौं । केही इररहरु पनि छन् त्यसलाई सच्याउनुपर्ने छ । नेफ्स्कूनको पहिलो प्राथमिकता भनेको नीति नियमर कानुन निर्माण जस्ता कुरामा लविङ र एडभोकेसी गर्ने नै हो ।

राज्य र सरोकारवाहरु संग त्यही अनुसारको भूमिका खेल्नु पर्छ । सहकारीमा स्वनियम र सुशासन ल्याउन नेतृत्वदायी भूमिका खेल्नु पर्छ र नेफ्स्कून आफू पनि सुशासनमा रहनु पर्छ । त्यसकालागि डायनमिक नेतृत्व आवश्यक पर्छ । साथै संघमा सक्षम, सवल ब्यवस्थापन टिम भयो भने वर्तमान समस्या तथा चुनौतीको सामना गरेर संघ अघि बढ्न सक्छ ।

राज्यको साथ सहयोग लिएर संघले सदस्यलाई तालिम शिक्षा प्रविधि हस्तान्तरण गर्नुपर्छ । छुट्टै बचत तथा ऋण ऐनको माग त पहिलादेखि नै हामीले पनि गर्दै आएका हौं । सवै बचत तथा ऋण सहकारी संस्थाहरु केन्द्रीय संघमा आवद्ध हुने बाताबरण बनाउनु पर्छ । नयाँ संस्था दर्ता गर्दा केन्द्रीय संघको सिफारिस आवश्यक पर्ने नीति ल्याउन पहल गरौं ।

सहकारीको अनुगमनको पाटोमा केन्द्रीय संघले हेर्नुपर्छ र राज्यले नियमनलाई दरो बनाउनु पर्छ । सहकारी ब्यवस्थित गर्न केन्द्रीय संघ बढी जिम्मेवार हुनुपर्छ । यसरी जान सकियो भने सहकारीमा अहिलेको जस्तो समस्या आउँदैन । अलि अलि हाम्रा संस्थाहरु केही छाडा चाही भएकै हुन् ।

सिष्टमलाई फलो नगरेका कारण नयाँ बचत तथा ऋण सहकारी ऐन ल्याउने हो र ऐनमा ती कुरा समावेस गर्न सके अभियानलाई राम्रो हुन्छ हामीले भनेजस्तो ऐन ल्याउन सकेनौं भने फेरीपनि समस्या देखा पर्छ ।

अहिले वित्तिय चाप परेका संस्थालाई राज्यले सहयोग गर्ने र सुुझाव कार्यदलले दिएको सुझावलाई कायन्वयन गर्ने हो भने सहकारीका वर्तमान समस्या क्रमशः समाधान हुँदै जान्छन । सहकारी नियमनकालागि छुट्टै संयन्त्र आवश्यक छ ।

सहकारीमा राजनीति हावी भयो भन्ने कुरा छ, मलाई त्यस्तो लाग्दैन । सहकारीमा सवै अटाएको देखिएको छ । दलले पनि सहकारीमा हस्तक्षेप चाँही गर्न हुँदैन र सहकारीमा योगदान भएकाहरुको मुल्याङ्कन गरी नेतृत्वमा पठाउनु पर्छ भन्ने लाग्छ ।

अव नेफ्स्कूनमा सहकारीलाई स्वनियम र सुशासनमा चल्ने र चलाउनसक्ने नेतृत्व आउनु पर्छ भन्ने लाग्छ । मतदाताहरुले पनि स्वविवेक पुर्याएर नेतृत्व छनौट गर्न आग्रह गर्दछु ।

सरकारलाई पनि मार्गदर्शन गर्नुपर्ने काम नेफ्स्कूनले गर्नुपथ्र्यो

ऋषीराज घिमिरे

सहकारी एउटा संस्कार हो । अहिले नेफ्स्कूनमा, हिजोको संस्कृति संस्कार र जुन लेगासी थियो त्यसमा कमी आएको छ । वित्तिय कारोबारमा संघ डेभलपमेण्ट बैंक भन्दा पनि ठूलो छ । संघमा अहिले आर्थिक अनुसाशन छैन भनेर सुनाउँछन् । बास्तविकता के हो अडिट रिपोर्टमा आउला । अहिले भिजनरी लिडरसिप देखिएन ।

त्यो भनेको के हो छुट्टै बचत तथा ऋण ऐन ल्याएर संघलाई अनुगमनको जिम्मा लिएर अभियानलाई सुद्धिकरण गर्नुपर्ने थियो, त्यो पनि ढिला भइसक्यो । आक्रमक शैलीमा एकिकरण गर्नुपथ्र्यो त्यो पनि भएन ।

कमसेकम सदस्य संस्थाहरुलाई चित्त बुझाउन पथ्र्यो सकेन । सरकारलाई पनि मार्गदर्शन गर्नुपर्ने काम नेफ्स्कूनले गर्नुपथ्र्यो त्यो भएन । छुट्टै बचत ऐन ल्याउनमा पनि पहल गर्नसकेन ।

पदाधिकारीहरुको मेल छैन, वित्तिय अनुशासन छैनजस्ता कुरा हामीलाई सुनाउँछन् । सहकारी भनेको सवैखाले बिचारलाई एकैठाँउमा मेल गराउने हो, त्यसैले यस्ता कुराले सहकारीको आचरणमा कमी आएको हो की भन्ने लागेको छ । त्यसैले यो नेतृत्वको समय सकिएर नयाँ नेतृत्वको बेला आएको हो ।

सहकारीलाई राजनीतिले गाँजेको छ, जसले गर्दा सहकारी नेतृत्व लथालिङ्ग भएको हो । यदी सहकारीका मान्छेलाई स्वतन्त्ररुपमा नेतृत्व छनोट गर्न दिने हो भने रुपै अर्को आउँछ । अहिले अभियानका मानछेहरु नै पार्टीका मान्छे उक्साउन जान्छन् । छुट्टै ऐन ल्याएर वित्तिय कारोबारलाई सङ्लो बनाउन जरुरी छ ।

सहकारी विभागसंग प्रमाणिकरण गराएर साकोस एकरुपता प्रणालीमा ल्याउन प्रविधि मार्फत आफ्ना सदस्यलाई नियमन गर्नुपर्छ । सरकार एक्लैले गर्न सक्दैन त्यो चुनौती नयाँ नेतृत्वको छ ।

नयाँ नेतृत्वले तत्काल यो काम गर्न सकेन भने सहकारीलाई त असर परिहाल्छ बैंकहरुलाई पनि ठूलो असर गर्छ । नेफ्स्कूनमा एकसे एक सक्षम मानिस छन् नेतृत्वमा आउनचाहने, तर दलको नजरमा परेन भने सहकारीमा राम्रै योगदान भएका मान्छे पनि अवसरबाट बन्चित भएका छन् । अव तेस्तो नहोस् ।

नयाँ नेतृत्वले नेफ्स्कून सुधार्न धेरै मेहेनत गर्नुपर्ने हुन्छ

डिबी बस्नेत

देशैभरी सहकारी जागरण र सहकारीका सवै संघसंस्थालाई वित्तिय कारोबारको काम सिकाएको पनि नेफ्स्कूनले नै हो । सहकारीमा नीति बिधि र अन्तराष्ट्रिय अभ्यासहरु भित्रयाउने पनि पहिलो नेफ्स्कून नै हो ।

यदी सहकारीहरुले नेफ्स्कूनले सिकाएको कुरा अक्षरस पालना गरेको भए त्यो अनुसार संस्था संचालन गरेको भए नेपालको सहकारी अभियानमा अहिलेको अवस्था आउँदैनथ्यो र समस्या पनि हुदैनथ्यो ।

तर केही बदमासहरुले चोरबाटो अपनाएर, पारिवारिक संस्था अनि पारिवारिक ब्यवसाय बनाएका संस्था संचालन गरेका कारण सहकारी समस्यामा परे । सरकारको नियमन कमजोर भएका कारण गलत गर्ने प्रसय पाए ।

नेफ्स्कूनमा हिजोको दिन संचालक, कर्मचारी अत्यन्तै सिन्सियर भएर काम गरेकाले यो स्थितिमा पुगेको हो । नेफ्स्कून पार्टीको भातृ संगठन नै भन्न मिल्दैन, सवै पार्टीका मानिसहरुको सहभागीता रहेको छ ।

विगतका कामकारवाही चाँही के कसरी भए र भएका कामहरुलाई पनि बर्तमान समितिले महसुस चाँही नगरेकै हो । वर्तमानले पूर्व संचालकहरुसंगको सहकार्य नगरेको हुँदा एकलौटी केही काम भएहोलान भन्न सकिन्छ र सहकार्यमा कमजोरी पनि रहेको पाँए ।

पुरानोहरुको समय गइसक्यो हाम्रो जमाना आयो जस्ता अव्यवारिक कुरा पनि भए । अव आउने नयाँ नेतृत्वले नेफ्स्कून सुधार्न धेरै मेहेनत गर्नुपर्ने हुन्छ, च्यालेञ्ज धेरै छ ।

नयाँ मान्छे आउँदा बुझ्न समय लाग्छ, त्यही भएको मान्छेबाट योग्य मान्छे बुझेर नयाँ नेतृत्व छनोट गर्न आग्रह गर्दछु । स्वच्छ छवी भएको, वित्तिय अनुशासन भएको स्वयम्सेवीरुपमा काम गर्नसक्ने मान्छेको खाँचो छ । मैले आफ्नो कार्यकाल पुरा गर्न नपाउँदै केही साथीहरुले हतार गरेकोले निर्वाचन सम्पन्न गरिदिए ।

नेफ्स्कूनको विनियम संसोधन गरेर अध्यक्षको कार्यकाल एक वर्षको मात्र बनाउ भन्ने सल्लाह भएको थियो त्यो पनि हुन पाएन । नेफ्स्कूनमा नयाँ नेतृत्व आउनु पर्छ । दोहोर्याएरै जानुपर्ने स्थिति आयो भने मेरो उम्मेदवारी रहन्छ मैले पनि दोहोर्याउन पाउनु पर्छ ।



Leave a comment