बचत तथा ऋण सहकारी संघसंस्थाहरुको माउ निकायका रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ३२ औं बार्षिक साधारण सभाको संघारमा छ । संघले ३२ वर्ष पार गर्दैगर्दा देशमा १५ हजारको हाराहारीमा बचत ऋण सहकारी स्थापना भएका छन् । तर संघमा भने ४ हजार सहकारी संघसंस्था मात्र आवद्ध भएका छन् । पछिल्लो समय मुलुक संघिय संरचनामा गएपछि सहकारीका लेयर पनि थपिंदै गएका छन् ।
बचत ऋण सहकारीलाई अझै ब्यवस्थित र सवै संघसंस्थालाई समेटेर अघि बढ्नुपर्ने चुनौती त संघको छंदैछ । संघको पछिल्लो नेतृत्व र संघको काम कारवाही प्रति सदस्य संघ संस्थाहरुको असंतुष्टि पनि ब्यापक रहेको छ । केन्द्रीय संघको संघारमै आएको साधारण सभासंगै निर्वाचनको मिति अझै तय हुन सकेको छैन ।
अरुलाई सुसाशनको पाठ सिकाउने संघ भने आफु सुसाशनमा हिडन नसक्नु, नेतृत्व परिवर्तनका आवाज उठ्नु अनि आगामी नेतृत्वका चुनौतीलगायतका विषयमा केही सहकारीकर्मीसंग सहकारी अखबारले कुराकानी गरेको छ ।
राजनीतिक रुपमा सचेत र वित्तिय रुपमा सुशासित ब्यक्ति आउनु पर्यो
भुपति पाण्डे
अध्यक्ष जिल्ला सहकारी संघ, पाल्पा
आर्थिक पहुँच नभएकाहरुलाई आर्थिक बृद्धि गर्न स्थापना भएका बचत ऋण सहकारीहरुको केन्द्रीय संघ हो नेफ्स्कून । तर यो संघले त्यो बाटो मोडेको छ, बाटो बिराएको छ ।
नेफ्स्कून आफु आर्थिक उपार्जनकालागि सहकारी बैंकसंग प्रतिष्पर्धा गरेर बसेको छ । म ठूलो की तँ ठूलो भन्ने होडबाजी यी दुइ संस्था चलेका छन् । संघले गर्नु पर्ने काम तर्फ केन्द्रीत हुन सकेन ।
दुई संस्था बिच किन र के को लागि प्रतिष्पर्धा भएको हो, अव त्यसको छिनोफानो गर्ने नेतृत्व चाहिएको छ । वर्तमान नेतृत्वमा त्यो सक्षमता देखिएन । मासले नेतुत्व छान्ने प्रकृया हटाउन आवश्यक छ ।
विनियम संसोधन गरेर भएपनि नेफ्स्कूनले प्रतिनिधिमुलक नेतृत्व छनोट गर्ने ब्यवस्था गर्नु पर्छ । केन्द्रीय संघले जिल्लाका कुरा सुनेको छैन । यसलाई गर्नसक्ने, राज्यसंग सहि लविङ गर्नसक्ने नेतृत्व अहिलेको आवश्यकता हो ।
दलले छानेको मान्छेलाई सहकारीले स्विकार्नु हुन्न । नेफ्स्कूनलाई आक्कु र अक्कुले सुताइदिएको अवस्था छ । यसले नेपालको भुगोल सुहाँउदो कार्यक्रम ल्याउनसकेको छैन ।
नेफ्स्कूनलाई पैशा कमाउने र ठूला होटलमा कार्यक्रम गर्ने मात्र मतलव छ । संघले साना संस्थालाई वेवास्ता गरेको अवस्था छ । राजनीतिक रुपमा सचेत र वित्तिय रुपमा सुशासित ब्यक्ति आउनु पर्यो । यस्ता विकृति चिर्नेखाले नेतृत्व चाहिएको छ ।
केन्द्रले आर्थिक भार बोकाउने बाहेक अन्य सहयोग गरेको छैन्
बसन्त ढकाल
अध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देही
यस्ता संघ संस्थामा सम्भावना भएसम्म एक पटक नत्र बढीमा दुईपटकसम्म नेतृत्व लिनु ठिक हो । तर त्यो नेतृत्वले कार्यकालमा के गर्यो भन्ने मुख्य कुरा रहन्छ ।
सेवामूलक संस्थामा एकपटक मात्र नेतृत्व लिनु उचित हुन्छ । नेतृत्व पविर्तन गर्दै गयो भने सवैले आफ्नो कार्यकुशलता देखाउने अवसर पाउछन्। अहिलेको अवस्थामा जिल्ला संघहरुले केन्द्रसंग धेरै कुराहरु असहमति जनाउँदै आएका छन् ।
केन्द्र ब्यपारमुखी मात्र भएको अवस्था छ । जिल्लाका ठूला संस्था छानेर उनीहरुलाई मात्र वास्ता गर्ने र साना, तथा कम पूँजी भएका संस्थाहरुलाई वेवास्ता गर्ने परिपाटी गलत हो, हामी भनिरहेका छौं । समग्रमा जिल्ला संघलाई केन्द्रले बेवास्ता गरेकै हो ।
जिल्लालाई केन्द्रले आर्थिक भार बोकाउने बाहेक अन्य सहयोग गरेको छैन् । केन्द्रले जिल्लाका सहकारीकालागि वृति विकास र प्रवद्र्धन गर्ने काममा पनि सहयोग गर्नु पर्ने हुन्छ तर त्यो भएको छैन् । अहिलेसम्म जिल्ला, प्रदेश र केन्द्रको समन्वय भएको छैन ।
संघ भएर पनि ब्यक्ति हावी भएको हो की जस्तो लागेको छ । अभियानको बारेमा गलत प्रचार हुँदा तरुन्त सम्बोधन गर्नसक्ने नेतृत्वको अपेक्षा छ । दलले सहकारी नेता चुन्ने प्रवृति गलत हो । दलले नेतृत्व चयन गर्ने हो भने सहकारी बुझेको, सहकारी हित गर्नसक्ने ब्यक्तिलाई पठाउनु पर्छ ।
दलको पछि लागेबापत सहकारीको पद पाउने परिपाटी गलत हो
लक्ष्मी सापकोटा
सहकारीकर्मी, मोरङ
नेतृत्व परिवर्तनको आवश्यक छ । एउटै मानिसलाई लामो समय नेतृत्वमा राख्दा यसबाट नयाँ कुरा आउँदैन । अभियानमा योगदान गरेको मानिसले अवसर पाउनु पर्छ । त्यसो भयो भने सकारात्मक परिवर्तन पनि हुन्छ नयाँ सोचका साथ संस्थालाई अघि बढाउँछ पनि ।
अव सक्षम अनि प्राविधिक खालको नेतुत्वको खाँचो हो । सहकारी वुझेका, सहकारीको विचारलाई समय परिस्थिति अनुसार मोर्डिफाई गर्नसक्ने नेतृत्वको आवश्यकता हो । हरेक कुरामा तालीमात्र बझाउने एसमेन मात्र भए भने नेफ्स्कूनको शान सकिनेछ ।
सवै भुगोलबाट प्रतिनिधित्व हुनेगरी सक्षम मानिसको नेतृत्व आउनुपर्छ । नेफ्स्कूनले नेतृत्व विकासमा पनि ध्यान दिनु पर्छ । पछिल्लो पिडिलाइ नेतृत्व विकास गर्दै लैजानु पर्छ ।
अहिलेसम्म सक्षम मानिसलाई बाटोमै निमठ्दै पहुँचका आधारमा विना अनुभवि मानिसले नेतृत्व लिएको हुनाले नयाँ कुरा दिन नसकेको हुन् । सहकारीको नेतृत्व दलले चयन गर्ने हैन, दलले त योगदान भएको, राम्रो मान्छे भन्दा हाम्रो मान्छे पठाउँछ । त्यसले गर्दा असल मान्छे ओझेलमा परेको छ ।
सहकारी क्षेत्र अहिलेपनि केही भाइहरुको कब्जामा छ । दलले पनि योगदान गरेको मान्छे पहिचान गरी पठायो भने हो, नत्र योगदनको कदर नगरी ४० वर्ष योगदान गरेको मानिसलाई पछि हटाएर अन्यलाई पठाउनु गलत हो । दलका नेताको पछि लागेबापत सहकारीको पद पाउने परिपाटी गलत हो ।
नेफ्स्कून नेतृत्वप्रति अभियानको असन्तुष्टि छ
भरत शाह
संस्थापक अध्यक्ष, चमेली साकोस, सर्लाही
नेफ्स्कूनमा सवैकुरा नराम्रा मात्र भएका छैनन् । यो भन्दा अघिको नेतृत्वको काम धेरै उत्कृष्ट भएका थिए । डिबी सरको पालामा धेरै राम्रो प्रगती पनि थियो । अहिले अलि असन्तुष्टि छ अभियानका साथीहरुमा नेफ्स्कून नेतृत्वप्रति ।
त्यसैले नेतृत्व परिवर्तनको आवश्यकता हो । सहकारी देशको अर्थतन्त्रको जरा हो । त्यो जराले सहकारीको तल्लो तहदेखि माथिल्लो तहसम्म सुरक्षाको प्रत्याभूति दिन सक्ने नेतृत्व आवश्यक छ ।
सहरी क्षेत्रमा देखिएका सहकारीका विकृतिलाई फाल्ने र सहकारी प्रति जनमानसको नकरात्मक धारणालाई परिवर्तन गर्ने, सहकारी प्रतिको निरासालाई आशा जगाउने खाले नेतृत्वको खाँचो छ । सहकारीलाई राजनीति आवश्यक छ तर त्यो राजनीति सहकारी हितकोलागि हुनुपर्छ ।
नेफ्स्कून बचत सहकारीको अभिभावक संघ बन्नु पर्छ यसले संस्थाको जस्तो बचत ऋणको काम गदैजाँदा अन्य संस्था र संघलाई अप्ठ्यारो पारेको अवस्था छ । नयाँ नेतृत्वले यस्ता कुरा हटाउन सक्नु पर्यो । दलले नेता चुनेर पठाउनु पर्यो भने पनि सहकारी क्षेत्रमा योगदान गरेको ब्यक्ति पठाउनु पर्छ ।
राजनीतिले सहकारीलाई ओझेलमा पारेको छ
मिठाराम दाहाल
अध्यक्ष, नमुना प्रगती साकोस हेटौंडा
आर्थिक मन्दिका कारण सहकारी चपेटामै छन् । नियमनकारी निकायको निणर्य राम्रो छैन । केही बदमास गर्ने सहकारीका कारण समुदायमा आधारित सहकारीलाई पनि मर्का परेको छ ।
यस्ता विषयमा हाम्रो छाता संगठनहरुले राज्यसंग गर्नुपर्ने लविङमा कमजोरी भएकै हो । यीनै विषयलाई बुझ्ने र काम गर्नसक्ने नेतृत्व अहिलेको आवश्यकता हो । राजनीतिको पल्ला बढी भएतिर सहकारी दैडनु दुर्भाग्य हो । राजनीतिले सहकारीलाई ओझेलमा पारेको छ ।
आफ्नै संस्थाले नपत्याउने नेतृत्वलाई दलले पठाउनु गलत हो
प्रेम ढकाल
प्रमुख कार्यकारी अधिकृत, अर्थव साकोस, भरतपुर चितवन
वर्तमान सहकारीको अवस्था देखि सर्वसाधारण तथा सदस्यहरु दिक्क भएका छन् । सहकारीमा राजनीतिले गर्दा झनै विश्वास गुमेको छ । सहकारीकर्मी राजनीतिक छायाँबाट टाढा बसिदिए हुन्थ्यो भन्ने लागेको छ ।
राजनीतिक भागवण्डाको आधारमा नेतृत्वमा पुग्ने अनि सहकारीका समस्या बिर्सेर बेवास्ता गरेर ब्यक्तिगत स्वार्थमा हिड्ने प्रवृति गलत हो । विशुद्ध सहकारी अभियानलाई अगाडी बढाउने मान्छे आइदिओस् भन्ने हाम्रो चाहना हो ।
केही सहकारीको गलत कामले पुरै सहकारी अभियान नै बदनाम भएको छ । सहकारीका सदस्यले चिनेका मानिस नेतृत्वमा आउनुपर्छ । सहकारीमा गुमेको विश्वासलाई कर्मले फर्काउन सक्ने नेतृत्वको आवश्यकता हो ।
नेफ्स्कून सदस्य संस्था मात्र भनेर हिडेको छ, यसले त देश भरिको बचत ऋण अभियानको अभिभावकत्व निर्वाह गर्नुपर्ने हो । पैसामुखी मात्र भएर हुन्न । सवै बचत सहकारीलाई नेफ्स्कूनमा आवद्ध गर्ने खाले काम गरी सवैको अभिभावक बन्न सक्नु पर्छ ।
सवै संस्थाहरुलाई अनुगमन गरी सल्लाह सुझाव दिएर बाटो बिराएकाहरुलाई सही मार्गमा ल्याउने काम नेफ्स्कूनको हो त्यो हुनसकेको छैन् । नीति नियम निर्माणमा सरकारलाई सहयोग गर्नुपर्ने हो ।
सहकारी अभियान राम्रो अभियान भएपनि नेतृत्वले चिन्न सकेन र सहकारीमा गलत प्रवृति बस्यो । पार्टीले सहकारी नेछतृत्व छनोट गर्दा योगदानको आधारलाई हेर्नु पर्छ भन्ने लाग्छ । आफ्नै संस्थाले नपत्याउने नेतृत्वलाई दलले पठाउनु गलत हो ।
संघ आफ्नो उद्धेश्यबाट विमुख भएको छ
पञ्चलाल महतो
ब्यवस्थापक, श्रमजिवी साकेस, सिरहा
नेफ्स्कूनमा नेतृत्व परिवर्तनको अति आवश्यकता छ । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन भनेको नेफ्स्कून हो । यसले संस्थाहरुको संरक्षण र प्रवर्धन गर्नुपर्ने हो तर नेफ्स्कूनले बाटो बिराएको छ भन्ने लाग्छ । यो संघ आफ्नो उद्धेश्यबाट विमुख भएको छ ।
नेफ्स्कून र सहकारी बैंक वित्तिय कारोबार गर्न मै होडबाजी गरिरहेका छन् । संघले प्रारम्भिक संस्थाहरुलाई ब्यवस्थित कसरी गर्ने, सहकारीका समस्यामा सरोकारवालाहरुसंग छलफल गरी समाधानको बाटो देखाउनुपर्ने ब्यापार मात्र गरेको छ ।
अहिलेको नेतृत्व सहकारीका समस्या के हुन्, उनीहरुलाई कसरी ब्यस्थित गर्ने भन्दा पनि मास जुटाएर मिडियाबाजी गर्नतर्फ लागेको छ । सहकारीमा देखिएको पार्टीको भागवण्डा भन्दा माथि उठेर नेफ्स्कूनले काम गर्नुपर्ने छ ।
अहिले स्थानीय सहकारी ऐनहरुमा एकरुपता छैन जसले गर्दा सहकारीमा काम गर्न समस्या छ । यस्ता कुराहरुमा नेफ्स्कून नेतृत्वले काम गर्नुपर्ने हुन्छ । टेक्नीकल सर्पोट, दक्ष जनशक्ति, नीति नियम निर्माणमा लविङ गरी तल्लो तहमा रहेका सहकारीलाई पनि समेटी अघी वढ्नुपर्ने अवस्था छ ।
सहकारी ऐनमै भएका ब्यवस्था कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण, दोहोरो सदस्यता जस्ता कुराहरु पनि कार्यान्वयन भएका छैनन् ती कार्यान्वयन गराउने हिम्मत नयाँ समितिले गर्नु पर्छ । सबै तहगत संरचनामा भएका सहकारीलाई नेफ्स्कून मातहतमा ल्याएर एउटै बचत अभियान बनाउन सक्नु पर्छ ।
Leave a comment