चिटिक्क जुँगा र सफाचट दाह्री, शिरमा ढाका टोपी र औपचारिक पोशाकमा बाहिर निस्कने अनि मुस्कानसंगै सम्वाद गर्ने बानी सुवासचन्द्र ढकालका गहना नै हुन् । सहकारीका अधिकांश कार्यक्रमहरुमा देखिने सुवासचन्द्रको अनुहारलाई सहकारी अभियानले चन्द्रप्रसाद ढकालको नामबाट परिचित गराएको छ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानमा उर्जाशिल साढे २ दशक समय खर्च गरीसकेका छन् ।
उनै ढकाल यतिबेला भने आफुलाई नेफ्स्कूनको भावी अध्यक्षका रुपमा प्रस्तुत गरिरहेका छन् । औपचारिक रुपमा घोषणा नगरेपनि नेफ्स्कूनको ‘फस्ट म्यान’ का रुपमा बचत तथा ऋण सहकारी अभियानलाई नेतृत्व गर्ने लक्ष्यका साथ भेटघाट तथा छलफलमा ब्यस्त देखिन्छन् ।
कैलाशभक्तले देखेको त्यो सम्भावना
कलेजको पढाइ सकिएपछि साझा यातायातको प्रशासनको जागिरसँगै संस्थाभित्रै संचालनमा रहेको ‘सहकारी ऋण कोष’ को सदस्यबाट ढकाल सहकारी क्षेत्रमा होमिए । साझा यातायातमै रहँदा २०५४ सालमा मजदुरहरु मिलेर ‘यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था’ दर्ता भयो ।
सोही संस्थाको सचिव रहेका उनले नेफ्स्कूनको साधारणसभामा प्रतिनिधित्व गर्दे २०५७ सालमा पहिलो पटक नै लेखा समिति सदस्यमा निर्वाचित भए । ‘मैले साधारणभा पेश गरेको तर्क र भूमिका देखेर नेफ्स्कूनका तत्कालिन अध्यक्ष कैलाशभक्त प्रधानांङले नै तपाई पनि आउनुहोस् सँगै काम गर्नुपर्छ भन्नुभयो’ ढकाल तत्कालिन समय सम्झिदै भन्छन्, ‘पहिलो पटक लेखा सदस्यमा उम्मेदवारी दिदा खसेको कुल भोटमध्ये ८० प्रतिशत मलाई नै आएको थियो ।’
त्यतिबेला नेफ्स्कूनमा संचालकहरुको कार्यकाल एक वर्षदेखि तीन वर्षसम्म हुथ्यो । गोलाप्रथाबाट कार्यकाल निर्धारण हुने ब्यवस्था अनुसार लेखा सदस्य ढकाललाई अन्तिम चिट्टठा भाग पर्यो । उनको भाग्य, सबैले छोडेको चिठ्ठाबाट नै तीन वर्षको कार्यकाल भागमा पर्यो ।
लेखा समितिमा क्रियाशिल रहँदा ढकाललाई लेखा समिति संयोजक बन्ने मौका पनि मिल्यो । तत्कालिन संयोजक अनिरुद्र प्रधानाङ्ग संचालकमा गएपछि लेखा संयोजक बनेका उनी त्यसपछि लगातार दुई कार्यकाल लेखा संयोजक रहे ।
त्यसपछि दुई कार्यकाल नेफ्स्कूनको कार्यसमिति बाहिर बसेका ढकाल २०७१ सालमा राष्ट्रिय सहकारी महासंघको संचालक बने । महासंघको संचालकमा रहदा पनि बचत ऋण अभियानकै लविङमा क्रियाशिल उनी २०७३ सालमा महासचिवका रुपमा नेफ्स्कूनको नेतृत्वमा पुनः प्रवेश गरे ।
२०७६ सालदेखि भने बरिष्ठ उपाध्यक्षमा क्रियाशिल छन् । २४ वर्षअघि कैलाशभक्त प्रधानांङले नेतृत्व सम्भावना देखेर नेफ्स्कूनमा भित्र्याएका युवा ढकाल यतिबेला नेफ्स्कूनको अध्यक्षमा शसक्त दावेदारका रुपमा आफुलाई उभ्याउन सफल भएका छन् ।
‘फुल टाइम’ सहकारी अभियन्ता
२०२४ साल बैशाख १५ गते पाल्पा जिल्लाको रिम्दीकोट गाउपालिका–२ (साविक देउराली गाविस) मा जन्मेका ढकालको बसोवास भने काठमाडौं र नवलपरासीमा छ । पाल्पाबाट बसाइ सराई गरेपछि ज्ञानोदय प्राथमिक विद्यालय बुटवलबाट प्राथमिक र ४ कक्षादेखि बुटवल माध्यमिक विद्यालयमा अध्ययन गरेका उनले नेपाल ल क्याम्पसबाट बिएल उर्तिण गरेका छन् ।
ढकाल अहिले नवलपरासीबाट नै सहकारी अभियानमा प्रतिनिधित्व गरिरहेका छन् । बर्दघाट नगरपालिकास्थित ‘हाम्रो सुपर बचत तथा ऋण सहकारी’ को सल्लाहकार समेत रहेका उनी सोही संस्थाबाट नेफ्स्कूनमा प्रतिनिधि छन् ।
ढकाल सहकारीसँगै राजनीतिमा पनि सक्रिय छन् । नेपाली कांग्रेस निकट मजदुर संगठनमा क्रियाशिल उनी युवा अवस्थादेखि राजनीतिमा होमिएका थिए । तर, जनतासँग निकट रहेर जनताको काम गर्नका लागि सहकारी अभियान अझ प्रभावकारी हुने भएकाले राजनीतिक भन्दा सहकारी प्राथमिकतामा परेको उनको अनुभव छ । राजनीतिक रुपमा आस्था भएपनि आफुले सहकारी अभियानलाई राजनीतिक स्वार्थपूर्तिका लागि दुरुपयोग नगरेको उनले दावी गरे ।
‘सहकारीमा लाग्ने अभियन्ता र नेतृत्व स्वयंमसेवी हो’ भन्ने कैलाशभक्त प्रधानांङगको भनाइलाई मुलमन्त्र बनाएर अघि बढेका ढकाल सहकारीमा धनसम्पती कमाउन नलागेको र यसैका कारण कसैले आफुप्रति औला उठाउन नसक्ने बताउछन् । ‘सहकारीमा लागेका कतिपय नेताहरुको जीवनशैलीका कारण त्यो पैसा कहाँबाट आयो भन्ने प्रश्न उठेको छ’ उनले भने, ‘मैले सहकारी अभियानमा लागेर सम्पति आर्जन गर्नेतिर लागिन, किनकी मैले बुझेको सहकारी अभियान त्यो होइन ।’
परिवारले नै काठमाडौंको धुम्बराहीमा जोडेको सानो जग्गा र घर नै यतिबेला ढकालको परिवारका लागि मूल्यवान छ । सानो घरको एउटा फ्लाट भाडामा दिएर बाँकी ठाउ उनको परिवारले साघुँरो गरी प्रयोग गरिरहेको छ । घरभाडा, श्रीमतिको शिक्षण पेशाको आम्दानीका साथै आवश्यक ९० प्रतिशत खाद्यान्न नवलपरासीको आफ्नै खेतबारीबाट आउने भएकाले घरखर्च चलाउन सजिलो भएको र आफुलाई आर्थिक दवाव समेत नभएको ढकालले बताए ।
ढकाल आफुलाई अहिले ‘फुल टाइम’ सहकारी अभियन्ताको रुपमा चिनाउछन् । सुत्नेबाहेक सबै समय सहकारी क्षेत्रको विकासका लागि समर्पित गरेका उनी कार्यक्रमको सिलसिलामा देशका ७१ जिल्ला घुमिसकेका छन् । यहि योगदानका कारण उनी नेपाल सरकारको जनसेवाश्री पदकबाट समेत सम्मानित भइसकेका छन् ।
ढकालले विकासको सम्भावना पनि सहकारीबाटै देखेका छन् । तर, यतिबेला सहकारी क्षेत्रमा कालो बादल मडारिएको छ । यो बादल छिट्टै हट्ने र त्यसका लागि सहकारी नेतृत्वले सबै संस्थाहरुको अभिभावकत्व लिएर काम गर्नुपर्नेमा उनको जोड छ । सबै संस्थाहरुको अभिभावकत्व लिने हिम्मत बोकेर ढकालले आफुलाई भावी अध्यक्षको रुपमा सहकारीकर्मीहरु माझ प्रस्तुत गरिरहेका छन् ।
Leave a comment