सर्जकहरूको सिर्जनाका शब्दहरू सापट लिएँ । सहकारीका विकृति, विसङ्गतिलाई विना सर्त सफा गर्ने बुद्धि पलाउने अपेक्षाले सहकारी जात्राको यात्रा सुरु गरिएको जनाए । रिसानी माफ है ! सहकारीका संस्कृतिमाथि विकृतिका बाछिटा छर्कने माथिको चड्कनका रूपमा सहकारी जात्रा केन्द्रित रहने सूचना पनि सूचित गरेको छु । बाछिटा संस्कृतिको संरक्षणकर्ताको पिठिउँमा उछिट्टिएमा यसलाई संयोग मात्र मानिनेछ। बन्चरोले दाउरा चिर्दा चोइटो उछिट्टिएर रमितेलाई लागेको मात्र हुने आग्रह छ । रिसानी माफ है !
यहाँ प्रयोग भएको ‘जात्रा’ शब्द हाम्रो संस्कृतिसङ जोडिएको शब्द माथिको प्रहार नभई मात्र सहकारीमा हुने गरेको विकृति बटार्न व्यङ्ग्यात्मक बाँडिएका शब्द मानिनेछ । हाँसो र रोदन मिसिएको पर्व, अनौठो उत्सव ‘गाई जात्रा’ । गाईजात्रे अवसर पारेर छेडखानी, घोचपेचको मेसो मिलाउने मौसममा आज, जात्रै जात्राको यात्रा गरिरहेको सहकारी हात्तीमा सवार माउतेहरूलाई जात्राका शब्दहरूबाट सु–स्वागतम ।
पाच्य नभए पनि, सहमतिमा सस्कार्ने नियामक र मिलेमतोमा कानुनको कान निमठ्ने सहकारी माउतेहरूलाई सहकारी जात्रामा फेरी पनि ‘वेलकमवाला’ स्वागतम । आसनको आस नगर्नु होला, राशनको रास त छँदै छैन र भाषणको पनि भरोसा छैन । आसन, भाषण र नगदी राशनमा ग्रहण लागेकोले ‘रिसानी माफ’ है ! यो यात्रामा हामी कलमको कलाले सहकारी जात्राको यात्रा गराउने छौँ ।
यात्रामा कठिनाइ हुनसक्छ, अक्सिजनको मात्रा कम हुनसक्छ, उचाइमा रिँगटा लाग्न सक्छ, धरातलमा आत्तेस लाग्न सक्छ । सुखमा न मात्तिनु र दुःखमा नआत्तिनु भन्ने त उखान नै छ नि ! त्यसैले सहकारीका जन्मदाता, अन्नदाता, पिता, माता, राष्ट्रिय, अन्तर्राष्ट्रिय माननीय, पूजनीय, केन्द्रीय, वि केन्द्रीय सबैलाई धैर्यताका साथ यात्रामा सहभागी हुन अनुरोध छ । शब्दका सारथि हरूले साथ दिएसम्म सम्मानजनक समायोजन हुने कसम नै नखाए पनि बाचा चाही दिन्छु ।
सहकारी कुण्डमा केही सुण्डमुण्ड, चामुण्डहरुको झुन्डले राज गरेको त तपाइलाई पचेपनि नपचे पनि सही हो नि हैन ? भाकल गरी सर्वसाधारणको पसिनामा राजगर्नेहरु दूध कुण्डमा नुहाएर कुकर्मको नास होला भन्नेहरूका हनुमानहरू कुकर्म ढाकछोप गर्ने जडीबुटीको पहाडै उठाउन लागिपर्नेहरूको पनि जात्रामा नाम त जनाउनु पर्ला नि है ।
पार्टीमा घाँडो भएकालाई थन्क्याउने भाँडो सहकारी बनाउनेहरूको जात्रा, अध्यक्षको एस मेन हुनेलाई काखा र हुन नचाहने कर्मचारीलाई घोक्रे ठ्याक लगाउँदै संचालकीय रवाफ देखाउनेको जात्रा, काम गराउने बहानामा नियामकलाई भुस जत्तिकै सम्झेर घुस खुवाउन राजी काजीहरूको पाजी पाराको जात्रा, नयाँ पुराना, आउँदै गरेका, सिक्दै गरेका, रिटायर भएका, मौसमी बेमौसमीको जात्रा । स्थानीय, प्रदेशस्तरीय, सङ्घीय र प्रारम्भिकको जात्रा । जिल्ला स्तरिय, केन्द्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सबै खाले सहकारी जात्रामा अन्तिम स्वागतम ।
मौसमी जात्रा
मौसमी जात्रा, यानिकि, सिजनेवल सहकारी जात्रा । अहिलेका सहकारी नेता, हिजोका पार्टीका कार्यकर्ता । अनि सहकारी नेता बनाई दिएकाहरुको गुन तिर्न, लसुन भए पनि सुन भए पनि भर्न तम्तयार र नुनको सोझो गर्न ईमान्दारीतामा घुन नलगाई कार्यकर्ता र सहकारी नेता बन्ने लाइनमा रहेका अहिले पार्टीका कार्यकर्ता, भविष्यका सहकारी नेताहरूको सिजनेबल जात्रा चलिरहेको छ । उनीहरूको सिजनेवल जात्रा १६श्राद्धका पुरोहितको जस्तै हो ।
भदौ देखि पुससम्म सहकारीको कर्मकाण्डी तिथिरूपी साधारण सभा । १६श्राद्धका पुरोहित जस्तै भ्याई नभ्याई । पुरोहितले १६श्राद्धको विधि मन्तरे जस्तै सहकारी नेताहरूले साधारण सभामा भट्ट्याउन तयार गरेको रेडिमेड भाषण । साधारण सभामा जान जिल्ला तहदेखि महासङ्घसम्मका नेताहरूको लुछाचुँडी । किनकि यो उनीहरूको भाषण गर्ने, रासन जोड्ने र आसनमाथि शासन गर्ने सिजन हो । रिसानी माफ है !
बेमौसमी जात्रा
भाषण, राशन र आसनको सिजन सकिए पनि नाना लगाउने र खाना जमाउने बहाना खोज्न ताना बुन्ने तयारी गर्ने हो । तारे होटलमा तारेको हड्डीको हन्टिङ गर्न, शिक्षा र तालिमका नाममा पैसा हजाम गर्ने बहाना नै काफी नि ! किनकि पैसा तिरिदिने सदस्य छंदै छन्, वार्षिक शुल्क (लेबी) उठाउन लाइसेन्स नै लिएर वैधानिक रूपमा संस्था धोक्रो थापेर बसेकै छन् ।
अभियान जात्रा
सहकारी ‘अभियान’ जात्रै जात्राको भण्डार बनाएका छन् । न्वारन गरेर ‘आन्दोलन’ पनि भन्न भ्याएका छन् । स्थानीय तहदेखि केन्द्रसम्म, प्रारम्भिक देखि महासङ्घसम्म सहकारीमा टम्म अनि लटरम्म राजनीति फलेको छ। तालिमको नाममा लुटे पनि आन्दोलन । डिजिटल कारोबारका नाममा ढाड सेकाए पनि आन्दोलन । सहकारीलाई पार्टीको सम्पर्क कार्यालय बनाए पनि आन्दोलन । लाजले पनि लजाउँदै भन्यो ‘रिसानी माफ है’ ।
शिक्षा तालिम, अध्ययन भ्रमणका नाममा लुटे पनि, कानुन मिच्न जुटे पनि, सिद्धान्तलाई हाँडीमा मकै भुटेझैँ भुटे पनि आन्दोलन । अभियानलाई आन्दोलन बनाउनुको राज र रडाको, रतन्धो भएकोलाई पनि रमिता लाग्दैन र ! ‘रिसानी माफ है’ !
स्थानीय सहकारी जात्रा
मुलुक सङ्घीय संरचनामा गएपछि, पछिपछि गएको सहकारी आन्दोलन वास्तवमै ‘आन्दोलन’ भएको छ । सहकारीको संरचनामा परिवर्तन भए पनि उपलब्धिमा परिवर्तन हुन नसकेको नियमक हरुको पारा देखेर दाह्रा नकिट्नु होला । सेवा केन्द्र र कार्यक्षेत्र विस्तार भए, दर्ता बन्दको बहानामा ।
नीति र नियम बहालवाला र रिटायर्डको चपेटामा चेपिँदा चुइँक्क पनि गर्न सकेको छैन । अनुगमन र नियमनको झटारोले झरेका दाना दलिनमा बिस्कुन भएका छन् । गोजीमा कानुन, सानाले जानुन् । ठुलाले मानुन् की ! नमानुन् । आफूले भनेको माने र जाने भने भई गयो नि ! डुबेको पैसा ९ सय वर्षमा आउने पक्का छँदै छ ।
सहकारी नेतालाई च्याप्ने, अरूलाई हेप्ने नियमकको पक्षपातले पक्षाघात भएका सदस्यलाई आश्वासनको झटारो हान्ने आन्दोलनका अभियन्ताहरुले सहकारीका विकृति र विसंगतप्रति पनि आन्दोलन गर्ने मृत आत्माबाट शक्ति प्रदान गरुन् । ‘रिसानी माफ है !
केन्द्रीय सहकारी जात्रा
महासङ्घ पछिका १९ वटा केन्द्रीय स्तरका सङ्घ, उनीहरूका १९ खाले कुरा, उन्नाइस थरी अनुदानमुखी दुकान । सरकारको अनुदान झ्याम पार्न च्याँखे थाप्न खोलिएका दुकान । अनि ससुराली र माइतीघर बनाएको छाता सङ्गठनका पद त पेवा र दाइजो नै हो नि ! आफू बैङ्कमा भए, आफ्नीलाई महासङ्घमा भित्र्याउने, आफू बचतकोमा भए, आफन्तलाई, कृषिकोमा कोच्नु पर्यो, आफू बहुउद्देश्यीयकोमा भए, आफ्नोलाई उद्देश्य बिनाकोमा ठड्याउनु पर्यो, आफू प्रदेशकोमा भए आफ्नोलाई केन्द्रकोमा हुत्त्याउनु पर्यो है न त ! केन्द्रीय स्तरको भन्ने प्रारम्भिक स्तरको काम गर्ने, यो हो राष्ट्रिय स्तरको सहकारी जात्रा । रिसानी माफ है !
अन्तर्राष्ट्रिय सहकारी जात्रा
राष्ट्रिय मात्र हैन, नेपालमै हुन्छ अन्तर्राष्ट्रिय सहकारी जात्रा पनि । कार्यक्षेत्रको कन्जुस्याइँ गरेको सहकारी नियामकलाई अन्तर्राष्ट्रिय ब्रान्डको ललिपपको लोभ देखाएर लहै ! लहै ! गराउन सफल सहकारीका ठेकेदारहरूलाई विदेश सेयरको बाहान पनि भएको छ ‘ब्रान्ड’ । अन्तर्राष्ट्रिय स्तरमा नेपालका सहकारीको उल्लेख्य सहभागिताको सान देखाएर सदस्यको पैसालाई समुन्द्र पार गराउने महासयहरू आफ्नै क्षेत्रमा कार्यक्षेत्रको मार खेपिएको छन् ।
शिक्षा र तालिमको नाममा सदस्यको पैसाले बर्सेनि बैङ्कक र थाइल्यान्डमा थकाई मार्न थालेका सहकारी नेताहरूले सदस्यलाई संरक्षित पुँजी फिर्ता कोषको जानकारी दिन किन कन्जुस्याइँ गरेका छन् ? शिक्षा र तालिमको नाममा तारे होटेलको बैठक बाठा हरुकालागि मात्र भएको छ । रिसानी माफ है !
केन्द्रीय सङ्घदेखि महासङ्घसम्म वैदेशिक रोजगार कम्पनी बन्नाले बिदेश जाने लोभमा संस्थाको पैसा दोहन भए पनि कमिसनको कर्तुत ज्युँका त्युँ छ । ब्रान्डको बोक्रा देखाएर बार्गेनिङमा लागेका छन् । दोहोरो पदको दोहन गरेर कमिसनको खेल खेलेका दर्जनौँ पार्टीका दानवीरहरू नेताकै दाहिना बनेका छन् ।
अहिले सहकारीका पाहुना नेता, भोलीका पार्टीका कार्यकर्ताको सभ्य कर्तुतको सविनय बेलिबिस्तारको पाठ यसपालिको गाईजात्रा कालागि बिट मार्ने जमर्को गरे । सबैलाई गाई प्राणि बन्ने प्रेरणा मिल्ने अपेक्षा सहित वर्णनभित्र नअटाएका विषयहरू अर्को गाई जात्राको मेसो मिलाएर गर्ने कसम खाँदै, रिसानी माफ है ! सहकारी जात्रा जाती बिधि फस्टाओस्, यही कामना सहित बचनको बाँणले बिझेमा र घोचेमा ‘रिसानी माफ है’ !
Leave a comment