माइतीघरमा बसेर सहकारीलाई धारे हात लगाएको पनि तीन महिना पुगिसक्यो । पलेटी कसरै बालकदेखि वृद्धसम्मले सहकारीको पुत्ला जलाएको पनि धेरै भयो । गालीका भएजति शब्दहरु सहकारी र यससंग जोडिएकाहरुलाई खन्याइसके । तर गालीका शब्दले पिडितको पिडामा मलहम लगाउन सकेन ।
पिडितको पिडालाई पेडा मानेर ग्रहण भयो, समस्या समाधान हुने छेकछन्द भएन । पिडितले गाली मात्र गरेनन्, हार गुहार पनि गरे, अनुरोध र आग्रहका शब्द पनि खर्चिए, अनुनय विनय पनि गरे । की ! हाम्रो बचत फिर्ता पाउँ । सायद अन्तिम नहुनसक्छ बचत फिर्ताको आशले एउटा अश्त्रको रुपमा पिडितहरु गाली बेइज्जतीमा उत्रिएका होलान । माइतीघर सहकारीलाई गाली बेइज्जत गर्ने थलोको रुपमा परिणत भइसकेको छ ।
सहकारी पिडितका ब्यथा आफ्नै छन्, शब्दमा उतार्न सकिने अवस्था छैन । सहकारीका सरोकारवालाहरु माइतीघरको बाटो हिड्न छोडेर ललितपुर खोला करिडोर तर्फ मोडिन थालेका छन् । माइतीघरको उत्तरतिर सोझिएको सिधा बाटोले सहकारी कानुन निर्माण गर्ने सेतो घरलाई जोडेको छ । दक्षिणको बाटोले सहकारीको माउ निकाय रहेको भवन जोड्छ ।
पूर्वमा त्यही सहकारी कानुन कार्यान्वयन गराउने निकाय रहेको रातो घरको आँगनमै पुर्याउँछ । पूर्वकै मूल बाटोमा सवैभन्दा धेरै समस्या उत्पन्न गर्ने बचत तथा ऋण सहकारीको माउ निकाय साततले बिल्डिको माथि शिशाको झ्यालबाट पिडितलाई रमिता मानेर हेरिरहेको छ ।
तर माइतीघरका पिडितको आवाज न सहकारी कानुन बनाउनेले सुनेका छन्, नत कानुन कार्यान्वयन गर्नेको कानमा पुगेको छ । नत सहकारीका माउ निकायको कानमा बतास लागेको छ । बरु बाटो मोडिएका छन्, देख्छनकी भनी छलिएका छन् ।
सपरिवार डेलिगेट्स भन्दै विदेशमा हानिएर सामाजीक संजालमा रमिता देखाएका छन् । स्वदेशमै भएपनि आफ्नै भागवन्डा मिलाउन ब्यस्त छन्, कहिले संचालक कहिले कर्मचारीको हारालुछ, सेटिङ र डेटिङमा उल्झिएको छ सहकारी, माइतीघरमा अलपत्र छन् सहकारी पिडित ।
कहिले माइतीघरमा आन्दोलन गर्नु गलत भनेका छन् कहिले सदस्यले सहकारी छान्न जानेनन् भनेर पिडितलाई नै दोषी देखाउँदै भाषण गर्न भ्याएका छन् । मलाई सोधेर बचत राखेको होर ! पनि भन्न भ्याएका छन् । सदस्य बनेर बचत गर है भनेर राज्यले ३५ हजार सहकारी खोल्न दिएको हैन र ? तीनै सहकारी र सदस्यको आडमा नेता सहकारी नेता भएका हैनन् र ?
राज्यले यती धेरै सहकारी खोल्न अनुमती दिनुनै समस्या हैन र ? फेरी सदस्यले सहकारी छानीरहनु पर्छ र ? छान्नुपर्ने भए सही र गलत कुन कुन हुन त्यो पनि भनिदिनुपर्ने है न र ? गलत सहकारी राज्यले किन स्थापना गर्न दियो ? तपाइको मनमा प्रश्न आउँदैन ? गलतलाई सहकारीका निकायले किन प्रसय गरेको ? किन संरक्षण गरेको ?
जिम्मेवार सदस्य नै हो भनेर पन्छिन पाइन्छ र ? राज्य र अभिभावक संघ र तिनका नेता जिम्मेवार हुनुपर्दैन ? सहकारीका सदस्यले सहकारी छान्न जानेनन् भन्न सक्नेले सही सहकारी यी हुन भनेर भन्न सक्नु पर्छ की पर्दैन ? माइतीघरमा सहकारी पिडितले आन्दोलन गर्नु गलत हो भन्नेले पिडितलाई आफ्नो पिडा पोख्ने सहि ठाउँ कुन हो पनि भनिदिनसक्नु पर्छ ।
सहकारीको निकाय हामी हौं, यस क्षेत्रमा भएको गुण दोषको भागीदार पनि हामी हुन्छौं भन्ने हिम्मत सहकारी नेतामा छ ? मैले नेतृत्व गरेको सहकारी सही छ भनेर भन्ने हिम्मत सहकारीका नेतामा छ ? सदस्यले सहकारी बुझेका छैनन भने उनीहरुलाई सहकारी बुझाउने जिम्मेवारी लिनुपर्ने ठाउँमा सहकारी छान्न जानेनन् भन्नु जायज होला र ?
सदस्यलाई सही सहकारी छान्ने विधि सिकाउनुपनि त सहकारीका सरोकारवालाको हो नी ! हुनत सदस्यको अधिकार भएको सहकारी शिक्षाकोष सहकारीका नेता र संचालकले तारे होटल र जंगल चाहर्दै डाँडा चढ्दै सिध्यापछि भन्ने त यही होला हैन त !
अव के त ! सहकारी मृत्युशैयामै हो ? देशमा २९ हजार ८८६ सहकारी संघ संस्था भनेर घोकेको पनि ३ वर्ष बितिसक्यो । सहकारी मार्फत रोजगार, उत्पादन, स्वास्थ्य, कूल जिडिपिलगायत अनेकन विषयमा सहकारीको योगदानको तथ्याङ्क खै ? सहकारीमा कति पिडित, कति रकम डुब्यो ? सहकारीमा यकिन तथ्याङ्क नहुनु नै सहकारीमा लागेको पहिलो रोग हो । यसको उपचार खोजिएको छैन ।
कसरी र कसले गर्ने ? एकले अर्कोलाई दोषारोपण गरेर पन्छिदै छन सरोकारवाला । सहकारी अभियानको होल बडी चेकअप गर्नु पर्ने समय आएको हो त ? सहकारी बचाउन सरोकारवालाले सहकारी सुद्धिकरणमा पहिलो पाइला चालेदेखि सहकारी पिडितका पिडा सुनिने थिए की !
अहिले माइतीघरमा सहकारी पिडितले उठाएका पिडा सुनिनुभन्दा पनि पिँडुला सुन्निनेगरी झरी, घाम बादलसंग पौंठाजोरी खेल्नुपर्ने बाध्यता छ । पिडकलाई नै पिरो हुनेगरी पाहुना सहकारीकर्मीको बचन मात्र आएको छ । उनीहरुलाई जिम्मेवार बनाउन जरुरी छ ।
आदरणिय सहकारीका सदस्यहरु अव दोश्रो अश्त्र प्रहार गर्ने बेला भइसकेको छ । हार गुहार, अनुनय विनय, गाली बेइजती र अनसनले सहकारीमा सुद्दिकरण नआउने पक्का छ । त्यसैले अवको अश्त्र सहकारी नेताको सहकारी पहिचान गरि उनीहरुको सहकारीको अवस्था र ती नेताहरुको आम्दानी श्रोतको खोजी गर्ने, सम्पत्ती छानविन गरी अस्वभाविक लागे जफत गरी सदस्यलाई फिर्ता गर्ने अभियान चलाउनु उचित हुन्छ । कि ! कसो !
Leave a comment