जहाँ सहकारीको सरकार छ

जहाँ सहकारीको सरकार छ :: Sahakari Akhabar

खिलानाथ दाहाल, काठमाडौं । काठमाडौंबाट नौविसे, मलेखु धादिङको बाटो हुँदै ७१ किलोमिटरको दुरी पार गरेपछि धादिङको सलाङघाट पुगिन्छ । सलाङघाट हाइवेबाट दाहिने तर्फ एउटा साधुरो ढलान बाटोले त्रिशुली नदि तर्ने झोलुङ्गे पुललाई जोडेको छ । ढलान बाटोले गर्दा सलाङ ४ का किसानलाई त्रिशुली पारीको उत्पादन वारी सहकारी पसलसम्म ल्याउन निकै सहज बनाइदिएको छ ।

सहकारीको कर्ममा बनेको ढलाने बाटो हुँदै त्रिशुली पारिका स्थानीयहरु आफूले उत्पादन गरेको सामान सलाङघाट चोकमा रहेको सहकारी पसलमा बेच्न ल्याउँछन् । झोलुङ्गे पुलले सहकारी सरकार भएको गाउँलाई जोडेको छ । सिद्धलेक गाउँपालिकाको सलाङ गाउँमा सरकार भन्दा अगाडी छ, सहकारी ।

स्थानीयले सरकार मानेको सलाङ साना किसान कृषि सहकारी चाँही २०५५ सालमा कृषि विकास बैंकले स्थानीयलाई ब्यवस्थापन हस्तान्तरण गरेको रहेछ । सिद्धलेक गाउँपालिकाको ५ र ६, गण्डकी गाउँपालिका, ज्यालामूखि गाउँपालिका, निलकण्ठ नगरपालिका र बेनिघाट रोराङ गाउँपालिकाको २ र ६ वडाका बासिन्दाकालागि सरकार भन्नुनै सलाङ साना किसान कृषि सहकारी हो।

भिडियो सामाग्री  :

यहाँ अन्य बैंक वित्तिय संस्थाले स्थानीयहरुको मन जित्न सकेका छैनन् । स्थानीयहरु अरु संघ संस्थासंग कारोबार गर्न रुचाउँदैनन् । संस्थाले बचत संकलन र ऋण लगानीका साथै सहकारी पसल पनि संचालन गरेकोले कृषकलाई उत्पादन बेच्न बिचौलीयाको बाटो हेर्नुपरेको छैन् ।

आवश्यक कृषि सामाग्री पनि सहकारी पसलमै पाइन्छ । संस्थाले सदस्य सुरक्षा राहत, अपाङ्ता राहत, दैवि प्रकोप राहत, संचालक तथा सदस्य कल्याणकारी जस्ता कोष स्थापना गरेको छ । सदस्यलाई औषधी उपचार खर्च, सुत्केरी खर्च, मृत्यु संस्कार खर्च पनि प्रदान गरेको छ ।

पशुधन सुरक्षण, अध्ययन भ्रमण, सामाजिक सामुदायीक कार्यक्रम, जेष्ठ नागरिक भ्रमण, नमुना कृषक व्यवसायी भ्रमण जस्ता कार्यक्रम पनि संस्थाका निरन्तर कर्म हुन । कृषकलाई व्यवसायीक तथा चेतनामूलक तालिम, असल सदस्य परिचय पत्र प्रदान, पशु स्वास्थ्य घुम्ति शिविर, दुग्ध संकलन, उत्कृष्ठ कृषक पुरस्कार जस्ता संस्थाका नियमित कार्यक्रम चलिरहेका छन् ।

संस्थाको तरकारी संकलन केन्द्र पनि छ, पशुधन पोषणधन भत्ता कार्यक्रम पनि छ अनि जेष्ठ र एकल महिला सदस्यलाई सम्मान र भत्ताको पनि ब्यवस्था गरेको छ । सदस्यलाई आपतकालिन औषधी उपचार सेवा पनि छ । कृषकलाई कृषि औजार तथा तरकारी र अन्नबालीको बीउविजनमा अनुदान संस्थाले दिएको छ ।

विद्यार्थी तथा गरिवसंग साना किसान कार्यक्रम पनि चलाएको छ । कृषि तथा प्राविधिक सेवा सहकारीले नै दिएको छ । जन्म हुँदा पोषण भत्ता, बाल अवस्थामा संरक्षण, युवा अवस्थामा शिक्षा तालिम तथा भ्रमण, बयस्क अवस्थामा प्रविधि, प्राविधिक र उद्यमी कर्जा साथै उपचार खर्च । त्यसैगरी वृद्ध अवस्थामा धार्मिक भ्रमण तथा सम्मान, भत्ता र मृत्युमा किरिया खर्च अनि ऋण मिनाह संस्थाका अमुल्य कार्यक्रम हुन ।

संस्थामा ३०६ वटा समुहमध्ये महिलाको मात्र १०६ वटा समुह छन् । १७४२ जना सदस्यमध्ये १०७६ जना महिला सदस्य रहेका छन् । त्यसैगरी संस्थाबाट ११३४ जना ऋणी सदस्यमध्ये ७१० जना महिला सदस्यले ऋण लिएका छन् । संस्थाले कृषक सदस्यको उत्पादन बिक्री हुँदा मात्र पैसा दिने हैन, बिक्री नभएर बारीमै खेर जाने अवस्था आएमा पनि राहत दिने गरेकोछ ।

दूध बिक्री नभएर फाल्नु पर्ने अवस्था आएमा पनि संस्थाले जिम्मेवारी लिएर सदस्यलाई राहत दिन्छ । खेतको गरा हराभरा बनाउनेदेखि पुल पुलेसो बाटोघाटो निर्माण गर्ने, मठमन्दिर निर्माणमा पनि संस्थाले योगदान दिएको छ । जन्मदेखि मृत्युसम्म, बालकदेखि वृद्धसम्म ।

कृषिदेखि रोजगारसम्म, गरादेखि उद्यमसम्म । संस्कृति संरक्षणदेखि साख जोगाउनेसम्म अनि नुनदेखि सुनसम्म, सलाङ साना किसान कृषि सहकारी अघि, अघि सरकार पछि पछि । त्यसैले त भनिदो रहेछ यहाँ सहकारीको राज चल्छ, यहाँ सहकारी सरकार छ ।



Leave a comment