तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाहरु तरलता अभावलगायतका समस्यासँग जुधिरहेका बेला भएको महासम्मेलनले बचतको सुरक्षा गर्न र विश्वासको वातावरण बनाउन जागरण अभियान संचालन गर्नेलगायतका दिशानिर्देशन पनि गरेको छ । हरेक ५–५ वर्षमा हुदै आएको महासम्मेलन कस्तो रह्यो ? यसै विषयमा केन्द्रीत रही सहकारी अखबारले केही सहभागीसँग गरेको कुराकानी :
कार्यान्वयनमा ध्यान दिनुपर्छ
राधा कडरिया ( संचालक, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ )
सहकारी महासम्मेलनमा धेरै राम्रा राम्रा विषयहरुमा छलफल भएको छ । सरकार, सहकारी अभियन्ताहरुको तर्फबाट पनि समसामयिक विषयहरुमा महत्वपूर्ण कुरा उठेका छन् । अबको आवश्यक्ता भनेको यसको कार्यान्वयन हो ।
विगतका अनुभवहरु हेर्ने हो भने हामी कार्यान्वयको पाटोमा चुकेका हौं कि जस्तो देखिन्छ । आगामी दिनमा पनि यो विषयलाई महासंघले ध्यान दिन आवश्यक छ । अहिले सहकारी क्षेत्र समस्यामा छ । हामी तरलता अभावको समस्या झेलिरहेका छौंं ।
यो बेला सहकारीकर्मीहरुले आश गरेअनुसार महासम्मेलनले सम्बोधन गर्न सकेन । किनकी वितगमा जस्तै भाषणमा मात्र सिमित हुने हो कि भन्ने चिन्ता छ । अब आश्वासनले मात्र पुग्दैन वास्तविक समस्या समाधानमा लाग्नुपर्छ ।
चेकलिस्ट बनाएर काम गर्नुपर्छ
ज्ञानु पौडेल ( अध्यक्ष, जनउत्थान साकोस, रुपन्देही )
सहकारीमा भएका उपलब्धी अवसरहरुको खोजी गर्न र सहकारीमा देखिएका भ्रमहरुको चिर्ने र साझा बुझाइ कायम गर्न महासम्मेलन सफल भएको छ । सहकारीका समस्याहरुमा मन्त्रालय, विभाग र महासंघबिच छलफल भएको छ । अब समस्या समाधान गर्न मागदर्शन गरेर अघि बढ्नुपर्छ ।
सहकारीको उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि कठिनाईका बारेमा अघि बढाउन पुँजीलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गर्न एकीवद्धता गर्नुपर्छ । समस्याहरुको आजको भोली नै समस्या समाधान हुने नै होइन । महासम्मेलनमा उठेका सुझावहरुको चेक लिस्ट बनाएर यति दिनभित्र यो काम गर्ने भन्ने कार्ययोजना बनाएर काम गर्न सकेमा उपलब्धीमूलक बनाउन सकिन्छ ।
ज्ञान र सिप सिक्ने मौका मिल्यो
थैवबहादुर सुवेदी ( उपाध्यक्ष, जिल्ला सहकारी संघ, तेह्रथुम )
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दोस्रो सहकारी महासम्मेलनमा पनि भाग लिएको थिए । तेस्रोमा पनि भाग लिन पाए । महासम्मेलनमा राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय विषय विज्ञहरुबाट सहकारीका विविध विषयमा कार्यपत्र प्रस्तुती तथा छलफलबाट ज्ञान र सिप सिक्ने मौका मिलेको छ ।
अहिले सहकारी अभियान समस्यामा छ । यो समस्या काठमाडौं उपत्यका वा सहरी क्षेत्रमा मात्र सिमित नभइ देशभर छ । सहकारीमा देखिएको समस्या समाधान नगर्ने हो भने धरासायी हुने अवस्था पनि छ ।
यो अवस्थामा सहकारीलाई कसरी जोगाउने, संस्थाहरु कसरी दिगो बनाउने भनेर सिक्ने अवसर महासम्मेलनले दिएको छ । यसबाट सिकेका सिपहरु जिल्लाका सहकारीकर्मीहरुलाई सिकाउन र त्यस अनुसार सहकारी अभियानलाई अगाडी बढाउन मेरो भूमिका रहनेछ ।
अब महासंघले लविङ गर्नुपर्छ
खगेन्द्र सुवेदी ( अध्यक्ष, जिल्ला सहकारी संघ, धनकुटा )
कोभिड–१९ पछि देखिएको आर्थिक मन्दी र वित्तीय क्षेत्रको तरलता अभावको समस्याले सहकारी क्षेत्र पनि प्रभावित भएको छ । यी समस्याको समाधान गर्न अभिभावक संस्था सहकारी महासंघले राज्यका उपल्लो निकायहरुसँग छलफल गरेर केही निकास निकाल्नेछ भन्ने हाम्रो अपेक्षा छ । वित्तीय संकट न्यूनिकरण गर्न महासंघले लविङ गरोस् भन्ने अपेक्षा छ ।
अहिले सहकारी क्षेत्रमा केही अराजकता निम्तिएको छ । केही सहकारीहरु सिद्धान्त र कानुन अनुसार नचल्दा समस्या भएको र उनीहरुका कारण सबै बदनाम हुने र सबै सहकारीमा पैसा झिक्नेको लाइन लाग्दा समस्या भएको हो । आम रुपमा सहकारीहरुमा समस्या छैन ।
यस वर्ष राष्ट्रिय सहकारी महासंघले ‘सहकारीको दिगोपन स्वनिय र सुशासन भन्ने नारा तय गरेको छ । त्यो नारा अनुसार अघि बढ्न सक्यौं भने सहकारीमा समस्या आउदैन । यसलाई प्रचारप्रसार गर्नका लागि महासम्मेलन फलदायी भएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय विज्ञहरुको अनुभवबाट हामीलाई पनि सिक्ने मौका मिलेको छ । अहिले सबै सहकारीकर्मीहरुले सहकारीप्रति आम सर्वसाधारणको विश्वासलाई टुट्न नदिनु प्रमुख जिम्मेवारी हो ।
सहकारीप्रति युवा पुस्ता तथा विद्यार्थीहरुको रुचि बढाउन आवश्क छ । त्यसका लागि सहकारी र वित्तीय साक्षरता फैलाउन जरुरी छ । मैले जिम्मेवारी लिएको जिल्लामा स्थानिय सरकार र साझेदारसँग मिलेका यसका लागि काम गरिरहेका छौं ।
उठेका विषयलाई नीति निर्माताले सम्बोधन गर्नुपर्छ
डम्बरबहादुर शाह ( प्रवन्धक, किसान बहुउद्देश्यीय सहकारी, कैलाली )
सहकारी महासम्मेलन अहिले सहकारी क्षेत्रमा देखिएको समस्या र चूनौतिहरुको पहिचान गरी समाधान निकाल्नका लागि सहयोगी हुने हाम्रो अपेक्षा छ । संविधानमै सहकारीलाई अर्थतन्त्रको खम्बाको रुपमा स्वीकार गरेपनि सरकारले त्यस अनुसार व्यवहार गरेको छैन ।
जसरी कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निमयन गर्छ, धरासायी हुन लाग्यो भने व्यवस्थापन लिएर समेत जनताको निक्षेप सुरक्षित गर्छ, सहकारीमा त्यस प्रकारको व्यवस्था भएन । जसले गर्दा सहकारीप्रति सर्वसाधारणको विश्वास घट्दै गएको छ ।
सहकारी महासम्मेलनमा सहकारी क्षेत्रको विकासका लागि धेरै काम गर्नुपर्ने विषयहरु बाहिर आएका छन् । भाषणले मात्र उपलब्धी हुदैन । सम्मेलनले उठाएका विषषहरुलाई नीति निर्मार्ताहरुले सुन्नुपर्छ । राष्ट्रिय सहकारी महासंघले पनि त्यसको कार्यान्वयनका लागि लविङ गर्नुपर्छ ।
अहिले केही सहकारीका कारण सिंगो सहकारी क्षेत्र बदनाम भएको छ । त्यसैले ठूला सहकारी संस्थाहरुको प्रभावकारी अनुगमन गर्नुपर्छ । जसले कानुन विपरित काम गरेको छ उनीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । यसैगरी सहकारीमार्फत वित्तीय साक्षरता, उद्यमशिलताका तालिमहरु संचालन गरी सहकारी अभियानलाई दिगो रुपमा अघि बढाउन आवश्यक छ ।
महासम्मेलनमा उठेका सवाल कार्यान्वयनमा लैजानुपर्छ
जगदिश भट्टराई ( अध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी संघ, पाल्पा )
अहिले देखिएको आर्थिक मन्दी तथा तरलताको अभावलगायतका समस्या भोगिरहेका बेला सहकारी क्षेत्र पनि प्रभावित भएको छ । केही सहकारीमा देखिएको समस्याका कारण सिंगो सहकारी अभियानलाई समेत अप्ठेरोमा पार्न थालेको छ ।
यो अवस्थामा सहकारी सम्बन्धी नकारात्मक कुराहरुलाई न्यूनिकरण र निराकरण गर्नका लागि सहकारी महासम्मेलन महत्वपूर्ण भएको छ । महासम्मेलनमा उठेका विषयहरुलाई कसरी कार्यान्वयमा लैजान सक्छौं त्यो महत्वपूर्ण हो ।
महासम्मेलनमा भएका विभिन्न प्रस्तुतीमध्ये मलाई सबैभन्दा राम्रो बैकर अनिल शाहको प्रस्तुती लाग्यो । उहाँको प्रस्तुती व्यवहारीक र वास्तविकतामा आधारित रहेकाले सहकारी संस्थादेखि घरपरिवारसम्म लागू हुने किसिमको थियो । आगामी दिनमा पनि महासंघले यस्ता मौलिक प्रस्तुतीलाई प्राथमिकता देआस् भन्नु सुझाव दिन चाहान्छु ।
सकारात्मक धारणा फैलाउन महासम्मेलन सफल
सिर्जना सुयेल नेपाल ( अध्यक्ष, सामूहिक परिवर्तनशिल महिला सहकारी, काठमाडौं )
कोभिड–१९ को महामारीपछि देखिएको आर्थिक मन्दी र तरलता अभावको समस्याले सहकारी क्षेत्रलाई पनि पिरोलेको छ । केही सहकारी संस्थाहरुले बचत फिर्ता गर्न नसक्दा सहकारीलाई हेर्न दृष्टिकोण र विश्वास गुमिरहेको छ । यो अवस्थामा सहकारीप्रति सकारात्मक धारणा फैलाउन महासम्मेलन सफल भएको छ।
महासम्मेलनमा स्वेदशी र विदेशीहरुले कार्यपत्र र आफ्नो अनुभव राख्नुभयो । अहिले हामी सहकारीको दिगोपनका लागि स्वनियम र सुशासनको नारा बनाएर अघि बढिरहेका बेलामा सहकारी संस्थालाई स्वनियमन राख्ने, संचालक, कर्मचारी र सदस्यलाई शिक्षा दिएर अगाडी बढाउृने विषयमा अझ प्रष्टता आएको छ ।
यसैगरी सहकारी अभियानको जरा भनेकै प्रारम्भिक संस्था हो । त्यसलै यसलाई मजवुत बनाउनुपर्छ भनेर स्पष्ट भएको छ । बाहिर राम्रो फुल देखेर मात्र हुदैन । त्यसको जरा कति बलियो छ, त्यति संस्था दिगो हुन्छ भन्ने शिक्षा मिलेको छ ।
सहकारी अभियानलाई दिशानिर्देश गरेको छ
राजेन्द्रकुमार श्रेष्ठ ( प्रमुख कार्यकारी अधिकृत, चाइना ट्रेड बहुउद्देश्यीय सहकारी, काठमाडौं )
राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनले सहकारीका समसामयीक विषयमा छलफल, अनुभव आदन प्रदान र विज्ञहरुको कार्यपत्रहरुमा चिन्तन मनन गर्ने अवसर सिर्जना गरेको छ ।
अहिले वित्तीय बजारमा अस्थिरताको वातारण र तरलता अभावको समस्या भोगिरहेका बेला सहकारी अभियानलाई जोगाउने र दिगोपनको प्रत्याभुति गर्ने विषयमा ब्यापक छलफल र बहस भएको छ ।
यस हिसावले महासम्मेलन अत्यन्त सफल र सार्थक दुरगामी महत्वको कार्यक्रम भएको छ । हामी सहकारी संचालनका लागि जुन परम्परागत रुपमा सोचिरहेका थियौं अब फरक ढंगले सोच्नुपर्छ भन्ने विषय पनि आएको छ । सहकारी अभियानलाई दिशानिर्देशन पनि गरेको छ ।
व्यवहारमा उतार्न जरुरी छ
कालिबहादुर महतारा ( संचालक, राष्ट्रिय सहकारी बैंक कर्णाली प्रदेश )
तेस्रो सहकारी महासम्मेलनमा मुख्यतया सहकारीमा संस्थागत सुशासन र स्वनियमको कुरा जोडतोडका साथ उठेको छ । यो अहिले सहकारीमा देखिएको ज्वलन्त समस्या हो हो । यसलाई समाधान गर्नका लागि साझा संकल्प पनि जारी गरिएको छ ।
यसैरी सहकारीमार्फत उत्पादन बढाउने विषयमा पनि हामीले छलफल ग¥यौं । किसानहरुलाई व्यवसायीक बनाउन र कृषि उत्पादन बढाउन उन्नत प्रविधिको प्रयोग गनुपर्छ । उत्पादन बृद्धिसँगै यसको भण्डारण र मार्केटिङ पनि आवश्यक छ । यो विषयहरुमा महासम्मेलनमा धेरै छलफल गरिएको छ । अब यसलाई ब्यवहारमा उतार्न आवश्यक छ ।
सहकारी क्षेत्र थप बलियो बन्छ
विश्वनाथ मण्डल ( संचालक, राष्ट्रिय सहकारी बैंक, मधेस प्रदेश )
सहकारी महासम्मेलनलाई मैले कुम्भ मेला जस्तै ठानेको थिए । तर यसबाट सहकारीका लागि नयाँ पाठ सिक्ने अवसर मिलेको छ । महासम्मेलनमा विज्ञहरुको अनुभव जान्ने मौका मिलेको छ । यतिबेला सहकारी क्षेत्र तरलता अभावको समस्याबाट पिडित छ ।
महासम्मेलनले तरलताबारे ठोस निर्णय लिन सकोस् भन्ने उपलब्धी हुन पाओस् भन्ने अपेक्षा छ । सहकारी क्षेत्रमा देखिएका विकृतीलाई निराकरण गर्न महासम्मेलनले मद्दत पुग्नेछ । अहिले नेपालमा कृषि लागत धेरै र आम्दानी कम हुँदा कृषकको उत्पादन खस्किदै गएको छ ।
खुल्ला सिमानाले गर्दा भारतको उत्पादन हाम्रो बजारमा आउछ र हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । यो अवस्थाबाट माथी उठाउन सहकारीहरुलाई सस्तो ब्याजमा ऋण दिनुपर्छ भन्ने कुरा पनि उठेको छ । महासम्मेलनमा उठेका विषयहरु कार्यान्वनय भयो भने सहकारी क्षेत्र थप बलियो हुन्छ ।
नयाँ कुरा सिक्ने मौका भयो
गणेश कुमार आश ( अध्यक्ष, आइडियल सहकारी संस्था, राजविराज )
सहकारी महासम्मेलनमा सहभागि भएर नयाँ कुरा सिक्ने मौका मिलेको छ । महासम्मेलनमा सहकारीहरुमा तरलताको व्यवस्थापन, जोखिम न्यूनिकरण, प्रविधिको प्रयोगलगायतका विषयहरुमा हामीले छललफल गरेका छौं ।
सहासम्मेलनमा प्रधानमन्त्रीलगायत राज्यका अधिकारीहरुबाट विभिन्न प्रतिवद्धताहरु व्यक्ति भएकाले भोलीका दिनमा ती कुराहरु सम्बोधन हुने र सहकारीलाई फलिफाप हुनेमा हामी आशावादी छौं । अहिले सहकारीहरुले राम्रा राम्रा काम पनि गरेका छन् ।
केही सहकारीहरुले नराम्रो गर्दैमा सबै सबै सहकारी संस्थाहरुले नराम्रो गरेका छन् भन्ने हुदैन । सहकारीको अवस्था सुधार गर्नका लागि सन्दर्भ ब्याजदर, तरलता व्यवस्थापनलगायतका विषयमा सहभागिहरुले सुझाव दिएका छन् ।
त्यसलाई कार्यान्वयन गर्न महासंघले आगामी दिनमा पहल गर्नुपर्छ । यसैगरी अहिले लगानी भन्दा असुलीतिर ध्यान दिनुपर्छ । यसका सदस्यहरुको अवस्थालाई पनि विचार पु¥याउनुपर्छ ।
व्यवहारमा लागू गर्नुपर्छ
चन्द्रेश्वर प्रसाद चौरासिया ( प्रमुख कार्यकारी अधिकृत, श्रीनिधी साकोस, बिरगञ्ज )
यतिबेला नेपालको मात्र नभई विश्व अर्थतन्त्रमा नै मन्दीको चपेटामा छ । यो अवस्थामा सबै पक्षहरुको विश्लेषण गर्नका लागि सहकारी महासम्मेलन हुनु एकदमै सकारात्मक पक्ष हो । यसबाट देशभरका सहकारीकर्मीहरुलाई सहकारीका अहिलेको समस्याबारे छलफल गर्न र नयाँ कुरा सिक्ने अवसर पनि सिजर्ना भएको छ।
हाम्रो समस्या भनेको नयाँ कुरा सिकेपनि त्यसलाई ब्यवहारमा लागू गर्दैनौं । यो महासम्मेलनमा सिकेका धेरै कुराहरु व्यवहारमा लागू गर्न सकेमा महत्वपूर्ण छन् । त्यतातर्फ हामीले ध्यान दिनुपर्छ । कुनै पनि सहकारी संस्थामा समस्या हुनुमा संस्थाका कर्मचारी, सदस्य र संचालक तिन पक्षबाटै भूमिका हुन्छ ।
सबै पक्ष जिम्मेवार हुन सक्यौं भने सहकारीमा समस्या आउदैन । सहकारीमा नियामक कमजोर भएको कारणले आजको समस्या भएको हो । छोराछोरी जन्माएर बाटोमा छोड्यो अनि बिरामी भएपछि पनि आफै औषधी खाउ भन्न मिल्दैन । समस्या आएउनुअघि नै नियामकले सचेत गराउन सकेमा सहकारीमा समस्या कम हुन्छ ।
समस्याहरु छलफलमा आएका छन्
शालिकराम ढकाल (अध्यक्ष, किसान कल्याण साकोस, इटहरी )
महासम्मेलनमा सहकारी क्षेत्रमा देखिएका समस्याहरु छलफलमा आएका छन् । सहकारी अभियानले देशको सामाजिक सास्कृतिक तथा आर्थिक क्षेत्रमा गरेका महत्वपूर्ण उपलब्धीहरुका समिक्षा पनि भएको छ । अब सहकारी अभियान संरक्षण र प्रवद्र्धन गर्दै मात्रात्मक भन्दा गुणस्तर विस्तार गर्न प्रतिवद्धता पनि जारी गरेका छौं ।
अहिले सहकारीका खास लक्ष्यलाई सम्बोधन गर्न अभियान र राज्य चुकिरहेको छ । महासम्मेलनको उद्देश्य सहकारीमा संस्थामा भएका महत्वपूर्ण कामहरुका बारेमा सरकारलाई बुझाउनु पनि हो ।
राज्यले सहकारीलाई अर्थतन्त्रको एक खम्बा मानिरहेका बेला सवलिकरणमा भूमिका कमजोर भयो कि भन्ने देखिएको छ । तर, सहकारी क्षेत्रमा देखिएको वित्तीय समस्या समाधान महासम्मेलनले गर्ने होइन । बाटो देखाइदिने हो । यो भूमिका महासम्मेलनले निर्वाह गरेको छ ।
काम गर्न हौसल्ला बढाएको छ
कृष्णा पाठक ( लेखा सुपरिवेक्षण संयोजक, बचत तथा ऋण सहकारी संघ, बाँके )
सहकारी महासम्मेलन हामीले सोचेको भन्दा राम्रो भएको छ । देशभरबाट सहभागिता रहेकाले सहभागिता पनि राम्रो थियो । तर, सबै सहभागिहरुले आफ्नो कुराहरु राख्न पाएनन्, त्यसैले समय व्यवस्थापन भने आयोजकले ध्यान दिनुपर्छ ।
अहिले विविध समस्याका कारण सहकारी अभियानमा नैरायश्यता बढिरहेका बेला महासम्मेलनले हौसल्ला बढाएको छ । हामीलाई तल्लो तहमा पुगेर काम गर्नका लागि पनि सहयोग भएको छ। तर, केही सहकारीहरुमा बदमासी हुँदा सिंगो सहकारी क्षेत्र नै धरासायी हुन लागेको छ ।
बचत संकलन घटिरहेको छ । ऋण नतिर्नका लागि विभिन्न पक्षले उक्साउने काम गरिरहेको अवस्थामा त्यसलाई चिर्नका लागि भने महासम्मेलन सोचेजस्तो भएन । यस्तै तरलता व्यवस्थापनको लागि सहयोग हुन्छ भन्ने आशा पनि पुरा भएन ।
सहकारीहरुमा ५६ प्रतिशत महिलाको सहभागिता भएपनि नेतृत्वमा भने कमजोर अवस्था छ । यस्तै महासम्मेलनमा पनि महिलाको सहभागिता कम नै पाइयो । तल्लो तहका स साना सहकारीहरु पनि समेटिएन् कि जस्तो लाग्यो यसलाई आगामी दिनमा सुधार होस् भन्ने सुझाव दिन चाहान्छु ।
समस्याहरु उजागर भएको छ
अर्चना अमात्य ( सचिव, केन्द्रीय उपभोक्ता सहकारी संघ )
तेस्रो सहकारी महासम्मेलन हामीले सोचेको र अपेक्षा गरेको भन्दा राम्रो र उपलब्धीपूर्ण भएको छ । सहकारीमा भएका समस्याहरुको बारेमा छलफल गर्ने अवसर मिलेको छ । सहकारीका समस्याहरु उजागर भएको छ र त्यो सरकार, अभियान तथा सरोकारवालाहरुसम्म पुगेको छ ।
त्यसैले आगामी दिनमा त्यसलाई समाधानका लागि महासंघले नेतृत्व लिएर काम गर्नेछ भन्नेमा सहभागिहरुको अपेक्षा छ । त्यसका लागि महासंघले नेतृत्व लिनुपर्छ ।
Leave a comment