सहकारीमा देखिएको तरलता संकटको समाधान गर्ने कसरी ?

सहकारीमा देखिएको तरलता संकटको समाधान गर्ने कसरी ? :: Sahakari Akhabar

केहि सहकारी संस्थाहरुले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सिंगो सहकारी क्षेत्रप्रति नै सर्वसाधारणको अविश्वास पैदा भएपछि बचत गर्ने भन्दा झिक्नेको संख्या बढी हुँदा सहरी क्षेत्रमा संस्थाहरुमा चरम तरलता अभाव छ । तरलताको संकट गहिरिदै गएपनि समस्या समाधानकालागि ठोस पहल हुन सकेको छैन ।

राष्ट्रिय सहकारी महासंघले समस्या समाधान सहजिकरण उपसमिति बनाएर समस्या समाधानको पहल गरेपनि ठोस उपलब्धी देखिएको छैन । जसले गर्दा सहकारीकर्मी निराश हुनथालेका छन् । सहकारी संचालकहरु कार्यालयमा बस्नै नसक्ने, ऋण असुली गर्न नसक्ने, कार्यालय संचालन गर्न नसक्ने अवस्था हुँदासमेत सरकारले सहयोग नगरेको उनीहरुको गुनासो छ । अहिलेको संकट समाधानकालागि के गर्नुपर्छ त ? यसै विषयमा केहि सहकारीकर्मीहरुको विचार :

सहकारी पिल्लर मात्र बन्यो सरकारले खै छाना हालेको ?

मनोजकुमार थापा मगर ( संचालक, राष्ट्रिय सहकारी बैंक )

सहकारी संस्थाहरु यतिबेला जनताको पैसा फिर्ता गर्दा गर्दा लगभग शुन्यको अवस्थामा पुगेका छन् । तरलता संकट राष्ट्रिय समस्या हो, आर्थिक मन्दीका कारण यो समस्या भइरहेको छ भन्न सरकार किन हिच्किचाई रहेको छ ? किन सहकारी संचालकलाई मात्र एकतर्फी दोष देखाइएको छ ।

यसलाई सरकारले जिम्मा लिने कि नलिने ? सरकारले किन ग्यालग्याल्ती सहकारी जन्मायो ? यसको जिम्मा लिनुपर्छ कि पर्दैन ? यो राष्ट्रिय समस्या हो भनेर घोषणा गर्नुपर्यो, अपनत्व लिनुपर्यो । बचतकर्ताको रकम फिर्ता गर्न हामी सबै सहकारीका संचालक लागिरहेका छौं ।

व्यक्तिगत सम्पति बेचेर भएपनि तिर्ने भनेका छौ । तर हाम्रो कर्जा उठाइदिन पर्दैन ? कर्जा उठाउने जिम्मा कसले लिने ? सहकारी ऐन, नियमावली आयो त्यो पिल्लर मात्र बन्यो खै छाना हालेको ? यत्रो बैंकिङ कारोबार गरिरहेको छ, यसलाई सुरक्षित गर्नकालागि कर्जा सूचना केन्द्र ल्याउनु पर्दैनथ्यो ?

कालो सूचिको व्यवस्था खै ? अहिले सहकारीमा लाईन लागिरहेको सदस्यहरु डराइरहेको अवस्थामा २५ लाखभन्दा बढि बचत गर्न नपाइने कानुनले कस्तो प्रभाव पर्ला । यो विश्वास जागृत गर्ने बेला, अविश्वास सिर्जना हुने कामगर्नु हुदैन ।

विश्वासको वातावरण बनाउनुपर्छ 

चित्राकुमारी थाम्सुहाङ सुब्बा (महाप्रवन्धक, राष्ट्रिय सहकारी महासंघ )

सहकारीको अहिलेको समस्यामा सरोकारवाला सबै पक्ष जिम्मेवार छौं । सरकारले दर्ता गर्यो, सेवा केन्द्र स्विकृती दिने काममात्र गर्यो, नियमनको पाटो एकदमै कमजोर रह्यो । अभियानले संस्थाहरुलाई गलत ठाउमा गलत भइरहेको छ है सुध्रिनुहोस् भन्नै सकेनौँ । संस्थाहरुले पनि जतिसक्दो कारोबार विस्तारमा मात्र ध्यान दिए, संस्थागत शुसासन र क्षमता अभिवृद्धिमा ध्यान दिन सकेनन् ।

अहिलेको समस्या राष्ट्रिय तथा अन्तर्राष्टिय आर्थिक संकटको कारण पनि हो । यो भन्दा पनि सहकारीमा तत्काल विश्वासको संकट छ । राखेको पैसा झिक्न मात्र तल्लिन छन् । बचत गर्न डराएका छन् । सरकारले कम्तीमा सिंगो सहकारी अभियानमा समस्या छैन, गलत गर्नेलाई कारवाही गर्छौ भनेर म्यासेज दिनुपर्छ । संस्थाहरुलाई अभियानले गाइड गर्नुपर्छ ।

जिरो आवर घोषणा गरेर ऐन कार्यान्वयन सुरु गरौं

भोलानाथ पाठक ( अध्यक्ष, पाँचतारा बचत तथा ऋण सहकारी )

सहकारी ऐन‐२०७४ मा यस क्षेत्रलाई व्यवस्थित गर्ने धेरै प्रावधानहरु ल्याइएको छ । तर ती व्यवस्थाहरु कार्यान्वयन नहुँदा अहिलेको समस्या आएको हो । कर्जा सूचना केन्द्र, कालो सूचीको व्यवस्था कार्यान्वयन भएको भए हुदैनथ्यो ।

नयाँ ऐन जारी भएपछि सहकारीमा सुधार गर्ने कुरा भएको थियो । अब पनि त्यसलाई कार्यान्वयन गर्न सकिन्छ । जिरो आवर घोषणा गरेर सहकारी ऐन कार्यान्वयन सुरु गरौं । सहकारीमा देखिएको समस्या समाधान हुन्छ ।

संस्थाको पत्रका आधारमा ऋणीहरुको सम्पति रोक्काहुनुपर्छ

नरेन्द्र बिष्ट (अध्यक्ष, शुक्रपथ बहुउद्देश्यीय सहकारी )

अहिलेको तरलताको समस्या सबै क्षेत्रमा छ । त्यहि समस्या सहकारीमा पनि छ । बचतकर्तालाई अहिल्यै पैसा चाहिएको छ, ऋणीहरुको पनि समस्या परेका बेलामा तपाईहरु दवाव दिने, मर्न बाध्य बनाउने ? भन्ने प्रतिक्रिया छ । तरलता व्यवस्थापनका लागि कुनै स्रोतबाट ल्याउन सकिने अवस्था पनि छैन ।

सहकारी संस्थाको पत्रका आधारमा ऋणीहरुको सम्पति रोक्का गर्ने व्यवस्था हुनुपर्छ । यसकालागि भूमि व्यवस्था र सहकारी मन्त्रालय एउटै भएकाले सहजिकरण गर्नसक्छ । अर्को पक्ष भनेको सहकारीमा त्रास पनि फैलिएको छ । सरकारले सहकारीका सदस्यलाई सकरात्मक सन्देश प्रवाह गरेर ढुक्क बनाउनु पर्छ ।

राष्ट्र बैंकले नियमन गर्दा सहकारीको मर्म हराउने हो कि

प्रकाश प्रसाद पोखरेल ( सिइओ, नेफ्स्कून )

अहिले अनुसन्धान गरेर सहकारीको समस्या के हो पत्ता लगाऔं । पहिचाहन गरौं, समस्यामा रहेका सहकारीहरुलाई राष्ट्र बैंकले सुपर भिजन गर्नुपर्छ । संस्था दर्ता अघि फिट एण्ड प्रोपर टेस्ट गरेर मात्र अनुमति दिनुपर्छ। सहकारी क्षेत्रमा पोलिटिकल एक्सपोजर धेरै भएकाले मनि लाउन्डरिङ जोखिम उच्च छ ।

अहिले सहकारीहरुलाई राष्ट्र बैंकले नियमन गर्ने प्रस्ताव गरिएको छ । तर राष्ट्र बैंकले  बैंकिङ क्याटगोरीमा लगेर नियमन गर्दा सहकारीको मर्म हराउने हो कि भन्ने डर छ । विषयगत केन्द्रीय संघलाई जिम्मेवार बनाउनुपर्छ । उनीहरुलाई अधिकार सम्पन्न बनाउनु पर्छ । तरलताको समस्यामा राज्यले केहि सफ्ट लोन दिन सक्छ । यसैगरी सहकारीमा सकारात्मक सन्देश प्रवाहगर्नुपर्छ ।

हामी सम्पति बेच्न तयार छौं कसले किन्ने ?

बिन्देश्वर श्रेष्ठ ( प्रवन्ध संचालक, संकटा बचत तथा ऋण सहकारी )

केहि दिन अघि राष्ट्रिय सहकारी महासंघले सहकारीका संचालकले ऋण लिएको भए आफ्नो सम्पति बेचेर भएपनि तिर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्यो । तर, त्यसको नकारात्मक तरिकाले ब्याख्या भयो । सदस्यहरुमा संचालकले सम्पति बेचेर भएपनि बचत फिर्ता गर्नुपर्छ भन्ने भयो ।

सबै संचालकहरुले ऋण लिएको छ भने तिर्न तयार छौं, हामी सम्पति बेच्न पनि तयार छौं । हामीले सम्पति बेच्ने कसलाई ? त्यो सम्पति पनि बिक्री हुनुपर्यो । किनिदिने कसले, सहकारी बैंक र नेफ्स्कून संग पैसा छैन् ।

राज्य जिम्मेवार बन्नुपर्छ

मधुसुधन पाठक, सहकारीकर्मी 

राज्यले सहकारी दर्ता गरिदिने, कर तोकेकै समयमा भूक्तानी लिने तर अनुगमन तथा नियमन नगर्ने अनि सुशासन भएन भनेर रोइलो गरेर हुन्छ ? सहकारी क्षेत्रको समस्यामा राज्य जिम्मेवार हुन पर्छ कि पदैन ? यो अवस्थामा सहकारीले विपन्न वर्गकालागि परिचालन गरेको पैसा समेत फिर्ता लिने कुरा आएको छ। सहकारी सिध्याउने खेल विरुद्ध हामी सबै आन्दोलित हुनुपर्ने हुन्छ । अहिले देखिएको तरलताको समस्या राष्ट्रिय संकट हो कि होइन यकिन गरौं, उचित नियम र योजना तर्जुमा गरौं ।

ऋण उठाएर बचत फिर्ता गर्छौ, कार्यालय संचालनगर्ने वातावरण बनोस

सुवासचन्द्र महत, सहकारीकर्मी

अहिले सहकारी क्षेत्र पनि आर्थिक मन्दीले प्रभावित भयो होला । तर यो भन्दा सन्दर्भ ब्याजदर मुख्य समस्या हो । ब्याजदर निर्धारण गर्ने सरोकारवालाले यसको जिम्मेवारी लिनुपर्छ । सहकारी सिध्याउन अगाडीदेखि नै ग्राण्ड डिजाइन भएको छ । अहिले म कार्यालय खोलेर भित्र पसेर काम गर्न पाउने कि नपाउने ? ऋणीहरुलाई ताकेता गर्न पाउने कि नपाउने ? अवस्था त्यस्तो छ दर्शन र सिद्धान्तका कुरा पछि गरौंला आज संचालकहरु अफिसमा बसेर दैनिक काम कारवाही गर्न सक्ने अवस्था बनाऔं ।

दायित्वको ५० प्रतिशत फिर्ता गरिसक्दा अझै लाइन छ भने संचालक खराब हो या सरकारले जनतालाई सचेत गराउने नसकेको हो ? यतिबेला सरकारले सहकारीहरुलाई अफिस खोलेर संचालन गर्न वातावरण बनाउनु पर्छ । संचालकहरुलाई मार्ने धम्की आउछ, यो समस्या कुन सरोकारवालाले हेर्ने हो ? हामी खराब होइन, लगानी उठाएर फिर्ता गर्छौ भनिरहेका छौं ।



Leave a comment