सहकारीका समस्यामा संवेदनशिल बनौं 

सहकारीका समस्यामा संवेदनशिल बनौं  :: Sahakari Akhabar

त आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्याले सहकारी क्षेत्र पनि प्रभावित बन्दै गएको छ । तरलता अभावको समस्या गहिरिदै जाँदा सहकारी क्षेत्रमा भने बचतकर्ताको रकम फिर्ता दिन नसक्ने अवस्थामा पुगी समस्याग्रस्त बन्ने संस्थाहरुको संख्या बृद्धि हुन थालेको छ ।

केहि महिनायता सहकारीले पैसा फिर्ता नदिएको, संचालकहरु फरार भएका, कार्यालय बन्द भएको जस्ता समाचारहरु बढिरहेका छन् । अहिलेको समस्या सहकारी क्षेत्रमा मात्र होइन । तरलता अभावले गर्दा जब बैंकहरुले ऋण प्रवाह बन्द गरे त्यसपछि बजारमा नगद प्रवाह कम भयो ।

आर्थिक गतिविधि पनि सुस्त हुँदै गएपछि सहकारीको दैनिक संकलन घट्दै गयो । जसका कारण थोरै तरलता राखेर संस्था संचालन गरेका सहकारीहरुलाई बचत फिर्ता गर्न पनि समस्या हुन थालेको हो । अर्कोतर्फ केहि सहकारीहरु अनुशासनहिन ढंगले संचालन छन् ।

सहकारीको पैसा जथाभावी लगानी गरेका छन् भने कतिपय संस्थामा संचालक आफैले पनि चलाएका छन् । वित्तीय संस्था सुरक्षित रुपमा संचालन गर्नुपर्ने आधारभुत मान्यता समेत पालना नगरेकाले सहकारीमा जोखिम पहिल्यै आंकलन थियो भन्दा पनि फरक पर्दैन ।

सहकारीका ऐन, कानुनका साथसाथै अन्तर्राष्ट्रिय सिद्धान्त तथा मूल्य मान्यता भएपनि त्यसको पालनामा हामी अत्यन्तै कमजोर अवस्थामा छौं । हामीले अन्तर्राष्ट्रिय रुपमा उदाहरण प्रस्तुत गर्नेगरी सहकारी ऐन त बनायौं त्यस अनुसार संस्था संचालन गर्न सकेनौं भन्ने हाम्रो यथार्थताले नै पुष्टि गर्छ ।

सरकारी पक्षबाट हुनुपर्ने अनुगमन तथा गलत काम गर्ने संस्थालाई कारवाही गर्ने पाटोमा हामी शुन्यकै अवस्थामा छौं भन्दा फरक नपर्ला । सहकारी आन्दोलनलाई अघि बढाउने भन्दै केन्द्रदेखि स्थानिय तहसम्म नेटवर्क बनेपनि ति संघहरुले पनि विकृतीलाई चिर्न सकेका छैनन् ।

हुन त अहिले देखिएको तरलता अभावको समस्या सहकारीको मात्र होइन । कोभिड महामारीपछि विश्वव्यापी रुपमा नै आर्थिक मन्दी देखिएको छ र त्यसैको प्रभाव सबै क्षेत्रमा परेकाले सहकारीमा पनि देखिनु स्वभाविक नै हो । तर, यो अवस्थामा सहकारीले ठग्यो भन्दै रुवाबासी गर्दै सर्वसाधारण सडकमा आउनु भनेको सहकारी अभियानकै लागि लाजमर्दो अवस्था हो ।

जसरी बैंक तथा वित्तीय संस्थाहरुलाई अप्ठेरो पर्दा सहयोग गर्नेगरी सिस्टम बनेको छ सहकारीमा त्यो नहुँनु बिडम्बना नै हो । अरवौँको कारोबार हामी भगवान भरोसामा गरिरहेका छौं । एउटा सानो झड्का थेग्ने न हामीले सिस्टम बनाएका छौं, न त सदस्यलाई विश्वासमा नै । एउटा संस्थामा देखिने सानो झट्काले सिंगो अभियान मै प्रश्न चिन्ह खडा हुने अवस्था आएको छ ।

दुःखको कुरा यो छ नि अहिले एकाध संस्थामा देखिएको समस्या बढ्दै जाने आंकलन भएपनि सहकारीका नियामक निकाय, अभियानका संघ तथा महासंघ र यसका नेतृत्वहरु केहि नभएको, सबै कुरा ठिकठाक चलिरहेको जसरी प्रस्तुत भइरहेका छन् ।

उनीहरुको घुमघाम, देशदौडाहा, होटेल रिसोर्टका गोष्ठी चलिरहेका छन् तर, सहकारीका समस्यामा चिन्ता, चासो र पूर्व तयारी देखिदैन । समय अझै ढिला भएको छैन, सुधार गर्न सकिने धेरै उपाय र विधि छन् । बेलैमा समस्याप्रती संवेदनशील बनौं र सहकारी अभियानलाई जोगाउन चिन्तीत बनौं ।



Leave a comment