आज फेब्रुअरी १४ तारिख, ‘भ्यालेन्टाइन्स डे’ । प्रेम गर्नेहरूका लागि विशेष दिन अर्थात् प्रणय दिवस । प्रेमका लागि जीवन बलिदान गर्ने सन्त भ्यालेन्टाइनको सम्झनामा इटलीको रोमबाट भ्यालेन्टाइन्स डे मनाउने सस्कृती सुरु भएपनि अहिले यो प्रचलन विश्वव्यापीकरण भएको छ । आजको दिन प्रेमी प्रेमिका एक–आपसमा शुभकामना, उपहार आदान प्रदान, घुमघाम गरेर प्रणय दिवस मनाउँछन् । यसै अवसरमा केही सहकारकर्मीसँग गरिएको प्रेमवार्ता:
भ्यालेन्टाइनमा भेट्न नपाए आशङ्का
रामशरण बस्नेत (अध्यक्ष, चन्द्रसूर्य साकोस, ललितपुर)
माया प्रेम भ्यालेन्टाइन दिन मात्र होइन, सधैँ हुनुपर्छ, तर निश्चित दिनमा विशेष हुन्छ । अरू दिन पनि प्रेम हुन्छ । यस दिनमा अझ माया बढ्छ ।
लभ अफयर्स गरेर विवाह गरेका जोडीलाई यस दिन अझ बढी महत्त्व हुन्छ । माया गर्ने मान्छेलाई माया दर्साउने दिनको रूपमा हेरिन्छ । माया प्रेम बुवाआमा, साथीभाई सबैलाई गरिन्छ । तर, प्रणय दिवस विशेष गरी केटा केटीबिच हुने प्रेम नै हो।
हाम्रो समयमा समाजको धेरै विकास भइसकेको थियो । लभ मागी जे भने मेरो भ्यालेन्टाइनसँगको चिनजान सुरुदेखिको हो। एकै ठाउँको भएकाले पनि भ्यालेन्टाइन डेले भेट्ने अवसर प्रदान गर्दथ्यो । त्यो अवसर सदुपयोग गथ्यौं ।
अरू दिन भेट नहुँदा पनि त्यस दिन त भेट्न पाइन्थ्यो । त्यो दिन भेट्न नपाउँदा आशङ्का हुन्थ्यो । विवाह पछि सँगै हुने भएकाले शुभकामना दिने, कतै परिवारसँग घुम्न गएर भ्यालेन्टाइन डे मनाउँछौँ ।
सहकारीसँग जोडेर पनि प्रेम दिवस मनाउन सकिन्छ । सदस्यलाई सेवा दिँदा हृदयदेखि, प्रेमपूर्वक गर्न सके अझ विश्वास बढाउँछ ।
सञ्चालक, कर्मचारी र सदस्यबिचको सम्बन्ध अझ प्रगाढ बनाउँछ । श्रीमान्श्री/मती एक अर्काको जमानी राखेर ऋण प्रदान गर्नु पनि प्रेम जोडिएकै विषय हो ।
विहेअघि भ्यालेन्टाइन रौनक
नरेन्द्र विष्ट (अध्यक्ष, शुक्र पथ बहुउद्देश्यीय सहकारी,काठमाडौंँ)
भ्यालेन्टाइन डे आजको दिन मात्र होइन ३६५ दिन नै हुनुपर्छ । श्रीमतीसँग वा प्रेमिकासँग एक दिन मात्र होइन सँगै प्रेम हुनुपर्छ । मेरो प्रेम विवाह भएको हो । बिहेअघि प्रपोज गर्ने, घुम्न जाने हुन्थ्यो ।
गुलाफको फूल दिने, गिफ्ट दिने गरिन्थ्यो । अहिले श्रीमती घरमै हुने भएकाले घरमै शुभकामना आदान प्रदान गछौं । बिहेअघि जस्तो विशेष हुँदैन । बिहे अघि रौनक हुन्थ्यो, बिहेपछि सहज हुँदो रहेछ ।
मेरो चार वर्ष प्रेम भएर बिहे भयो । त्यो भन्दा पहिला खासै भ्यालेन्टाइन डे थाहा थिएन । त्यसपछि थाहा हुुन थाल्यो । बिहे हुनुभन्दा एक दुई वर्ष अघिको हाम्रो भ्यालेन्टाइन डे अविस्मरणीय रह्यो ।
घुम्न पनि गइयो । गिफ्ट पनि आदान प्रदान पनि भयो । जिल्ला जिल्लाबाट पढ्न काठमाडौँ आउनेको दैनिकी पढ्दै काम गर्ने, काम गर्दै पढ्ने हो ।
यसै क्रममा मेरो पनि जागीरको सिलसिलामा सहकर्मीसँगै प्रेम भएको हो । त्यो अवसर सहकारीले दियो । एउटै क्षेत्रमा काम गर्नेसँग बिहे गरियो ।
हाम्रो संस्थामा सँगै काम गर्दै गर्दा बाँधिएको जोडी १५ पुगिसकेका छन् । एउटै क्षेत्रमा काम गर्दा मन मिलेर, चित्त बुझेर जोडी बाँधिनु राम्रो कुरा हो । सबै कुरा मन पर्ने, चित्त बुझ्ने हुँदा नयाँ जीवन सुरुवात गर्ने सहकारी एउटा अवसर पनि भएको छ ।
डिभोर्सको पेपरले प्रेमलाई चकनाचुर नपारौँ
अमरावती महर्जन (अध्यक्ष– उपासना महिला बचत तथा ऋण काठमाडौंँ )
म र मेरो भ्यालेन्टाइन्स बिच भिनाजुको भाइले चिनाइदिएपछि साथी भएका हौँ । चार वर्षसम्म हामी साथीका रूपमा थियौँ ।
मेरो विवाहको कुरा चल्न थालेपछि दुवै घरपरिवारसँग कुराकानी भयो । तर बिहे अघि भ्यालेन्टाइन्स डे थाहा थिएन । तर केटी साथीहरू मिलेर माया साट्ने, घुम्ने गर्दथ्यौँ ।
अहिले हामी प्रणय दिवस एक अर्कालाई सम्मान गरी मनाउँछौँ । श्रीमान्, श्रीमती सँगै रहनुपर्छ भन्ने मात्र होइन, साथीभाइ, परिवार मिलेर खुसी बाँड्ने गर्छु ।
भ्यालेन्टाइन डे को दिन हाम्रो संस्थाले वैवाहिक जीवनको महत्त्व दर्साउन दाम्पत्य गोष्ठी पनि गरेका थियौँ ।
यसले दाम्पत्य जीवन, श्रीमान्, श्रीमतीको जिम्मेवारीका कुरा महत्त्व देखाएको थियो । त्यसपछि दाम्पत्य बचत योजना ल्यायौँ ।
चार वर्षसम्म बचत गर्नुपर्ने, त्यसपछि एकमुस्ट बचत र सावा दिने योजना सञ्चालन गरिरहेका छौँ । अरू दिन भन्दा आजको विशेष महत्त्व छ ।
श्रीमान्श्री/मती वा प्रेमी प्रेमिका सबैका लागि महत्त्वको दिन हो । विवाहित व्यक्तिले अन्तः सुख खोज्नु मूर्खता हो ।
सुख दुःखको साथी श्रीमान्श्री/मती नै हो । जति झगडा, रिस राग भए पनि माया प्रेमले सबै हटाइदिन सक्नुपर्छ। डिभोर्सको पेपरले प्रेमलाई चकनाचुर पार्ने काम कसैले पनि गर्न हुँदैन ।
Leave a comment