काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी क्षेत्र सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा रहेको बताएका छन् । सहकारीले ठूलो वित्तीय दायित्व बोकेको भएपनि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन परिपालनामा अरु क्षेत्रका तुलनामा सहकारी कमजोर भएका कारण उच्च जोखिममा रहेको उनको भनाइ थियो ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आईतबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीमा सम्पत्ती शुद्धीकरण निवारण’ विषयक छलफल कार्यक्रममा बोल्दै महानिर्देशक भट्टराईले कर छली, मानव बेचविखन, बैकिङ ठगी लगायत गैरकानुनी तरिकाबाट कमाएको रकम सहकारी क्षेत्रमा पुगेको देखिएको बताए । उनले भने ‘अहिले सहकारी क्षेत्रलाई हामीले सम्पत्ती सुद्धिकरण निवारणका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखेका छौं ।
यसबारे सहकारी विभागलाई जानकारी गराएर अगुगमन नियमनका लागि निर्देशन दिइसकेका छौं’ । ‘सहकारीमा सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी कानुन परिपालनाका लागि स्वयं प्रारम्भिक संस्था नै जिम्मेवार हुनुपर्ने भएपनि कर्मचारीलाई त्यसबारे जानकारी नै छैन । आन्तरिक सुशासन र वित्तीय पारदर्शिताका लागि सम्पत्ती सुद्धिकरण आवस्यक रहेका कारण सहकारी विभागले गम्भीर भएर अनुगमन गर्नुपर्छ ।
कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी क्षेत्रबाट ठूलो संख्यामा कर्जा र निक्षेप प्रवाह भईरहेकाले वित्तीय जोखिम बढी रहेको बताए । ‘ठूलो आर्थिक कारोबार सहकारी संस्थाले गरिरहेका छन् । तर त्यो रकम कहाँबाट आय आर्जन भएको हो र कहाँ खर्च हुँदैछ भनेर सोधखोज गरिदैन । पछिल्लो समय हामीले सहकारीमा सम्पत्ति सुद्धिकरण निवारणसम्बन्धी निर्देशिका जारी गरेका छौं । त्यसको अक्षरस पालना गरियोस् उनले भने, ‘सहकारीलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी जानकारी गराउने विषयलाई विभागले गम्भीरताका साथ अगाडि बढाएको छ ।’
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी कानुन परिपालनाका लागि महासंघले आवस्यक भुमिका निर्वाह गरिरहेको बताए । उनले भने ‘अहिले केही सहकारी संचालकहरु सचेत भएका छन् । तर कसैले नजानेर र कसैले हेलचेक्र्याइ गरेर समस्या देखिएको छ’, कंडेलले भने, ‘महासंघले सजक गराएको छ । केही संस्थाले गरेको बदमासीका कारण समग्र सहकारी क्षेत्र नै शंकाको घेरामा परेको छ । सहकारीमा कालो धन छ भन्ने बाहिर सुनिन्छ तर कहाँ र कुन संस्थामा छ भनेर नियामकले भन्दैन । हामिलाई अनावश्यक आक्षेप नलगाइयोस् । यहि कारण समग्र सहकारी क्षेत्र नै वदनाम हुने अवस्था आएको छ।’
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्थामा सुद्धिकरणको विषय कार्यान्वयनमा आएको लामो समय नभएकोले सहकारी संस्थाले विषय बुझाईमा समस्या रहेको बताए । जिल्ला सहाकारी संघ काठमाण्डौका अध्यक्ष ज्ञान बहादुर तामाङले सम्पत्ती सुद्धिकरणका लागि संघमा आवद्ध सहकारी हातोमालो गर्न तयार रहेको बताए । सहकारीलाई सुसाषनमा राख्ने जिम्मा जिल्ला संघको पनि भएकोले राज्य र अभियानसंग सहकार्य गर्ने बताए ।
Leave a comment