विश्व ब्याडमिन्टनको जुनियर शीर्ष खेलाडी, प्रिन्स दाहाललाई जेष्टले सम्मान गर्ने

विश्व ब्याडमिन्टनको जुनियर शीर्ष खेलाडी, प्रिन्स दाहाललाई जेष्टले सम्मान गर्ने :: Sahakari Akhabar

काठमाडौं । ब्याडमिन्टनको जुनियरतर्फको विश्व वरीयतामा शीर्ष स्थानमा उक्लिएका प्रिन्स दाहललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले सम्मान गर्ने भएको छ ।

एकेडेमीले माघ १ गते दाहाललाई सम्मान गर्न लागेको हो । जेष्ट बचत तथा ऋण सहकारीका समेत सदस्य रहेका दाहालको सम्मान कार्यक्रममा सहकारी संस्थाको सहयोग रहने जनाइएको छ ।

त्यसैगरी सिते बा ग्रुप अफ कम्पनी, नेचुरल बचत तथा ऋण सहकारी र कृति क्राफ्ट प्रालिको पनि सहयोग रहने छ । विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी १९ वर्षीय दाहाल १० हजार ४०० अङ्क बटुल्दै शीर्षस्थानमा उक्लिएका हुन् ।

उनी पहिलो पटक शीर्षस्थानमा पुग्न सफल भएका हुन् । विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले आफ्नो सपना पूरा भएको बताए ।

उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुशी लागेको बताए । अबको ध्यान वरीयतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताएका छन्।

प्रिन्स सन् २०१८ मा दुबई जुनियर अन्तर्राष्ट्रिय सिरिजमा यू–१५ को उपाधि जितेको अर्को वर्ष जुनियर विश्व वरीयतामा समावेश भएका थिए ।

कोरोना महामारी सुरु हुनु अघिसम्म नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका उनी पछिल्लोपल्ट सन् २०१९ अप्रिलमा जर्मन इन्टरनेसनल सिरिजको क्वार्टरफाइनलसम्म पुगेका थिए ।

प्रिन्स सन् २०१९ को मे महिनादेखि विश्व वरीयतामा समावेश भएका हुन् । त्यही वर्ष दुबई इन्टरनेसनल सिरिजमा भारतका वरुण कपुरलाई पराजित गरेपछि १०३ बाट ५४औं वरीयतामा पुगेका थिए ।

वरीयतामा समावेश भएयता ११ प्रतियोगितामा एकलतर्फ २९ खेल खेलेका उनले १९ वटामा जितेका छन् । 




Leave a comment