सदस्यप्रति उत्तरदायी हुन सहकारीलाई मन्त्रीको आग्रह

सदस्यप्रति उत्तरदायी हुन सहकारीलाई मन्त्रीको आग्रह :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएकी छन् । राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारण सभा, एकाइ प्रतिनिधिहरुको सभामा बोल्दै मन्त्री श्रेष्ठले समुदाय तर्फ सदैव जिम्मेवार बनेर आममानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताइन् ।

मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज लिने गरेको गुनासो गरिन् । सहकारीको ब्याजलाई तत्काल निकास दिन आवश्यक रहेको उनको भनाइ छ । उनले ‘सहकारीको सिद्दान्त, उद्देश्य, र मर्म अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकेको बताइन् ।

‘सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको छ,’उनले भनिन्, ‘सहकारी क्षेत्रमा देखिएका चुनौति र जोखिमलाई न्युनिकरण गर्दै यस क्षेत्रप्रति आमनागरिकको विश्वास र भरोसा बढाउनुपर्छ ।’ मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको भन्दै सहकारीले त्यसतर्फ भूमिका खेल्नुपर्ने बताइन् ।

आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउन जोड दिइन् । सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुनुपर्ने उनको भनाइ छ। ‘गरिबी निवारण र रोजगारी सिर्जनामा सहकारीलाई जोड्न भिजन पेपर तयार पारीरहेको उनको भनाइ छ ।

सहकारीको सिद्धान्त मूल्य मान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्न सहकारी चुक्न नहुने मन्त्री श्रेष्ठले बताइन् । संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारीताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैंकले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिइन् ।




Leave a comment