Sahakari Akhabar

गतिलो छैन भारतमा पनि सहकारी तथ्याङ्क 

गतिलो छैन भारतमा पनि सहकारी तथ्याङ्क  :: Sahakari Akhabar

काठमाडौं । भारतको सहकारी मन्त्रालयले मुलुकको सहकारी क्षेत्रको तथ्याङ्क प्रणाली कमजोर रहेको स्वीकार्दै त्यसको सुधार पहिलो प्राथमिकता भएको जनाएको छ ।

भारतीय सहकारी मन्त्रालयका सचिव डी के सिंहले सहकारीको विश्वसनीय तथ्याङ्क प्रणाली विकासका लागि आवश्यक डाटाबेस निर्माणको गृहकार्य अघि बढाएका छन् ।

यसै सिलसिलामा केही दिन अघि उनले भारतीय राष्ट्रिय सहकारी संघमा आयोजित भेलामा सहकारीको राष्ट्रिय डाटाबेस निर्माणका लागि औपचारिक रुपमा मंथन प्रारम्भ भएको उद्घोष गरे ।

सहकारी सचिव सिंहले भने, ‘अहिलेको हाम्रो आवश्यकता सहकारी विकासका लागि राष्ट्रिय डाटाबेस निर्माण र सुदृढीकरण हो ।’ भारत सरकारले ‘सहकार से समृद्धि’ (सहकारीमार्फत समृद्धि) भन्ने मुल नाराका साथ ६ जुन २०२१ मा अलग्गै सहकारी मन्त्रालय गठन गरेसँगै गतिलो तथ्याङ्कको आवश्यकतालाई बहसमा ल्याएको हो ।

सहकारीको विकासको बैज्ञानिक, संस्थागत र प्रविधिमैत्री तथ्याङ्क संकलनलाई भारतीय सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको उनले बताए ।

भारतको कान्छो मन्त्रालयले सहकारीको राष्ट्रिय तथ्याङ्क प्रणाली कमजोर रहेको भन्दै त्यसको विकास नै सहकारी विकासको मुल आधार भएको जनाएको हो ।

अर्थतन्त्रमा सहकारीको योगदान, सहकारी विकासमा आवश्यक नीतिगत व्यवस्थासँगै विद्यमान कानूनी छिद्रहरु टाल्न पनि तथ्याङ्कहरु नै आवश्यक हुने सहकारी सचिव सिंहको भनाई थियो ।

उनले सहकारीमा ‘व्यवस्थापन सूचना प्रणाली’ (म्यानेजमेन्ट इन्फरमेशन सिस्टम–एमआइएस) आवश्यक भएको भन्दै त्यसका लागि काम सुरु गरिने बताए ।

सन् २०१८ मार्चसम्मको भारतीय राष्ट्रिय सहकारी संघको तथ्याङ्क अनुसार त्यहाँ कुल साढे ८ लाख सहकारीहरु छन् । तीमध्ये २० प्रतिशत अर्थात् १ लाख ७७ हजार बचत ऋण सहकारी छन् ।

बाँकी सहकारीहरु उत्पादन, बजारीकरण, उपभोक्ता, औद्योगिक, पयर्टन, स्वास्थ्य, आवास, यातायात, कृषि, सेवा, पशुपालन, दुग्ध, मत्स्य लगायतका क्षेत्रमा काम गर्दछन् ।

करिब ९८ हजार प्रारम्भिक कृषि ऋण सहकारीहरु छन् भने अन्य प्रकृतिका पनि थुप्रै प्रारम्भिक सहकारीहरु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि, यो तथ्याङ्को विश्वसनीयतामाथि प्रश्न पनि उठ्ने गरेका छन् ।



Leave a comment