नमूना बन्दै जनउत्थान सहकारी

नमूना बन्दै जनउत्थान सहकारी :: Sahakari Akhabar

रुपन्देही । २०५९ साल कार्तिक १५ गते ३१ जनाबाट जनउत्थान सहकारी स्थापना भएको थियो । यस क्षेत्रको नमूना सहकारीको रुपमा उदाएको सहकारी अहिले साच्चीकै नमूना सहकारी बन्न सफल भएको छ । जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौड्याले  रुपन्देहीकै नमूना सहकारीको रुपमा स्थापित हुन पुगेको बताइन् ।

सहकारी अध्ययन गर्न आउनेको लर्को लाग्ने गरेको पौड्यालको भनाइ छ । संस्थाले जगेडा कोष बढाउँदै लगेको छ । सदस्यको सेयर फिर्ता गर्ने संस्थाको योजना छ । जगेडा कोष मजबुट बन्दै गएमा संस्थाले कम लागतमा पनि रचनात्मक काम गर्न सक्ने भएकाले जगेडा कोषमा संस्थाले प्राथमिकता दिदैँ आएको छ ।

संस्थाले पर्यटन केन्द्र विकास गर्ने योजना बनाएको छ । कृषि कर्मका साथै होमस्टे सञ्चालन गरी नमूना गाउँ घोषणा गर्ने संस्थाको योजना छ । सिकाइ केन्द्रको रुपमा विकास गर्ने उसको योजना छ । परियोजनामा १५ लाख लगानी गर्ने सहकारीको योजना छ । यस गाउँमा २५० घरका ७०० व्यक्ति सदस्य छन् ।

जनउत्थान सहकारीले कृषिमा २५ प्रतिशत लगानी गरेको बताइन् । यस संस्थाका सदस्यले कृषि, व्यापारमा लगानी गरेका छन् । सहकारीले संयुक्त धान खेती पनि गरिरहेको छ । सदस्यलाई आत्मनिर्भर बनाउन व्यवसायिक सीप दिने गरेको व्यवस्थापक रणबहादुर थापा बताउँछन् ।

संस्थाले नव बुहारीलाई स्वागत गर्छ । त्यस्तै बच्चा जन्मेपछि ७०० रुपैयाँ संस्थाले थपेर खाता खोल्ने गरेको छ । ८ हजार बालबचतकर्ता छन् । रुपन्देहीका ६५ प्रतिशत घरधुरी वैदेशिक रोजगारीमा गएका छन् । संस्थाले विदेश जाने तथा विदेशबाट आएर फर्केका युवालाई उद्यमी बनाउन सहुलियत कर्जा दिदैँ आएकोे थापा बताउँछन् ।

ब्यालेन्ससीट ब्यालेन्स गर्न नजान्दा कतिपय सहकारी दुर्घटनामा पर्छन् । तर जनउत्थान सहकारीले रचनात्मक ढंगले काम गररिरहेको छ । संस्थाले १० वर्षे योजना बनाएर काम गरिरहेको छ । सुरक्षित कारोबार गर्न पल्र्स लगायतका हिसाब राखी पारदर्शी ढंगले कारोबार गरिरहेको छ ।

संस्थाले २६ वटा कार्यविधि बनाएको छ  । बचत र सदस्यलाई विविधीकरण गर्न संस्था क्रियाशील रहेको अध्यक्ष पौड्याल बताउँछिन् । संस्थाले कृषिमा उत्पादन बढाउन र उद्यमशीलता सिर्जना गर्न १५ वटा बाख्रा पालेकालाई १० हजार बिनाब्याज ऋण दिन्छ ।

संस्थाले ३.५८ प्रतिशत स्प्रेडदर कायम गरी निक्षेप संकलन र कर्जा प्रवाह गर्छ । यस संस्थाका जिल्लाभर १० वटा सेवाकेन्द्र छन् । जनउत्थानले ७ वटा सहकारीलाई मर्ज गर्न सफल भएको छ ।
 




Leave a comment