विपन्नलाई उकास्न मौरीसहितको घार

विपन्नलाई उकास्न मौरीसहितको घार :: Sahakari Akhabar

तनहुँ । आय आर्जनमा जोड्दै आत्मनिर्भर बनाउन भिमाद नगरपालिकाले लक्षित समूहलाई मौरीसहितको घार वितरण गरेको छ । ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम चलाएर नगरपालिकाले मौरीसहितको घार वितरण गरेको हो । 

नगरभर रहेका अशक्त, अपांग, दलित, एकल र विपन्न महिलाको आय आर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरेको उपमेयर शारदा खनालले बताइन् । नगरवासीलाई जहाँ पायक पर्छ त्यही लगेर मौरी घार वितरण गरिएको छ । 

लक्षित समूहलाई राज्यको पहुँचमा हामी पनि छौँ भन्ने महसुस गराउनलाई ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम चलाएको खनालले बताइन्।

‘एकरदुई वर्ष हामीले निस्शुल्क मौरीको घार वितरण गर्‍यौ। त्यतिबेला लगेका घारमा आम्दानी नहुनेले मौरी राख्न नसकेर थन्क्याइएको पाइयो । त्यसैले यतिबेला हामीले मौरीसहितको घार उपलब्ध गराएका हौं,’ उनले भनिन् । 

एउटै घार मौरीले पनि राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ । नगरवासी सबैलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको उनको भनाई छ । 

गत आर्थिक वर्षदेखि भिमादमा ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम सुरु भएको हो । पहिलो वर्ष लक्षित समूहमा पर्ने ४८ जनालाई पनि मौरीसहितको घार वितरण गरेको पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताए ।

पाँच लाख रुपैयाँ कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले बजेट विनियोजन गरेको थियो । यस वर्ष पनि पाँच लाख रुपैयाँ विनियोजन गरेर लक्षित समूहमा परेका ४९ जनालाई मौरी घार वितरण गरिएको हो ।

नगरपालिकाले मौरीसहितको एउटा घारलाई १० हजार रुपैयाँमा खरिद गरेको पौडेलले जनाए । मौरी पालनबाट राम्रो आम्दानी लिएर एउटै घारबाट पनि बिस्तार गर्न सकिन्छ ।




Leave a comment