Sahakari Akhabar

आइसीएको वार्षिक प्रतिवेदन २०२० सार्वजनिक

आइसीएको वार्षिक प्रतिवेदन २०२० सार्वजनिक :: Sahakari Akhabar

काठमाण्डौ। अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सन् २०२० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। विश्व सहकारीहरुको एक मात्र साझा मञ्च आइसीले सन् २०२० भर सञ्चालन गरेका मुख्य गतिविधिहरु समावेश गरी वार्षिक प्रतिवेदन नोभेम्बर १५ अर्थात् हिजो सार्वजनिक गरेको हो ।

७३ पृष्ठ लामो प्रतिवेदनमा कोभिड–१९ ले सहकारी क्षेत्रमा पारेको प्रभाव र त्यस विरुद्ध आइसीएले अपनाएका रणनीति र प्राप्त सफलताहरु बारे उल्लेख गरेकोछ ।

आइसीएले तयार पारेको पछिल्लो दश वर्षे रणनीतिक योजना (सन् २०२० देखि २०३०) मा आधारित रहेर सन् २०२० का गतिविधिहरु सञ्चालन गरेको जनाएको छ ।

उक्त योजना अनुसार सहकारी प्रवर्धन, वृद्धि, सहकारीहरुबीच सहयोग र दिगो विकास गरी चार मुख्य क्षेत्रमा रणनीतिक कार्यक्रमहरु सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, आइसीए स्थापनाको १ सय २५ वर्ष पूरा भएको अवसरमा प्राप्त उपलब्धिहरुलाई पनि प्रतिवदेनमा संक्षेपीकरण गरिएको छ ।

यसैगरी, प्रतिवेदनमा आसन्न ३३ औं विश्व सहकारी सम्मेलनको तयारीको विषय पनि अटाएको छ । ३३ औं विश्व सहकारी सम्मेलन पहिलो पटक हाइब्रिड मोडलमा दक्षिण कोरियाली राजधानी सियोलमा आगामी डिसेम्बर १ देखि ३ तारिखसम्म आयोजना हुँदैछ ।

प्रतिवदेन अनुसार गत वर्ष आइसीएका ७ नयाँ सदस्य थपिएका छन् । यो सँगै आइसीएका १ सय १२ मुलुकबाट कुल सदस्य संख्या ३ सय १७ पुगेको छ ।

त्यस्तै, आइसीएका ४ वटै क्षेत्रीय कार्यालयहरु तथा विषयगत निकायहरुबाट भएका गतिविधिहरु पनि प्रतिवेदनमा समेटिएको छ । आइसीए अन्तर्गत आइसीए एसिया प्रशान्त, आइसीए अफ्रिका, आइसीए अमेरिका र आइसीए युरोप गरी ४ वटा क्षेत्रीय कार्यालयहरु छन् 

कृषि, मत्स्यपालन, बैंकिङ, बिमा, उपभोक्ता, आवास, उद्योग तथा सेवा र स्वास्थ्य गरी ८ वटा विषयगत निकायहरु छन् । त्यस्तै, आइसीएका थिमेटिक समिति र युवा सञ्जालअन्तर्गत अघिल्लो अमेरिकी वर्षमा सम्पन्न मुख्य कार्यक्रमहरु समेत प्रतिवेदनमा समेटिएको छ ।



Leave a comment