इफ्को अध्यक्ष नकईको निधन

इफ्को अध्यक्ष नकईको निधन :: Sahakari Akhabar

एजेन्सी । इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को) का अध्यक्ष बलबिंदर सिंह नकईको निधन भएको छ । ३ दशक भन्दा अघिदेखि सहकारी क्षेत्रमा सक्रिय सहकारीकर्मी सिंहको ८६ वर्षको उमेरमा हिजो निधन भएको हो ।

सिंह मलवा फ्रुट एन्ड भेजिटेबल कोअपरेटिभ मार्केटिङ कम प्रोक्युरमेन्ट सोसाइटी लिमिटेडका समेत अध्यक्ष थिए । आफु पनि एक किसान भएकै कारण सिंहले इफ्कोमार्फत कृषक मैत्री नीतिहरु निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

सरदार बलबिंदर सिंह नकईका रुपमा भारतभर परिचित उनी करिब २ साता अघि मात्र भारतीय सहकारी सम्मेलनमा भारतीय सहकारी मन्त्री अमित शाह, अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) का अध्यक्ष एरियल ग्वार्कोलगायत देशभरका सहकारीकर्मीहरुसँगै देशको सबैभन्दा ठूलो सहकारी सम्मेलनमा सहभागी भएका थिए ।

इफ्कोले उनलाई भारतीय सहकारी अभियानका हस्ती, प्रतिष्ठित किसान तथा स्वयंसेवी भनेको छ । अध्यक्ष अघि उनी दुई कार्यकाल इफ्कोका उपाध्यक्ष थिए । 

इफ्को किसानहरुलाई आवश्यक मलको उत्पादन तथा बिक्रीमा अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्न सफल विश्वकै ठूलो सहकारीको रुपमा प्रतिष्ठित छ । इफ्को आइसीएले गत वर्ष सार्वजनिक गरेको विश्वका ३ सय ठूला सहकारीहरुको सूचीमा पहिलो नम्बरमा रहेको थियो ।

इफ्कोको आधिकारिक सामाजिक सञ्जालहरु र भारत लगायत विश्वभरका सहकारीका निकाय तथा अभियन्ताहरुले उनको निधनमा श्रद्धाञ्जली र समवेदनका शब्द सुमनहरु व्यक्त गरेका छन् ।

भारतीय केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाह, आइसीए अध्यक्ष ग्वार्को, आइसीए एपीका क्षेत्रीय निर्देशक बालु आयर, इफ्कोका निर्देशक डा. यू एस अवस्थी लगायतले ट्वीटमार्फत सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

भारतका ५७ वटा सहकारी समितिहरु मिलेर सन् १९६७, नोभेम्बर ३ मा स्थापना भएको इफ्कोमा हाल ३६ हजार सहकारीहरु आबद्ध छन् भने कुल कारोबार २७,८३७ करोड रहेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको इफकोले भारतभर साढे ५ करोड किसानहरुमा सेवा प्रवाह गरिरहेको छ।

किसानहरुलाई सहज, सुलभ र गुणस्तरीय युरिया मल उत्पादन तथा बिक्री वितरण गर्दै आएको इफ्कोले विभिन्न मुलुकका उद्योगसँग सहकार्य गरेर आफ्ना उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्दै आएको छ ।

पछिल्लो समय इफ्कोले तरल मलको पनि उत्पादन बजारमा ल्याएको छ । इफ्कोको परिकल्पना ‘भारतीय किसानहलाई सक्षम तथा समृद्ध बनाउनका लागि, आज र भविष्यमा’ रहेको छ ।





Leave a comment