दुग्ध सहकारीलाई ४६ लाख अनुदान

दुग्ध सहकारीलाई ४६ लाख अनुदान :: Sahakari Akhabar

बुटवल । दूध उत्पादन गर्ने सहकारीका सदस्यलाई लुम्बिनीको स्थानीय सरकारले अनुदान दिएको छ । प्रति लिटर एक रुपैयाँका दरले प्रदान गरिने यो अनुदान सोझै किसानको हातमा पुग्छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान दिदँै आएको हो ।

दुध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम थालिएको जनाइएको छ । उत्पादनको आधारमा अनुदान दिने नीति अनुरुप यो वर्ष तिलोत्तमा नगरभित्रका किसानले ४६ लाख ६ हजार ५ सय ६९ रुपैंयाँ प्राप्त गरे ।

किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत् बिक्री गरिएको दूधको परिमाण अनुसार नगरपालिकाले हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २१ वटा दूग्ध उत्पादक सहकारीमा आवद्ध किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

शुक्रबार १६ वटा सहकारीले अनुदान रकम बुझेका छन् । ५ वटा सहकारीले आवश्यक कागजात पु¥याएपछि रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको बताइन् । 

यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं. १४ स्थित गौतम बुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख ९४ हजार ६४५ रुपैंयाँ प्राप्त गरेको छ । वडा नं. १४ कैं टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख ६६ हजार १०१ रुपैंयाँ, वडा नं. १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ५ हजार ९४४ रुपैंयाँ, वडा नं. ६ को पञ्चामृत दूग्ध उत्पादक सहकारीले ३ लाख ९ हजार ५७५ रुपैंयाँ प्राप्त गरेको छ ।

गतवर्ष नगरपालिकाले किसानलाई ४५ लाख ९८ हजार ८ सय २१ रुपैंयाँ अनुदान स्वरुप प्रदान गरेको थियो । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक १ करोड लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दुध सहकारीमार्फत् बिक्री वितरण हुन्छ । 

दूग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैको लागि अनुकरणीय रहेको बताए । शंकरनगर दुग्धउत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर भण्डारीले किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए ।





Leave a comment