ब्यानर जोगाउनु नै महत्वपूर्ण कुरा भएको छ

ब्यानर जोगाउनु नै महत्वपूर्ण कुरा भएको छ :: Sahakari Akhabar
नेपालका अधिकांश सहकारी बचत तथा ऋणमै रमाइरहेका छन् । देशभर सञ्चालनमा रहेका ३० हजार सहकारीमध्ये बचत तथा ऋणकै बाहुल्यता छ । सहकारीलाई उत्पादनमा लगाउन मुख्य कारोबारको व्यवस्था गरिए पनि धेरै सहकारी बचतमै केन्द्रित छन् । सहकारी ऐन अनुसारको ७० प्रतिशत मुख्य कारोबार गर्न नसके पनि अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले तरकारी बजार सञ्चालन गरेको छ । तरकारी बजार व्यवस्थापन लगायतका विषयमा बागमती प्रदेश सहकारी सङ्घका सचिवसमेत रहेका अन्नपूर्ण बहुमुखी सहकारी संस्थाका अध्यक्ष देवराज न्यौपानेसँग सहकारी अखबारले गरेको कुराकानी । 

उद्देश्य अनुरूप सहकारी किन अघि बढ्न सकेका छैनन् 

अन्नपूर्ण बहुमुखी सहकारीले २ वर्ष अघि तरकारी बजार उद्घाटन गरेको छ । कुनै व्यक्तिले कम्पनीमार्फत चलाइरहेको बजारलाई संस्थाले खरिद गरेर १० वर्ष कोलागि भाडामा लिई चलाइरहेका छौँ । संरचना पनि हाम्रै संस्थाको नाममा आइसकेको छ । नगरपालिकामा पनि स्वीकृति लिएका छौँ ।

सहकारीकै स्वामित्वमा बजार सञ्चालन भएको  हो

समस्या फुकाएर पनि काम गर्छु भन्ने सोचकारसाथ अघि बढ्दा ऐनले बाधा पुर्याएको बाहेकमा काम गर्न सकिन्छ । मेघा प्रोजेक्ट गर्दा ऐनले बाधा पार्ला तर अरू सामान्य काम गर्दा त्यस्तो समस्या छैन । सङ्घीय संरचनामा गइसकेपछि स्थानीय सरकारलाई धेरै अधिकार गएको छ ।

स्थानीय सरकारलाई कन्भिन्स गर्न सक्ने हो भने सहकारी मार्फत धेरै काम गर्न सकिन्छ । यसैको प्रतिफल हो संस्थाको तरकारी बजार । माथिल्लो नेतृत्वले सहकारी ऐन बाधक छ भनिरहनु भएको छ ।

उहाँहरूको दृष्टिकोणमा केही ऐन बाधक पनि होलान् । त्यसमा म पनि सहमत छु । तर काम ठ्याक्कै रोकिने गरी ऐन बाधक भएको मलाई लाग्दैन ।

हाम्रो कोष र सेयर पुँजी १२ करोड जतिको छ । हाम्रो लबिङ पनि पुँजी कोषको ३० प्रतिशत लगानी गर्नुपर्छ भन्ने हो । ४/५ करोडको काम गर्न बाधा छैन । यदि कसैले ५० औँ करोडको काम गर्छु भन्दा त्यहाँ समस्या होला ।

तरकारी बजार कसरी सञ्चालन भएको छ

करिब ८ रोपनी जग्गामा तरकारी बजार छ । दक्षिणतर्फ कोरिडोर बनेका कारणले लिजमा लिएको जग्गाको क्षेत्रफल घटेर ६ रोपनीमा सीमित भएको छ । १ सय २३ वटा स्टल र ७० वटा सटर छन् । ४ सय मान्छेलाई प्रत्यक्ष र करिब एक हजारले अप्रत्यक्ष रोजगारी पाउँछन् भन्ने धारणाले सहकारीले लगानी गरेको हो ।

कोभिडको कारणले सुरुको वर्ष केही महिना (माघ–फागुन) मात्र काम गर्न पायौँ । यस वर्ष पनि कोभिडले असर गरे पनि काम भइरहेको छ । सदस्य बनाएर मात्र तरकारी बजारमा स्टल दिएका छौँ ।

अन्य क्षेत्रमा २ लाखदेखि ५ लाख धरौटी राख्नुपर्छ । तर हामी कहाँ ५० हजार धरौटी राखे पुग्छ । त्यो पनि किस्ता किस्तामा तिर्न सकिनेछ । कोही मान्छे १५/२० हजार लिएर आयो भने सदस्य बनिकन व्यापारी पनि हुन्छ । त्यो सदस्यलाई उठाउनु संस्थाको जिम्मेवारी हो । सदस्यको पनि जिम्मेवारी हुन्छ संस्थाप्रति । त्यसरी नै हामीले काम गरेका छौँ ।

त्यहाँका सदस्यलाई सेवा दिनका लागि बजारमा पनि सहकारीको कार्यालय खोलिएको हो । ५० हजार धरौटी राख्दा संस्थाले न्यूनतम ब्याज पनि दिएको छ । प्रत्येक सदस्यले महिनाको एक हजार जम्मा गर्दा वर्षको १२ हजार जम्मा हुन्छ । संस्थाले सेयरमा लाभांश दिन्छ । बचतमा पनि ब्याज दिन्छ ।

१० वर्षपछि सदस्य त्यो बजारबाट बाहिरिनुपर्दा ३ लाख भन्दा बढी पैसा लिएर जान पाउनु हुन्छ । त्यो पैसाले नयाँ ठाउँमा व्यवसाय गर्न उहाँलाई धेरै सहज हुन्छ । ४ करोड ८० लाखमा तरकारी बजारको संरचना खरिद गरेका हौँ । डिप्रिसेसन कटाएर किनेका हौँ, वार्षिक १२ लाख बढी भाडा तिर्छौ ।

न्यूनतम भाडा दरमा दिएका छौँ । कालीमाटीको एउटा स्टल ६० देखि ६५ स्क्वायर फिटको हुन्छ । त्यसको भाडा १० हजार हो । अहिले त्यहाँ बिचौलियाहरूले बेच्दै बेच्दै जाँदा ९० हजार सम्म तिर्नुपर्ने स्थिति छ । अन्यत्र पनि एउटा सटरको १०/१२ हजार छ ।हाम्रोमा दुई वटा सटर ८ हजार एउटा मात्रै सटर लिएमा ५ हजारमा पाइन्छ ।

संस्थालाई फाइदा के हुन्छ नि

संस्थालाई फाइदा भन्दा ब्यानर जोगाउने महत्त्वपूर्ण कुरा हो । बहुउद्देश्यीय सहकारीको नेतृत्व गरिरहँदा ब्यानरमा काम देखियो । ७० प्रतिशत नपुगे पनि सुरुवात त गरेका छौँ नि । कसैले सुरुवात नै नगरेको अवस्थामा हामीले सुरु गरेका छौ भन्ने लाग्छ । ग्रामीण क्षेत्रमा सेवा केन्द्र विस्तार गर्दै छौँ ।

त्यो क्षेत्रमा अरू थप केही गर्न सकिन्छ कि भनेर योजना बनाउन थालेका छौँ । अहिले ब्यानर जोगाइरहेका छौँ । हाम्रोतर्फबाट सदस्य स्वरोजगार भइरहेका छन् । बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर यतिले व्यवसाय गरे भन्छ भने हामीले त पसल थाप्ने ठाउँ नै आफै बनाइदिएका छौँ त ।

न्यूनतम भाडा दरमा दिएका छौँ । कालीमाटीको एउटा स्टल ६० देखि ६५ स्क्वायर फिटको हुन्छ । त्यसको भाडा १० हजार हो । अहिले त्यहाँ बिचौलियाहरूले बेच्दै बेच्दै जाँदा ९० हजार सम्म तिर्नुपर्ने स्थिति छ । अन्यत्र पनि एउटा सटरको १०/१२ हजार छ ।

हाम्रोमा दुई वटा सटर ८ हजार एउटा मात्रै सटर लिएमा ५ हजारमा पाइन्छ । हामी त्यहाँबाट नाफा कमाउने भन्दा पनि अन्नपूर्णले बहुउद्देश्यीय काम गरेको छ, धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्ने काम गरेको छ ।

बजारमा सहकारीको उत्पादन पनि आउँछ

केही कालीमाटीबाट आउँछ । माछाको सिद्रा भारतबाट आउँछ । हाम्रो प्रयास किसानसँग प्रत्यक्ष जोड्ने हो  । स्वदेशी उत्पादनलाई विशेष जोड दिन खोजेका छौँ । तर भाषण गरेजस्तो सजिलो छैन । पालुङ बहुउद्देश्यीय सहकारी संस्था, काभ्रेका अरू सहकारीसँग पनि समन्वय गरेँ तर भएन ।

उत्पादक सहकारी पनि साँच्चै उत्पादक छैनन् । जसले गरेको छ, उसको पनि ठेक्का प्रणाली रहेछ । नियमित तरकारी उठाउने मान्छे ठेकेदार छ । तरकारी कुनै दर राखेर उठाउँदैन । पहिला गरेको व्यक्तिले नै सधैँ लैजान्छ । नयाँ प्रवेश गर्दा विश्वास हुँदैन । चेन ब्रेक गर्न चुनौती छ । कर्मचारीको संयन्त्रले मात्र सहकारीको काम गर्ने व्यवस्था सम्भव छैन ।

एउटा तहसम्म सबैले स्वयंसेवा गर्न सक्छ । मैले फूल टाइम गर्नुपर्छ भन्ने हुँदै गर्दा म यहाँबाट पालिनु पर्छ भन्ने सबैलाई लाग्छ नि । त्यसो भएपछि कर्मचारीको संयन्त्रबाट काम गरेर त्यो तहमा पुर्याउन कठिन छ ।

स्थानीय तहको कत्तिको सहयोग पाउनुभयो

स्थानीय तहले कामै नगरिदिएको भन्नै त होइन । तर धेरै धाउनुपर्ने देखियो । हरित कृषि तरकारी बजारमा त्यहाँको स्थानीय तहले स्टलमै आएर सेवा दिएको सुनेको छु । तर हामीले बढी दुःख भोग्नुपरेको छ । राजनीतिक स्वार्थ हुन सक्छ ।

हामी जिल्ला कृषि सहकारी सङ्घ भक्तपुरसँग समन्वय गरेर बहुउद्देश्यीयका काम गर्न योजना बनाएका छौँ । प्रदेश सरकारसँग समन्वय गरेर बजार भित्रै कोल्ड स्टोर राख्ने योजना छ । दीर्घकालीनमा सम्पत्ति आफ्नै हुने, उत्पादनका आफ्नै हुने गरी काम गर्न योजना छ ।

मुख्य समस्या के छन्, कानुनी जटिलता नै हो

कानुनी जटिलता पनि एक हदसम्म हो । दृष्टिकोणमा पनि समस्या छ । राज्यले नीति ल्याउने क्रममा सहकारी सामान्य समूहमा पैसा उठाउने र लगानी गर्ने, यसले ठुलो काम गर्न सक्दैन भन्ने सोचले आएको देखिन्छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सहकारी बजार विकास कार्यक्रममा यो बजारको स्तर उन्नतिका लागि त्यो कार्यक्रममा एप्रोच गरेका थियौँ ।

कार्यक्षेत्र नपरेकोले पाइएन, ६ वटा जिल्लामा मात्रै उहाँहरूले काम गरिरहनुभएको छ । कार्यक्षेत्र नभए पनि अनुदान दिन सकिन्छ, प्रस्ताव हाल्नुहोस्, भनियो, हामीले प्रस्ताव हाल्यौँ तर रेस्पोन्स आएन ।

सहकारी अभियानको नेतृत्वको भूमिकालाई कसरी लिनुभएको छ

अहिले  देखिएको नेतृत्व प्रति मेरो असहमति त होइन । तर पनि उहाँहरू सरफेस्ली जाने प्रवृत्ति छ । खास गरी राजनीतिक व्यक्तित्वसँग सम्बन्ध स्थापित गर्ने र सहकारीलाई देखाउने प्रवृत्ति छ । वास्तवमा सहकारी बुझेको सहकारीमा ध्यान दिएर सञ्चालक हुँदाका पिडा सहकारीको नेतृत्वमा भएन कि भन्ने लागेको छ ।

१० वर्षपछि अन्नपूर्णका सदस्य व्यापारीका अवस्था के हुन्छ

काभ्रेको कुनै ठाउँमा आफै उत्पादन गर्न सक्ने गरी खेतीयोग्य जमिन लिजमा भन्दा पनि खरिद गरेर राखेर बिजनेसको अर्को मोडेलमा जान सक्ने योजनामा छौँ । ५ वर्षे योजना बन्दै छ । यो ५ वर्षे रणनीतिमा बजार सञ्चालन गर्ने, व्यवस्थित गर्ने नै हो ।

१० वर्षपछि उहाँहरू निस्कँदै गर्दा अर्को व्यवसाय गर्न पुँजी जम्मा गरिदिन्छौ । अहिले पनि सहुलियत दरमा कर्जा दिएर उहाँहरूको आवश्यकता परिपूर्ति गरिरहेका छौँ । अन्नपूर्णले १० वर्ष पछि पनि व्यवसाय निरन्तरता दिने योजनामा छौँ । दूध क्षेत्रमा पनि काम गर्ने योजना छ । काभ्रे, सिन्धुपाल्चोकमा उत्पादन र व्यवसाय गर्ने योजना छ ।

अरू कुनै योजना बनाएको छ अन्नपूर्णले

हामी जिल्ला कृषि सहकारी सङ्घ भक्तपुरसँग समन्वय गरेर बहुउद्देश्यीयका काम गर्न योजना बनाएका छौँ । प्रदेश सरकारसँग समन्वय गरेर बजार भित्रै कोल्ड स्टोर राख्ने योजना छ । दीर्घकालीनमा सम्पत्ति आफ्नै हुने, उत्पादनका आफ्नै हुने गरी काम गर्न योजना छ ।

हाम्रा सदस्य ३ हजार ८ सय छन् । ७७ करोड लगानी भएको छ । ६७ करोड बचत र राष्ट्रिय सहकारी बैङ्क, स्वरोजगार कोषलगायतबाट ऋण लिएका छौँ । १७ जना कर्मचारी छन् । हामी बजारमा घरघरमै पैसा उठाउन जान्दैनौँ । बजारीकरणमै फोकस गरेका छौँ । 




Leave a comment