जनमुखी साकोसको २४औं वार्षिक साधारणसभा सम्पन्न

जनमुखी साकोसको २४औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar


दोलखा । मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले भाद्र २५ गतेदेखि सदस्य उपस्थिति खुला तथा वार्षिक प्रतिवेदन वितरण गरी आश्विन ५ मा सभा समापन गरेको हो ।

संस्थाले सदस्यहरुको सहजतालाई मध्यनजर गरी पायक पर्ने स्थानमा उपस्थिति गराएको थियो । सभा समापनको अवसरमा बोल्दै संस्थाका अध्यक्ष माधवप्रसाद दहालले २४ वर्ष अगाडि तत्कालिन काभ्रे गाविसभित्र रहेको समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक अल्पकालिन तथा दीर्घकालिन समस्या समाधान गर्ने उद्देश्यका साथ शुरु भएको बताए ।

संस्थाले हालसम्म आइपुग्दा ठूलो फड्को मार्न सकेको बताए । यस अवधिमा संस्थाले करिब १९ हजार सदस्य र १ अर्ब ५ करोडको वासलात बनाइसकेको उनले जनाए । 

कोभिड १९ महामारीका कारण विश्व अर्थतन्त्र नै संकटमा परेको बेला सदस्यहरुको विश्वास र भरोसाका कारण संस्थाको कारोबार वृद्धि सन्तोषजनक रहेको उनले बताए ।

संस्थाले वित्तीय कारोबार मात्रै नगरी सदस्य र समुदायका लागि आवश्यक पर्ने रक्तदान, प्रतीक्षालय निर्माण, शौचालय अनुदान, ज्येष्ठ सदस्य तीर्थयात्रा, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, वृद्धवृद्धा, सुत्केरी र अपाङ्गलाई भत्ता, बन्ध्याकरण पुरस्कार जस्ता थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । 

संस्थाले कार्यक्षेत्रभित्र बसोबास गर्ने सदस्यहरुलाई सहज र सरल वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले चरिकोट, नाम्दु, गैरिमुदी र खावामा गरी ५ सेवाकेन्द्र स्थापना गरेको र निकट भविष्यमा नाम्दुमारुमा समेत सेवा केन्द्र खोल्ने तयारी गरेको उनले सभामा जानकारी दिए ।

संस्थाका सचिव लक्ष्मण चौंलागाईंले आ. व. २०७७।०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोरोनाको असहज परिस्थितिमा पनि सदस्यहरुलाई ३६५ दिनै कार्यालय सञ्चालन गरी सेवा दिएको बताए । उनले संस्थाले गत आर्थिक वर्षभरी भएगरेका गतिविधिका बारेमा सभालाई जानकारी दिएका थिए । 

संस्थाका कोषाध्यक्ष राजन केसीले आ. व. २०७७।०७८ को वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको इमानदार कारोबार, आधुनिक प्रविधिको प्रयोग, आर्थिक पारदर्शिता, कुशल नेतृत्व, कर्मचारीहरुको अथक मेहनत एवं अभियानको सहयोगले संस्थाले निरन्तर उचाई हासिल गर्दै गएको उल्लेख गरे ।

गत असार मसान्तसम्म संस्थाको शेयरपुँजी ९ करोड २९ लाख ८८ हजार, जगेडा कोष ६ करोड ७७ लाख ५२ हजार, अन्य कोषहरु १ करोड ७४ लाख २० हजार पु¥याएको छ ।

त्यसैगरी संस्थाले बचत संकलन ७९ करोड २८ लाख ८८ हजार बचत संकलन गरी ७८ करोड ५८ लाख ६९ हजार ऋण लगानी गरेको छ । संस्थाले शेयर लाभांश वापत ८१ लाख ८६ हजार ६५६ छुट्ट्याएको छ ।

लेखा सुपरीवेक्षण समितका संयोजक प्रशान्त चौलागाईंले अघिल्लो साधारणसभामा भएको निर्णय कार्यान्वयनको अवस्था, ऋण लगानी प्रक्रिया र लेखा समितिले उल्लेख गर्न चाहेका विवरणहरुसहितको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । 

संस्थाले कृषि पेशालाई बढावा दिने उद्देश्यले कृषि र पशुपालनतर्फ अन्य ऋणभन्दा २ प्रतिशत कम ब्याजदरमा उपलब्ध गराउने र २० जना कृषकहरुलाई कृषि औजार मर्मत सम्बन्धी तालिम दिने भएको छ ।

सदस्यहरुलाई जटिल रोग लागेमा १० हजार आर्थिक सहयोग गर्ने, ७५ वर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई जीवनवृत्तिमा सहयोग पु¥याउन ५०० रुपैयाका दरले रकम उपलब्ध गराउने र पूर्णरुपमा अपाङ्ग भएकाहरुलाई जीवनवृत्ति स्वरुपमा मासिक ५०० रुपैया दिने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

संस्थाले सदस्यहरुको आयस्तरमा वृद्धि हुने कृषि, पशुपालन, उद्योग व्यापार, शैक्षिक, हायरपर्चेज, घरजग्गा जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।

संस्थाका व्यवस्थापक भेषबहादुर मिजारले संस्थाले नीति, विधि र प्रविधिलाई आत्मसात गरेर अगाडि बढेको र समय सापेक्ष डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको उनले जनाए ।

सदस्यहरुले मोबाइल, मिस्डकल, एसएमएस र इन्टरनेट बैंकिङ्ग, कनेक्ट आइपीएस र क्यूआर कोड मार्फत सहज रुपमा वित्तीय सेवा लिन दिन सक्ने सुविधा दिएको छ । 

सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट उद्यमी, ज्येष्ठ शेयर सदस्य, ज्येष्ठ सदस्य, उत्कृष्ट एसईई, पूर्व सञ्चालक र कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

संस्थाले नेपाल स्तरको प्रोवेशन ब्राण्ड प्राप्त गरिसकेको छ भने एक्सेस कार्यक्रममा सहभागि भइ उक्त कार्यक्रमका सूचकांकहरु पूरा गरी ब्राण्ड प्राप्तिको लागि प्रयत्नशील रहेको जनाएको छ । 

वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका उपाध्यक्ष गीताकृष्ण शर्मा स्वागत मन्तव्य र सचिव लक्ष्मण चौलागाईंले सभा सञ्चालन गरेका थिए । 





Leave a comment