सहकारीद्धारा पशुलाई सुत्केरी भत्ता

सहकारीद्धारा पशुलाई सुत्केरी भत्ता :: Sahakari Akhabar

पाँचथर । मिक्लाजुङ गाँउपालिको कुरुम्बा कृषि सहकारी संस्थाले गाई भैंसीलाई सुत्केरी पोषण भत्ता दिन थालेको छ । ग्रामिण क्षेत्रका कृषकहरुलाई दिगो रुपमा पशु व्यवसायमा आकर्षित गरि दुग्ध मूल्य श्रृखला विकास गर्न सहकारीले यस्तो सुविधा दिन थालेको हो ।  

सहकारीले गोठमै गएर ५ सय रुपैया दिने गरेको छ । संस्थाका मान्छे आएर हातैमा सुत्केरी भत्ता दिए, खुसी हुदै सदस्य सचिन लावतीले भने ।

गत वर्ष सहकारीबाट ४० हजार घुम्ती कोषमार्फत पाएका उनले १ लाख ३० हजारमा भैसी खरिद गरेका थिए ।  उनले भने १० हजार अनुदान पनि पाइयो ।

यो वर्ष त उनले एक वर्षको पाडो २७ हजारमा पनि विक्री गरे । “दुध बिक्री गर्न पनि टाढा जानुपर्दैन सहकारीले नै खरिद गरीरहेको छ । सहकारी संस्था हाम्रो सहयोगी र अभिभावक भएको छ ।” 

सदस्यहरुको गाई भैसी सुत्केरी भएमा ५ सय रुपैया पोषण भत्ता स्वरुप सहकारीले उपलव्ध गराईरहेको छ । आगामी दिनमा सहकारीको कार्यविधिलाई थप परिमार्जन गरी कृषकहरुलाई विभिन्न सेवाहरु उपलव्ध गराउन सहकारीले योजना बनाइरहेको सहकारी संस्थाका सचिव राजकुमार लावतिले जानकारी दिए ।

“सहकारी संस्थाबाट कृषकहरुले प्राविधिक ज्ञानका साथै घुम्तीकोष प्राप्त गरेपछि गाई भैसी खरिद गरी गुणस्तरीय दुध उत्पादनमा लागिरहेको र सहकारीले आफ्नै दुग्ध प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर दुग्ध जन्य पदार्थ घिउ, छूर्पि जस्ता उत्पादन गरीरहेको संस्थाका सचिव लावतीले बताए ।

ग्रामिण क्षेत्रमा पशु ब्यबसाय, गुणस्तरीय दुग्ध उत्पादन र बजारीकरण गर्न पाँचथरका मक्लाजुङ, कुम्मायक र फाल्गुनन्द गाउँपालिकाका कृषि सहकारी संस्थाहरुसँगको साझेदारीमा गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा “दुग्ध मुल्य श्रृखला विकास परियोजना” सञ्चालन भइरहेको गुड नेवर्स ईन्टरनेशनल नेपाल परियोजना अधिकृत कृष्णराज जोशीले बताए ।

सहकारीले नयाँ कार्यको थालनी गरेको छ सहकारी मार्फत आगामी दिनमा कृषकहरुको आय आर्जन बृद्धि गर्ने कार्यहरुको निरन्तरता र दिगोपनाको लागि स्थानिय निकायमा आवश्यक पहल गर्ने मिक्लाजुङ गाँउपालिका–५ नं वडा अध्यक्ष अबिसन लावती वताउँछन् । 





Leave a comment