रिसानी माफ है ‘सहकारी जात्रा’

रिसानी माफ है ‘सहकारी जात्रा’ :: Sahakari Akhabar

गाइजात्रा अंक

हाँसो र रोदन मिसिएको पर्व, अनौठो उत्सव ‘गाई जात्रा’ । गाईजात्रे अवसर पारेर छेडखानीको, घोचपेचको मेसो मिलाउने मौसममा आज, जात्रै जात्राको यात्रा गरिरहेको सहकारी हात्तीमा सवार माउतेहरूलाई जात्राका शब्दहरूबाट सु स्वागतम् ।

पाच्य नभए पनि, हजम नभए पनि सहमतिमा सस्कार्ने नियामक र मिलेमतोमा कानुनको कान निमठ्ने सहकारी माउतेहरूलाई सहकारी जात्रामा वेलकमवाला स्वागत छ । आसनको आस नगर्नु होला, राशनको रास त छँदै छैन र भाषणको पनि भरोसा छैन । हामी कलमको कलाले सहकारी जात्राको यात्रा गराउने छौँ ।

यात्रामा कठिनाइ हुनसक्छ, अक्सिजनको मात्रा कम हुनसक्छ, उचाइमा रिङ्गटा लाग्न सक्छ, धरातलमा आत्तेस लाग्न सक्छ । सुखमा न मात्तिनु र दुःखमा नआत्तिनु भन्ने त उखान नै छ नि ! त्यसैले सहकारीका जन्मदाता, अन्नदाता, पिता, माता, राष्ट्रिय, अन्तर्राष्ट्रिय माननीय, पूजनीय, केन्द्रीय, वि केन्द्रीय सबैलाई धैर्यताका साथ यात्रामा सहभागी हुन अनुरोध छ ।

शब्दका सारथी हरुले साथ दिएसम्म सम्मान जनक समायोजन हुने कसम नै नखाए पनि बाचा दिन्छु । संयोग बस् आसन ग्रहणमा खादा र  भाषण ग्रहणमा तलमाथिको अस्वस्थ अवस्था भए, ‘रिसानी माफ है’ ।


कन्फ्यूज जात्रा

बरीयताको क्रममा एक इन्च तलमाथि हुन सक्दैन भन्न सक्ने अवस्था पनि छैन । किनकि राष्ट्रिय र अन्तर्राष्ट्रियमा पहिला कुन ? पक्कै पनि अन्तर्राष्ट्रिय, भन्नु होला ! त्यसो हो भने, उही मानिस जिल्ला स्तरमा गएपछि पहिला कुन भन्ने प्रश्न त आइहाल्छ नि ! अव माननीयहरू पनि सहकारीका सञ्चालक, यी दुई मध्ये पहिला कुन ?

जनप्रतिनिधि पनि सहकारीका सञ्चालक यी दुईमा पनि पहिला कुन ? पालिकादेखि नियमक सम्म एकै ब्यक्ती भएपछि स्वाभाविक रूपमा पहिला कुन ? प्रारम्भिकमा कर्मचारी, स्थानीय जनप्रतिनिधि, विषयगतको राष्ट्रिय प्रतिनिधि, सहर कोमा कर्मचारी, जिल्लाकोमा अध्यक्ष, प्रदेशकोमा अध्यक्ष, केन्द्रकोमा सञ्चालक, विषयगतमा सल्लाहकार अनि नीयमक निकायमा कानुन निर्माता ! अनि बरीयतामा कुन पद पहिला ?

फरक पदमा फरक मान्छे भए पो ! बरीयता पनि मिल्छ । सबै ठाँउमा एकै मान्छे, सबै पदमा उही मान्छे, के बरीयता ? घरीको यता, घरीको उता कहाँबाट मिल्नु बरिएता । कानुन बनाउने पनि उही पालना गर्ने पनि उही । कानुन मिच्ने पनि उही उसैलाई चाहिएको छ सहकारीमा सुशासन । छैन त ? कन्फ्यूज जात्रा ।

भाषणको बिचैमा आयोजकले माइकलाई म्यूट गरिदिएर हैरान ! बोल्दा बोल्दै छोरा छोरीले मोबाइल खोसेर फ्री फायरको फायर गरिदिएर हैरान । जुम मिटिङ नेतालाई फापेन ।
जुम जात्रा

विगत २ वर्ष देखि सहकारीमा प्रत्यक्ष कार्यक्रमको गति कम हुँदै गएकोले भर्चुअलको भर गर्नुपर्ने अवस्था छ । त्यो मारमा सहकारीका माउतेहरूलाई निकै घाटा भएको कुरा कसले बुझेको छ र । जुममा जाँगर मर्दै गएको छ माउतेको ।

बरियता क्रम मिल्दैन, खादा र सादा खाम चल्दैन, भाषण र आसन मिल्दैन त्यसैले जाँगर हरायो । त्यसो नहुने बित्तिकै जुमको क्यामेरा अफ गरिहाल्ने र साउन्डको रातो बटम थिचिहाल्ने बानी परेको छ माउतेलाई । ताली बज्दैन, ढोका थुनेर भाषण सुनाऊँ भन्दा श्रीमतीले चिया खाजा नै नदेलिन् भन्ने पिर ।

भाषणको बिचैमा आयोजकले माइकलाई म्यूट गरिदिएर हैरान ! बोल्दा बोल्दै छोरा छोरीले मोबाइल खोसेर फ्री फायरको फायर गरिदिएर हैरान । जुम मिटिङ नेतालाई फापेन । सहकारी माउतेहरूले बरीयता नमिलेको बहनामा जुमबाटै माइक भाँचिदिन्छु भन्दै उफ्रिँदा कम्प्युटरको स्क्रिन फुटेर छोराले अनलाइन क्लास नै लिन पाएन ।

भाषण गर्न नदिएको झोकमा जुरुक्क उठेर बुरुक्क उफ्रेर मञ्चबाटै हिँडिदिन्छु भनेर फरक्क फर्कँदा सँगै बसेकी श्रीमतीसङ टाउको ठोकिएर हैरान । आसन ग्रहण नगराएको र खादा नलगाइदिएको भनेर आयोजकसङ जुम मिटिङ्गमा भएको चर्काचर्कीले पानी बाराबार भएको पनि एक वर्ष बितिसक्यो ।

जुमको चक्करमा डाटा प्याक डाउन, इन्टरनेटको बिल उठेर हैरान । मोबाइल, ल्यापटप फुटेर ध्वस्त, कती मात्र स्पन्सर खोज्नु । सबै कोरोनाको कहरमा छौँ भन्छन् । न कोट लगाएर जाने, न ट्याक्सी चढेर जाने । मोबाइलमा डाटा सकियो या इन्टरनेटको पैसा सकियो के भन्नु ? जुम जात्राले जनकपुरबाट प्लेन चढ्ने दक्षिणा लिने दिन पनि चैट् । ‘रिसानी माफ है’ ।

शिक्षा तालिम, अध्ययन भ्रमणका नाममा लुटे पनि, कानुन मिच्न जुटे पनि, सिद्धान्तलाई हाँडीमा मकै भुटेझैँ भुटे पनि आन्दोलन । अभियानलाई आन्दोलन बनाउनुको राज र रडाको, रतन्धो भएकोलाई पनि रमिता लाग्दैन र !  ‘रिसानी माफ है’ ।
अभियान जात्रा

जात्रै जात्राको अर्को भण्डार हो ‘अभियान’ । आजकाल नेताले यसलाई न्वारन गरेर ‘आन्दोलन’ बनाएका छन् । स्थानीय तहदेखि केन्द्रसम्म, प्रारम्भिक देखि महासङ्घसम्म टम्म, राजनीतिक जालोले डम्म ढाकेको अभियानलाई आन्दोलन बनाएको कुरा तपाइले सुईको पाउनु भयो की भएन ? जात्रा कसरी ? राज्यले सहकारीलाई ५ किसिममा वर्गीकरण गरेको छ ।

यहाँ २२ थरी केन्द्रीय सङ्घ छन् । स्थानीय सङ्घहरू त हुने भइगए । प्रदेश सङ्घ मात्र भए त हुन्थ्यो नि ! प्रदेश विषयगत सङ्घ पनि चाहियो । जिल्ला सङ्घहरू त छँदै थिए, विषयगत जिल्ला सङ्घहरू पनि त थपिए । हेर्नुहोस् त सहकारी संरचना आ...हा.., भएन त आन्दोलन ।

सरकारको सहयोग रहेको पत्रिकामा थर्काइ थर्काइ विज्ञापन उठाए पनि आन्दोलन । फकाएर तालिमको नाममा लुटे पनि आन्दोलन । डिजिटल कारोबारका नाममा ढाड सेकाए पनि आन्दोलन । सहकारीलाई पार्टीको सम्पर्क कार्यालय बनाए पनि आन्दोलन ।

शिक्षा तालिम, अध्ययन भ्रमणका नाममा लुटे पनि, कानुन मिच्न जुटे पनि, सिद्धान्तलाई हाँडीमा मकै भुटेझैँ भुटे पनि आन्दोलन । अभियानलाई आन्दोलन बनाउनुको राज र रडाको, रतन्धो भएकोलाई पनि रमिता लाग्दैन र !  ‘रिसानी माफ है’ ।

आन्दोलनका आन्दोलनकारीहरुले सहकारीका विकृति र विसंगतप्रति पनि आन्दोलन गर्ने मृत आत्माबाट शक्ति प्रदान गरुन् । यही कामना सहित बचनको बाँणले बिझेमा र घोचेमा ‘रिसानी माफ है’ ।
स्थानीय सहकारी जात्रा

मुलुक सङ्घीय संरचनामा गएपछि, पछि, पछि गएको सहकारी आन्दोलन वास्तवमै ‘आन्दोलन’ भएको छ ।  सहकारीको संरचनामा परिवर्तन भए पनि काम गर्ने ढाँचामा परिवर्तन हुन नसकेको नियमक हरुको पारा देखेर दारा नकिट्नु होला । सेवा केन्द्र र कार्यक्षेत्र विस्तार भए, दर्ता बन्दको बहानामा ।

नीति र नियम बहालवाला र रिटायर्डको चपेटामा चेपिँदा चुइँक्क पनि गर्न सकेको छैन । अनुगमन र नियमनको झटारोले झरेका दाना दलिनमा बिस्कुन भएका छन् । गोजीमा कानुन, सानाले जानुन् । ठुलाले मानुन् की ! नमानुन् । आफूले भनेको माने र जाने भने भई गयो नि ।

सहकारी नेतालाई च्याप्ने, अरूलाई हेप्ने नियमकको पक्षपातले पक्षाघात भएका सहकारकर्मीलाई आश्वासनको झटारो हान्ने आन्दोलनका आन्दोलनकारीहरुले सहकारीका विकृति र विसंगतप्रति पनि आन्दोलन गर्ने मृत आत्माबाट शक्ति प्रदान गरुन् । यही कामना सहित बचनको बाँणले बिझेमा र घोचेमा ‘रिसानी माफ है’ कि कसो ।  



Leave a comment