अव के होला ?

अव के होला ? :: Sahakari Akhabar
कोषमा समस्या छैन

चन्द्रप्रसाद ढकाल (वरिष्ठ उपाध्यक्ष, नेफ्स्कून)

स्थिरिकरण कोष सहकारी ऐन २०७४ ले नै व्यवस्था गरेको विषय हो । मन्त्रालयले कार्यविधि बनाएर निवर्तमान अध्यक्ष डिबी बस्नेतकै नेतृत्वमा काम अघि बढेको थियो ।

अहिले त्यसको निरन्तर काम भइरहेको छ । सदस्य बन्ने र योगदान गर्ने क्रम बढेको छ । समय सीमा, मापदण्ड पूरा भएपछि कार्यान्वयन सुरु हुन्छ । कोषले पुँजी परिचालन गरेर लङ टाइम काम गर्छ ।  यसले सदस्य संस्थालाई राहत दिन्छ । सदस्यका लागि गरिने काम भएकाले पहिलो हकदार उहाँहरू नै हो ।

कार्यविधिले सिड मनीमा राज्यले सहयोग गर्ने भन्ने थियो । डिबी सर नै अध्यक्ष भएका बेला सहसचिव चन्द्रकला पौडेल हुँदा बजेट विनियोजन भएको जानकारी आएको थियो । तर परिस्थिति जटिल भएसँगै सरकारसँग सिडमनी लिन सकेनौँ । र संस्थाबाट थप पैसा पनि लिन सकेनौँ ।

१० करोडको सीमा पुगेपछि संस्थाहरूलाई दिने सहयोग सुरु हुन्छ । कार्यविधि अनुसार वितरण हुन्छ । स्थिरिकरण कोषमा समस्या छैन । निरन्तर प्रक्रिया अघि बढेको छ ।
 
सकारले नदिए पनि १० करोड आफै पुर्याउँछौं

नवराज सापकोटा (संयोजक–लेखा सुपरीवेक्षण समिति)

स्थिरिकरण कोष नेफ्स्कूनले अघि बढाउनुपर्छ भनेर सहकारी विभाग र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट कार्यविधि बनाएर आएको छ । सहकारी संस्थाहरूले ६ करोड जम्मा गरेका छन् ।

ऐनमा भएको व्यवस्था हामी कार्यान्वयनको तहमा छौँ । नेफ्स्कूनमा कार्यालय रहने, नेफ्स्कूनका अध्यक्ष कोषको अध्यक्ष र नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृत कोषको सदस्य सचिवको रूपमा रहने व्यवस्था छ । त्यस्तै अभियानका प्रतिनिधि रहने, २ जना सदस्य संस्था निर्वाचित भइसकेछन् ।

तर विभागले छुट्टै दर्ता हुनुपर्ने, प्यान नम्बर कोषको छुट्टै हुनुपर्ने भनेकाले कोष सञ्चालन हुन सकेको छैन । कोष सहकारी संस्थाको सुरक्षा कवचको रूपमा आएको छ । प्रारम्भिक सहकारीमा नियमावलीमा गुनासो छ । मुनाफाको ५ प्रतिशत धेरै भयो भन्ने अभियानको पनि तर्क छ ।

यो विषय सम्बोधन हुन आवश्यक छ  । सानो रकमबाट जम्मा गर्दै पछि आकर्षित हुन्छन् सहकारीहरू । कोषमा सङ्घ संस्थाका प्रतिनिधि धेरै भए ।

तर प्रारम्भिक सहकारी सदस्य ५० प्रतिशत सहभागी हुनुपर्छ । यसो हुँदा आफ्नो पैसाको सुरक्षा र परिचालन हुन सहज हुन्छ । निकायको प्रतिनिधि धेरै भयो भन्ने संस्थाको कुरा जायज हो भन्नेमा हामी सकारात्मक छौँ ।

१० करोड पुर्याएपछि हामी कोषलाई अघि बढाउँछौँ । ऐन अनुसार सकारले नदिए पनि १० करोड आफै पु¥याउँछौं ।  अघिल्लै स्थापना दिवसमा उद्घाटन गर्ने योजना थियो ।

नियमक निकायबाट प्रक्रिया पुर्याउन बाँकी छ भनेकाले पछि हटेका हौं । तर सहकारीबाट हामीलाई प्रेसर छ । किन सञ्चालनमा आएन भन्ने गुनासो बारम्बार आइरहेको छ ।

ऐनका धेरै प्रावधान कार्यान्वयन हुन सकेका छैनन् । कार्यविधि बनाएर मन्त्रालयमा बुझाइएको हो । मन्त्रालयले स्वीकृत नगरेकाले कोष सञ्चालनमा कठिनाइ भइरहेको छ ।

विस्तृत कार्यविधि बन्न बाँकी छ 

माधवराज जोशी (सञ्चालक–नेफ्स्कून )

सहकारी ऐन २०७४ को व्यवस्था अनुसार नै स्थिरिकरण कोष स्थापना भएको हो । खास गरी सरल भाषामा भन्नुपर्दा सहकारीलाई समस्या पर्दा जोगाउन कोष स्थापना भएको हो । स्थिरिकरण कोषमा सात प्रदेशको तुलनामा सुदूरपश्चिमका सहकारी कम सहभागिता जनाएका छन् ।

तर पछिल्लो समयमा कोषमा रकम बुझाउने क्रम बढेको छ । केहीले कोषका लागि रकम छुटाइसकेका छन् । कोषमा जम्मा गर्ने तरखरमा छन् । कोषको सदस्य बन्ने र पैसा बुझाउने क्रम जारी छ । कोषले आफ्ना सदस्य संस्थालाई अप्ठ्यारोमा पर्दा सुलभ दरमा थोक कर्जा उपलब्ध गराउँछ ।

अझै विस्तृत कार्यविधि बन्न बाँकी छ । हामी सहकारीलाई बढी भन्दा बढी हित हुने गरी कार्यविधि बनाउन लागिपरेका छौँ । कोषको अध्यक्ष नेफ्स्कूनको अध्यक्ष र सचिवालय पनि नेफ्स्कून मै राखेर काम भइरहेको छ ।

सुरक्षा कवचको रूपमा काम गर्छ 

जिवसराज खड्का (सञ्चालक–नेफ्स्कून )

स्थिरिकरण कोष नेफ्स्कूनले सहकारी ऐन २०७४ र नियमावली २०७५ बाट स्थापित  गरेको हो । यो वित्तीय कारोबार गर्ने सहकारीको सुरक्षा कवचको रूपमा रहन्छ । सचिवालय नेफ्स्कूनमा रहने छ ।

राष्ट्रिय सहकारी महासंघ, सहकारी विभाग, राष्ट्रिय सहकारी बैङ्क पनि सदस्य रहने व्यवस्था छ । यो कोष बचत तथा ऋणको मात्र नभई सबै सहकारी अभियानको फाइदा पुग्ने कुरा हो ।

तर पछिल्लो समयमा बचत तथा ऋण सहकारीलाई मात्रै हो भन्ने आएको छ । बचत बाहेकका संस्थाहरू आउन हिचकिचाइ रहनुभएको छ । नेफ्स्कूनले वित्तीय कारोबार गर्ने सबै सहकारीलाई खुला गरेको छ ।

कोषमा अहिले ६ करोड पुगी सकेको छ । छिट्टै ७ करोड पुर्याउने लक्ष्य छ । बाँकी ३ करोड राज्यबाट लिने तयारी छ ।  यसै वर्ष कोष सञ्चालन गर्ने योजना छ । कोषमा २ सय भन्दा बढी संस्था आबद्ध भएका छन् ।

कोषमा आउन न्यूनतम आधार तय गरिएको छ । संस्थागत पुँजी ५ प्रतिशत हुनुपर्ने व्यवस्था छ । हामीले यसलाई अझै सरलीकृत गर्ने सोचमा छौँ । सहकारी अभियानको सुरक्षा कवचको रूपमा कोष रहेकोले सहकारीको उत्साह बढ्नुपर्छ ।

जसरी बैङ्कहरू समस्यामा पर्दा राष्ट्र बैङ्क लगायतका निकायहरूले सहजीकरण गर्छ । त्यसरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी समस्या पर्दा कोषबाट सहजीकरण हुन्छ ।  यसले सहकारीको जोखिम न्यूनीकरण गर्ने छ । नेफ्स्कूनले यसका साथै स्तरीकरणमा पनि ध्यान दिइरहेको छ ।

सुरु भएको २ वर्ष भयो । यो वर्ष राज्यले योगदान गर्नुपर्छ । कोष सञ्चालन हुन ढिलो भइरहेको छ । यस वर्ष अवश्य पनि अगाडी बढ्ने छ । कोष आवश्यक र अपरिहार्य भइसकेको छ ।
 
५ प्रतिशत बढी आयो भन्ने गुनासो आएको छ

विद्या कोइराला (सञ्चालक– नेफ्स्कून )

स्थिरिकरण कोष पूर्व अध्यक्ष ऋषिराज घिमिरेले ल्याउनुभएको अवधारणा हो । यसले सहकारीको जोखिम न्यूनीकरण गर्न सघाउ पुर्याउछ । सहकारीमा आर्थिक समस्या हुँदा, तरलता अभाव भएको बेला कोषले सघाउँछ ।

त्यस्तै कोषबाट सदस्यको माग भएको बेला बचत फिर्ता गर्न, आर्थिक सङ्कट परेका बेला सापट लिन सहयोग पुग्छ । ऐनको व्यवस्था अनुसार नाफाको ५ प्रतिशत छुट्टाउनु पर्छ ।

त्यो बढी भएको भन्दै प्रारम्भिक सहकारी संस्थाबाट कुरा आएको छ । कतिपय सहकारीले अझै नबुझिरहेको अवस्था छ । सहकारी दोधारमा छन् । सहकारीमा भोलि फिर्ता  हुँदैन भन्ने डर छ । सदस्यहरूले ५ प्रतिशत नाफा धेरै हो ।

यो हाम्रो ब्यालेन्स सिटमा देखिँदैन भन्ने राख्नु भएको छ । त्यो जायज पनि छ । १० करोड पुगेपछि कोष कार्यान्वयन पक्ष अघि बढाउने हाम्रो धारणा छ । नियमावलीमा व्यवस्था भएको कुरा बुझेर सहकारीले कोषमा यथाशीघ्र रकम पठाउन अनुरोध छ । यसले सहकारीको उन्नयन र विकासमा टेवा पुग्छ । सदस्यलाई दुःख पर्दा कोषले हेर्छ ।

स्थिरिकरण कोष आफैँमा इन्सुरेन्स हो

रीना आचार्य (सञ्चालक–नेफ्स्कून )

स्थिरिकरण कोष आफैँमा इन्सुरेन्स हो । कोषमा आउन सहकारीलाई उत्साह नभएको पनि होइन । सदस्यहरूले पैसा हाली रहेका छन् । तर राज्यले गर्नुपर्ने सहयोग गरेन ।

कोरिया लगायत सहकारी फस्टाएका विकसित मुलुकमा हेर्दा छुट्टै बचत ऐन, स्थिरिकरण कोष छ । नेपालमा पनि ऋषिराज घिमिरे अध्यक्ष हुँदादेखि नै कोष र छुट्टै ऐनको कुरा उठेको हो ।

सहकारीमा दुर्घटना आन्तरिक र बाह्य दुवै किसिमले हुन्छ । कोषले सेफ ल्यान्डिङ गर्छ । समस्या परेमा कोषबाट १/२ प्रतिशतमा ऋण लगानी हुन्छ । कोषको अवधारणा नराम्रो होइन ।

बुझाइमा कता कता नमिलेजस्तो देखिएको छ । मुभमेन्ट संरक्षण गर्न कवचकै रूपमा काम गर्छ । सञ्चालन प्रक्रियामा त्रुटि छन् । सञ्चालक समिति पूर्ण नभए जस्तो लागेको छ ।

कोष सञ्चालनमा राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, सहकारी मन्त्रालय, नेफ्स्कूनको कमिटी बन्नु पर्नेमा त्यसो हुन नसकेर पनि सञ्चालनमा समस्या आएको छ । स्थिरिकरण कोष आवश्यकता अनुसार सबै सङ्घहरूले गर्नुपर्छ ।

यहाँ सबै सहकारी मिसाइयो । अब पूर्णता दिँदै परिमार्जन गर्दै जानुपर्छ । बैङ्कले पनि आफ्नै कोष खडा गर्न सक्छ । बहुउद्देश्यीय र कृषि सहकारीले पनि आवश्यकता परे आफै कोष स्थापना गर्न सक्छन् । यहाँ पनि सहकारीको मुख्य कारोबारको कुरा पनि आउँछ । नेफ्स्कूनको सेफ्टी अरुलाई म्याच नहोला । 
 
सबै सहकारीलाई सुरक्षण आवश्यक छ

रामहरि बजगाई (अध्यक्ष–जिल्ला सहकारी सङ्घ, ललितपुर )

स्थिरिकरण कोष राम्रो हो । यसको कार्यान्वयन पक्ष के हो भन्ने एउटा पक्ष रह्यो । सञ्चालनको विषय बाहिर प्रस्ट आएन । विधि र प्रक्रिया आफैमा अलमल देखिन्छ । गतिमा जान सकेको छैन ।

यसलाई फराकिलो दायरामा लैजानु पर्छ । बचत तथा ऋण मात्रलाई समावेश गर्नु भन्दा बचत गर्ने अरू सहकारीलाई पनि स्थिरिकरण कोष आवश्यक छ । उनीहरूको पनि सुरक्षाको कुरा आउँछ ।

कोषमा पैसा राख्दै ठुलो बनाउने हो । प्रावधान कडा छ  । संस्था पनि त्यही अनुसार हुनुपर्छ । जुन संस्थाले बचत गरेका छन्, ती संस्था सुरक्षित हुनुपर्छ । ऐन पनि संशोधन गर्नु पर्छ ।

नेफ्स्कूनले सबै क्षेत्रमा हात हालेको छ । कति सफलता प्राप्त गर्छ भन्ने लेखाजोखा गरेको पाइँदैन । कोषको योजना बनाएर जानुपर्छ । कोष सञ्चालनमा ढिलाइ भइहरेको छ । राज्यसँग गर्नु पर्ने नीति नियममा लबिङ पनि नपुगेको देखिन्छ । व्यवस्थित ढङ्गले सञ्चालन गर्न साँघुरो नभएको राम्रो हो ।

अर्को पक्ष नेफ्स्कूनको मात्र अन्डरमा हुने होइन । सबै सहकारीको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासङ्घ एपेक्स अनुसार जाँदा राम्रो हुन्छ । महासङ्घबाट सञ्चालन हुँदा सबै सहकारी समेटिन्छन् ।

सुरक्षणका निम्ति यो आवश्यक पनि हो । कवच नेफ्स्कूनका सदस्यलाई मात्र होइन । नेफ्स्कून बाहेक ११ हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्था बाहिर छन् । ऐन, नियमावली संशोधन गर्न आवश्यक छ ।

साकोस बाहेक अरू प्रवेश गर्नु राम्रो नहोला

गोपाल बाराकोटी (अध्यक्ष– लेटाङ साकोस, मोरङ )

स्थरीकरण कोष नचाहिने भन्ने होइन । सहकारी ऐनको कन्सेप्ट अनुसार स्थिरिकरण कोषको सुरुवात हुँदै छ । ऐनमा वित्तीय सेवा प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । यो अरू सहकारी भन्दा साकोसहरुका लागि बढी प्रभावकारी हो।

नेफ्स्कूनले आफ्ना सदस्य साकोसलाई समेटेर कोष अघि बढाउनु पर्छ । कृषि, बहुउद्देश्यीय सहकारी लगायत अन्य सहकारी कोषमा प्रवेश गर्नु प्रभावकारी नहोला । तर साकोसलाई अपरिहार्य छ ।

यसले सुशासन र गुणस्तरमा जान सघाउँछ । दीर्घकालीन विकासमा टेवा पुग्छ । ऐनमा व्यवस्था भए अनुसार विषयगत सङ्घहरूले विरोध गरिरहेको छन् । नेफ्स्कूनले आफ्ना सदस्यलाई समेटेर कार्यान्वयन गर्नु नै उपयुक्त हुन्छ ।

त्यसरी गर्दा राम्रो  हुन्छ । कोषमा सबै प्रकृतिका सहकारी आबद्ध हुनु हुँदैन । वित्तीय अनुशासन कायम गर्नेलाई कोषले मार्ग निर्देशन गर्ने छ ।

साकोसहरु पनि बैङ्क जत्तिकै छन् । राष्ट्र बैङ्कले बैङ्कहरूलाई हेरेजस्तै नेफ्स्कूनले पनि सहकारी हेर्नेछ । कोष प्रभावकारी हुँदा आर्थिक विचलन हुँदैन भन्ने विश्वस्त हौँ ।

कार्यविधि प्रस्ट आउनु पर्छ

ईश्वर न्यौपाने (व्यवस्थापक, मिलीजुली साकोस, दोलखा)

स्थिरिकरण कोष १० करोड भएपछि रन हुन्छ भन्ने भन्ने मैले बुझेको छु । सहकारी ऐनमा व्यवस्था भए अनुसार १० करोड जम्मा भएपछि कार्यान्वयनमा जाने छ । अहिले ६ करोड रकम जम्मा भइसकेको छ ।

कोषमा धेरै सहकारी आएका छैनन् । कोषले सहकारीलाई सुरक्षित बनाउँछ । म कार्यरत संस्था मिलीजुली साकोस सहभागी भइसकेको छ । जम्मा भएको रकम पनि परिचालन हुनु पर्छ ।

कोषका बारेमा संस्थालाई थप बुझाउनुपर्छ । अहिले बुझाउन कमी भएको या बुझाउन बेफाइदा देखिएर नआएको भन्ने प्रस्ट छैन । सहकारीमा तरलता अभाव भयो भने कोषले सहयोग गर्ने हो । सङ्कट परेको अवस्थामा सहयोग पुग्छ ।

सहकारीमा कुनै हानी हुँदा सहयोग पुग्छ । त्यस कारण कोष अपरिहार्य छ । तर कोषको रकम कसरी उपयोग हुन्छ, के के कुरामा सहकारीलाई फाइदा पुग्छ भन्ने विषयमा कार्यविधि प्रस्ट आउनु पर्छ ।

यसको आम्दानी के हो, यसका लगानीका क्षेत्रहरू के के हुन्, कोषबाट प्रारम्भिक सहकारीलाई हुने सहयोग के हो भन्ने प्रस्ट भइदिए हुन्थ्यो भन्ने लागेको छ ।

कोष सुस्त भयो

कमलकुमार घिमिरे (व्यवस्थापक, स्वर्णलक्ष्मी साकोस, झापा )

हामीले स्थिरिकरण कोषमा पैसा पठाइसकेका छौँ । गत वर्ष र यो वर्ष गरी हामीले २ किस्ता पैसा बुझाइ सकेका छौँ । कोष थप क्रियाशील नभएको हामीलाई लागेको छ । कार्यक्रम, गतिविधि सुस्त भएको परेको छ ।

राज्यले पनि सहयोग नगरेको बुझेका छौँ । कोषलाई अझै चलायमान बनाउन लाग्नुपर्छ । साकोसको वृहत् सहभागिता जनाउनु पर्छ । सहकारीमा समस्यामा पर्दा सहयोग गर्ने र जगेर्ना हुने किसिमले कोष आएको छ ।

स्थिरिकरण कोषमा सङ्ख्यात्मक र गुणात्मक विकासमा चासो हुनुपर्छ । बचत तथा ऋण सहकारी सहकारी संस्था १४ हजार बढी छन् । अर्ब नाघेका बचत सहकारी पनि १ सय भन्दा बढी छन् । कोषमा तीन सय मात्रै आबद्ध कम्ती नै हो । संस्थाहरूलाई कोषप्रति आकर्षित बनाउन र सक्रियता बढाउन ध्यान दिनै पर्छ ।

कार्यान्वयनमा महत्त्व दिनुपर्छ

ध्रुव श्रेष्ठ (व्यवस्थापक– सूर्योदय साकोस, स्याङ्जा )

हामीले स्थिरिकरण कोष विधान मै व्यवस्था गरेर रकम छुट्टाएका छौँ । सहकारीका लागि कोष हुनु आवश्यक छ । कोष परिचालन र व्यवस्थापन गर्न अभियानले कार्य निर्देशिका बनाउला ।

कार्य निर्देशिका बनाइसके पछि हामीले कसरी के सहभागिता जनाउने र यसको लाभ हानिको कुरा आउला । कार्य प्रक्रिया गइसकेको छ । अब कोष कसरी परिचालन हुन्छ, त्यसमा भर पर्छ ।

अहिले नेफ्स्कूनकै मातहत भएकाले नेफ्स्कूनले कार्यान्वयन कसरी गर्छ भन्ने मुख्य प्रश्न हो । सबै काम नेफ्स्कूनको ठिक हुन्छ भन्ने पनि छैन । आवश्यक परिचालन गर्न सकेमा कोष राम्रो हुन्छ । नीति, निर्देशिका प्रभावकारी र सहकारी मैत्री आउनुपर्छ ।

कोषबारे जनचेतना पुगेन

सुजेन्द्र श्रेष्ठ (व्यवस्थापक–बालकुमारी साकोस, भक्तपुर)

ऐनमै व्यवस्था भएकाले हामीले पनि स्थिरिकरण कोष व्यवस्था गरेका छौँ । तर नेफ्स्कूनले सञ्चालन गर्दै आएको कोषमा छिर्न निश्चित मापदण्ड पूरा गर्नु पर्छ । कोषमा पैसा हालेर मात्र हुँदैन रिटर्न के आउँछ भने कुरा हो ।

अहिलेसम्म हेर्दा कोषबाट रिटर्न आउँछ भन्ने केही आधार र ग्यारेन्टी छैन । ग्यारेन्टी भयो भने धेरै संस्था कोषमा सहभागी हुन्छन् । कोषमा सहभागी हुन संस्थागत पुँजी कोष ५ प्रतिशत पुगेको हुनुपर्छ । त्यो नपुगेकाले नियम परिधि पुराएर जान सकिएको छैन।

अर्को वर्ष हामी मापदण्डमा छिर्ने छौँ । कोषले तरलता क्राइसिस हुँदा सहकारीलाई बिना व्याजमै पैसा दिन्छ । यसो हुन सक्दा सहकारी बचाउन सकिन्छ । कोष सहकारी बचाउन नै खडा भएको भन्ने लागेको छ ।

अहिले कोषबाट रिटर्न नहुने भनेर धेरै फर्किरहेका छन् । कोषमा पुगी सकेका पनि निश्चित मापदण्ड नभएकाले पछाडि फर्केका छन् । कोषको बारेमा अझै क्लियर भएको छैन । यसको महत्त्व अझै बुझाउनुपर्छ ।

आवश्यक परे कार्यविधि संशोधन गरेर भए पनि अघि बढ्नुपर्छ । कोष एक्टिभ भएर वर्षको करोडौँ रकम जम्मा गर्न सकिन्छ । केन्द्रीय लेभलमा कार्यक्रम गर्छन् । तलको लेभलमा कोषको बारेमा जनचेतना अझै पुगेको छैन।

नेफ्स्कूनले आफ्ना फिल्ड कार्यालयबाट पनि सहकारीलाई स्थिरिकरण कोषबारे जानकारी गराउन सक्नुपर्छ । यसरी बृहत् बनाएर कोषलाई गाउँ गाउँसम्म पुर्याउन सकिन्छ ।



Leave a comment