Sahakari Akhabar

बन्दीपुर गाउँपालिकाद्धारा सहकारीका सदस्यलाइ दूधमा १ लाख ६२ हजार अनुदान

बन्दीपुर गाउँपालिकाद्धारा सहकारीका सदस्यलाइ दूधमा १ लाख ६२ हजार अनुदान :: Sahakari Akhabar

तनहुँ । बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान प्रदान गरेको छ ।

दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा अनुदान दिने व्यवस्था गरेको हो ।

गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रम अनुरुप अनुदान रकम प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीको रोहवरमा किसानलाई अनुदान रकम वितरण गरिएको हो ।

उक्त सहकारीमा आबद्ध ६१ किसानलाई प्रतिलिटर एकका दरले अनुदान दिँदा कूल १ लाख ६२ हजार वितरण गरिएको वडाध्यक्ष पोख्रेलले जानकारी दिए ।

उनका अनुसार उक्त सहकारीले दैनिक करिब ७०० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आएको छ । जति उत्पादन गर्यो, त्यति फाइदा हुने भएपछि किसान उत्साहित भएर उत्पादन वृद्धिमा लाग्ने गरेको उनले बताए ।

गाउँपालिकाको वडा नं ५ स्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक चार हजार लिटर दूध उत्पादन गर्दै आएको छ ।

उक्त सहकारीमा आबद्ध किसानलाई एक रुपैयाँका दरले १०० किसानलाई अनुदान दिँदा ९ लाख ५२ हजार वितरण हुने गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिए ।

“उक्त सहकारीलाई छिट्टै रकम वितरण गर्ने योजना बनाएका छौँ”, उनले भने, “दूधमा पाँच हजारदेखि बढीमा ३६ हजारसम्म अनुदान पाउने किसान रहेका छन् ।”

गाउँपालिकाले दूध र मासुमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई विशेष प्राथामिकतामा राखेर अनुदानका कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष थापाले बताए। दुग्ध उत्पादक किसानलाई मात्रै कूल रु ११ लाख १२ हजार अनुदान वितरण गरिने उनले बताए ।



Leave a comment