साताव्यापी कार्यक्रम गर्दै शुक्र पथ सहकारीको स्थापना दिवस सम्पन्न 

साताव्यापी कार्यक्रम गर्दै शुक्र पथ सहकारीको स्थापना दिवस सम्पन्न  :: Sahakari Akhabar

काठमाडौँ । शुक्र पथ बहुउद्देश्यीय सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी ११औँ स्थापना दिवस मनाएको छ । संस्थाले मुख्य कार्यालयसहित पाँच वटै सेवा केन्द्रमा बृहत् रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा २५० जनाले रक्तदान गरेका थिए ।

संस्थाले साताव्यापी कार्यक्रम अन्तर्गत भक्तपुरको सहारा हेरविचार केन्द्रलाई खाद्यान्न सहयोग, जिल्ला सहकारी सङ्घ काठमाण्डौको समन्वयमा ‘सहकारीका समस्या र चुनौती’ विषयक गोष्ठी, संस्थाका ज्येष्ठ सदस्यलाई सम्मान तथा लट्टी वितरण गरेको संस्थाका अध्यक्ष नरेन्द्र विष्टले बताए ।

त्यसै गरी संस्थाले बुढानीलकण्ठ–२ मा रहेको कालिका पार्कमा विश्राम घर निर्माण, बेन्च तथा डस्टबिन राख्ने कार्य गरेको छ । त्यसै गरी सोही अवसरमा संस्थाले सार्वजनिक स्थल, मठमन्दिर, पुरातात्त्विक सम्पदाको सरसफाइ समेत गरेको छ । संस्थाका सञ्चालक समिति, उपसमिति र शेयरसदस्य हरुको सक्रिय सहभागितामा सामाजिक गतिविधि गर्न सकेको अध्यक्ष विष्टले बताए ।

संस्थामा १० हजार सदस्य, ८ वटा सेवा केन्द्र र २ अर्ब कुल कारोबार गर्दै आइरहेको छ । संस्थाले यसै आर्थिक वर्षभित्रमा नुवाकोट र नारायणगढमा सेवा केन्द्र विस्तार गर्दै छ भने आगामी आर्थिक वर्षभित्र ४ वटा सेवा केन्द्र विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । संस्थाले कृषि लगायतका उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न सेवा केन्द्र थप्न लागेको अध्यक्ष विष्टले जानकारी गराए ।

सहकारीलाई कसरी उत्पादनसँग जोड्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय बहस नै चलाउन आवश्यक रहेको भन्दै उनले प्रतिशत किटान गर्नुभन्दा पनि सबै सहकारीहरूलाई क्षमताका आधारमा उत्पादनमा जोड्नुपर्ने औँल्याएका छन् ।




Leave a comment