मर्यादित व्यवसाय र प्रविधिमा सहकारी : सहकारी नारा र यसको सान्दर्भिकता

मर्यादित व्यवसाय र प्रविधिमा सहकारी : सहकारी नारा र यसको सान्दर्भिकता :: Sahakari Akhabar

न् १८४४ मा बेलायतबाट सहकारीताको अभ्यास शुरु भई विश्वमा त्यसको सञ्चालन विधि, सिद्धान्त र फरक छवीको आत्मसाथ र अनुकरण हुँदै आएको १७७ बर्ष भन्दा बढी भइसकेको छ । यी वर्षहरुमा यसको सञ्चालन, विकास, विधि र तौरतरिका, सदस्यहरुलाई सेवा, समुदायमा उपस्थिती र विश्वसनीयता हेर्दा यो वास्तबमै सदस्यहरुको आफ्नै स्वामित्वको, सदस्यप्रति जिम्मेवार संगठनको रुपमा लिन सकिन्छ ।

त्यसैले त यो विश्वमा प्रभावकारी बन्दै गएको छ । विश्वका ३० लाख सहकारीमा विश्वको १२ प्रतिशत जनसंख्या आवद्ध भएका छन् । विश्वमा रोजगार जनशक्ति मध्ये १० प्रतिशत अर्थात २८ करोडलाई रोजगारी दिएको तथ्यांक अन्तराष्ट्रिय सहकारी महासंघले प्रकाशन गरेकोछ । 

नेपालमा सहकारी विभागले हालै मात्र प्रकाशन गरेको तथ्यांकले २९,८८६ वटा सहकारी संस्थाहरु रहेको र त्यसमा नेपालको कुल जनसंख्याको २८ प्रतिशत व्यक्तिहरु सामेल भएका छन् । ४४ प्रतिशत पुरुष र ५६ प्रतिशत महिला आवद्ध रही ४ खर्ब ७७ अर्ब बचत संकलन र ४ खर्ब २६ ऋण परिचालन भएको स्थिती देखिएकोछ । कार्यसञ्चालन, नेतृत्व विकास, सुशासन कायम र प्रतिनिधित्वका विषयहरुमा कतिपनि विचलित नभई सञ्चालित सहकारीहरुलाई विगतका वर्षहरुमा झै यस वर्ष सञ्चालनमा सहजता भने भएन ।

बार्षिक साधारण सभा, विस्तारित मञ्च, सदस्य शिक्षा शिविर, क्षमता विकासका प्रशिक्षणहरु तथा सदस्यहरुसँग सामुदायिक विकासका क्रियाकलापहरुमा भने यो वर्ष खुलेर सहभागिता जनाउन नसकेता पनि अन्ततः सहकारीहरुले वैकल्पिक उपाय अवलम्बन गरी यी सबै विषयहरुमा नियमसँगत ढंगले अघि बढे, कारण थियो सदस्यको संरक्षणको संस्था । सदस्यहरुको रकमको सुरक्षा र प्रत्याभूति, नियमित कार्यसञ्चालन, वित्तीय स्थायित्व र सूचकहरुको सबल तालमेलमा अन्य समय भन्दा यो महामारीको समयमा सञ्चालक समिति, उपसमितिहरु र व्यवस्थापनले ठूलो मेहनत गर्नु पर्यो ।

यसै बीच विश्व ऋण परिषद् अमेरिकाले बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुका लागि जारी गरेको निर्देशनहरुमा सम्पत्ति शुद्धिकरण निवारण, दीगो वित्तीय सेवा र प्रविधि मार्फत सेवा भन्ने विषयले अन्तराष्ट्रिय जगतमा अभ्यासमा आएको विद्युतीय वित्तीय सेवालाई अवलम्बन नगरेका देशहरुले पनि अन्ततः अंगिकार गर्नै पर्यो र बैधता पाउँदै पनि गयो ।

परिषद्ले जारी गरेको निर्देशनको उद्धेश्य भनेको अब वित्तीय सहकारीहरु पनि बैंक तथा वित्तीय संस्थाहरु जसरी नै व्यक्तिहरुलाई डिजिटल प्रविधि मार्फत कारोबारको सेवा दिने संयन्त्रको विकास गरी कार्यान्वयनमा ल्याउनु भन्ने हो । प्रविधि मार्फत सेवा लिन कार्यक्षेत्रले रोक्दैन । सदस्यहरुले सेवा देशको जुनसुकै कुनाबाट वा विश्वको जुनै पनि स्थानबाट आर्थिक कारोबार गर्न सक्ने बनाउनुनै प्रविधि मार्फत वित्तीय सेवा हो । 

नेपालमा सहकारी क्षेत्रमा रकम भुक्तानीको लागि प्रयोग गरिने चेक (भुक्तानी पूर्जा), जसलाई चेक भन्न मिल्दैन, सहकारीको शाखा भन्न मिल्दैन, प्रविधिमा जान मिल्दैन, एटिएम वा पोइन्ट अफ सेल राख्न मिल्दैन, मोबाइल बैंकिंग गर्न मिल्दैन, एक सहकारीको सदस्यले आफ्नो कारोबार अर्को सहकारीबाट गर्न मिल्दैन यी वर्षौ देखि सुनिँदै आएका विषयहरु हुन्  । 

र हामी आफै कानूनको व्याख्याता बनिरहेकाछौं, फेरि आँफै त्यही विशेषता अपनाइरहेकाछौं । किनकी सहकारी क्षेत्र जहाँ आर्थिक कारोबार हुन्छ, वित्तीय क्षेत्रमा प्रतिस्पर्धा धेरै छ । प्रतिस्पर्धा गरेर यो क्षेत्रलाई स्थापित गर्दै लैजाने जोखिम सहकारीकर्मीहरुले उठाएका छन् र निरन्तरता दिएका पनि छन् । 

आज भन्दा करिब १२ वर्ष अघि एशियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृतले बचत तथा ऋण सहकारीको कार्यक्षेत्र कति हुन सक्छ ? भनी सोधेका थिए, त्यतिखेर हामीले एउटा वडा, एउटा जिल्ला वा एउटा अञ्चल भनेका थियौं । वहाँले भन्नु भयो विश्व भर जहाँ मानिसले जमिन टेकेर बसेका छन् त्यति नै बचत तथा ऋण सहकारीको आफ्नो कार्यक्षेत्र हो, (स्काई इज द लिमिट) ।

बरु आकाशमा कोही बसेका छन् भने उनीहरुलाई बोलाएर साधारणसभा गर्न पनि सकिन्न, भनेको समयमा सेवा दिन पनि नसकिने हुन सक्छ, त्यो तर्फ ध्यान नदिनु पृथ्वीमा सबैलाई सदस्य बनाउँदा हुन्छ । जोडिएका स्थानहरुबाट शुरु गर्नु भनेका थिए । सुशासन र सदस्यको रकमको प्रत्याभूति प्रमुख विषय जड हो । आज त्यो विषय सान्दर्भिक हुँदैछ । सहकारीमा प्रविधि मार्फत भौगोलिक सीमारहीत सेवा । 

नेपालमा ६४ औँ राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ राष्ट्रिय सहकारी महासङ्घले तय गरेको छ । समय सापेक्ष प्रविधिलाई सहकारी सञ्चालनको एक अभिन्न अंगको रुपमा लिई तय गरिएको यो नाराले सुसुप्त ढंगले व्यवस्थापन सहयोगका स्वरुपमा शुरुवात गरिएको लेखा अभिलेखमा प्राविधिकीकरण (सिविएस), सहकारी, गरिवी र सदस्यहरुको सूचना प्रणाली(कोपोमिस) देखि डिजिटल प्रविधि मार्फत सदस्यहरुका आर्थिक क्रियाकलापहरु समेतलाई समेटेकोछ र प्रविधिउन्मुख भई सेवा दिन प्रोत्साहन गरेको छ । 

सहकारीहरुमा जम्मा हुने नगद कन्तुर वा काउण्टरमै भौतिक नगदको रुपमा रहनु पर्छ, सदस्यलाई रकम आवश्यक पर्दा उनीहरु नोट बोक्ने गरी आउनु पर्छ वा नगदै उपलब्ध गराउनु पर्छ । सहकारीले अन्यत्र पोइन्ट बनाई कारोबार गर्नु हुन्न, भौतिक उपस्थितीमा नगदको लेनदेन हुनुपर्छ भन्ने पौराणिक बुझाईलाई यो वर्षको सहकारी नाराले बृहत, प्रतिस्पर्धी र अग्रगामी बनाएकोछ । 

आज देशमा क्रियाशिल करिब ३० हजार सहकारी, ७३ लाख जनसंख्या र ५.६ खर्ब पूँजिको उपयोगले उद्यमशीलता विकास, रोजगारीको सृजना, आयात प्रतिस्थापन र आत्मनिर्भरता खोजेकोछ । जसलाई जोड्न र उपयुक्त समय र स्थानमा सेवाको प्रत्याभूति दिन प्रविधिलाई आत्मसात गरी सम्भव, स्वचालित र सुरक्षित बनाउनुछ । 

यसका लागि राष्ट्रिय सहकारी महासंघले समयको माग ठानेर विषय उठान गरेको छ । यसको कार्यान्वयनको अग्रसरता समग्र सहकारीक्षेत्रले र प्रवर्धन र सुरक्षित उपयोगको वातावरण राज्यले गरिदिनु पर्दछ । सहकारीहरुको अनुगमन, सहकारीको सेवामा प्रभावकारीताको मापन र सदस्यको आर्थिक कारोबारको आवश्यकता अनुसारको विवरण समयमा प्राप्त गर्ने संयन्त्रको निर्माण गर्नुपर्दछ ।

अब सदस्यहरुले सबै सहकारीबाट आफ्नो आर्थिक कारोबार गर्न, एक सहकारीमा रहेको रकम अर्को सहकारीबाट निकाल्न वा राख्न सकिने सुविधा, मोबाइलबाट रकम स्थानान्तरण र सहकारी–बैंक, बैंक–सहकारी, सहकारी–सहकारी, सहकारी–व्यवसायी र व्यवसायी–व्यवसायीकाबीच विद्युतीय वित्तको संयन्त्र स्थापित गर्नु पर्दछ । सहकारीहरुलाई प्रतिस्पर्धी अवस्थामा आफ्ना सदस्यहरुलाई सेवा दिन अन्य क्षेत्रको अधिनमा रही प्रविधिको प्रयोग गर्ने होइन स्तरीय प्राविधिक सञ्जाल निर्माण गरी समग्र सहकारीहरु स्वतन्त्र रुपमा प्रविधिमा जोडिन सक्ने बनाइनुपर्छ ।

सदस्यहरुमा उद्यमशिलताको विकास सँगै सदस्यले उत्पादन गरेको उत्पादनमा सहकारीको प्रवर्धन, बजारीकरण, भुक्तानीमा विद्युतीय संयन्त्र र सहकारीको आफ्नो पहिचानलाई संस्थागत गर्दा राज्य, सहकारी र व्यक्तिगत सदस्यको त्रिपक्षीय सम्बन्धलाई अझ निकट लैजान सकिन्छ । राज्यको प्रवर्धनात्मक भूमिका, महासंघको उचित वकालत, र सहकारीहरुको प्रभावकारी प्रविधि कायान्वयनले नै यस वर्षको सहकारी नाराको सान्दर्भिकता पुष्टि गर्नेछ । (लेखक, नेफ्स्कून पूर्व कार्यकारी प्रमुख हुन् ।)




Leave a comment