.....त्यस कारण म व्यक्ति हैन संस्था हुँ

.....त्यस कारण म व्यक्ति हैन संस्था हुँ :: Sahakari Akhabar

नेपालमा हरेक वर्ष चैत २० गते मनाइने राष्ट्रिय सहकारी दिवस सहकारीकर्मी हरुका लागि एउटा पर्व नै हो । नेपालमा सहकारी अभियान सुरु भएको २०१३ साल चैत्र २० गतेलाई सम्झना गरेर मनाइने अभियान ६४ वर्षमा छ । देशभर मनाइने सहकारी दिवस, जिल्ला जिल्लामा विशेष कार्यक्रम गरी मनाइन्छ ।

मोरङ जिल्लामा पनि हरेक वर्ष सहकारी दिवस मनाउने गरिएको छ । गत वर्ष कोरोना कहरले मनाउन नसकिएको दिवस यो वर्ष साताव्यापी मनाउने तयारी गरेको छ । दिवस मूल समारोह शमित समेत गठन भैसकेको छ । जिल्ला सहकारी सङ्घ मोरङ तथा प्रदेश एक सहकारी सङ्घका अध्यक्ष साथै सहकारी दिवस मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलसङ सहकारी दिवस र जिल्लाको सहकारी अभियानका बारेमा सहकारी अखवारकालागि चिना थापाले गरेको कुराकानी ।

यो वर्ष सहकारी दिवस कसरी मनाउँदै हुनुहुन्छ ?

२०६० साल देखि जिल्ला सहकारी सङ्घमा संस्था आबद्ध भएका छन् । यस अघि पुराना साझा संस्थाहरूको जिल्ला सङ्घ थियो । सङ्घमा आबद्ध भइसकेपछि एकीकृत भएर सहकारी दिवस मनाउँदै आएका छौँ । सहकारी दिवस हामी सधैँ एउटै ठाउँमा मात्र मनाउँदैनौ । हरेक वर्ष फरक फरक स्थानमा मनाउने गरेका छौँ । यो वर्ष मोरङको पथरी शनिस्चरेमा मनाउने तयारी गरेका छौँ । दिवस सप्ताहव्यापी मनाउने भनेर निर्णय पनि गरिसकेका छौ ।

सप्ताहव्यापी दिवस मनाउँदै गर्दा आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?

सुरुदेखि नै सहकारी आफू आफू मिलेर मनाई रहेका छौँ । कार्यक्रम तोकिएको स्थानमा सहकारीहरू आफ्नै खर्चमा वानर सहित जानुहुन्छ । त्यति धेरै खर्च नि हुँदैन । हाम्रो खर्च भनेको मञ्च व्यवस्थापन, हल, पत्राचार लगायत अरू केही खर्च हुन्छ । त्यसका लागि आन्तरिक रूपमा सहकारी संस्थाहरूले आफ्नो इच्छा अनुसार सहयोग गर्नुहुन्छ । त्यो सहयोगले हाम्रो खर्च पुग्छ । दिवसको लागि भनेर छुट्टै कोष बनाउनु पर्ने अवस्था छैन ।

कोरोनाले सहकारी क्षेत्रलाई कस्तो असर पर्यो ?

कोरोनाले असर त पार्ने नै भयो । सबै क्षेत्र प्रभावित भएको अवस्थामा सहकारी क्षेत्र अछुतो हुने कुरा भएन । कोरोनाको कारण निक्षेप सङ्कलन हुँदैन, खाताहरूको अवधि पुग्छ । सदस्यहरूले भुक्तानी बढी लिन्छन् । त्यस कारण तरलताको समस्या हुन्छ भन्ने हाम्रो अनुमान थियो ।

समस्या नपरोस् भनेर हामीले राष्ट्रिय सहकारी बैङ्क, जिल्ला सहकारी सङ्घ, बचत तथा ऋण सहकारी सङ्घ र नेफस्कून लगायतका वित्तीय कारोबार गर्ने संस्थाहरू मिलेर तरलता व्यवस्थापन कोष बनाएका थियौँ । समस्या पर्ने सहकारीलाई तरलता कोषबाट व्यवस्थापन गर्ने भनेर पूर्व तयारीमा बस्यौँ । तर खुसीको कुरा भन्नुपर्छ मोरङ जिल्लामा त्यो समस्या आएन ।

तपाई प्रदेश र जिल्ला सङ्घ दुवैको अध्यक्ष हुनुहुन्छ यसरी दुबैतिर पद ओगट्न पाइन्छ त ? 

त्यस्तो होइन । मैले पद ओगटेको छैन । प्रदेश सङ्घ भनेको प्रदेश भरि रहेका विभिन्न प्रकृतिका सङ्घहरूको महासङ्घ हो । प्रदेश सङ्घमा व्यक्ति जाने हैन, सङ्घ जाने हो, संस्था जाने हो । कुनै सङ्घमा नभई उ प्रदेश सङ्घमा जानै सक्दैन । मैले जिल्ला सङ्घ सञ्चालन गर्न सकेको भएर त प्रदेश सङ्घमा जान सके । प्रदेश सङ्घको अध्यक्ष भइसकेपछि जिल्लामा राजीनामा दिनुपर्छ भन्ने कानुन, सहकारीमा छ जस्तो मलाई लाग्दैन । र व्यवहारिक रूपमा पनि यस्तो छैन ।

तपाई प्रारम्भिक सहकारी संस्थाको कर्मचारी हैन र ? कर्मचारीले प्रतिनिधि जान मिल्छ ? 

म स्टार सहकारीको प्रबन्धक सञ्चालक हो । प्रबन्धक सञ्चालक पदेन सदस्य सचिव हुन्छ । सदस्य सचिवको हैसियतले मैले जिल्ला सहकारी सङ्घमा प्रतिनिधित्व गरेको हो । र प्रदेश अध्यक्ष पनि म जिल्ला अध्यक्ष भएकै कारणले भएको हो । त्यस कारण म व्यक्ति हैन संस्था हु । यहाँनेर दोहोरो पद भन्ने हुँदैन ।

जिल्लामा सहकारी क्षेत्रमा देखिएका समस्यालाई कसरी नियाली रहनुभएको छ ?

अहिले जिल्लामा केही सहकारीहरू भाग्ने गरेको हामी सुनेका देखेका छौँ । यस्तो समस्या चाहिँ विभिन्न किसिमले आउँदो रहेछ । कसैले नियतवश गरेको र कसैले व्यवस्थापन गर्न नसकेर । पहिलो सहकारीको सिद्धान्तको बारेमा नबुझी नियतवस, योजना बनाएर, दर्ता गर्ने पैसा सङ्कलन गर्ने र आफूले सोचेको जति पैसा उठिसकेपछि आफ्नो अनुकूलमा भाग्ने ।

यसको समाधानको लागि चाहिँ सहकारी दर्ता गर्ने निकायले नै ध्यान दिनुपर्छ । सहकारी दर्ता गर्न आउने व्यक्तिहरू कस्ता प्रकृतिका हुन, त्यो समुदायको हो की हैन दर्ता गर्ने निकायले बुझ्नु पर्थ्यो । त्यसरी नबुझ्दा यस्तो समस्या आएको हो । यो समस्या पछिल्लो समय केही हदसम्म कम भएको छ ।

अर्को चाहिँ व्यवस्थापकीय समस्या, काम राम्रो गरेको छ, भाग्ने नियत पनि हैन, खराब गर्ने नियत पनि हैन, तर जानिएन । व्यवस्थापन गर्न सकिएन, व्यवस्थापन गर्न नसकेको कारणले समस्यामा पर्‍यो । यो समस्या चाहिँ गाउँ भन्दा बढी बजार केन्द्रित वित्तीय कारोबार गर्ने संस्थाहरूको हकमा कुनै माध्यमबाट केही नराम्रो कुरा फैलियो या सहकारी संस्थाले पैसा तिर्न सक्दैन भन्ने कुरा भयो भने फिर्ता माग्न आउने तर लगेको कर्जा फिर्ता गर्न नआउने ।

यो अवस्थामा सहकारीले भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना हुने र बाध्यता बस लुक्नुपर्ने, भाग्नुपर्ने दण्ड जरिवाना भोग्नुपर्ने अवस्था आउने गरेको देखिएको छ । यस्ता समस्या नभोग्न सहकारीहरू आफै सचेत हुनुपर्छ । व्यवस्थापकीय पाटो चुस्त दुरुस्त राख्नुपर्ने र आफूले लगानी गरेको पैसा फिर्ता हुने आधारहरू तय गरेर मात्र लगानी गर्नुपर्छ ।

सहकारीमा स्थानीय सरकारको भूमिकालाई कसरी हेर्नुभएको छ ? 

पहिला डिभिजन सहकारी कार्यालय थियो । त्यसले जिल्ला जिल्लामा हेरेर समस्यालाई रोक्ने काम गर्थ्यो । बेला बेलामा अनुगमन गर्थ्यो । अहिले संवैधानिक अवस्था अनुसार त्यो अधिकार पालिकाहरूलाई दियो । पालिकाहरूमा अझै त्यो किसिमको जनशक्ति छैन । सहकारीलाई प्राथमिकताका रूपमा अधिकाधिक पालिकाहरूले राखेका पनि छैनन् । दक्ष जनशक्ति छैनन्, ।

त्यस कारण पनि सहकारी क्षेत्र पछिल्लो समयमा अलि अव्यवस्थित भएको छ । अधिकारप्राप्त, पालिका, प्रदेश रजिस्ट्रारको कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकार हो । दण्ड जरिवाना, बन्द खारेजी सम्मको अधिकार प्राप्त निकाय भएकाले हामीले त समन्वय गर्ने मात्र हो ।

त्यस कारण अधिकारप्राप्त निकाय मजवुद नभईकन यो समस्या हट्दैन । अधिकार प्राप्त सरकारी निकायहरूले दक्ष जनशक्ति राखेर सहकारी क्षेत्रलाई प्राथमिकता राख्यो भने सहकारीमा देखिने यस्ता समस्या न्यूनीकरण हुन्छ ।

अन्त्यमा,

कोरोनाका कारण जिल्लाका बजार केन्द्रित केही सहकारीमा समस्या देखिएको छ । अन्य समस्या त हैन, भुक्तानीको समस्या देखिने हो कि भन्ने छ । ती सहकारीलाई हाम्रो तर्फबाट वित्तीय हिसाबले सहयोग गर्ने र सहकारीमा आबद्ध सदस्यहरूलाई नआत्तिन आग्रह गरेका छौँ । यो हिसाबको समस्या सल्टाउने काम जिल्ला सहकारी सङ्घको तर्फबाट हामीले गरिरहेका छौँ । हामीले स्थापना गरेको तरलता कोषबाट आवश्यक सहयोग पनि गर्छौ ।




Leave a comment