किन सहकारी प्रति युवा आकर्षित हुन सकेनन् ?

किन सहकारी प्रति युवा आकर्षित हुन सकेनन् ? :: Sahakari Akhabar

मुलुकभर ३० हजार सहकारी सङ्घ संस्थाहरू सञ्चालनमा रहेको देखिन्छ । सदस्य सहभागिता बढेको छ । सहकारी ऐनले पनि सहकारीको सञ्चालकमा समेत युवाको सहभागिता ३० प्रतिशत सुनिश्चित गरेको छ । तर पनि सहकारीमा युवा सहभागिता भने न्यून छ । किन सहकारी प्रति युवा आकर्षित हुन सकेनन् ? कसरी युवा सहभागिता बढाउन सकिन्छ ? सहकारी अखबारले सरोकारवालाहरू सँग जिज्ञासा राखेको छ । 

सहकारीमा युवाको सङ्ख्या धीमाहा गतीमा बढेको छ 

चक्रबहादुर पराजुली ( सदस्य सचिव, राष्ट्रिय सहकारी विकास बोर्ड )

राष्ट्रिय सहकारी बोर्डले सहकारीको प्रवर्द्धन र उद्देश्य प्राप्तिका लागि व्यापक गराउन नीति निर्माणमा सहयोग पुराउनुका साथै सहकारी अभियानको प्रवर्द्धन गर्न ध्यान केन्द्रित गर्ने निकाय हो ।

बोर्डले युवा लक्षित ठोस कार्यक्रम ल्याइसकेको छैन तर वर्तमान अवस्थामा युवालाई सहकारीमा कसरी संलग्न गर्ने र उद्यमशीलता विकास गर्ने भन्ने विषयमा छलफल चलाइरहेका छौँ । सहकारी क्षेत्रमा ठोस ढङ्गले युवालाई कसरी सहभागी गराउने र परिचालन गर्ने भन्ने छिट्टै कार्यक्रम ल्याउने तयारीमा छौँ ।

सहकारीमा युवा सहभागिता, उद्यमशीलता तथा रोजगारी बढाउन आवश्यक पूर्वाधार निर्माणमा काम गरिरहेका छौँ । सहकारीमा युवाका साथै महिलाको सहभागिता बढाउन प्रयत्नरत छौँ ।

स्वभाविकरुपमा युवाको महत्त्वाकाङ्क्षा बढी हुन्छ । छिटो उन्नति, प्रगति गर्न चाहने स्वभाव युवामा हुन्छ । त्यसो हुनाले युवालाई सानो ठाउँबाट अघि बढाउन खोज्दा आकर्षित भइहाल्ने स्थिति छैन । तर पनि युवालाई उत्साहका साथ काम गर्ने वातावरण निर्माण गर्न हामी प्राथमिकता दिने छौँ ।

कतिपय ठाउँमा सहकारीमा युवाको सङ्ख्या बढेको छ तर जिमाहा गतिमा बढिरहेको छ । वैदेशिक रोजगारबाट फर्केका युवाहरू सहकारीमा जोडिएर उद्यमशीलतामा जोडिएका छन् । व्यवसाय ढङ्गले अघि बढ्न प्रयत्नरत छन् । त्यस्ता युवालाई राज्यले पनि सहयोग गर्नुपर्छ । हामीले त्यस्ता युवालाई समेट्न ठोस कार्यक्रम ल्याउँछौँ ।

व्यावसायिक क्षेत्रमा क्रियाशील हुने युवालाई अनुदान उपलब्ध गराउन सकियो भने उद्यमशीलता बढ्ने, रोजगारी हुने, गरिबी निवारण हुने देखिन्छ ।

 

सहकारीको उचाइ बढाउन युवाको सहभागिता बढाउनुपर्छ

माधव ढुङ्गेल ( उपाध्यक्ष, राष्ट्रिय युवा परिषद् )

राष्ट्रिय युवा परिषद्ले सहुलियत कर्जा सुरु गरेको छ । शहरकै घरजग्गालाई मात्रै सम्पत्ति स्वीकार गरिएको अवस्था बिनाधितो ऋण प्रदान गर्ने व्यवस्था गरिएको छ ।

नागरिकलाई विश्वास गरेर बिना धितोमा ५ वर्षभित्र साँवा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । हामीले घुम्ती कोष सुरु गरेका छौँ । नेफ्स्कुनमार्फत युवालाई ऋण दिइरहेका छौँ ।

वित्तीय परिचालनमा सहकारी समाजवादी कन्सेप्ट हो । बचत गर्न सिकाउने र बचत भएको रकमलाई वृद्धि गर्दै निश्चित ब्याजमा उद्यम गर्न चाहनेलाई उद्यमी प्रोत्साहन गराउने सहकारी नै हो । सामन्तवाद समाजलाई निरुत्साहित गर्दै समाजवादको दिशातर्फ सहकारीलाई लिने गरेको छ ।

हामीले सहकारीमा युवालाई आकर्षित गर्ने, सहकारीले युवा आबद्व गराउने, देशलाई आर्थिक सम्द्विमा लैजान सघाउ पुर्याउने काम गरिरहेका छौँ  । ४०० समूहमा ऋण परिचालन भएको छ । अरू सहुलियतपूर्ण कर्जा पनि सहकारीमार्फत परिचालन गर्न सहजीकरण  गरिरहेका छौँ ।

सहकारीमा विकृति होलान, युवालाई सहकारीमा सहभागी गराएर विकृति निराकरण गर्नुपर्छ । सहकारी मुभमेण्टलाई उचाइमा पुर्याउन युवाको सहभागिता बढाउनुपर्छ । युवाको सहभागिता बढाउन सकियो भने पक्कै पनि सहकारीले नयाँ उचाइ प्राप्त गर्ने छ । विदेशबाट फर्केकालाई सहकारीमार्फत उत्पादनमा लगाउनुपर्छ ।

 

विदेशमा श्रम बेच्ने युवालाई सहकारीले नै अवसर दिनुपर्छ

सागर ढकाल ( संयोजक  युवा उपसमिति, राष्ट्रिय सहकारी महासङ्घ )

युवालाई प्रविधिसँग जोड्न सक्नुपर्छ । प्रतिस्पर्धात्मक बजारमा सकारीमा लाग्ने युवाहरूले अरूसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ । सहकारीमार्फत युवाले व्यावसायिक काम गर्न सक्नुपर्छ ।

बैङ्कले एसेप्ट गर्नेगरी युवा क्रियाशील हुनुपर्छ । बजारमा बिक्न र टिक्न प्रविधिमा जोड दिनुपर्छ । तर अहिले सहकारीमा पढेलेखेका युवा आउन चाहँदैन । उसको प्राथमिकता सहकारी क्षेत्रमा छैन ।

अरुवा जागिर नपाएपछि मात्र सहकारीमा आउने जस्तो देखिएका छ । सहकारी पहिलो प्राथमिकता नपर्नुको कारण सेवा सुविधा नभएर पनि हो । बैङ्क तथा वित्तीय संस्था र सहकारीको दर्जा नै फरक छ बजारमा । त्यस कारणले पनि सहकारीमा बैङ्क तथा वित्तीय संस्थामा जस्तो आकर्षण नभएको हो ।

दैनिक १४÷१५सय युवा वैदेशिक रोजगारीबाट स्वदेश फर्किरहेका छन् । उनीहरूको श्रम र सिप र अनुभवलाई सहकारीले क्यास गर्न सकेको छैन् । युवालाई सहकारीमार्फत कृषि फार्म सञ्चालन गर्न आकर्षक प्याकेज ल्याउनुपर्छ ।

त्यसकालागि राज्य, सहकारी महासङ्घ, जिल्ला सङ्घहरूले लगानी गर्न पछि हट्नु हुन्न । श्रम बुझेका त्यस्ता युवालाई सहकारीमा जोड्न सके सहकारीले पनि फड्को मार्न सक्छ ।

बचत तथा ऋणमा मात्रै काम गर्ने युवा भन्दा उत्पादनमा काम गर्ने युवालाई प्राथमिकता दिनुपर्छ । जिल्लामा पनि सहकारीमार्फत कृषिका विविध क्षेत्रमा काम भएको छ । योजनाबद्ध ढङ्गले जान सके सहकारीमा युवा जोडिने र उत्पादन पनि बढ्ने देखिन्छ ।

सहकारी महासङ्घ र सरकारले उत्पादनमा काम गर्ने सहकारीमार्फत युवा परिचालन गर्ने, सहयोग गर्ने र उत्पादनमा युवालाई केन्द्रित गर्नुपर्छ । सहकारीले पैसा कलेक्सन गर्ने मात्र नभई उत्पादनमा जोड्न सकियो भने सहकारीले फड्को मार्ने छ ।

विदेशमा श्रम बेच्ने युवालाई यहाँ उत्पादनमा  लगाउने वातावरण सहकारी क्षेत्रले नै दिनुपर्छ । सेवा क्षेत्रमा पनि विदेशबाट फर्केका युवालाई जोड्न सकिन्छ । होटेल, रेस्टुरेन्टलगायतका  सञ्चलन सकिन्छ ।

 

समयमै सम्बोधन नगरे अन्यत्रै मोडिने डर छ

मिना ढकाल ( उपाध्यक्ष, कृषि सहकारी केन्द्रीय सङ्घ )

हकारी क्षेत्रमा युवाको सहभागिता बढेको छ । नेतृत्वमा आउन चाहने युवाहरू पनि बढेका छन् । हाम्रो संस्था महारानी झोडा साना किसान कृषि सहकारी संस्थामा पनि आधा भन्दा बढी युवा छन् ।

वैदेशिक रोजगारबाट फर्केका युवा सहकारीमा समेटिएका छन् । केन्द्रीय सङ्घ, जिल्लाले पनि युवालाई व्यावसायिक बनाउन लागिपरेका छौँ । प्रविधिसँग नजिक हुने युवा नै कृषिको व्यावसायिक क्षेत्रमा सफल हुन्छन् । युवाहरू समूह बनाएर कृषि कर्मतिर अघि बढ्दै छन् ।

केन्द्रीय सङ्घले हरेक वर्ष साना किसानका छोराछोरीलाई इजरायल पठाउँछ । अहिलेसम्म ५ सय भन्दा बढी गइसकेका छन् । उनीहरूले ११ महिना इजरायल बस्न पाउँछन् । त्यहाँबाट फर्केका युवालाई कृषि क्षेत्रमा उदाहरणीय काम गरेका छन् ।

हाम्रै संस्थाको ३२ जना गइसक्नुभएको छ । त्यहाँबाट फर्केका १५ जनाको समूहले कृषिमा उदाहरणीय काम गरिनुभएको छ । हामीले युवालाई कृषिकै क्षेत्रमा लगाइरहेका छौँ ।

युवालाई व्यावसायिक बनाउन, दीर्घकालीन सोचका साथ अघि बढ्न प्रेरित गरिरहेका छौँ । वैदेशिक रोजगारीमा नगई यहीँ बसेका युवाहरू पनि उद्यमशीलतामा लागेका छन् । पछिल्लो समयमा कोभिडले पनि सिकाएको छ । यस अवधिमा युवा प्रविधिमा थप केन्द्रित हुन पाएका छन् ।

युवाहरू पशुपालन, कुरा पालन, अर्ग्यानिक तरकारीतिर पनि लाग्नुभएको छ । संस्थाले सरल ब्याजदरमा ऋण दिने, तालिम दिने गरेका छौँ । उहाँहरूले आवश्यक ठानेको र इच्छा गरेका तालिम दिन्छौँ । स्थानीय तहले पनि अनुदानका कार्यक्रम ल्याएका छन् ।

पहिला भन्दा कृषिमा युवाको आकर्षण बढेको छ युवालाई समयमै सम्बोधन नगरे अन्यत्रै मोडिने भएकाले संस्थाले विशेषपुरमा युवालाई आकर्षित गर्न आवश्यक छ । संस्थाले आड भरोसा दिन सके सहकारीमार्फत धेरै उद्यमी जन्माउन सकिन्छ ।

 

सहकारीका कार्यक्रम युवामैत्री छैनन् 

इन्दिरा पन्त ( सहकारी अभियन्ता )

हकारीमा युवा सहभागिता सङ्ख्याको हिसाबले यकिन गर्न सकिने अवस्था छैन । सहकारीका कार्यक्रम युवामैत्री छैनन् । सहकारीले युवाको ज्ञान, सीप र प्रविधिकालाई ध्यान दिनुपर्छ । अबको पुस्ता स्किल, नलेन, टेक्नोलोजीमा अगाडि छ । तर नवप्रतर्नका कार्यक्रम सहकारीले दिन सकेको छैन ।

सम्द्विको कुरा गर्दा उद्यमशीलता जोडिन्छ । जुलुसमा युवाको सहभागिता देखिन्छ तर ती युवाहरू उद्यमशील हुन सकेका छैनन् । सहकारीमार्फत युवालाई उद्यमशीलतामा आकर्षित गर्न सकिन्छ भन्ने बुझाउनुपर्छ । युवाको नयाँ आइडिया लिएर उनीहरूको सीप विकासका अघि बढ्नुपर्छ ।

सहकारीको ब्याजदर बढी छ । यसले उद्यमी बनाउँदैन । ५ प्रतिशत भन्दा बढी ब्याजले ग्रोथ गर्न सकिँदैन भन्ने अन्तर्राष्ट्रिय अभ्यास छ । त्यति धेरै ब्याज तिरेर युवा उद्यमी बन्न सक्दैन । भाषण गरेर मात्र हुँदैन । युवालाई अघि बढ्न सहयोग छैन । १५/१६ प्रतिशत ब्याजमा ऋण लिएर युवा उद्यमी बन्न सक्दैन।

युवालाई आकर्षित गर्न स्टार्टअप फण्ड सस्तो ब्याजमा दिने व्यवस्था गर्नुपर्छ । सहकारीका सिद्धान्त व्यवहारमा उतार्नुपर्छ । सिद्धान्त राम्रा भए पनि सहकारीका व्यवहार अर्कै छ । अब स्कुलमा सहकारी पढाइ हुनुपर्छ । यसो गर्न सकिए स्कुल स्तरमै चेतनाको विकास हुन्छ । सञ्चालक समितिमा युवालाई राखेर जानुपर्छ ।

कतिपय अवस्थामा आमन्त्रित सदस्यको रूपमा पनि  युवालाई जोड्नुपर्छ । आज लिडरसिपमा भएकाहरुको भाषण हाम्रा सन्तानले बुझ्दैन । आजको पुस्ता नतिजामुखी छ । तर नेतृत्वले त्यो कुरा बुझ्न सकेको छैन ।

 

युवा एक्लै निर्णय गर्न स्वतन्त्र छैनन्

बद्रीप्रसाद गुरागाईँ ( प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय सहकारी बैङ्क )

नेपालमा युवा उमेरकै विषयमा बुझाइ फरक छ । राष्ट्रिय युवा नीतिले ४० वर्षकोलाई युवा मानेको छ । तर युनाइटेड नेशनले २४ वर्ष सम्मकोलाई मात्रै युवा मानेको अवस्था छ ।

यस उमेर समूहका युवा एक्लै निर्णय गर्न स्वतन्त्र छैनन् । परिवारले उनीहरूलाई स्वतन्त्र छोडेको छैन । त्यस कारण पनि सहकारी बुझ्ने, स्किल उपलब्ध गराउने, वित्तीय साक्षरतामा नगन्य रुपमा देखिन्छ ।

सहकारी संस्था समुदायप्रति उत्तरदायी भएका छन् । सदस्यता खुलाउने, समान पुँजी धेरै हुने, नाफा नबाँड्ने सहकारीका विशेषता हुन् । कतिपय सहकारी समुदायप्रति लक्षित भएकाले सहकारी युवा क्लब गठन गरेका छन् । ज्ञान,सिप, क्षमता बढाउन प्रयोग गरेका छन् । कतिले बचत पनि गर्न सिकाएका छन् ।

युवालाई सम्बोधन गर्न नीतिगत रूपमा एड्रेस गर्नुपर्छ । २४ वर्षको समूह आश्रित हुने हुँदा त्यो समूहलाई सहकारीमा सहभागिता बढाउन पोसिली इन्ट्रेन्स गर्नु पर्छ । अब हरेक सहकारीमा २४ वर्ष मुनीको कम्तीमा एउटा सञ्चालक अनिवार्य लिनुपर्छ भन्ने हुनुपर्छ ।

संस्थाको नीति, कार्यक्रममा युवाको नेतृत्व र निर्णय क्षमता बढाउनुपर्छ । सहकारीले युवा समिति गठन गरेर काम गरेका छन् । युवालाई बैङ्क, महासङ्घले प्राथमिकता दिएका छन् ।

बैङ्कले फेडेरेसन, मुभमेन्टजस्तो गर्न सकिँदैन । यतिका बावजुत पनि सहकारीले विद्यालयसम्म क्व खोल्ने गरेका छौँ । दश जोड दुई कक्षाका विद्यार्थीलाई समेटेर वर्षमा ७० वटा क्लब खोल्छौँ ।

यसबाट युवा एजुकेटेड र इंगेज गर्ने भइरहेका छन् । सञ्चालक, युवा उपसमिति त्यस्ता युवालाई समेट्न पहल गरेका छौँ ।  युवालाई शिक्षित र सम्पर्क गराउने विषयमा हामी क्रियाशील छौँ । सहकारीका सिद्धान्त, वित्तीय साक्षरता पढाउन क्वब मार्फत सहज भएको छ ।

४० वर्षको आधार मान्दा सहकारीमा सङ्ख्या बढी नै होला । यस्तो उमेर समूहले आधा जीवन बिताइसकेका हुन्छन् । आधी जीवन बिताइसकेकोबाट नयाँ इनोभेसन नआउन सक्छ । एक चौथाइ जीवन बिताएको युवालाई प्रवर्द्धन गर्न सके बाँकी तीन चौथाइ जीवनका लागि थप कुरा सिकाउन सकिन्छ । युवाले परिस्थिति सुहाउँदो आफ्नो सोच आफै निर्माण गर्न सकुन् ।

 

नेतृत्व तहमा युवा ल्याउन पहल गर्नुपर्छ

प्रकाश पोखरेल ( प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कून )

नेफ्स्कून प्रविधि मैत्री भएर अघि बढी रहेको छ । प्रविधिमा काम गर्ने युवा नै भएकोले प्रविधिले युवालाई आकर्षित गरिरहेको छ । हामीले आइएलओमार्फत स्टार्टअप बिजनेसमा युवालाई आकर्षित गर्दै छौं । राष्ट्रिय युवा परिषद्को समेत सहयोगमा युवालाई तालिम र सहुलियत ऋण दिएर उद्यमी तथा व्यवसायी बनाउँदै छौँ ।

नेफ्स्कूनले युवा उपसमितिमार्फत युवालाई समेट्ने गरेका छौँ । युवामैत्री नीति बनाउने र कार्यान्वयन गर्ने गर्छौ । सहकारीमा युवाको सहभागिता बढाउन नेतृत्व तहमा ल्याउन पहल गर्नुपर्छ ।

मुख्य रूपमा सहकारीमा युवा सहभागिता बढाउन प्रविधि मैत्री हुनै पर्छ । युवाको इसुलाई सहकारीले चासो दिन सके र प्रविधिलाई आत्मसाथ गर्न सके सहकारीमा युवा सहभागिता बढ्छ ।

नेफ्स्कुनले स्मार्ट सेवा सुनिश्चित गर्ने घोषणा गरेको छ । यसले सहकारी क्षेत्रमा युवाको सहभागिता बढ्दै गएको छ । प्रविधि प्रयोग गर्न थालेपछि युवाको सहभागिता कैयाै‌ गुणा बढेको छ ।

सहकारी पछिल्लो समयमा प्रविधिमैत्री हुँदै गएका छन् । जसले युवालाई आकर्षित गरिरहेको छ । युवालाई आइटीसम्बन्धी तालिम दिनुपर्छ । सहकारी क्षेत्रमा लागेका युवा विभिन्न उपसमितिमा बस्ने, तालिम माग गर्ने र नीति निर्माणमा युवाको सहभागिता बढ्दै गएको छ । युवालाई सहकारी क्षेत्रमा करियर डेभलपमेन्टमा आकर्षित हुने गरी लैजानुपर्छ ।

 

सहकारीमा युवा आकर्षित भइरहेका छन् 

नरेन्द्र विष्ट ( अध्यक्ष,शुक्र पथ बहुउद्देश्यीय सहकारी संस्था )

मग्रमा सहकारी क्षेत्रमा केही हदसम्म पुरानो अवस्था भन्दा युवाको सङ्ख्या बढेको छ । सङ्ख्यात्मक हिसाबले पछिल्लो समयमा सहकार क्षेत्रमा  युवा आकर्षित भइरहेका छन् ।

पढ्दै, जागिर गर्दै सहकारीमा छिर्ने क्रम सुरु भयो । शुक्र पत्तमा युवाकै बाहुल्यता छ । कर्मचारी पनि ९० प्रतिशत नै युवा छन् । सदस्य पनि युवा लक्षित छन् । युवा उद्यमशील कर्जा ल्याएका छौँ ।

अरू ऋणमा भन्दा युवा उद्यमशील कर्जा सस्तो पनि छ । कुनै पसलमा काम गरिसकेका र आफै काम गर्न चाहने युवालाई पनि सहयोग गर्छौ । शुक्र पथ स्थापना भएको १० वर्षकै समयमा युवालाई धेरै अगाडि बढाएका छौँ ।

युवाको सहभागिता सहकारी क्षेत्रमा उत्साहजनक छ । तर दक्ष जनशक्तिको आकर्षण भने यस क्षेत्रमा कम छ  । सिए पढेको सिइओ खोज्दा भेट्टाउन गाह्ये छ । व्यावसायिक दक्षता भएका युवाहरु सहकारी क्षेत्रमा आउन सकेका छैनन् ।

देशभर सहकारीको सञ्जाल बढी भएकाले गाउँसम्मै युवा कार्यक्रम फोकस गर्नुपर्छ । समाजमा देखिने गरी युवा लागेमा आकर्षित छन् । हामीले धनगढी, बैतडीमा पनि युवाको परिचालन गरी उनीहरुलाई सहकारी तथा कृषि क्षेत्रमा सक्रिय बनाएका छौँ ।

स्वभावै त वित्तीय कारोबार गर्ने ठाउँमा चुनौती हुन्छन्  । तैपनि प्रविधि, कानुन, सीप समायोजन गर्दै परिष्कृत गर्दै लैजानुपर्छ । प्रविधिको प्रयोग गर्ने युवाको जमात बढी छ ।

तर पनि कतिपय पुराना संस्थामा अझै म्यानुअल काम गर्छन् । रजिष्ट्ररमा रेकर्ड राख्ने गरेको न्यूरोडमै देखिएको छ । युवा प्रविधिमैत्री हुने भएकाले सहकारीमा युवालाई विशेष प्राथमिकता दिनुपर्छ ।

 

अनुभवका लागि मात्र सहकारी क्षेत्र रोज्छन्

रमिता महर्जन ( व्यवस्थापक, ठेचो महिला जागरण साकाेस )

हकारीमा युवाको आकर्षण कम छ । बैङ्क तथा वित्तीय संस्थामा जस्तो सेवा सुविधा नहुने भएकाले सहकारीमा युवा सहभागिता कम देखिन्छ । अनुभवका लागि सहकारी क्षेत्रमा केही समय काम गर्ने र त्यसपछि बैङ्क तथा बितिए संस्थामा जाने क्रम देखिएको छ ।

बैङ्क तथा वित्तीय संस्थामा जस्तै सहकारीमा पनि सेवा सुविधा दिन सके सहकारीमा धेरै युवाको सहभागिता गराउन सकिन्छ ।

सहकारीको नेतृत्व तहमा युवाको सहभागिता बढ्दै गइरहेको छ ।

ठेचो महिला जागरण सहकारीमा पनि युवाको आकर्षण बढ्दै गइरहेको छ । आफ्नै समुदायका युवाहरू सहकारीमा आबद्ध गराएर समाज निर्माणमा लागिरहेका छौँ । समाज उत्थान तथा आर्थिक विकासमा युवाको साथ राम्रो रहेकाले हामीले युवालाई प्राथमिकता दिएर कार्यक्रम गर्दै आएका छौँ ।




Leave a comment