सहकारीका बाधक कानुन संशोधन हुन्छ :वन मन्त्री आले

सहकारीका बाधक कानुन संशोधन हुन्छ :वन मन्त्री आले :: Sahakari Akhabar

दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा उद्यमशीलता विकास विज्ञ नविनकुमार कर्ण र नेपाल क्लियरिङ हाउसका सिइओ निलेशमान सिंह प्रधान,युवा उद्यमहीहरु अर्बन गर्लका सिइओ निकिता आचार्य, खालीसिसीका सिइओ आयुसी केसी र अन्तरप्रेरणाका सिइओ निरज खनालले  अनुभव आदानप्रदान तथा छलफल गर्ने छन् । 

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारीसँग बाझिएका ऐन, कानुन संशोधन हुने बताएका छन् । सहकारीमार्फत व्यवसाय गर्न विभिन्न ऐन बाधक देखिएको भन्दै त्यसलाई फुकाउन सरकार क्रियाशील हुने उनको भनाइ छ ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री आलेले सहकारीसँग बाझिएका ४७ वटा ऐन संशोधन गर्न सरकार तयार भएको बताए । सहकारी व्यवसाय सहज बनाउन बाधक देखिएका ४७ वटा ऐन संशोधन गर्न सरकारले सहजीकरण गर्ने उनको भनाइ छ ।

संमृद्व नेपाल, सुखी नेपाली अभियान सार्थक बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारले सहकारीलाई प्राथमिकतामा राखेको उनले बताए । ‘अब सहकारीलाई व्यवसाय गर्न बाधा अड्चन हुने छैन’ उनले भने,‘समस्या समाधान गर्नतर्फ सरकार अघि बढ्छ ।’ सहकारीमार्फत उद्योग, शिक्षा तथा विकास निर्माण गर्न आवश्यक नीतिगत व्यवस्था गरिने उनले बताए ।

वन क्षेत्रको सदुपयोग गर्दै सहकारीमार्फत रोजगारी सिर्जना र उत्पादन वृद्वि हुने कार्यक्रम ल्याइने उनको भनाइ छ । मन्त्रालयले ३५ जिल्लामा ओपन वाईल्ड  लाइफ कार्यक्रम ल्याउन लागिएको उनले बताए ।

केशवप्रसाद बडाल

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले नेपालमा प्रयाप्त उत्पादन हुन नसक्दा विदेश निर्यात हुन नसकेको बताए । सहकारीका माध्यमबाट उत्पादन बढाएर आयात प्रतिष्थापन गर्दै निर्यात गर्न सकिने उनले बताए ।

सहकारीमार्फत उत्पादन बढाएर रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । पकेट क्षेत्र घोषणा गरेर गाउँगाउँमा ट्रकका ट्रक सामान उत्पादन गर्न सकिने उनले बताए । सहकारीले व्यवसायिकतामा जान अठोट गरे गरिबी निवारण हुनुका साथै निर्यात समेत गर्न सकिने उनको भनाई छ ।

मिनराज कँडेल

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीमार्फत गरिबी न्यूनिकरण गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्न संभव रहेको बताए । सहकारीमा आबद्व युवालाई उद्यमशीलतामा जोड्न सके रोजगारी बढ्न सक्ने उनको भनाइ थियो । देशभर रहेका ३० हजार सहकारीमध्ये ५ सय वटा सहकारी उद्यमशीलतामा प्रत्यक्ष जोडिएको अध्यक्ष कँडेलले बताए ।

सहकारीलाई उत्पादन र व्यवसायमा जोड्न सके देशमा उद्यमशीलता बढ्नुका साथै रोजगारी सिर्जना हुने उनको भनाइ छ । वैदेशिक रोजगारबाट फर्केका युवालाई सहकारीमार्फत उद्यम बनाउन सहकारीले भूमिका खेल्ने अध्यक्ष कँडेलले बताए ।

सागर ढकाल

राष्ट्रिय सहकारी महासंघका युवा समन्वय उपसमितिका संयोजक सागर ढकालले नीतिगत समस्याका कारण सहकारीबाट उद्यम गर्न समस्या रहेको बताए । ‘विभिन्न ऐनहरु बाधक रहेकाले सहज तरिकाले व्यवसाय गर्न गाह्रो छ’ उनले भने । 

सरकारले तीन खम्बे अर्थनीतिमा सहकारीलाई स्वीकारेपनि सहकारीमार्फत रोजगारी सिर्जना गर्न कठिन रहेको उनको भनाइ थियो । राज्यको तर्फबाट सहजीकरण गरे मात्रै सहकारीको उद्यम बढ्ने उनले बताए । 
नेपालको युवा जनशक्ति विकासका लागि अनुकुल रहेपनि स्वदेशमा अवसर नपाएर विदेशिन वाध्य भएको उनको भनाइ छ ।

श्रमशक्ति पलायन नकारात्मक सूचक भएको भन्दै वाध्यात्मक अवस्थामा जाने श्रमिकलाई स्वदेशमै रोजगारी दिएर रोक्न सक्नुपर्ने बताए । सीपमूलक व्यवसायिक शिक्षा दिन सके स्वदेशमै रोजगारी बढ्नुका साथै सीप सिकेर गएमा रेमिट्यान्स पनि बढ्ने उनले बताए ।

दुई दिने गोष्ठीमा कसले के गर्नेछन्

दुइदिनसम्म सञ्चालन हुने गोष्ठीमा उद्यमशीलता विकास विज्ञ नविनकुमार कर्णले ‘सहकारीमार्फत उद्यमशीलता प्रवद्र्वनका लागि युवाको भूमिका’ र नेपाल क्लियरिङ हाउसका सिइओ निलेशमान सिंह प्रधानले ‘सहकारीमा युवा र नविनतम् प्रविधिको प्रयोग’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

युवा उद्यमहीहरु अर्बन गर्लका सिइओ निकिता आचार्य, खालीसिसीका सिइओ आयुसी केसी र अन्तरप्रेरणाका सिइओ निरज खनालले ‘सहकारीमा युवाः अभ्यास, संभावना तथा चुनोतीहरु’ विषयक व्यवहारिक अनुभव आदानप्रदान तथा छलफल गर्ने छन् । 




Leave a comment