काभ्रेपलाञ्चोकमा पाँच सहकारी एकिकरण

काभ्रेपलाञ्चोकमा पाँच सहकारी एकिकरण :: Sahakari Akhabar

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको अगुवाईमा ५ वटा संस्थाबीच एकिकरण भएको छ । ज्योति बहुउद्देश्यीय सहकारी संस्था सहित काभ्रेका ३ र भक्तपुरको एक संस्थाबीच एकिकरण भएको हो ।

एकिकरण हुनेमा काभ्रेका कुमारी बचत तथा ऋण सहकारी, बनेपा, कावामाता बचत तथा ऋण सहकारी, रोशी गापा, थलीडाँडा बहुउद्देश्यीय सहकारी बेथानचोक गापा र मध्यपुर थिमीको चन्द्रज्योति बचत तथा ऋण सहकारी रहेका छन् । एकिकरणपछि संस्थाको नाम ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. रहने भएको छ ।

त्यसैगरी संस्थाको विनियम र नीतिगत व्यवस्था समेत ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको नै कायम हुने सहमति भएको छ । ज्योति बहुउद्देश्यीय सहकारीका पूर्व अध्यक्ष पुरुषोत्तम देवकोटाको प्रमुख आतिथ्यतामा सोमबार एक संयुक्त एकिकरण सभाको आयोजना गरिएको थियो । कार्यक्रमको सभापतित्व ५ वटै संस्थाका अध्यक्षहरुले गरे ।

जसमा ज्योति बहुउद्देश्यीयका अध्यक्ष मुकुन्दप्रसाद दाहाल, कुमारी साकोसका ठाकुर प्रसाद बजगाईं, कावामाताका माईली तामाङ, च्यासिङ खर्क –१ का केशव घिमिरे तथा चन्द्रज्योति साकोसका रामप्रसाद सत्याल रहेका थिए । एकिकरणपछि संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, भक्तपुर र ललितपुर जिल्लाभर भएको छ ।

त्यसैगरी संस्थाले मकवानपुर जिल्लामा पनि कार्यक्षेत्र विस्तारको योजना बनाएको छ । संस्थाको मुख्य कार्यालय बनेपा–७ स्थिति ज्योति भवनमा रहनेछ भने, ललितपुरको लगनखेल, काभ्रेका बेथानचोक, बनेपा–नयाँ बस्ती र भक्तपुरको थिमीमा सेवा केन्द्र रहेनछन् । एकिकरणपश्चात मुकुन्द प्रसाद दाहालको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति चयन गरिएको छ ।




Leave a comment