आईतबार लुनिभा र सोसाइटलका ९० जनाको बचत फिर्ता गरिने

आईतबार लुनिभा र सोसाइटलका ९० जनाको बचत फिर्ता गरिने :: Sahakari Akhabar

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेको सोसाइटल र लुनिभा बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई आइतबारदेखि पैसा फिर्ता गर्ने भएको छ ।

लुनिभा बचत तथा ऋण सहकारी संस्था र सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका ९० जनाले आइतबार पैसा फिर्ता पाउने भएका छन् । सरकारले २०७५ फागुनमा सोसाइटल र २०७६ साउनमा लुनिभालाई समस्याग्रस्त घोषणा गरेर समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिलाई जिम्मा लगाएको थियो ।

आइतबारदेखि ५० हजार रुपैयाँसम्म निक्षेप जम्मा गरेका ९० जनालाई पैसा फिर्ता गर्न लागिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यसचिव केशवप्रसाद पौडेलले बताएका छन् । सोसाइटलको साँवाब्याज गरी १० करोड २२ लाख १३ हजार र लुनिभाको २० करोड २९ लाख ४१ हजार दायित्व छ ।

समितिका अनुसार सोसाइटलको साँवा मात्रै ९ करोड ७८ लाख ४२ हजार र लुनिभाको १३ करोड ७३ लाख २९ हजार दायित्व तिर्नुपर्ने छ । सोसाइटलका २ सय ४० जना बचतकर्ता र लुनिभा २ सय १४ बचतकर्ताले उक्त रकम माग दाबी गरेका छन् । पौडेलका अनुसार आइतबारपछि दोस्रो चरणमा ज्येष्ठ नागरिक, बिरामी २४ जनाको पनि पैसा फिर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

उनले भने ‘समस्या समाधान गर्दै जाने हो, तेस्रो चरणमा ठूला बचतकर्ताको समस्या समाधान गरिनेछ ।’ समितिले सञ्चालक तथा आफन्तको नाममा रहेको जग्गा रोक्का राख्ने, ऋणीबाट पैसा असुल्नेलगायत काम गरिरहेको छ । ‘पैसा तिर्न नखोज्ने प्रवृत्ति रहेछ’, उनले भने, ‘हामीले प्रहरीको सहयोगमा ऋणीबाट पैसा असुलीरहेका छौं ।’ समितिले लुनिभा र सोसाइटलबाट दुई करोड रकम असुल गरेको छ । सदस्य सचिव पौडेलका अनुसार सबै बचतकर्ताको समस्या समाधान गर्नेगरी समितिले काम गरिरहेको छ ।

समितिका अध्यक्ष कुमारप्रसाद पोखरेलले आइतबारदेखि ५० हजारभन्दा घटीका बचतकर्तालाई साँवा रकम शतप्रतिशत फिर्ता गर्ने बताए । थप पैसा उठ्ने क्रममा रहेकाले १/२ लाखसम्मका बचतकर्ताका पनि साँवा शतप्रतिशत फिर्ता गर्ने योजना रहेको अध्यक्ष पोखरेलले बताए । फागुनसम्म थप १ करोड असुल्न सकिने समितिले विश्वास लिएको छ । यसबाट अरु बचतकर्तालाई पनि पैसा फिर्ता गर्न सकिने पौडेलले बताए । लुनिभा र सोसाइटलको २/३ महिनामै सकिनेगरी गृहकार्य गरिरहेको अध्यक्ष पोखरेलले बताए ।




Leave a comment