के हो ? अन्तर सहकारी कारोबार

के हो ?  अन्तर सहकारी कारोबार :: Sahakari Akhabar

अन्तर सहकारी कारोबारबारे सहकारी ऐन तथा नियामावलीमा प्रष्ट उल्लेख गरिएको भएतापनि मूलुक संघिय संरचनामा गईसकेकाले स्थानीय ऐन तथा नियामावली र मापदण्डहरुमा फरक परिभाषा गरिएको सरोकारवालाहरुले बुझेको पाइन्छ । पछिल्लो समयमा अन्तरसहकारी कारोबारको निर्देशिकाका बारेमा विभागले सरोकारवालाहरुसंग छलफल र सुझाव संकलन गर्ने कार्य गरिरहेको छ । निर्देशिका नबनिसकेपनि धेरै सहकारीहरुले यो कारोबार गर्न थालेका छन् । के हो त अन्तर सहकारी कारोबार यस विषयमा सहकारी अखबारले सरोकारवालाहरुसंग बुझ्ने प्रयास गरेको छ । 

दक्ष पौडेल
(सहअध्यक्ष–राष्ट्रिय सहकारी विकास बोर्ड)

डिजीटलाइजेसनमा सघाउ पुग्छ 

अन्तर सहकारी कारोबार डिजिटल प्रविधिमार्फत भुक्तानी गर्ने हो । सकारीका सदस्यलाई भौतिकरुपमा दिइएको सुविधालाई सुधार गर्दौ डिजिटलाइजेसनबाट सेवा दिने हो । अहिले धेरै सहकारीले एटिएम सुरु गरिसकेका छन् ।

एउटा सहकारीको एटिएम अर्को सहकारीबाट झिक्न पाइयोस् । यहीँ  नै हो अन्तर सहकारी कारोबार । आफ्नो संस्थामा रहेको पैसा आफ्नो पाएक पर्ने ठाउँबाट आफ्नो संस्थाले प्रयोग गरेको प्रविधिमार्फत सेवा लिन पाउने नै अन्तर सहकारी कारोबार हो । उत्पादनमूलक क्षेत्रका सहकारीमा पनि अन्तर सहकारी कारोबार हुन्छ । धादिङको कुनै संस्थाले उत्पादन गरेको कृषि उत्पादन काठमाडौंमा रहेको सहकारीमार्फत उपभोग गर्न सकिन्छ । सहकारी ऐन र नियमावलीमा अन्तर सहकारी कारोबारको व्यस्था गरिएको छ । त्यसअनुरुप कार्यविधि बन्दै छ ।


डा. टोकराज पाण्डे 
(रजिष्ट्रार– सहकारी विभाग)

कार्यविधि तयारीको क्रममा छ

अन्तर सहकारी कारोबार विषयमा केही पनि भएको छैन । सहकारी सहकारीबीचको सहकार्यले सदस्यलाई फाइदा पुग्नुपर्छ भन्ने उद्देश्यले सहकारी ऐनमा अन्तर सहकारी कारोबारको प्रावधान ल्याइएको हो । सहकारी विभागले यसको कार्यविधि तयारी गर्ने चरणमा छ । कृषि उत्पादन बढाउन अन्तर सहकारी कारोबारले टेवा पु¥याउँछ । विभिन्न किसिमका उत्पादन आदानप्रदान गर्न अन्तर सहकारी कारोबारले टेवा पुर्याउँछ ।

हामीले बचत तथा ऋण सहकारीमा अन्तर सहकारी कारोबार गर्न शैद्धान्तिकरुपमा अन्तर सहकारी कारोबारमा समावेश गरेका छैनौं । देशका विभिन्न ठाउँमा रहेका सहकारीका उत्पादन काठमाडौंका सहकारीले खरिद गरी उत्पादन बिक्री गर्न अन्तर सहकारीले सघाउँछ । यसले उत्पादन र बजारीकरण पनि सुनिश्चित हुने भएकाले उत्पादनमूलक सहकारीमा अन्तर सहकारी कारोबार अघि बढाउन खोजिएको छ ।


नारायण देवकोटा
(अध्यक्ष– दूग्ध केन्द्रीय सहकारी संघ) 

बजारीकरण र उत्पादनमा टेवा पुग्छ

अन्तर सहकारी कारोबार गर्दा राम्रो हो । नराम्रो होइन । भोलि सजिलो हुन्छ पैसा नभएका बेला पनि सहकारीलाई काम गर्न समस्या हुँदैन । यसले बजारीकरण र उत्पादनसँग जोड्न राम्रै गर्छ । यसबाट दूध, कृषि सहकारीलाई बचतले लगानी गर्न सक्ने भयो । अहिले त्यस्तो खालको कारोबार भएको छैैन । एउटा सहकारीले उत्पादनसँग जोड्न गाईभैसी पाल्नुपर्छ ।

त्यस्ता संस्थालाई बचत संस्थाले लगानी गर्नुपर्छ । धेरै लिक्विडिटी हुने सहकारीले त्यहाँ लगानी गर्न सक्छ । त्यसको बजारीकरण पनि सहकारीबाटै गर्न सकिन्छ । जिल्लास्तरका सहकारी संघले सहकारीका उत्पादनको बजार सुनिश्चित गर्न सक्छन् । यसो गर्न सक्दा उत्पादन र बजारीकरणमा सहकारी आफ्नै हुन्छ ।

 

चन्द्रप्रसाद ढकाल
(वरिष्ठ उपाध्यक्ष नेफ्स्कून)

एकै प्रकृृतिको सहकारीमा कारोबार हुनुपर्छ 

अन्तर सहकारी कारोबार ऐनले ब्यवस्था गरेको छ । अन्तर सहकारी कारोबार व्यवस्थित गर्न कार्यविधि बन्दै छ । कार्यविधिले अझै पूर्णता पाउन सकेको छैन । एउटै प्रकृतिका सहकारीबीच अन्तर सहकारी कारोबार हुनुपर्छ । पूँजीलाई सेन्ट्रलाइज गर्न अन्तर सहकारी कारोबारले सघाउँछ । बैंकिङ कारोबार गर्ने संस्थाले अन्तर सहकारी कारोबार गर्ने हो र गर्छ । बैंकजस्तै ज्यादा सदस्यलाई सेवा दिने सहकारी हुन् । बैंकले गर्ने भन्दा धेरै कार्य गर्छन् बचत सहकारीले । वित्तीय कारोबार गर्ने सहकारीले अन्तर सहकारी कारोबार गर्नु तरलता वृद्धि गर्नु हो । साइज ठूलो हुन्छ । सहकारी ऐन बन्दै गर्दा समितिमा छलफल गर्दा वित्तीय कारोबारको पहुँच कम भएको सहकारीमा अन्तर सहकारी कारोबार गर्ने विषय उठेको थियो ।

सदस्यहरुले नियमित बचत गर्ने, शेयरको पूँजीको अप्रर्याप्ता हुँदा पूँजीको कमीलाई व्यवस्थापन गरेर प्रवद्र्ध गर्न अन्तर सहकारी कारोबार चाहिन्छ । यसले पूँजीको अभाव हुन नदिन अन्तर सहकारी कारोबारको प्रावधान राखिएको हो । नेफ्स्कूनको तर्फबाट हेर्दा एउटै प्रकृतिको सहकारीमा अन्तर सहकारी कारोबार गर्नुपर्छ । गेटवे बनाएर एउटै प्रकृतिको सहकारीमा मात्र अन्तर सहकारी कारोबार गर्ने वातावरण तयार गरेर कार्यान्वयनमा लैजानुपर्छ । नेफ्स्कूनले सुझाव पनि दिएको छ । बजारले अपेक्षा गरेको हिसाबले अन्तर सहकारी कारोबारको कार्यविधि आउन सकोस् ।

माधव तिमिल्सिना 
(सचिव, केन्द्रीय बहुउद्देश्यीय सहकारी संघ)

सहकारी बचाउन मद्धत पुग्छ

अन्तर सहकारी कारोबार गर्न मिल्छ । अन्तर सहकारी कारोबार गर्दा समस्यामा परेका सहकारी संस्था बचाउन सकिन्छ । हामीले ललितपुरमा अन्तरसहकारी कारोबार मार्फत ४/५ वटा सहकारी बचाएका थियौं । अन्तर सहकारी कारोबारका नाममा सहकारीले बैंकिङको जस्तो गर्न हुँदैन । संस्था बचाउनेगरी समस्यामा परेका सहकारीलाई वित्तीय सहयोग गरेर जान सकिन्छ ।

अन्तर सहकारीको नाममा विकृति धेरै छ । त्यस्ता विकृति हटाउन जरुरी छ । गलत ढंगले अन्तर सहकारी कारोबार गर्नेलाई कारवाही गर्नुपर्छ । कतिपयले ब्यालेन्स सिट देखाउनलाई मात्रै भएपनि अन्तरसहकारी कारोबार गरिरहेको पाइएको छ ।

त्यसरी अन्तर सहकारी कारोबारको काम गर्नेलाई निरुत्साहित गर्नुपर्छ । तर एउटा सहकारीले अर्को सहकारीको बिजनेस तथा लिक्विडीटीमा सहयोग गर्दा संस्था बच्छ भने त्यो गर्न पाउनुपर्छ ।

ज्ञानबहादुर तामाङ
(अध्यक्ष, जिल्ला सहकारी संघ,काठमाडौं) 

अन्तर सहकारी कारोबार छताछुल्ल बनाइरहेका छन् 

सहकारीबीच कारोबार भइरहेको छ । एउटा संस्थाले अर्को संस्थामा पैसा जम्मा गर्ने भरहेको छ । खासमा अन्तर सहकारी कारोबारमा त्यस्तो हुनु नपर्ने हो । अहिले सहकरी ऐनको प्रयोग गरेर अन्तर सहकारी कारोबार छताछुल्ल बनाइरहेका छन् ।

एउटा सहकारीले अर्को सहकारीमा खाता खोल्न नपाउने तर छोटो समयमा सापटी लिन पाइयो । बैंकिङ कारोबार नगरी एक संस्थाले अर्को संस्थालाई समस्या पर्दा सापटीको रुपमा लिने कारोबार नै अन्तर सहकारी कारोबार हो । जिल्ला सहकारी संघले अन्तर सहकारी कारोबार गरेको छैन । 

 

चित्राकुमारी सुब्बा
(महाप्रबन्धक, राष्ट्रिय सहकारी महासंघ)

संस्थाहरु संघमा जोडिएर कारोबार गर्न सक्छन्

अन्तर सहकारी कारोबार मस्यौदा विभागले बनाएको छ । निर्देशिका कस्तो आउँछ भन्ने विषय अहिले चासोको विषय बनेको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा पनि अन्तर सहकारी कारोबारको व्यवस्था छ । विभागले निर्देशिका अली फरक ढंगले बनाएको भन्ने मैले पाएको छु । संस्थाहरु संघमा जोडिएर कारोबार गर्न सक्छन् । सहकारी सहकारीबीच वित्तीय कारोबार हुन सक्छ ।

वित्तीय र उत्पादन तथा उपभोक्ता सहकारीबीच पनि कारोबार हुन सक्छ । उत्पादन गर्ने संस्थाले उपभोक्ता सहकारीलाई आफ्ना उत्पादन बेच्न सक्छ । संस्था संस्थाबीच पनि कारोबार भइरहेको छ । उत्पादक सहकारीलाई उत्पादन दिने विषयमा पनि अभ्यास भइरहेको छ । अन्य जिल्ला तथा प्रदेशमा उत्पादन भएका खाद्य वस्तु काठमाडौंका सहकारीले लिइरहेका छन् ।

बद्री गुरागाई 
(प्रमुख कार्यकारी अधिकृत राष्ट्रिय सहकारी बैंक) 

ऐन नियममै व्यवस्था छ

सहकारीबीच सहकार्य सहकारीको सिद्धान्त हो । वित्तीय क्षेत्रमा सहकारी ऐनले सहकारीले सदस्यसँग मात्र कारोबार गर्न पाइने भनेको छ । को सदस्य बन्न पाउने र को नपाउने स्पष्ट व्यवस्था गरेको छ । १६ वर्ष पुगेको नेपाली नागरिक मात्र सदस्य बन्न पाउने व्यवस्थाले प्राकृतिक संस्था सदस्य बन्न पाउँदैन । तर विषयगत संघ र राष्ट्रिय सहकारी बैंकको मात्र सेयर किन्न पाउने प्रावधान छ । सहकारी नियमावलीको नियम ८० मा अन्तर सहकारी कारोबारलाई दुई प्रकारले बाँधेको छ । 

उत्पादनको मूल्य श्रृंखला र बचत तथा ऋणको कारोबार संघहरु र सहकारी बैंकमार्फत गर्न पाउँछन । प्रारम्भीक सहकारीले सोझै गर्न पाउँदैनन् । वित्तीय सहकारीमा एउटा प्रारम्भीक सहकारीले अर्को सहकारीसंग कारोबार गर्न पाउँदैन् । बृहत छलफल गरी तालमेल मिलाएर जोखिम न्यूनिकरण गर्दै मापदण्ड सुरक्षित गर्न आवश्यक छ । यसबाट साझा परिभाषा कायम गर्दै कार्यान्वयनतर्फ लैजानुपर्छ ।

अन्तर सहकारी कारोबार सहकारीको सिद्धान्तसँग जोडिन्छ । सहकारीबीच सहकार्य भन्नेसँग जोड्न सकिन्छ । तर परिभाषा गर्दा फरक छ । अन्तर्राष्ट्रियरुपमा यसको अभ्यास छ । कोरिया, अष्ट्रेलिया लगायतका देशमा यसको मोडेल राम्रोसँग अघि बढेको छ । एउटा सहकारीले अर्को सहकारीलाई सहयोग गर्ने, उत्पादनका सामान भ्यालू एड चेन्ज गर्ने गरेको पाउँछौं ।

सुमन नेपाल 
(अध्यक्ष,साना किसान जिल्ला सहकारी संघ काभ्रे)

अर्को सहकारीमा खाता खोलेर कारोबार गर्न नहुने हो

अन्तर सहकारी कारोबार भनेको एक सहकारीले अर्को सहकारीबीच कारोबार गर्ने हो । लिक्विडीमा एकले अर्को सहकरीलाई सहयोग गर्नु नै अन्तर सहकारी कारोबारभित्र पर्छ  । आर्थिक कारोबार मात्र नभएर सबै खालका कारोबार अन्तर सहकारीमार्फत हुन्छ । अन्य प्राविधिक तथा औजार आदान प्रदान, कामका अनुभव आदानप्रदान पनि यसभित्र पर्छन् । कृषिको आधुनिकीकरण, व्यवसायिकरण र औजारिकरण गर्न पनि अन्तर सहकारी कारोबारले सघाउँछ । कृषिका अनुभव औजार र प्रविधि आदान प्रदान अन्तर सहकारीबीच गर्न सकिन्छ ।

एउटा सहकारीले बिउ लिएर अर्को सहकारीले जिल्लामा लान्छन् । उत्पादित वस्तुको बजारीकरणालागि प्रारम्भीक संस्थाले कलेक्सन सेन्टरमा ल्याउँछ । उसले विभिन्न जिल्ला संघ तथा केन्द्रीय संघमार्फत बजारसम्म पुर्याउँछ । प्रारम्भीक सहकारीका विभिन्न खाद्य पदार्थ संघ, केन्द्रीयमार्फत बजारसम्म पुर्याउन सकिन्छ । पछिल्लो समयमा कृषि क्षेत्रमा पनि काम भएको छ । उत्पादन र बजारीकरणमा अन्तर सहकारी कारोबार एकदमै राम्रोसँग गर्न सकिन्छ । कृषिको आधुनिकरण, औद्योगिकरण, व्यवसायिकरण गर्ने हो भने अन्तर सहकारी कारोबारले टेवा पुर्याउँछ । यस्तो काम गर्ने सहकारीलाई भ्याट छुट र अनुदान दिनुपर्छ । खुल्लारुपमा कर छुट गर्नुपर्छ । सहकारी तथा संघहरुले मेसिन ल्याउँदा सस्तो र सजिलो पर्ने भएकाले यस्तो काममा प्रोत्साहन दिनुपर्छ ।

विकल्प पाठक 
(सचिव, नेचुरल साकोस, काठमाडाै‌)

अन्तर सहकारी कारोबारबारे अन्योल नै छ

अन्तर सहकारी कारोबारको विषयमा स्पष्टता छैन । सहकारीको सिद्वान्तमा सहकारीबीच सहकार्य भनेको छ ।

तर ऐन, नियमवलीमा कडाइ गरेको देखिन्छ । ऐन, कानुनले अन्तर सहकारी कारोबार गर्न हुँदैन भन्ने व्यवस्था गरिएकोले अन्तर्राष्ट्रिय सिद्वान्त तथा मापदण्ड भन्दा फरक छ । तर समस्या पर्दा एउटा सहकारीलाई अर्को सहकारीले सहयोग गरिरहेका छन् । सापटी दिने र समस्या टार्ने काम भइरहेको छ ।

 

हेम कार्की
(प्रवन्ध संचालक, जेष्ठ आईडियोलोजी साकोस, काठमाडाै‌ )

निर्देशिकाबाट गाइडलाइन गर्नुपर्छ

अन्तर सहकारी कारोबारका माध्यमबाट अर्को सहकारीबाट सापट लिन सकिने व्यवस्था छ । अन्तर सहकारी कारोबार ऐन तथा नियमावलीमै ल्याइएपनि स्पष्ट व्यवस्था गरिएको छैन । परिभाषा गर्नेमा फरक पर्ने गरेको छ । सहकारीलाई अन्तर सहकारी कारोबार गर्न ऐन र नियमावलीले कभरेज गर्न नसकेको कुरा निर्देशिकाबाट गाइडलाइन गर्नुपर्छ । त्यसपछि परिभाषमा पनि एकरुपता आउँछ । अहिले अन्तर सहकारीको परिभाषा बुझाइमा फरक छ । एउटा सहकारीबाट अर्को सहकारीले खाता खोल्ने, कारोबार गर्ने प्रवृति पनि छ ।

पहिला जेष्ठ आईडियोलोजीले पनि त्यसै गरेको थियो । अहिले त्यो मोडेल होइन भन्ने नियमनकारी निकायबाट आइसकेपछि हामीले त्यसरी कारोबार गर्न बन्द गरेका छौं । अन्तर सहकारी एउटा सहकारीलाई पर्दा सापटी लिन दिन सकिने हो । तर सापटी दिन पनि साधारणसभाले निर्णय गर्नुपर्छ होला । नियमनकारी निकायले निर्वाह गरेको भूमिका शतप्रतिशत राम्रो भन्न मिल्दैन । कतिपय घोषणा हुन बाँकी भएकाले अन्तर सहकारी कारोबार निर्देशिका नआइ स्पष्ट हुन कठिन छ । सहकारी ऐन २०४८ ले सहकारी फराकिलो बनाएपनि व्यवस्थित गर्ने कुरामा धेरै काम बाँकी छ ।

अनन्त श्रेष्ठ
(अध्यक्ष, तिर्थ साकोस, काठमाडाै‌)

अर्को सहकारीको सदस्य बन्न पाउने हो 

अन्तर सहकारी कारोबार एउटा सहकारी अर्को सहकारीको सदस्य बन्न पाउने हो । पहिला त्यस्तै हो । एउटा संस्थामा रहेको पैसा अर्को संस्थाबाट निकाल्न पाइने भन्ने हो । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा पनि अन्तर सहकारी कारोबारको व्यवस्था गरिएको छ । अब यस सम्बन्धी कार्यविधि आएपछि अन्तर सहकारी कारोबारको बारेमा स्पष्ट होला ।

 

मधुकर वाग्ले
(प्रमुख कार्यकारी अधिकृत, शुक्रपथ बहुउद्देश्यीय सहकारीङ,काठमाडाै‌)

आ–आफ्नै बुझाई छ

अन्तर सहकारी कारोबारमा आ–आफ्नै बुझाई छ । सहकारीको बचत तथा ऋण लिन पाउने भन्ने बुझाइ छ । अन्य काम गर्न सहकार्य गरेर जान पाउने भन्ने छ । सहकारी ऐन २०७४ मै अन्तर सहकारी कारोबारको व्यवस्था गरिएको छ । मेरो बुझाई तथा अपेक्षा सहकारी सहकारी मिलेर बित्तीय कारोबार गर्न पाउने हुनुपर्छ । व्यवसायिक ढंगले सहकारी सहकारी मिलेर काम गर्न पाउनुपर्छ । सहकारीबीच सबै कारोबार गर्न पाउनुपर्छ । सदस्यसँग कारोबार गरेजस्तै सहकारी सहकारीबीच पनि त्यसरी कारोबार गर्न पाउनुपर्छ । 




Leave a comment