नगरपालिकाद्धारा सहकारीका सदस्यलाई एक रुपैंया अनुदान

नगरपालिकाद्धारा सहकारीका सदस्यलाई एक रुपैंया अनुदान :: Sahakari Akhabar

रुपन्देही । तिलोत्तमा नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाका दरले अनुदान दिएको छ । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान रकम प्रदान गरेको हो ।

यो वर्ष किसानले अनुदानबापत ४५ लाख ९८ हजार ८ सय रुपैयाँ पाएका छन् । साना किसानसम्म अनुदानलाई पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । सहकारीले उपलब्ध गराएको आव २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध तीन हजार २ सय ५५ रुपैयाँ किसानले अनुदान रकमपाएका छन् । सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ३७ लाख रुपैंयाँ किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले उत्पादनका आधारमा अनुदान रकम दिने नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको भनाई छ । यस वर्ष गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले सबैभन्दा बढी अनुदान ९ लाख २६ हजार ८ सय ५२ रुपैयाँ रकम पाएको छ । टिकुलीगढ दुग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४ रुपैंयाँ, वडा नं १२ को गोकुल दुग्ध उत्पादक सहकारीले चार लाख ७० हजार ५ सय २७ रुपैयाँ, वडा नं ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५ सय ५७ रुपैयाँ पाएको छ ।




Leave a comment