Sahakari Akhabar

एकिकरण अभियानलाई निरन्तरता दिंदै चन्द्रागिरि साकोस 

एकिकरण अभियानलाई निरन्तरता दिंदै चन्द्रागिरि साकोस  :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सहकारी एकिकरण अभियानलाई निरन्तरता दिएको छ । संस्थाले माघ ९ गते ललितपुरको खुमलटारस्थित शुभतारा बहुउद्धेश्यीय सहकारी संस्थासंग पनि एकीकरणकालागि सम्झौता गरेको हो ।

माघ ९ गते दुवै संस्थाका सञ्चालक र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले एकीकरण कार्यतालिका सार्वजनिक गरेका छन् । यस अघि २०७७ पौष ५ गते दुवै संस्थाविच एकीकरण गर्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको थियो ।

पछिल्लो विवरण अनुसार चन्द्रागिरि साकोसको कुल सम्पत्ति २ अर्ब ३१ करोड र सदस्य संख्या १२ हजार ५ सय र शुभतारा बहुउद्धेश्यीय सहकारीको कुल सम्पत्ति २२ करोड र कुल सदस्य ५ सय जना रहेको छ । चन्द्रागिरि साकोसले यस अघि काठमाडौं जिल्लाको दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था  र ललितपुरको रिचमन सहकारी संस्थासंग एकीकरण प्रकृया सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बास्कोटाले एकीकरणले सहकारी संस्थाहरुलाई बलियो बनाई प्रतिस्पर्धात्मक क्षमता बृद्धि गर्ने बताए । उनले सदस्यहरुलाई थप सेवा प्रवाह गर्न सक्षम हुने र सहकारीको वासलात र नाफाको अंक भन्दा पर पनि सहकारीको अस्तित्व भेटिने गरी सञ्चालन हुनुपर्ने बताए ।

शुभतारा सहकारीका अध्यक्ष ऋषिराम घिमिरेले चन्द्रागिरि संग एकीकरण हुने सहमती संगै सहकारी क्षेत्रको सेवा थप गुणस्तरीय हुने विचार व्यक्त गर्दै दुवै संस्था मिलेर सहकारी अभियानमा नमुना कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले दुई संस्थाहरुविच भएको एकीकरण सहमतीले नयाँ अवसर र सम्भावनाहरुको ढोका खोलेको बताए ।

प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले एकीकृत संस्थालाई नाफामुलक मात्र नभई सेवामुलक संस्थाको रुपमा स्थापित गर्दै काठमाडौं उपत्यकाबाट सहकारीको असल सन्देश जाने गरी सञ्चालन गरिने बताए । कार्यक्रममा चन्द्रागिरि साकोसका निवर्तमान अध्यक्ष शिवशंकर मानन्धर, शुभतारा सहकारीका सचिव मिनराज दुलाल, उपाध्यक्ष राजेन्द्रराज पौडेल र सहकारीकर्मी मुकुन्दप्रसाद दहालले सहकारी एकीकरणको विषयमा विचार राखेका थिए ।



Leave a comment