दुग्ध सहकारीद्धारा किसानलाई ४० लिटरको क्यान प्रदान

दुग्ध सहकारीद्धारा किसानलाई ४० लिटरको क्यान प्रदान :: Sahakari Akhabar

श्रीराम अर्जुन, मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले किसानलाई ४० लिटरको क्यान प्रदान गरेको छ ।

संस्थाको २५ औं वार्षिक साधारण सभाको अवसरमा दैनिक ८० लिटर दुध विक्री गर्ने किसानलाई पुरस्कार स्वरुप ४० लिटरको क्यान प्रदान गरेको हो । सभामा बिभिन्न बिधामा किसानहरुलाई पुरस्कृत तथा सम्मानीत गरिएको छ । नानीमाया लामा, सुर्य बहादुर पाख्रीन, राम बहादुर पाख्रीनलाई क्यान प्रदान गरिएको थियो ।

सफा दुध विक्री गर्ने भीम बहादुर पाख्रीन, विक्रम योन्जन, मनिषा शाही, अमृता योन्जन राजेन्द्र पुडासैनीलाई समेत पुरस्कृत गरिएको छ । सफा भाडाँमा दुध बेच्नेमा देव नारायण दुलाल, सिताराम न्यौपाने,मानसरोवर चौलागाईलाइ पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाले फ्याट र ल्याक्टोमा गुणस्तर रहेका डिल्ली प्रसाद सापकोटा, सानुकान्छी योन्जन, टाढाबाट दुध विक्री गर्न आउने कृषक फुलमाया योन्जनलाई पनि पुरस्कृत गरिएको थियो ।

सभामा पत्रकार श्रीराम अर्जुन, पूर्व संचालक कृष्णबहादुर विडारी, सुर्यबहादुर पाख्रीन, गौरी चौलागाई, रुद्र नारायण चौलागाई र व्यवस्थापक चन्द्रकान्त चौलागाईलाई सम्मान गरिएको थियो । सभामा जिला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीले घाँसमा आधारित रहि पशुपालन गरिनुपर्ने बताए । उनले उन्नत जातका गाई पाल्ने र नश्लमा सुधारगरि व्यवसायी पशुपालन गरि दुध उत्पादन बढी विक्री गर्न सकिने बताए ।

कोरोनाको कारण उद्योगमा पठाइएको दुधको रकम नआएकोले समयमा नै सहकारीलाई भुक्तानी गर्न असहज भएको बताए । उनले मकवानपुरमा निर्माण सुरु गरिएको पाउडर दुध प्लान्ट उद्योग सञ्चालन भएपछि मिल्क होलीडेको अन्त्य हुने बताए । कार्यक्रममा  वडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद तिमल्सिना, वडा ३ का अध्यक्ष भागवत घिमिरे, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, कृषि शाखाका प्राविधिक गोपाल लम्साल, पशु शाखाका प्रमुख सत्यनारायण शाह, शहिद रुद्र पाख्रीन स्मृति पार्कका अध्यक्ष मानकुमारी पाख्रीन (नेपाली) लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका सहकारी विभाग प्रमुख रामप्रसाद दहाल, ४ नम्बर वडा सदस्य सन्तु  थिङ,  संस्थाका पुर्व अध्यक्ष कृष्ण प्रसाद खतिवडा, विष्णु प्रसाद लामिछाने, जिल्ला संघ प्रतिनिधि खिल प्रसाद चौलागाई, समाजसेवी रामचन्द्र दुलाल लगायत शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाले असार मसान्त सम्ममा १ करोड ५० लाख ७१ हजार ५३९को दुध खरिद गरेको छ भने  उद्योगलाई ९२ लाख ११ हजार र स्थानियमा ६२ लाख ५१ हजार ७९१को दुध विक्री गरेको छ । सहकारीले जिल्ला दुग्ध संघबाट दुध विक्रीको ९ लाख २२ हजार ३८० रकम भुक्तानी पाउन बाकी रहेको प्रतिवेदनमा उल्लेख छ ।  सहकारीको पूँजी भने १ लाख ३० हजार ३ सय रहेको छ ।




Leave a comment