राप्तीका चार सहकारी एकीकरण 

राप्तीका चार सहकारी एकीकरण  :: Sahakari Akhabar

दाङ । राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका चार सक्रिय सहकारीहरु एकीकृत भएका छन् । राप्ती गाउँपालिका तथा अन्य पालिका कार्यक्षेत्र बनाएर काम गर्दै आएका सहकारीलाई राप्ती गाउँपालिकाले सहकार्य गरि एकिकृत हुन आब्हान गरे पश्चात हरियाली, महाप्रभु, बिहानी र जनजीविका बचत तथा ऋण सहकारी संस्थाहरु एकिकृत भएको एकिकृत सहकारीका अध्यक्ष शिवध्वज मल्ले जानकारी दिए । एकीकृत सहकारीको नाम देउखुरी बचत तथा ऋण सहकारी राखिएको छ । राप्ती गाउँपालिका भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकिकृत गर्दै एक व्यवसायिक, नीतिगत, प्राविधिक र आर्थिक रुपमा बलियो संस्था निर्माण गर्दै देउखुरी क्षेत्रको विकास तथा प्रबद्र्धनको लागि नगरपालिका सक्रिय रहेको छ ।

संस्थामा आबद्ध सदस्यहरु मार्फत लगानी विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरको आत्मनिर्भर, बलियो नमुना सहकारी निर्माण गर्ने उद्देश्य अनुसार एकीकरण गरिएको सहकारीका कोषाध्यक्ष हरिप्रसाद भुसालले जानकारी दिए । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुकाम बुटवलको निर्णय अनुसार सहकारी ऐन, २०७६ को दफा १२ को उपदफा १ बमोजिम देउखुरी बचत तथा ऋण सहकारीको विधिवत रुपमा दर्ता गरिएकोे मन्त्रालयका प्रतिनिधि श्रीधर ज्ञवालीले जानकारी दिए ।

सहकारी ऐन २०७४ को दफा ८७ र नियमावली २०७५ को दफा ३९ साथै लुम्विनी प्रदेशको सहकारी ऐन ०७६ को दफा ७२ र सहकारी नियमावली ०७६ को दफा ३१ ले पनि सहकारीहरु एकीकरण हुन सक्ने व्यवस्था गरेको छ । देउखुरी बचत तथा ऋण सहकारीक १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति रहने र नेतृत्व शिवध्वज मल्लले साथै लेखा सुपरिबेक्षण समितिको संयोजकमा रुकमाङगत ज्ञवाली रहेका छन् । चार सहकारीको आर्थिक वर्ष ०७६।०७७ को असार मसान्त सम्म पुरुष २ हजार ५ सय ५० र महिला ३ हजार २ सय ५० गरी जम्मा ५ हजार ८ सय १९ जना सदस्य छन् । संस्थाको पूँजी ३८ करोड २६ लाख ६९ हजार ९ सय ४ रुपैया छ ।  सहकारीका चारवटा सेवा केन्द्र रहनेछन् । साविक बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देब प्रसाद चौधरीले एकीकृत सहकारी प्रभावकारी रुपमा संचालन गर्नका लागि चरणबद्ध रुपमा कार्यक्रम ल्याउने बताए ।

पहिलो चरणमा सहकारीका मुल्य मान्यता र सिद्धान्तका विषयमा अवगत गराउने, दोस्रो चरणमा सबै संञ्चालक कर्मचारी र केही सदस्यहरुलाई सहकारी जागरणबाट सशक्तिकरण गरी क्षमता अभिवृद्धि गर्ने, तेस्रो चरणमा साकोस व्यावसायीकरण गर्ने, व्यावसायीकरणमा संस्थाको त्रिवर्षिय योजना वार्षिक कार्य योजना मासिक र त्रैमासिक कार्ययोजना, संस्थाको निति, विधि, र प्रविधिलाई आत्मसाथ गर्ने गराउने र चौथो चरणमा साकोसमा गुणस्तर सुनिस्चिताको मापन विधि, लेखा, पल्र्स अनुगमन प्रणालीमा आर्थिक विश्लेषणमा एकरुपता गरि काम सुरु गरिएको साविक जनजिवीका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवराज शर्माले बताए ।

देउखुरी बचत तथा ऋण सहकारीको केन्द्रिय कार्यलय राप्ती गाउँपालिका वडा.न. ५ सिसहनियामा रहेको छ ।  साथै जनजीविका सेवाकेन्द्र भालुबाङ्ग, महाप्रभु सेवा केन्द्र लालमटिया, बिहानी सेवा केन्द्र पथ्थरगढवा र हरियाली सेवा केन्द्र फल्कापुर बाट सेवा प्रारम्भ गर्ने गरि कारोबार सुरु भएको  संस्थाका प्रमुख ब्यवस्थापक उमेश कुमार चौधरीले जानकारी दिए ।




Leave a comment