पिपलबोट सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न 

पिपलबोट सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न  :: Sahakari Akhabar

ललितपुर । पिपलबोट बहुउद्देश्यीय सहकारी संस्थाले १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले गत शनिबारबाट सदस्य उपस्थिति र प्रतिवेदन वितरण कार्य खुल्ला गरेको थियो । सभामा संस्थाका अध्यक्ष दिनेश थापाले कोभिड–१९ का कारण विगतका वर्षहरुमा झैं यस वर्ष सबै सदस्यहरु एकैपटक सामुहिक रुपमा भौतिक उपस्थित भएर साधारणसभा गर्न नसकेको बताए । २०६५ सालमा १२ हजार पाँचसय शेयरपूँजीबाट स्थापना भएको संस्थाले हालसम्म आइपुग्दा ठूलो फड्को मार्न सकेका उनले जनाए ।

सदस्यहरुको आर्थिक तथा सामाजिक आवश्यकतालाई परिपूर्ति गरी उनीहरुको जीवनस्तर उकास्न संस्था हरदम लागिपरेको थापाले बताए । पूँजी, अनुभव र बजारको आवश्यकता अनुसार संस्थाले ससानो पूँजीहरुलाई जम्मा गर्दै सदस्यको खरखाँचो टार्नुका साथै उत्पादनमूलक कार्यमा पनि लगानी अगाडि बढाएको उनले जानकारी दिए । समुदायको हितका लागि संस्थाले स्थानीय संघसंस्थाहरुसँग मिलेर काम गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिँदै जाने उनले जनाए । सदस्यहरुलाई दिने सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन संस्था लागिपरेको र सेवाको विविधिकरण गरी सदस्यलाई सेवा प्रदान गर्दैै आएको अध्यक्ष थापाको भनाई छ ।

चालु आवमा संस्थाले लगानीका नयाँ क्षेत्र पहिचान गरी सुरक्षित ऋण लगानी गर्ने,  ऋण लगानीलाई अल्पकालिन र दीर्घकालिन रुपमा बर्गीकरण गर्ने, निम्न र मध्यम वर्गका समुदायमा सहकारीको पहुँच पु¥याउने, रेमिट्यान्स सेवा थप गर्ने र सबैका लागि सहकारी शिक्षातालिम कार्यक्रम सञ्चालन गर्ने योजना रहेको थापाले जानकारी दिए । त्यसैगरी खाद्यान्न, दुग्ध, मासु र तरकारी विक्रीवितरण कक्ष सञ्चालन गर्ने, सदस्यहरुलाई उत्पादनशील क्षेत्रमा लाग्न प्रेरित गर्ने खालका तालिम दिने, सदस्यहरुको अनिवार्य दुर्घटना तथा जीवन बीमा गर्ने जस्ता कार्यक्रम संस्थाको रहेको छ ।

संस्थाले गत आवमा ६६ लाख ५५ हजार शेयरपूँजी, ३ करोड ९ लाख बचत संकलन र ४ करोड ९५ लाख ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा ३ लाख ८५ हजार खुद मुनाफा आर्जन गरेको छ । संस्था बहुउद्देश्यीय भएकाले कृषि र पशुपालन सम्बन्धी परियोजना समेत सञ्चालन गर्दै आएको बताइएको छ । 




Leave a comment