सहकारीका समस्या समाधान गर्न, आवश्यक परे प्रधानमन्त्रीसंग राउण्डटेबलमा बस्नु पछ : अर्थमन्त्री 

सहकारीका समस्या समाधान गर्न, आवश्यक परे प्रधानमन्त्रीसंग राउण्डटेबलमा बस्नु पछ : अर्थमन्त्री  :: Sahakari Akhabar

ललितपुर । अर्थमन्त्री विष्णु पौडेलले सहकारी अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेकोले अभियानले गुनासो गर्न छाडेर आफूले गर्नुपर्ने काममा सतप्रतिशत लाग्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका सबै समस्या एउटै राउन्ड टेबलमा बसेर हल गर्न आफूले चाहेको बताए ।

उनले भने ‘सरकारले गर्नु पर्ने कामका बारेमा एउटै टबेलमा सबै बसेर समाधानको मार्ग पहिल्याउन सकिने छ । त्यसका लागि यहाँहरु तयार हुनु होला । अब गुनासो गर्ने होइन अग्रगामी रुपमा अगाडी बढ्ने हो,’ ।  राष्ट्रिय सहकारी महासंघको सोमबार भएको २८ औं बार्षिक साधारण सभालाई सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर सबैसहित सहकारी अभियान्ताहरुको राउन्ड टेबल कार्यक्रम गरेर यसलाई अगाडि बढ्न बाधा परेका सबै समस्यालाई एकै ठाउँबाट समाधान गर्न सरकार तयार रहेको बताए । ‘गुनासोले मात्र गन्तव्यमा पुगिदैन । सरकारले के गर्नुपर्ने अभियानबाट योजना बनाउनुस् र त्यसको समाधान गरेर अगाडी बढौं ।’ उनले भने । 

साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले महासंघले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधानका उपाय विषयमा समेत सुझाव दिनु पर्ने धारणा राखिन । उनले यस क्षेत्रमा देखिएका विकृतिहरु हटाउन समेत ठोस कार्यक्रम अघि बढाउन आफू अभियानसँग सहकार्य गर्न तयार रहेको बताइन् । उनले सहकारी मैत्री नरहेका कानुनहरु संसदिय निर्वाचनपछि नयाँ संसदले सम्बोधन गर्ने बताइन् ।

साधारण सभामा महासंघका अध्यक्ष मिनराज कडेलले महासंघको प्रगति प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महासंघको आर्थिक बर्ष २०७७/०७८ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै महासंघको सदस्य संघहरुको साझेदारीमा महासंघले गर्ने कार्यक्रमबारे जानकारी गराइन् । उपाध्यक्ष रमेश पोखरेलले महासंघले तयार गरेको विभिन्न नीति तथा कार्यविधिहरुको विषयमा प्रष्ट पारेका थिए । सभामा महासंघका सल्लाहकारहरु सांसद उषा झा, महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, किसान आयोगका सदस्य रविन्द्र केसी, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले सम्बोधन गरेका थिए भने महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यक्रम संचालन गरेकी थिइन् ।




Leave a comment