रिसानी माफ है ! सहकारी जात्रामा 

रिसानी माफ है ! सहकारी जात्रामा  :: Sahakari Akhabar

“बिचरा ती कार्यकर्ता उर्फ ! (सहकारी नेता) अहिले सिजनेवल जात्रामा सहभागीता पो कसरी जनाउलान ! सिजनेवल खेती कोरोनाको कारण ठप्प हुने खतरा छ । टाढैबाट अप्सनी हाल्न र घरमै दक्षिणा पुर्याउने ब्यवस्थाकालागि कार्यबिधि बनाउन लागेका होलान” तैपनि डिजिटलको जमना, भच्र्युअल सम्बोधनको सम्भावना ज्यादा छ दक्षिणा त हराउनु भएन नी । कोरोनालाई सराप्दै कर्म त गर्नै पर्यो नी । रिसानी माफ है । 

र्जकहरुको सिर्जनाका शब्दहरु सापट लियर सहकारीका विकृति र बिसंगतीलाई बिना शर्त सफाई गर्ने बाटो देखाउँदैछु । रिसानी माफ है ! सरसफाईमा यो कुचीकारले अक्षरका छेस्काहरुले भेटेसम्मका मात्र कसिंगर हुत्याउने छ, त्यसमा सहकारीका संस्कृतिमाथि बिकृतिका बाछिटा छर्कनेमाथिको चड्कनका रुपमा शिरोधार गर्नुहुनेछ । बाछिटा संस्कृतिको संरक्षणकर्ताको तर्फपनि उछिट्टियमा यसलाई सम्योग मात्र मानिनेछ । बञ्चरोले दाउरा काट्दा चोइटो उछिट्टियर रमितेलाई लागेको मात्र सम्झनकालागि कुचिकारको आग्रह सहितको रिसानी माफ है !

आउनुस् सहकारी जात्रा मनाउँन जात्रै जात्राको कुण्ड जाउँ, जाँहाबाट सहकारीको नाम जोडेर अपाच्य जात्रा हुनेगरेका छन् । ‘सहर’ जहाँ प्रारम्भिकदेखि केन्द्र र महासंघसम्म अनि संचालकदेखि नेतासम्मका जात्रा भएका र हुने गरेका छन् । यो बर्खामा झम् झम् झरी परेको बेला कता जाने भन्नु होला । तपाईले भौतिक उपस्थिती जनाइराख्नु पर्दैन, यो कुचीकारले तपाईलाई डिजिटल्ली सहकारी जात्राको लागि जात्रै जात्राको सहरको भ्रमण गराँउनेछु । यहाँ प्रयोग भएको ‘जात्रा’ शब्द हाम्रो संस्कृतिसंग जोडिएको शब्द माथिको प्रहार नभै मात्र सहकारीमा हुने गरेको विकृतिकालागि प्रयोग गरिएको मानिनेछ भन्ने आग्रह छ ।

सहकारीमा ‘उ’ कर्म
आफैले अनुगमन गर्ने सहकारीबाट सम्मानीत भएपछि नियामक प्रमुखले हतारमा फेसबुकमा फोटो पोष्ट गरेको देखेर पत्रकारले प्रश्न गरेः 
पत्रकार : आफैले अनुगमन गर्ने सहकारीबाट सम्मान लिन मिल्छ ?
सम्मानित : त्यस्तो त यस्तो हो, उहाँहरुले त्यो हिसावले, सुरुमा..उहाँहरुले ‘उ’ गर्नुभाको हो । म गैसकेपछि पछाडीका कुराहरु आए । म, आउदा आउदै पहिल्यैदेखि उहाहरुले ‘उ’ गर्नु भाथ्यो । मसँग टाइम पनि नभएर ‘उ’ गर्नुभा हो ।

सहकारी जात्राको पनि सुरुवात उपत्यकाबाटनै भएको हो । कही नभएको जात्रा हाँडीगाउँमा भने झैं, कही नभएको सहकारी जात्रा उपत्यकामा भन्न कुनै जात्रा पर्खनु पर्छ जस्तो लाग्दैन । किन भने सहकारीका सबै तहगत जात्रा हुने संघ, केन्द्र र त्यो भन्दापनि माथिको लेयर यही छन् । तपाई कुन जात्रा हेर्ने ? पार्टीले लात हानेको बेला उछिट्टियर सहकारीको भित्तामा ठोकियकाहरुको जात्रा हेर्ने की ! आफू पदमा भएका बेला केही नगर्ने पद बाहिर भएको बेला सहकारीको वकालत गर्दै फेसबुकका भित्ताहरुमा समवेदना जम्मा गर्नेको जात्रा हेर्ने ।

की ! सहकारी डम्पिङसाइड बनाउँदै पार्टीमा घाँडो भएकाहरुलाई थन्क्याएकाहरुको जात्रा हेर्ने ? की एस म्यान हुन नचाहने कर्मचारीलाई घोक्रेठ्याक लगाउँदै संचालकीय रवाफ देखाउनेको जात्रा हेर्ने ? काम गराउने बहानामा नियामकलाई भुस जत्तिकै घुस खुवाउन राजी, काजीको पाजी पारामै रमाउनेहरुको जात्रा हेर्ने की ? नयाँ पुराना, आउँदै गरेका, सिक्दै गरेका, रिटायर्ड भएका, मौसमी की बेमौसमी । स्थानीय की प्रदेशस्तरीय वा संघिय ? प्रारम्भिक की ? जिल्लास्तरिय वा केन्द्रिय ? वा त्यो भन्दा माथि राष्ट्रिय वा अन्तर्राष्ट्रिय ? सबैखाले सहकारी जात्रामा यहाँहरुलाई स्वागत छ । तपाईहरुलाई म यो गाई जात्राको छेको पारेर सबैखाले जात्राको अवलोकन गराउन नसकेपनि केही महत्वपूर्ण मुख्य पात्रको जात्रा देखाउने कोशिष गर्नेछु । आउनुस् सुरु गरौं सहकारी जात्रै जात्राको पहिलो भ्रमण मौसमी जात्राबाट ।

मौसमी जात्रा 
मौसमी जात्रा, यानीकी, सिजनेवल सहकारी जात्रा । यो जात्रामा अहिलेका सहकारी नेता, हिजोका पार्टीका कार्यकर्ता । अनि सहकारी नेता बनाईदिएकाहरुको गुन तिर्न, सून भर्न र नुनको सोझो गर्न ईमान्दारीतामा घुन नलगाई कार्यकर्ता र सहकारी नेता बन्ने लाइनमा रहेका अहिले पार्टीका कार्यकर्ता, भविश्यका सहकारी नेताहरुको सिजनेबल जात्रा चाँही कस्तो होला भन्ने लाग्न सक्छ । उनीहरुको सिजनेवल जात्रा भनेको १६श्राद्धका पुरोहितको जस्तै हो । भदौ देखि पुषसम्म सहकारीको कर्मकाण्डी तीथिरुपी साधारण सभा । १६श्राद्धका पुरोहित जस्तै भ्याइनभ्याई ।

पुरोहितले १६श्राद्धको बिधि मन्तरे जस्तै बर्तमान सहकारी नेताहरुले सहकारीको साधारण सभामा भट्टयाउन तयार गरेको रेडिमेड भाषण । अरुलाई बोलाउलान भनेर पुरोहितले गर्ने हतारो जस्त,ै साधारणसभामा जान जिल्ला तह देखि महासंघसम्मका नेताहरुको लुछाचुँडी । अव लुछाचुँडी किन हुन्छ तपाई हामीले बुझेकै हो सबैलाई भनिरहनु पर्ला त ? नपर्ला । कीनकी तपाई हामी कोहीपनि सहकारीको कारोबारी सदस्य नभएको छैनम् होला । कम्तीमा पनि ४ देखि ५ वटा सहकारीका पासबुक त पक्कै होलान, त्यत्तीपनि नभए त के सहकारीको सदस्य नी । त्यत्ती भएपछि बर्तमान सहकारी नेता भविश्यका पार्टीको कार्यकर्ता कतै न कतैबाट तपाईसंग जोडिएको पक्कै हुनुपर्ने हो ।

अनि तपाई खल्तीभरी सहकारीको पासबुक बोकेर बसेको मानिस, कही न कही तपाईले उनीहरुको रेडिमेड भाषण सुन्नु भएकै होला । कीनकी यो उनीहरुको भाषण गर्ने, रासन जोड्ने र आशनमाथि शाषन गर्ने सिजन हो । तर “बिचरा ती कार्यकर्ता उर्फ ! (सहकारी नेता) अहिले सिजनेवल जात्रामा सहभागीता पो कसरी जनाउलान ! सिजनेवल खेती कोरोनाको कारण ठप्प हुने खतरा छ । टाढैबाट अप्सनी हाल्न र घरमै दक्षिणा पुर्याउने ब्यवस्थाकालागि कार्यबिधि बनाउन लागेका होलान” तैपनि डिजिटलको जमना, भच्र्युअल सम्बोधनको सम्भावना ज्यादा छ दक्षिणा त हराउनु भएन नी । कोरोनालाई सराप्दै कर्म त गर्नै पर्यो नी । रिसानी माफ है ।

विशिष्टिकृत संघको प्रस्ताव
एकदिन एक हुल सहकारीका नेताहरु सहकारीको विशिष्टिकृत संघको स्थापनाकालागि छलफल गर्दै थिए 
घनिभुत छलफल पछि विशिष्टजनहरुले निर्णय गरेर प्रस्तावहरु दस्तावेजीकरण गरेपछि लेखनदासले निणर्य सुनाय । 
निणर्य एक : संघ स्थापना पछि भोटिङ अधिकार सहितको संचालक समिति हुने 
निणर्य दुर्ई : विदेश भ्रमणको पहिलो अधिकार संचालकहरुको हुने
निणर्य तीन : संघ संचालनमा पार्टीको निणर्य सर्वोपरि हुने ।
निणर्य चार : सवैको एका घरका सदस्यलाई विना शर्त जागिरमा राखिने 
निणर्य पाँच : संघ संचालनकालागि अनुदानको प्रस्ताव भोलीनै मन्त्रालय पठाउने ।
फलतः संघ स्थापनाको फाइल सचिवको टेवलमै रही रहेको अवस्था छ  ।

बेमौसमी जात्रा 
बेमौसमी जात्रा भनेको चाँही भाषण, राशन र आशनको सिजन सकिय पनि नाना लगाउने र खाना जमाउँने बहाना खोज्न ताना बुन्ने तयारी गर्ने हो । यो कसरी भन्नु होला ? सम्भव छ ! किनकी सहकारी नामका नेतालाई आफू हुँदो बहाना बनाउन कसैले सिकाउनै पर्दैन । बेसिजनमा, फूल गोड्न जानेकाहरुलाई खेति गर्न पनि कसैले सिकाउनु पर्ला त ? तारे होटमा तारेको हड्डीको हन्टिङ गर्न, शिक्षा र तालिमका नाममा  पैशा हजाम गर्ने बहानानै काफी नी ! किनकी पैशा तिरिदिने सदस्य छंदैछन्, वार्षिक शुल्क (लेबी) उठाउन लाइसन्स नै लियर बैधानिक रुपमा संस्था धोर्को थापेर बसेकै छन ।

सहकारीको सदस्य भए बापत तपाईले बार्षिक ५ रुपैंया जरिवाना तिर्नु भएकै छ । यो सदस्य बने बापत जरिवाना लगाउने नीतिको कसले बिरोध गर्ने र ! ब्याज र बचतको बहाना बैधानिक बनाएकै छन् । सदस्य बनिदिने भएपछि जरिवाना उठाएर तिरिदिने संघ नामका ठेकेदार तपाइलेनै तोकेर राख्नु भएकै छ । तपाई कारोबार गरिदिने, तपाई लेबि तिरिरहने, पार्टीका कार्यकर्ता सहकारी बुँई चढेर विदेश शयर गरिरहने । तपाई संधै पोलेको मकै बेचिरहने, जुठा भाँडा माझेर, भैंसीको पाडो बेचेर बचत र ऋणका नाममा घैंटो भरिदिने ।  तपाईका ठेकेदार माझ्दा र प्राडो चडेर तपाइलाई नै गिज्याइ रहने अनि भएन त बेमौसमी सहकारी जात्रा । रिसानी माफ है !

स्थानीय सहकारी जात्रा
स्थानीय सहकारी जात्रा चाँही के होला भन्नु हुन्छ भने, चार वर्ष अघिकै सहकारीको आधिकारिक तथ्याङ्कले ३५ हजार सहकारी संघ संस्थाहरु नाघेको देखाएको थियो अहिलेसम्मपनि सहकारीको डाटा जत्तिका तेत्तीनै छ । ग्रोथ हुनै सकेन । मूलुक संघीय संरचनामा गएपछि सहकारीहरुपनि स्वतः संघीय संरचना अनुसार अंशवण्डा भए । कोही स्थानीयको भागमा परे, कोही प्रदेशको भागमा परे त कोही संघको भागमा परे । तीन तहमा बाँडिनु पर्ने सहकारी संरचनाको सात लेयर बन्यो ।

अब तीन लेयरका सहकारीलाई कसरी लुछाचुँडी गर्ने भनेर जुम्रा टाँसिय झैं एउटै ब्यक्ती दुई, दुई ठाँउमा टाँसिएपछि भोलीका पिओर कार्यकर्तालाई भागै पुगेन अनि सात लेयर बनायर आन्द्रा भुँडीको भागवण्डा गर्ने अर्को जुत्ति फुरेको हो रे क्या सहकारी पण्डितहरुको ! अनि स्थानीय, प्रदेश, जिल्ला, केन्द्रिय, त्यसमा पनि विषयगत अनि समन्वय समिति, सहकारी बैंक, महासंघ, विकास बोर्ड, सवै सहकारीको धार्नी र बिसौलीमा जोख्न तुलो हातमा बोकेर बसेका हुन् रे क्या ! खै कुरा बुझेको भन्या ! पार्टीका कार्यकर्ता उत्पादन गर्ने अनि भाषण कलामा प्रखर बनाउने सहकारी कारखानामा अव अरु त के उत्पादन हुनु नी ! मन्त्रीज्यूले उत्पादन नै नदेखेपछि त्यती गर्नु परेन त ? अझ के के हो ! के के ! विशिष्टिकृत संघ र अनेकका समिति अनि क्षेत्रिय सञ्जाल पनि भविश्यका प्रखर कर्णधार कार्यकर्ता उत्पादन गर्ने क्षेत्र हो भन्छन् सहकारी ! हो त ? रिसानी माफ है !

सहकारीको अनुदान
सहकारीको केन्द्रीय संघहरु आर्थिक वर्ष सकियपछि तछाड मछाड गर्दै सहकारी मन्त्रालय पुगेछन् । सबैले मोटो मोटो फाइलहरु सहकारी सचिवको टेवलमा राखेर कुर्दै बसेका रहेछन्  ।
सचिवः किन ? के कुर्नु भएको जानुस् म फाइल हेरेर पछि खवर गर्छु ।
सहकारीका नेता : हैन फाइल त खोल्नुस्
सचिवः फाइल पल्टाउँदै खै पहिला लगेको अनुदानको रिर्पोट ? यो त भाषण पो छ त !
सहकारी नेता : अव मन्त्रालयको अनुदान त पार्टीलाई भाग मिलाउँदै सकियो, मन्त्रालयको अनुदान पार्टीको काम गर्नै पुगेन रिपोर्ट कहाँबाट बनाउनु ।
सचिव : पार्टीलाई सहयोग गर्न दिएको होत ? उत्पादन तर्फ लाग्नुस भनेर पो दिएको त ।
सहकारी नेता : उत्पादन त गरेकै छनी भाषण, रिपोर्ट तयार गर्न अनुदान चाहियो सर ।

केन्द्रीय सहकारी जात्रा
केन्द्रीय सहकारी जात्रा भनेको के हो फेरी भनेर दिक्क नमान्नु है, झनै रमाइलो छ । किन भन्नु होला भने ! केन्द्रीयस्तरको जात्रा हेर्न पाइन्छ क्या । पत्यार लागेन ? ल सुन्नुस् ! महासंघ पछिका २२ वटा त केन्द्रीयस्तरका संघ मात्र छन् क्या ! तीनीहरुका २२ थरी कुरा, बाइसै थरी सहकारी दुकान । दुकान त के भन्नु ! जाल थापेका हुन् अरे, अनुदानरुपी माछोलाई पार्न । पत्याउनु भएन ! राष्ट्रीय सहकारी महासंघले नै प्रुफ गरिसकेको हो चुनावमा भोट हाल्न थोरै मानिस हुने भए भनेर भटाभट् भोट बैंकको स्थापना गरेको हो रे ! गिद्धे नजर लगायर सरकारको अनुदान झ्याम् पार्न च्याँखे थाप्न स्थापना गरेका हुन् क्या त्यती पनि के नबुझे जस्तो गरेको नी ! नभए एउटै उद्धेश्यका एक दर्जन केन्द्रीय संघहरु स्थापना हुन्थ्ये त ?

अनि ससुराली र माईतीघर बनाएको छाता संगठन पद त पेवा र दाईजो नै हो नी ! आफू बैंकमा भए, आफ्नीलाई महासंघमा भित्र्याउनु पर्यो, आफू बचतकोमा भए, आफन्तलाई, कृषिकोमा कोच्नु पर्यो, आफू बहुउद्देश्यीयकोमा भए, आफ्नोलाई उद्देश्य बिनाकोमा ठड्याउनु पर्यो, आफू प्रदेशकोमा भए आफ्नोलाई केन्द्रकोमा हुत्याउनु पर्यो है न त ! केन्द्रीयस्तरको भन्ने प्रारम्भिक स्तरको काम गर्ने, सहकारी भनेको छ, वित्तिय संस्थाको दर्जा चाहियको छ । सदस्यलाई खाडलमा हाल्ने कालो सूचीको कानुन चहियो रे, लघुवित्त संस्था बन्द गरिदिनु हामी उठाउँछौं २४ प्रतिशत ब्याज रे । यसैलाई भन्छन् काम कुरो एकातिर, झोला बोकी मन्त्रालय तिर । यो चाँही राष्ट्रियस्तरको सहकारी जात्रा भयो । रिसानी माफ है !

अन्तर्राष्ट्रिय सहकारी जात्रा 
राष्ट्रिय मात्र हैन, नेपालमै हुन्छ अन्तर्राष्ट्रिय सहकारी जात्रा पनि । कार्यक्षेत्रको कञ्जुस्याई गरेको सहकारी नियामकलाई अन्तर्राष्ट्रिय ब्राण्डको लालीपपको लोभ देखायर लहै लहै गराउन सफल सहकारीका ठेकेदारहरुलाई बिदेश सयेरको बाहाना पनि भएको छ ब्राण्ड । अन्तर्राष्ट्रिय स्तरमा नेपालका सहकारीको उल्लेख्य सहभागिताको सान देखायर सदस्यको पैशालाई समुन्द्र पार गराउने महासयहरु आफ्नै क्षेत्रमा कार्यक्षेत्रको मार खेपिरको छन् । शिक्षा र तालिमको नाममा सदस्यको पैशाले बर्षेनी बैंकक र थाईल्याण्डमा थकाई मार्न थालेका सहकारी नेताहरुले सदस्यलाई संरक्षित पूँजी फिर्ताकोषको जानकारी दिन किन कञ्जुस्याई गरेका छन् ? शिक्षा र तालिमको नाममा तारे होटलको बैठक बाठाहरुकालागि मात्र भएको छ ।

केन्द्रिय संघदेखि महासंघ सम्म बैदेशिक कम्पनी बन्नाले बिदेशजाने लोभमा संस्थाको पैशा दोहन भएपनि कमिशनको कर्तुत ज्यूँका त्यूँ छ । भोटको बदला ऋणको नारा लगायका कार्यकर्ता उर्फ (सहकारी नेता) ब्राण्डको बोक्रा देखायर बार्गेनिङमा लागेका छन् । दोहोरो पदको दोहन गरेर कमिशनको खेल खेलेका दर्जनौं दानबीरहरु नेताकै दाहिना बनेका छन् । देख्यौनी जात्रा ! गुण नै गुणले भरियका सहकारीका नेता, भोलीका पार्टीका कार्यकर्ताको सभ्य कर्तुतको सविनय बेलिबिस्तारको पाठ यसपालिको गाईजात्राकालागि बिट मार्ने जमर्को गरे । सबैलाई गाईप्राणि बन्ने प्रेरण मिल्ने अपेक्षा सहित बर्णनभित्र नअटायका बिषयहरु अर्को गाई जात्राको मेसो मिलायर गर्ने कसम खाँदै, रिसानी माफ है ! को सहकारी जात्रा जातीबिधि बनोस् । शुभकामना । 




Leave a comment