Sahakari Akhabar

नेफ्स्कूनमा ‘प्रकाश’

नेफ्स्कूनमा ‘प्रकाश’ :: Sahakari Akhabar

त्रिभुवन विश्वविद्यालयबाट जन प्रशासन विषयमा ३.८३ जीपीएको उच्चतम स्कोर सहित एमफील ( सन् २०१७) र बिजनेश स्टडिज् विषयमा पहिलो श्रेणीमा स्नातकोत्तर (सन् २००३) गर्नुभएका पोखरेल सहकारी अध्ययन, कार्यक्रम विकास तथा व्यवस्थापन, व्यवसाय विकास सेवा, सहकारी व्यवस्थापन, संस्थागत आन्तरिक लेखापरिक्षण, स्थानीय सरकार तथा गैरसरकारी संस्थाहरुको दीगोपना, जनप्रशासन तथा मानव संशाधन, सुशासन अभ्यास, लैङ्गिक अध्ययन तथा सामाजिक समावेशीता लगायत विविध विषयमा दख्खल राख्नुहुन्छ ।

-रञ्जनमणि पौड्याल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. मा नयाँ आर्थिक वर्ष २०७७/७८ को पहिलो दिनबाट व्यवस्थापकीय नेतृत्व परिवर्तन भएको छ । संघको सञ्चालक समितिले विगत १ वर्ष १ महिनाअघि नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त प्रकाश प्रसाद पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ । करिब ५ वर्ष उक्त जिम्मेवारीमा रहनुभएका शिवजी सापकोटाको राजीनामा पछि रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा पोखरेल कायम मुकायम मुकरर गरिनुभएको हो ।

साउन १ गते बिहानी सत्रमा कार्यालयमा उहाँले नियुक्ति पत्र बुझ्दै पदभार समेत ग्रहण गर्नुभएको थियो । गत वर्ष पुसमा नयाँ सञ्चालक समिति पाएको नेफ्स्कूनले करिब ७ महिनाको अन्तरालमा नयाँ व्यवस्थापन प्रमुख पनि पाएको छ । ‘नेतृत्व परिवर्तन स्वाभाविक नियमित प्रक्रिया हो’ नवनियुक्त कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पोखरेल भन्नुहुन्छ, ‘मैले पनि यसलाई सहज ढंगबाटै लिएको छु ।’ 

प्रदेश नं १ को मात्र होइन मुलुककै रमणीय र प्राकृतिक छटाले अघाएको पूर्वी जिल्ला इलाममा २०३५ साल साउन २५ गते पिता वेदप्रसाद पोखरेल र आमा तेजकुमारी पोखरेलको सुपुत्रका रुपमा उहाँको जन्म भएको हो । साउनको १ गते भएको पोखरेलको नियुक्तिसँगै ‘साउने संयोग’ हरु उहाँसँग जोडिन पुगेका छन् । साउन महिनाको १ गतेबाट पोखरेलले कार्यभार लिनुभयो, त्यही महिनाको ३२ गते नेफ्स्कून आफ्नो ३३ औं स्थापना दिवस मनाउँदैछ । त्यस्तै, उहाँको जन्म महिना पनि साउन नै हो । नेफ्स्कूनको पुरानो लेगसीले रोपेको सुशासन, इमान्दारी, पारदर्शीता, वित्तीय अनुशासनको बिरुवालाई मलजल गर्ने र विशाल वृक्षाकार दिने चुनौती पनि उहाँमा थपिएको छ । ‘चुनौतीहरुको सामना गर्ने आँट, अठोट र आत्मविश्वास भएर नै जिम्मेवारी लिएको हुँ उहाँ भन्नुहुन्छ, ‘नेफ्स्कूनलाई थप उचाइँमा पुर्याउने अभियानमा समग्र सहकारी क्षेत्र, हाम्रा सदस्य र कर्मचारीहरुको साथ र सहयोग पाउने मलाई विश्वास छ ।’

नेफ्स्कूनमा १३ महिना अघि नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएका पोखरेललाई निवर्तमान प्रमुख कार्यकारी अधिकृतको स्वाभाविक उत्तराधिकारीका रुपमा हेरिएको थियो ।  गत आर्थिक वर्षभरि निर्वतमान नेतृत्वको नगीच रहेर नेफ्स्कूनलाई चिन्ने, बुझ्ने र असल अभ्यासहरु आन्तरिकीकरण गर्ने अवसर प्राप्त गर्नुभयो । सहकारी वृत्तमा उहाँलाई धरातलीय अवस्था जानकारी नभएको प्रसङ्ग पनि नउठ्ने होइन । ‘सहकारीको कुरा गर्ने हो भने यस क्षेत्रमा काम गर्दै आएको १८ वर्ष नाघिसक्यो । बीचमा केही समय यो क्षेत्रबाट प्रत्यक्ष अलग रहेपनि ती संस्थामा सहकारी सम्बन्धी विषयमा काम गरेको छु । नेफ्स्कूनका सम्बन्धमा भने त्यो कुरा केही हदसम्म सही हुन सक्छ । यद्यपि, यो एक वर्षमा मैले अधिकांश फिल्ड कार्यालयहरुमै भौतिक उपस्थितिसहित बुझ्ने, कर्मचारीसाथीहरुसँग विविध विषयमा यथेष्ट छलफल गर्ने काम गरेको छु । सँगै अभियानका सवै पक्षसँग पनि यो बीचमा निकट रहेर काम गर्ने अवसर पाएको छु ।’

‘सूचना प्रविधिका क्षेत्रमा गहन अध्ययनबाट प्राप्त निष्कर्षको आधारमा नयाँ विकास गर्ने अथवा भइरहेकोलाई स्तरोन्नति गर्ने भन्ने पहिलो प्राथमिकता हो । यसमा हामी बढी नै संवेदनशील छौं । त्यस्तै, वित्तीय सहकारी अभियानको पहुँच विस्तारका लागि आधारशीला निर्माण गर्ने, साकोस म्यानेजर्स क्लबलाई स्वतन्त्र सञ्जालका रुपमा क्षमता अभिवृद्धि गराउँदै लाने योजना पनि मेरो छ ।’

अवसरसँगै चुनौती जोडिएर आउँछन् । चुनौतीका कुरा गर्दा पोखरेलको कार्यकालको पहिलो विशेष कामको रुपमा नेफ्स्कूनले सहकारी र सञ्चारको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउने योजना सहित व्यावसायिक अनलाईन समाचार पोर्टल पनि सञ्चालन गर्दैछ स्थापना दिवसको अवसर पारेर । उक्त अनलाईन समाचार पोर्टलको सम्पादकीय नेतृत्व कम चुनौतीपूर्ण छैन । यसमा उहाँ भन्नुहुन्छ, ‘असम्भव केही छैन । हामी योजनाबद्ध ढंगबाट अघि बढेका छौं । काम गर्दै जाँदा सिक्ने कुरा पनि हो । मनसाय गलत नहुँदा आत्तिनुपर्ने केही छैन । हामी ‘लर्निङ वाई डुइङ्’ को सिद्धान्त अनुसार अघि बढ्छौं ।’ आएको छोटो समयमै ठूलो परिवार, सम्मानित संस्थागत साख र बलियो सञ्जालभित्र अटाएको केन्द्रीय निकायको व्यवस्थापकीय नेतृत्व सम्हाल्न पाउनु गर्वसँगै कतिपय अवस्थामा दायित्व बोझ पनि हुन्छ । ‘त्यो कुरा सही हो । त्यसतर्फ म सचेत छु । त्यही भएर यो संस्था र पदको गरिमा कायम गर्न म सधै प्रतिबद्ध रहने प्रण गर्दछु’ पोखरेल प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।

आफ्ना प्राथमिकताका क्षेत्रहरु निर्धारण गर्दै उहाँ बताउनुहुन्छ, ‘सूचना प्रविधिका क्षेत्रमा गहन अध्ययनबाट प्राप्त निष्कर्षको आधारमा नयाँ विकास गर्ने अथवा भइरहेकोलाई स्तरोन्नति गर्ने भन्ने पहिलो प्राथमिकता हो । यसमा हामी बढी नै संवेदनशील छौं । त्यस्तै, वित्तीय सहकारी अभियानको पहुँच विस्तारका लागि आधारशीला निर्माण गर्ने, साकोस म्यानेजर्स क्लबलाई स्वतन्त्र सञ्जालका रुपमा क्षमता अभिवृद्धि गराउँदै लाने योजना पनि मेरो छ ।’

गाउँ ठाउँदेखि नै सहकारी अभियानसँग अभ्यस्त हुँदै र पछि विभिन्न संस्थामा यससम्बन्धी ज्ञान र अनुभव बटुल्नुभएका पोखरेल बीचमा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा लामो अनुभव बोकेर ‘घुमीफिरी रुम्जाटार’ भने झै रिड नेपालको प्रोजेक्ट म्यानेजर बाट पन्छिएर पुनः सहकारी सेवार्थ नेफ्स्कूनसँग नाता जोड्न आइपुग्नुभयो । बचत तथा ऋण सहकारी मात्र नभई समग्र सहकारी अभियानलाई नै साङ्गोपाङ्गो अध्ययन गरिसक्नुभएको दाबी नियुक्ति पत्रसँगै पदबहालीको संक्षिप्त कार्यक्रममा उहाँले गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट जन प्रशासन विषयमा ३.८३ जीपीएको उच्चतम स्कोर सहित एमफील ( सन् २०१७) र बिजनेश स्टडिज् विषयमा पहिलो श्रेणीमा स्नातकोत्तर (सन् २००३) गर्नुभएका पोखरेल सहकारी अध्ययन, कार्यक्रम विकास तथा व्यवस्थापन, व्यवसाय विकास सेवा, सहकारी व्यवस्थापन, संस्थागत आन्तरिक लेखापरिक्षण, स्थानीय सरकार तथा गैरसरकारी संस्थाहरुको दीगोपना, जनप्रशासन तथा मानव संशाधन, सुशासन अभ्यास, लैङ्गिक अध्ययन तथा सामाजिक समावेशीता लगायत विविध विषयमा दख्खल राख्नुहुन्छ । ‘सहकारी चिनारी पत्र’ नामक पुस्तक पनि सहलेखन गर्नुभएका पोखरेलको योग्यता र अनुभव बारे नेफ्स्कून व्यवस्थापन र बाहिरी वृत्त पूर्णत जानिफकार भने नरहेको बुझिन्छ ।

संघको प्रशासनलाई चुस्त बनाउने र मानव संशाधनलाई थप दीक्षित बनाउने योजना रहेको बताउनुहुन्छ । ‘अन्तर्राष्ट्रिय सहकारी महासंघ–आईसीएको सदस्यता लिने र अन्तर्राष्ट्रिय स्तरको सहकारी सम्मेलन नेपालमा गर्ने योजना पनि छ । सँगै डेढ दर्जन बढी अन्तर्राष्ट्रिय साझेदार निकायहरुसँगको सम्बन्ध थप सुधार गर्ने पनि कार्यक्रम रहेको पोखरेलले अवगत गराउनुभयो । 

नेदरल्याण्डको एग्रिटेरा नेपाल, एसएनभी, रिड नेपालसँगै इलाममै पनि विभिन्न संस्थाहरुमा उहाँले काम गर्नुभयो । स्नातकोत्तर पछि इलाममै महिला जागरण संघमा कार्यक्रम निर्देशकको रुपमा समृद्ध पहाड, सुरक्षित मातृत्व कार्यक्रम, एसएनभी सम्बन्धि आयोजनामा जोडिनुभएका पोखरेलले बैंक, वित्तीय संस्था र सहकारी सम्बन्धी थुप्रै सोध तथा अनुसन्धान कार्यपत्रहरु समेत तयार पार्नु भएको छ । केन्द्रीय चिया सहकारी संघ लगायत दर्जनौं सहकारी र अन्य निकायको व्यावसायिक योजना (बीपी) निर्माणको अनुभव मसँग छ’ उहाँ सुनाउनुहुन्छ ।

आमाबाबुसँगै सम्झना खरेल पोखरेलका पति, छोरी त्रिसा र छोरा नियानका पिता, १ दाजु, १ दिदी र ३ बहिनीका धनी पोखरेल यो अनुभव र उपलब्धिलाई भाग्य भन्दा पनि परिश्रमको फल भन्नुहुन्छ । नयाँ सञ्चालक समिति आएसँगै भर्खरै नेफ्स्कूनको ४ वर्षे व्यावसायिक रणनीतिक योजना समेत बनेको छ । उक्त योजनामा समाहित संस्थाको परिकल्पना, ध्येय, उद्देश्य र कार्यक्रमहरुलाई शसक्त ढंगबाट अघि बढाएर लक्ष्य भेट्टाउने मात्र होइन त्यसलाई उछिन्ने रिले दौडमा उहाँ कति खरो उत्रनुहुन्छ, हेर्न बाँकी छ ।

अर्कोतर्फ, कोभिड–१९ महामारीको प्रतिकूलताका बीच सहकारी र त्यसमा पनि खासगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा विद्यमान र आईपर्र्ने चुनौतीहरुको सामना गर्ने काम चानचुने छैन । त्यसतर्फ उहाँले देखाउने  सुझबुझले व्यक्तिगत मात्र नभई समग्र अभियानकै भविष्य निर्धारण गर्दछ । ‘लकडाउनले वित्तीय सहकारीका क्षेत्रमा निम्त्याएको समस्या सम्बोधनका लागि उत्थानशिलता योजना निर्माणतर्फ पनि काम गर्दैछु ।’ यसबाहेक पोखरेल संघको प्रशासनलाई चुस्त बनाउने र मानव संशाधनलाई थप दीक्षित बनाउने योजना रहेको बताउनुहुन्छ । ‘अन्तर्राष्ट्रिय सहकारी महासंघ–आईसीएको सदस्यता लिने र अन्तर्राष्ट्रिय स्तरको सहकारी सम्मेलन नेपालमा गर्ने योजना पनि छ । सँगै डेढ दर्जन बढी अन्तर्राष्ट्रिय साझेदार निकायहरुसँगको सम्बन्ध थप सुधार गर्ने पनि कार्यक्रम रहेको पोखरेलले अवगत गराउनुभयो ।

‘सहकारी संघ संस्थाको वित्तीय जोखिम न्यूनीकरण गर्न स्थीरीकरण कोष, कर्जा सूचना केन्द्र र सहकारी बचत तथा ऋण सुरक्षण कोष स्थापनाको अभियानमा नेफ्स्कूनकातर्फबाट मेरो सशक्त भूमिका रहनेछ । वित्तीय सहकारीहरुलाई सुशासनमा राख्ने सम्बन्धमा स्तरीकरण कार्यक्रममा बढीभन्दा बढी संघसंस्थालाई सामेल गराउने र नेफ्स्कूनको सदस्य सञ्जाललाई विस्तार गर्ने काम मेरा प्राथमिकताका क्षेत्रहरु हुन् ।’ पोखरेलले प्राथमिकताका थप क्षेत्रहरु अवगत गराउनुभयो । यी सबै कामको अभिभारा विभिन्न भूमिका र तवरमा औपचारिक बहन गरिसक्नुभएका पोखरेलको कार्य सम्पादन मूल्याङ्कनको ‘काउन्टडाउन’ साउन १ गतेबाटै सुरु भैसकेको छ । सफलताको अग्रीम शुभकामना सहित, जय सहकारी ।



Leave a comment