‘कालो बादलमा चाँदीको घेरा खोज्दै छौं’ : चन्द्र प्रसाद ढकाल 

‘कालो बादलमा चाँदीको घेरा खोज्दै छौं’ : चन्द्र प्रसाद ढकाल  :: Sahakari Akhabar

२०२४ साल जेठ २८ गते अर्थात् आजकै दिन पाल्पाको साविक देउराली गाविस–४ दम्बक एवम् हालको रिद्धिकोट गाउँपालिका–३ मा पिता होमनाथ ढकाल र स्वर्गीय डोलकुमारी ढकालको ज्येष्ठ सुपुत्रका रुपमा जन्मिनुभएका चन्द्र प्रसाद ढकाल अग्लो व्यक्तित्वका रुपमा सहकारीवृत्तमा परिचित हुनुहुन्छ । नवलपरासी वर्दघाट सुस्ता पश्चिम वर्दघाट नगरपालिका–१ माकर स्थायी बसोवास रहेका ढकाल हाल काठमाडौं महानगरपालिका वडा नं ४ धुम्बाराहीमा २ छोरा र श्रीमतिका साथ बस्दै आउनुभएको छ । ढकालका १ भाईको निधन भैसकेको छ भने १ बहिनी हुनुहुन्छ । २०५३ सालबाट सहकारी जीवन आरम्भ गर्नुभएका उहाँको यो यात्रा करिब २५ वसन्त प्रवेशको संघारमा छ । ढकालको प्रारम्भिक संस्था वर्दघाटस्थित सुपर बचत तथा ऋण सहकारी संस्था हो जो नेफ्स्कूनको गुणस्तर सुनिश्चितता अन्तर्गत पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) सँग हाल आबद्ध छ ।

राष्ट्रिय सहकारी महासंघको निवर्तमान सञ्चालक समेत रहिसक्नुभएका ढकालको वित्तीय सहकारीको एक मात्र छाता संगठन–नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिं (नेफ्स्कून) को यात्रा लेखा समिति सदस्य, संयोजक र महासचिव हुँदै पछिल्लो समय बरिष्ठ उपाध्यक्षमा उक्लिएको छ । नेफ्स्कूनको २८ औं वार्षिक साधारण सभाले उहाँलाई ४ वर्षे कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो । 

नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका ढकाल कोभिड–१९ महामारीका कारण उत्पन्न वित्तीय लगायतका सम्पूर्ण समस्या समाधानका लागि गठित विपद् व्यबस्थापनका साथै राष्ट्रिय सहकारी बैंकसँगको नेफ्स्कूनका साझा मुद्दाहरुका सबालमा कार्यगत एकताको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलको समेत संयोजक हुनुहुन्छ ।

स्पष्ट वक्ता र हकी स्वभावका धनी ढकाल सहकर्मीहरुबीच सहयोगी, मिलनसार र सांगठनिक कुशलताका लागि परिचित हुनुहुन्छ । प्रस्तुत छ, ढकालको जन्मदिनको अवसर पारेर सहकारी अखबारले उहाँको सहकारी यात्रा, नेफ्स्कूनमा भूमिका, बजेट आदि जल्दाबल्दा विषयलाई समेटेर गरेको भर्चुअल अन्तर्वार्ताको सार संक्षेपः
 

फर्केर हेर्दा सहकारीको यो लामो यात्रालाई कसरी स्मरण गर्नुहुन्छ ?

संघर्ष, सहयोग, स्वभाव र स्वाभिवानको यात्रा जस्तो लाग्छ । त्यतिबेला पक्कै पनि सहकारीप्रति आम धारणा उत्साहजनक थिएन । तर पनि समुदाय स्तरमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपले पिछडिएका समुहहरुको हितमा काम गर्ने दरिलो माध्यम सहकारी नै हो भन्ने व्यक्तिगत रुपमा लाग्यो र होमिए । आज फर्केर हेर्दा जे कामका लागि जीवनको अमुल्य समय खर्च गरे त्यो सही रहेछ भन्ने लाग्छ । यसले पक्कै पनि खुसी दिन्छ । तर अझै गर्न बाँकी धेरै छ । प्रसिद्ध अमेरिकी कवि रोबर्ट फ्रस्टले आफ्नो अत्यन्त चर्चित कविता ‘स्टपिङ वाई उड्स अन अ स्नोई इभिनिङ’ मा भनेझै ‘माइल्स् टु गो बिफोर आई स्पील’ जस्तो लाग्छ । जीवनको अन्त्यसम्म सहकारी क्षेत्रमा कोशौं लामो यात्रा तय गर्न बाँकी छ ।

कोभिड–१९ को महामारीले वित्तीय सहकारीमा कस्तो प्रभाव पारेको छ ? आगामी दिनहरुमा यस्तो आयातनको आँकलन नेफ्स्कूनले कसरी गरेको छ ?

कोभिड–१९ को विश्वव्यापी महामारीको प्रतिकुल प्रभावबाट अन्य क्षेत्रजस्तै सहकारी र त्यसमा पनि वित्तीय सहकारी अछुतो रहने कुरै भएन । यसको असर लामो समयसम्म रहन्छ भन्ने निश्चितप्रायः छ । यथास्थितिमा त वित्तीय सहकारी सञ्चालनमा ऐन, नियमावली, सरकार, अस्वस्थ्य प्रतिस्पर्धा आदि विविध कारणले कठिनाई उत्पन्न भएको अवस्थामा विद्यमान महामारी कडा चुनौती बनेर उभिएको छ । केही समयपछि यसको प्रकोप न्यून भएपछि पनि संस्थाहरुको तौरतरिका र कारोबारहरुमा आमूल परिवर्तन आउने पक्का छ ।
जहाँसम्म नेफ्स्कूनको कुरा छ, केन्द्रीय संघ भएकोले सबै संस्थाहरुलाई कसरी साथ र सहयोगका आधारमा अभिभावकीय जिम्मेवारी बहन गर्दै अघि बढ्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।

थिलथिलोमा पर्ने संस्थाहरुलाई पुर्नसक्रितयाका साथ सञ्चालन र कारोबार निरन्तरतामा हरसम्भव सहयोग पु¥याउन हामी दीर्घकालीन योजना बनाउँदै छौं । पहिलो काम नै हामीले विपद् व्यबस्थापन कार्यदल बनायौं र १ अर्ब रुपैयाँको प्रारम्भिक कोष पनि खडा ग¥यौं । कोष थप बलियो बनाउन लागिपरेका छौं । कोष सञ्चालन कार्यविधि पनि सञ्चालक समितिले पास गरिसकेको छ । करिब ६ सय सदस्य संस्थाबाट माग भएको छ र अब प्राथमिकताका आधारमा वितरणको काम अघि बढ्दै छ । मैले भन्दै पनि आएको छु, नेफ्स्कून सबै सदस्य संस्थाको सधै साथमा छ, यसलाई कार्यगत रुपमा पनि प्रमाणित गर्दै जानेछौं । हामी आवश्यक सबै संस्थाहरुलाई आपतकालीन सहयोगका अतिरिक्त दीर्घकालीन संरक्षण र सम्बद्र्धन पनि गर्नेछौं भन्ने विश्वास दिलाउन चाहन्छु ।

यसबीच सदस्य संस्थाहरुको माग बमोजिम तरलता व्यबस्थापन, ऋण तथा बचत परिचालन, जोखिम व्यबस्थापन लगायत  विषयमा निरन्तर भर्चुअल प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्यौ । महामारीमा सेवा निरन्तरता, जनशक्ति तथा सुशासन सम्बन्धी १९ बुँदे मार्गनिर्देशन, सहकारी सेवा व्यवस्थापन निर्देशिका जारी गर्नेदेखि लिएर राहत कोषमा सहयोग, वित्तीय परामर्श र मितव्ययीताका साथै व्यक्तिगत सुरक्षा लक्षित श्रव्य सामाग्री निर्माण देखि थुप्रै कामहरु नेफ्स्कूनले गरेको सञ्चारमाध्यमलाई पनि अवगत नै छ । यो समयमा सञ्चालक समिति तथा व्यबस्थापनका सबै साथीहरु अहोरात्र खटिनुभएको छ ।

एक अर्ब रुपैयाँको प्रारम्भिक कोष पनि खडा गर्यौं । कोष थप बलियो बनाउन लागिपरेका छौं । कोष सञ्चालन कार्यविधि पनि सञ्चालक समितिले पास गरिसकेको छ । नेफ्स्कून सबै सदस्य संस्थाको सधै साथमा छ, यसलाई कार्यगत रुपमा पनि प्रमाणित गर्दै जानेछौं । हामी आवश्यक सबै संस्थाहरुलाई आपतकालीन सहयोगका अतिरिक्त दीर्घकालीन संरक्षण र सम्बद्र्धन पनि गर्नेछौं 

सरकारले भर्खरै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई कसरी समेटेको पाउनु भयो ?

कोभिड–१९ महामारीका कारण वित्तीय सहकारी क्षेत्रमा परेको क्षति न्यूनीकरणमा सहयोग पुग्ने केही कुरा बजेटले सम्बोधन गरेन । सहकारीहरुको वित्तीय उद्दार, सहायता र सहयोगका बिषयमा बजेटले केही बोल्ला कि भन्ने झिनो आशा थियो तर पूर्णतः मौन रह्यो । यद्यपि, वित्तीय सहकारीहरुलाई एक अर्कामा गाभिन तथा नवीन प्रविधिको प्रयोग बढाउँदै नगदरहित कारोबार गर्न प्रेरित गर्ने, सहकारी प्रणालीमा जोखिम न्यूनीकरणका लागि कर्जा सूचना केन्द्र स्थापना, सहकारी बचत कर्जा सुरक्षण गर्ने व्यबस्था सँगै कृषि उत्पादन, प्रशोधन, भन्डारण, बजारीकरण र रोजगारीका अवसर सृजनामा समग्र सहकारी क्षेत्रको परिचालनको सैद्धान्तिक विषय प्रवेशलाई सकारात्मक रुपमै हेरेका छौं ।

भलै कार्यान्वयनमा जटिलता र अल्झनका सदाबहार समस्या त छदै छन् । बजेटमा जति विषयहरु समेटिएका छन्, तिनको जगमा उभिएर स्थानीय, प्रदेश र संघीय सरकारसँगको निरन्तरको बहस पैरबीलाई थप सघन बनाउँदै के कति उपलब्धि हासिल गर्न सकिन्छ भन्नेमा हामी प्रयत्न गर्दैछौं । कालो बादलमा चाँदीको घेरा खोज्दैछौं ।

नेफ्स्कूनले जोड दिदैं आएको स्तरीकरण कार्यक्रम र स्थिरिकरण कोषका सम्बन्धमा भएका पछिल्ला कामहरु के के हुन ?

स्तरीकरण कार्यक्रमलाई संगठित, वैज्ञानिक र व्यबस्थित ढंगले अघि बढाउन  नेफ्स्कूनमा छुट्टै सदस्य सेवा विभाग छ । उक्त विभागले देशभरका सबै वित्तीय संस्थाहरुको गुणस्तर सुनिश्चिताका राष्ट्रिय अन्तर्राष्टिय कार्यक्रममा सहभागीता वृद्धि र आवश्यक सहजिकरणका लागि थुप्रै दक्ष कर्मचारीहरु परिचालन गरेको छ । तथ्याङ्कले पनि देखाउँछ हाम्रा स्तरीकरण कार्यक्रममा सदस्यहरुको संलग्नताको ग्राफ उकालो लागेको अवस्था छ । यसलाई थप व्यबस्थित र चुस्त बनाउन हामी प्रयासरत छौं । तपाईलाई एउटा जानकारी गराउ, यो महामारीका बेला हाम्रो सञ्जालबाहिर रहेका थुप्रै वित्तीय सहकारीहरुले स्तरीकरण कार्यक्रमको महत्व बुझेर जोडिन ढिलो गरेछौं भनेको अवस्था छ । यसले हाम्रो कार्यक्रमको प्रभावकारीता थप वृद्धि गरेको छ ।

जहाँसम्म स्थिरिकरण कोषको कुरा छ, यो नेफ्स्कूनको एक्लो र आन्तरिक कार्यक्रम होइन । जसरी हरेक सहकारी संस्थामा जगेडा कोष हुन्छ, त्यसैगरी, सबै सहकारी संस्थाहरुको  साझा जगेडा कोषको रुपमा काम गर्ने यसको नेतृत्व सहकारी ऐन र नियमावली मातहत रहेर मात्र नेफ्स्कूनले गर्ने हो । तपाईलाई थाहै छ, सहकारी ऐन २०७४ को दफा १०३ र सहकारी नियमावली २०७५ को नियम ७४ मा यो कोष, कोष सञ्चालन समितिको व्यबस्था र योगदानका सम्बन्धमा उल्लेख छ ।

त्यसका केही बैठहरु बसेका छन्, कोष सञ्चालन कार्यविधि सहकारी मन्त्रालयबाट पारित पनि भैसकेको छ, कोषमा रकम जम्मा गर्न बैंक खाता पनि खोलीसकेको अवस्था छ । कोष खडा गर्न आवश्यक न्यूनतम १० करोड रुपैयाँको जोहो पनि भैसकेको छ । यसका विषयमा सबै सहकारीहरुलाई जानकारी गराउन काठमाडौंमा भेला पनि गरिसकिएको छ, उपत्यका बाहिर भेला गर्ने कार्यक्रम बनिसकेको अवस्थामा लकडाउन भएकाले रोकिएपनि अब वैकल्पिक उपायहरुबाट पनि तदारुकताका साथ काम अघि बढ्छ । यी दुवै विषय सहकारीको दीगोपना र साखसँग जोडिएका विषय हुन भन्नेमा कुनै आशंका छैन ।

कोष सञ्चालन कार्यविधि सहकारी मन्त्रालयबाट पारित पनि भैसकेको छ, कोषमा रकम जम्मा गर्न बैंक खाता पनि खोलीसकेको अवस्था छ । कोष खडा गर्न आवश्यक न्यूनतम १० करोड रुपैयाँको जोहो पनि भैसकेको छ । यसका विषयमा सबै सहकारीहरुलाई जानकारी गराउन काठमाडौंमा भेला पनि गरिसकिएको छ, उपत्यका बाहिर भेला गर्ने कार्यक्रम बनिसकेको अवस्थामा लकडाउन भएकाले रोकिएपनि अब वैकल्पिक उपायहरुबाट पनि तदारुकताका साथ काम अघि बढ्छ । यी दुवै विषय सहकारीको दीगोपना र साखसँग जोडिएका विषय हुन भन्नेमा कुनै आशंका छैन ।

नेफ्स्कून र राष्ट्रिय सहकारी बैंक बीचको कार्यगत एकता कसरी अगाडी बढ्ला ?

हामी एक अर्काका विरोधी होइनौं, सहयोगी हौं । राष्ट्रिय सहकारी बैंक नेफ्स्कूनको पनि बैंक हो । स्वस्थ्य प्रतिस्पर्धाका विषयहरु पनि होलान तर हेरक तह र तप्कासँग सहकार्य र मित्रवत् व्यबहार गर्न सिकाउने सहकारीको मुलभूत सिद्धान्तलाई पनि बिर्सन्न हुन्न । अरुसँग त मिलेर जानुपर्ने हामी बैंकसँग साझा विषयहरुमा एक भएर जानुपर्छ भन्ने हो । सहकारीको पैसा सहकारीभित्र भनिरहेको अवस्थामा सहकारी बैंक हामी सबै सहकारीको बैंक हो । त्यही भएर बन्दाबन्दीको एक महिना बितेपछि बैशाख १७ गते हामीले वित्तीय व्यबस्थापनका लागि एक सहमति पत्रमा हस्ताक्षर गर्यौ । सेवा, नीतिगत बहस पैरबी र प्रविधि विकासका के कस्ता पक्षमा मिलेर अघि बढ्न सकिन्छ भनेर साङ्गोपाङ्गो अध्ययनका लागि दुवै संस्थाबाट प्रमुख कार्यकारी अधिकृतहरु पदेन सदस्य रहेन गरी मेरै संयोजकत्वमा कार्यदल बनाएको यहाँहरु सबैलाई विधितै छ ।

दुबै संस्थाले वित्तीय कारोबारको व्याजदरमा एकरुपता कायम गर्ने र वित्तीय उपलब्धतालाई सहज बनाउन विपद् ब्यवस्थापन केन्द्रीय तरलता कोष सुरुवात गर्ने सहमति भए अनुरुप काम अघि बढेको छ । यसले देशभरका आम सहकारीकर्मीहरुमा उत्साहको सञ्चार भएको मैले पाएको छु । सहयोग र सहकार्यका सम्भावनाहरु सकारात्मक दिशातिर अघि बढ्दै जाने मैले ठानेको छु । त्यसबाहेक आ–आफ्ना गतिविधि र कारोबारहरु त छुट्टै छदैछन् ।

सहकारीमा युवा र प्रविधिको विषय एकदम जोडिन्छ । सहकारीमा युवा र प्रविधि दुवैको अवस्था कमजोर छ जस्तो लाग्दैन ?

आशिंक सत्यता छ । तर कुरा के हो भने पछिल्लो समय धेरै सहकारीहरु बैंक    तथा अन्य वित्तीय संस्थाको भन्दा ठूलो कारोबार गरिरहेका छन् । दक्ष जनशक्तिहरु सहकारीमा भित्रिएका छन्, किनभने ती सहकारीले वृत्ति विकास, सेवा र अवसरमा राम्रो फड्को मारेका छन् । कर्मचारीका रुपमा मात्र होइन, सेयरधनी र सञ्चालकहरुमा पनि युवाहरुको प्रवेश बढ्दो छ । महिलाहरुको पनि आकर्षण बढ्दो छ । त्यस्तै ती सहकारीले नवीनतम प्रविधिहरु पनि भित्राएका छन् । नेफ्स्कूनले पनि यो समयमा प्रविधिमा फड्को मारेको छ । आज एटीएम, क्यूकार कोड सेवा, मोबाइल बैंकिङ, बील भुक्तानी जस्ता प्रविधिमा आधारित सेवामा वित्तीय सहकारीहरुको पहुँच बढ्दो छ ।

हामीसँग केही कानूनी जटिलताले गर्दा खोजेजस्तो फड्को मार्न नसकेको मात्र हो । सहकारीहरु सक्षम नभएर भन्दा पनि राज्य र सम्बन्धित निकायहरुले सहकारीलाई हेर्ने दृष्टिकोणमा पुरातन सोच हाबी भएका कारण  पाइलाहरु केही सुस्त लागेपनि हामी छलाङ मार्ने पर्खाइमा छौं । खासगरी हाम्रो सञ्जालभित्र अटाएका वित्तीय सहकारीहरु स्तरीकरण कार्यक्रमको प्रभाव र प्रशिक्षणका कारण पनि आफ्नो संस्थाहरुमा दक्ष युवा र उन्नत प्रविधि भित्राउँदैछन् ।




Leave a comment