लमजुङ, एसएलसी र सहकारी सम्झनाहरु

लमजुङ, एसएलसी र सहकारी सम्झनाहरु :: Sahakari Akhabar

(२०५८ भदौ ६ गतेबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि–नेफ्स्कून प्रवेश गर्नुभएका शिव अधिकारी सम्पूर्ण सहकारी वृत्तमा एउटा चर्चित नाम हो । नेफ्स्कूनको फिल्ड कार्यक्रम अधिकृतका रुपमा चितवन र नवलपरासी जिल्लाको लघुवित्त कार्यक्रम हेर्ने गरी आरम्भ भएको उहाँको सहकारी यात्रा आजसम्म अनवरत र अविश्रामित छ । वरिष्ठ कार्यक्रम अधिकृत हुँदै हाल प्रशासन तथा समन्वय बिभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका अधिकारीले २०६४ साल जेठ ८ गतेदेखि करिब ९ महिना कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको समेत कार्यभार सम्हाल्नुभएको थियो ।

२०४८ साल चैत्र १६ गतेदेखि २०५१ साल जेष्ठ सम्म आफु अध्ययन गरेको र छिमेकी विद्यालयमा अध्यापन गर्नुभएका अधिकारीले २०५१ साल कार्तिक ३ गतेदेखि लगातर ४ वर्ष सहकारी सहायक भएर सेभ द चिल्ड्रन लमजुङ परियोजना, करिब ६ महिना डिप्रोक्स नेपाल नुवाकोटमा सहकारी अधिकृत,  काम गरेका अधिकारीले २०५५ साल मंसिर २० गते बाट २०५८ साल भाद्र ५ सम्म अमेरिकी सहायता परियोजना अन्र्तगत प्याक्ट नेपालमा देशको मध्य र सुदुर पश्चिम क्षेत्रमा महिला शसक्तिकरण सम्वन्धी परियोजनामा समेत काम गर्नुभएको थियो ।

जीवनको उर्जाशील समय सहकारीमा आहुति गर्नुभएका अधिकारी आफुलाई आजको स्थानसम्म पुर्याउन जन्मस्थान लमजुङ, आमाबुबा, गुरुवर्ग, आफन्त र साथीहरुको ठूलो हात रहेको विश्वास राख्नुहुन्छ । २०२६ साल साउन ७ गते मंगलबार लमजुङको भार्तेमा जन्मिनुभएका अधिकारीको जन्मस्थान, मातापिता, गुरु र समवयी साथीहरुसँग जोडिएका केही रोचक प्रसङ्गहरु आजको पुस्ता र सहकारीकर्मीहरुका लागि पनि पक्कै प्रेरणादायी र मर्मस्पर्शी हुने ठानेर यहाँ समेटिएको छ । –सम्पादक )

-शिव अधिकारी
प्रशासन तथा समन्वय विभाग प्रमुख, नेफ्स्कून

कडाउनका कारण अहिले देशभरका ४ लाख ८२ हजार विद्यार्थीहरु एसईई परिक्षामा सामेल हुन नपाएर छट्पटाइरहेका छन् । यसबीच कहिले एसईई परिक्षा चाँडै भइहाल्ने र कहिले एसईइ खारेजी हुने खबरहरु पनि सार्वजनिक भएका छन् । यसले समग्र शिक्षा क्षेत्रमै अन्योल सृजना गरेको छ । एसईईको पक्ष विपक्षका समाचारहरु अनलाईनमा हेर्दै र पढ्दै गर्दा म भने ३५ वर्षअघिको सम्झनामा बहकिन पुगेछु ।

ठीक ३५ वर्ष अघि आजकै दिन अर्थात् २०४२ साल जेठ २६ मैले एसएलसीको फलामे ढोका उत्तीर्ण गरेको थिए । एसएलसीको नतिजा अघिल्लो दिन साँझ सार्वजनिक भएपनि आफुले थाहा पाएको आजकै दिन थियो । आफु उत्तीर्ण भएको समाचारले खुशी थाम्न नसकेको दिन (क्षण) थियो आज  । ती दिन सम्झदाँ आज पनि मन रोमाञ्चित हुन्छ । सम्झनामा ताजै छ–लमजुङ जिल्लाको भार्ते जनमिलन भन्ज्याङस्थित मेरो प्यारो विद्यालय सूर्योदय मा.वि ।

२०४२ साल जेष्ठ २५ गते शुक्रवार साँझ एसएलसी परिक्षाको नतिजा प्रकाशन भएको थियो । मैले भने भोलीपल्ट अर्थात् जेष्ठ २६ गते शनिवार बिहान ७ बजेको रेडियो नेपालको नियमित प्रसारण अन्तर्गतको समाचार (समाचारवाचक दुर्गानाथ शर्मा जो दिवंगत भइसक्नुभयो) बाट मात्र थाहा पाएँ । समाचारले स्वाभाविक रुपमा खुल्दुली बढायो । नतिजा के भयो भनेर निक्कै छटपटी भयो । त्यतिबेला अहिले जस्तो गाउँमा सञ्चार सुविधा थिएन । गाउँभर हल्ला खल्ला मच्चियो, रिजल्ट भयो भनेर । छिमेकी देउराली गाउँको ईश्वरमणि अधिकारी म सँगै परिक्षामा सहभागी हुनु भएको थियो । उहाँ एकाबिहानै भोटे ओडार पुगी गोरखापत्र हेरेर नतिजा लिइ आइसक्नु भएको थियो । गोरखापत्र रातारात भेटेओडार ल्याइपुर्यायको रहेछ । इश्वरमणी सिधै मेरो घरको उपल्लो बाटो राताम्य अविर दलेर बिहान करिब साढे ९ बजेतिर आइपुग्नुभयो । मलाई बाटो बाट बोलाउँदै “शिव, तिमी  पनि पास भएछौं यार” भन्दा म खुसीले तिन वित्ता उफ्रेको थिए । त्यो पनि एक पटक मात्र हो र धेरै पटक उफ्रेको याद अझै ताजै छ ।

७०० पूर्णाङ्कको एसएलसी परिक्षा दिने हाम्रो पहिलो व्याच जिल्लास्तरीय नतिजाको प्रतिशतको आधारमा दोस्रो हुन सफल भएको थियो । व्याचमा उमेरका हिसाबले म सबैभन्दा कान्छो थिए । त्यसबेला जन बिकास मा.वि बेशिसहर लमजुङ एउटा मात्र परिक्षा केन्द्र थियो जसको केन्द्राध्यक्ष श्रीप्रसाद कोइराला हुनुहुन्थ्यो । हामीमध्ये कति जनालाई एसएलसी वा एसईईको परिक्षाकेन्द्रका केन्द्राध्यक्षको नाम थाहा छ ? यो विषय स्मरणशक्तिसँग पनि जोडिएर आउँछ । हाम्रा ज्ञानका दायराहरु हिजोआज संकुचित भएका छन् जस्तो मलाई लाग्छ ।

हिजोआजको जस्तो थिएन त्यो समय । त्यतिबेला एसएलसीको महत्व, पास हुनुको खुसी र त्यसले आफ्नो व्यक्तिगत र सामाजिक जीवनमा पार्ने प्रभावको आयातनमा धेरै अन्तर थियो भन्दा अत्युक्ति नहोला । दुर्गम जिल्लामा अभावका बीच दुःख गरेर एसएलसी पास गर्नुको खुसी शब्दमा अवर्णनीय छ । सूर्योदय माध्यमिक बिद्यालयबाट एसएलसीको दोश्रो व्याच भएपनि परिक्षा उत्तीर्ण गर्ने हामी पहिलो व्याच थियौं । ७०० पूर्णाङ्कको एसएलसी परिक्षा दिने हाम्रो पहिलो व्याच जिल्लास्तरीय नतिजाको प्रतिशतको आधारमा दोस्रो हुन सफल भएको थियो । व्याचमा उमेरका हिसाबले म सबैभन्दा कान्छो थिए । त्यसबेला जन बिकास मा.वि बेशिसहर लमजुङ एउटा मात्र परिक्षा केन्द्र थियो जसको केन्द्राध्यक्ष श्रीप्रसाद कोइराला हुनुहुन्थ्यो । हामीमध्ये कति जनालाई एसएलसी वा एसईईको परिक्षाकेन्द्रका केन्द्राध्यक्षको नाम थाहा छ ? यो विषय स्मरणशक्तिसँग पनि जोडिएर आउँछ । हाम्रा ज्ञानका दायराहरु हिजोआज संकुचित भएका छन् जस्तो मलाई लाग्छ । एसएलसी उत्तीर्ण हुनेमा म र ईश्वरमणि अधिकारीसँगै बामदेव अधिकारी, तेजनारायण अधिकारी र हरि बहादुर अधिकारी हुनुहुन्थ्यो ।

हाल महालेखा परिक्षकको कार्यालयका सह–सचिव बामदेव अधिकारी हामी चारै जनाको काका र अरु ३ जना मेरा दाजुहरु हुनुहुन्थ्यो । पृथ्वीनारायण क्याम्पस पोखराका उप प्राध्यापक ईश्वरमणि अधिकारी गीत, कला, साहित्य, हाईकु, गजलमा बिशेष रुचि राख्ने ख्यातिप्राप्त व्यक्तित्व हुनुहुन्छ । पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षको जिम्मेवारी समेत उहाँले सम्हालिसक्नु भएको छ । इश्वरमणि अहिले गणित बिषयमा विद्यावारिधिको अन्तिम चरणमा हुनुहुन्छ, भने उहाँका २ भाइहरुले पनि अमेरिकाबाट विद्यावारिधि गरिसक्नुभएको छ ।

त्यस्तै, शिक्षण सेवाबाट अवकास प्राप्त तेजनारायण अधिकारी पनि कला, साहित्य, कविता, लेखन र वाचनमा बिशेष रुचि राख्नुहुन्छ । लमजुङे साहित्य समाजको अध्यक्ष भईसक्नु भएका अधिकारीले प्राकृतिक चिकित्सालाई पेशा बनाउनुभएको छ भने लमजुङ जिल्लामा राजनीतिक र सामाजिक क्षेत्रमा पनि बिशेष ख्याति आर्जन गर्नुभएको छ । हरि बहादुर अधिकारी भारतीय सैनिक बाट अवकाशप्राप्त, सामाजिक बिचारका धनी र अत्यन्तै मनकारी व्यक्ति हुनुहुन्छ । मैले पनि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाको अनुभव बटुल्दै नेफ्स्कून जस्तो बिशिष्ट संस्थामा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न सक्नुलाई उपलब्धि नै ठानेको छु । लमजुङको एउटा दुर्गम गाउँको विद्यालयबाट एसएलसी उत्तीर्ण गरे पनि हामी ४ जनानै आ–आफ्ना क्षेत्रमा विशिष्ट पहिचान बनाउन सक्नुका पछाडि त्यो माटोको आर्शीवाद मुख्य कारण हुनुपर्छ भन्ने मलाई लाग्छ । जहाँ गएपनि आफ्नो धरातल बिर्सिनु हुन्न र सदैव पछाडि फर्केर पनि हेर्नुपर्छ भन्ने पाठ यसले हामी सबैलाई सिकाउँदछ ।

स्मरण ( जीवनका पाना पल्टाउँदा )

त्यतिबेला एसएलसी उत्तिर्ण भएको खुशियालीमा अभिभावक भेला आयोजना गरी हामीलाई गरिएको अवीरमाला अहिले शब्दमा बयान गर्न कठिन छ । त्यस समयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मेरा पिता पशुपति अधिकारी र प्रधानाध्यापक वासुदेव शर्मा अधिकारी हुनुहुन्थ्यो । मेरा पिता पटक पटक गरेर ३१ वर्ष विद्यालय व्यबस्थापन समितिको अध्यक्ष भएर काम गर्नुभयो । जीवनमा अरुका लागि हरबखत सहयोग गर्न तयार रहुनपर्ने र सहकारीमय बनाउनुपर्ने प्रेरणा पनि बुबाबाट मिलेको मैले अनुभव गरेको छु । त्यही अबिर लगाउँदै गर्दा मेरा पिताजीले त्यसलाई केबल अबिर मात्र नभएर माटोको आर्शिवाद भएको र त्यसमा पसिना पनि मिसिएका कारण कहिल्यै भुल्न नहुने प्रतिक्रिया दिएको आज म र त्यस घटनाका साक्षीहरुले बताइरहँदा फेरि एक पटक माटोको मायाले भक्कानिएँ । मैले माटोको लागि जे जति गर्न सके त्यो निक्कै कम छ किनभने जति गरेपनि माटोको मायाबाट अघाइदैन । सहकारी क्षेत्रमा समुदायमा जुटिरहने हामीहरुले आफ्नो माटोको आर्थिक, सामाजिक र सांँस्कृतिक समृद्धि र विकासमा सदैव तन मन र धनले लागिरहनुपर्छ भन्ने मलाई लाग्छ ।

तत्कालिन प्रधानाध्यापक वासुदेव शर्मा अधिकारी र हाम्रो खुसीमा साथ र सहभागिता जनाउने कतिपय अनुहारहरु आज भौतिक रुपमा यस धर्तीमा नरहेपनि उहाँहरुप्रति श्रद्धासुमन समेत अपर्ण गर्न चाहन्छु । अहिले जेष्ठ नागरिकका रुपमा गाउँघरकै संरक्षणमा जुट्नुभएका त्यस समयका पौरखी युवाहरुप्रति पनि नमन गर्न चाहन्छु । गाउँको विकास निर्माण लगायत हरेक क्रियाकलापमा सधैं सशरीर उपस्थित हुन नसकेपनि लमजुङको  माया, भावना र विकासका अभिायनसँग सदा अत्यन्त सन्निकट छु र पाउँछु पनि । आफु जन्मेको ठाउँ, गाउँ, मातापिता र गुरुहरुलाई सदैव सम्मान व्यक्त गर्न  आखिर मैले लमजुङबाटै त सिकेको हो नि । सरल स्वाभाव र सहयोगी भावनाको विजारोपण त्यही गाउँले गरायो मलाई । सबैलाई सक्दो सहयोग गर्नु पर्ने बिचारको जन्म लमजुङमै भयो ।

त्यही लमजुङको माटोको देन र अभिभावक अनि गुरुवर्गको आर्शिवाद हुनुपर्छ आजसम्म पनि एक हजार सम्मको गुणा मुखैबाट गर्न सक्षम छु । कक्षा ५ देखि नै साना तिना गुणाका लागि क्यालकुलेटरमा औला थिच्न अभ्यस्त अहिलेको पुस्तालाई यो अचम्म लाग्न सक्छ । आफ्नो जीवनका मुख्य घटना र परिघटनाहरुका मिति मात्र होइन धेरै जनाको फोन र मोवाईल नम्बर मुखाग्र छ । सबै मिति, स्थान र व्यक्तिका नामहरु मलाई यतिका वर्षपछि पनि कण्ठ छ । यी नीजि संस्मरणहरु कम्प्युटरमा लेख्ने क्रममा पुराना डायरीका पानाहरु पल्टाउन परेन । आजका पुस्ता र सहकारीकर्मीहरुले यी कुरामा बिशेष ध्यान पुर्याउनुपर्छ जस्तो लाग्छ ।

सहकारी क्षेत्र आफै पनि समुदायमा आधारित भएकाले पनि हुनसक्छ यसले मेरो सम्पर्कको दायरा फराकिलो बनाउन मलजल गर्यो। अफ्ठ्यारोमा परेकाहरुको सहयोगका लागि सदा तत्पर रहने र अरु सँग पनि सहकार्य र सहयोग माग्न पछि नपर्ने स्वाभाव विकासको आधारशीला निर्माणमा प्रत्यक्ष परोक्ष सहयोग पुर्याउने सबैलाई पुनः एकपटक उच्च सम्मान व्यक्त गर्दै सहकारी कर्मक्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रण समेत गर्दछु ।

एउटा रमाइलो किस्सा पनि यहाँ जोड्न मन लाग्यो । सुर्योदय माविमा मेरा गुरु हुनुहुन्थ्यो धुव्र बहादुर कुँबर । त्यो समयमा उहाँले मलाई “कम्प्युर” भनेर बोलाउनुहुन्थ्यो । त्यतिबेला कम्प्युरटको विषयमा लमजुङको गाउँमा रहेका हामी विद्यार्थीलाई त परै जाओस् धुव्र सरलाई समेत केही अत्तोपत्तो थिएन । यद्यपि, उहाँले कहाँ बाट त्यो नाम मलाई दिनुभयो । हिजोआज धुव्र सरसँग भेट हुँदा त्यो प्रसङ्ग कोट्याउँदै, “त्यतिबेला मलाई कम्प्युटर भनेको के हो, यसले के काम गर्छ, कस्तो हुन्छ भन्ने समते थाहा थिएन तर मैले तिमीलाई किन र कसरी त्यो नामले बोलाए आफै छक्क पर्छु” भन्दा हामी दुबैजना आश्चार्यमिश्रित हाँसो हाँस्छौं । हुनत जीवनमा केही नमीठा र दुःखका दिन पनि आए तर यस्ता अनेकन मीठा रोचक प्रसङ्गहरुलाई मात्र याद गरेर ती बाट शिक्षा लिदैं अघि बढ्ने बानीमा पक्कै धुव्र सरको देन पनि मिसिएको छ भन्ने लाग्छ ।

विद्यालयकाल देखि डायरी व्यबस्थापन गर्ने कलाले आजसम्म निरन्तरता पाएको छ । माता पितालाई अत्यन्त सम्मान गर्ने बानीका कारण धेरैले कलियूगका श्रवण कुमार भनी बोलाउँदा आफ्नो भन्दा बढी गर्व माता पिताको लाग्ने भावनाको विकासमा आखिर त्यही माटो र त्यहाँका आदरणीय व्यक्तित्वहरुको देन न लुकेको छ । आजको पुस्ताले यसलाई दन्त्यकथा मान्न सक्छ । सहयोगको याचनमा सकेसम्म “हुँदैन” कसैलाई नभन्ने बानीकै कारण हुनसक्छ जन सम्पर्कमा विस्तारले नयाँ उचाई कायम गर्न सकेको ।

सहकारी क्षेत्र आफै पनि समुदायमा आधारित भएकाले पनि हुनसक्छ यसले मेरो सम्पर्कको दायरा फराकिलो बनाउन मलजल गर्यो । अफ्ठ्यारोमा परेकाहरुको सहयोगका लागि सदा तत्पर रहने र अरु सँग पनि सहकार्य र सहयोग माग्न पछि नपर्ने स्वाभाव विकासको आधारशीला निर्माणमा प्रत्यक्ष परोक्ष सहयोग पुर्याउने सबैलाई पुनः एकपटक उच्च सम्मान व्यक्त गर्दै सहकारी कर्मक्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रण समेत गर्दछु ।

जीवन र जगतको अनुपमम स्वाद लिन सहकारीकर्म भन्दा उत्तम अरु केही छैन । त्यसका लागि जागिर नै आवश्यक नभएपनि मन र मस्तिष्कमा सहकारी भावना ओतप्रोत हुनुपर्दछ अनि मात्र हामी समाज र राष्ट्र विकासमा भूमिका खेल्न सक्छौं । त्यसको प्रथम पाइलाका रुपमा एसईईको अन्योलमा रहनुभएका सबै विद्यार्थीहरुलाई पनि उज्ज्वल भविष्यको कामना गर्दछु । जय मातृभूमि, जय जन्मभूमि, जय माता पिता, जय गुरुवर्ग र जय सहकारी ।




Leave a comment