नेफ्स्कूनका संचालकको ‘लकडाउन’ स्टेशन

नेफ्स्कूनका संचालकको ‘लकडाउन’ स्टेशन :: Sahakari Akhabar

लकडाउन (बन्दाबन्दी) को समयमा भौतिक उपस्थितिको असमर्थता भएपनि प्रविधिको सदुपयोग गर्दै सहकारीकर्मीको दैनिकीको जानकारी लिने कोशिस गरीरहेका छौं । आमसञ्चारको माध्यम प्रयोग गरी सहकारीकर्मीको दैनिकी बुझ्ने जमर्को गरेका हौं । सबै सहकारीकर्मीहरुलाई एकै मेलोमा मिलाउन सम्भव नभएपनि यो क्रम निरन्तर रहने छ । यस विषम् परिस्थितिमा सहकरी क्षेत्रले के, कसरी सदस्यलाई सेवा पुर्याइरहेको छ । यथार्थता आम जनमानसमा पुर्याउनु हाम्रो कर्तव्य हो । यसै जमर्कोमा यहाँहरुको साथको अपेक्षा पनि गरिएको छ । यसै मेसोमा सहकारी अखबारको तेश्रो भागको लागि रञ्जनमणि पौड्यालले नेफ्स्कूनका संचालक समितिका पदाधिकारीहरुसँग ‘रिमोट कम्युनिकेशन’ को माध्यमबाट तयार गरेको ‘भर्चुअल भक्सपप’ । 

 

‘अवसरमा बदल्ने मौका’ 

परितोष पौड्याल,अध्यक्ष, नेफ्स्कून

व्यक्तिगत स्वास्थ्य र तनाव न्यूनीकरण
‘लकडाउन’ मा रहँदा शारिरिक तन्दुरुस्ती महत्वपूर्ण छ । म नित्य कम्तिमा २ घन्टा व्यायाम, योगा प्रणायाम गर्छु । भास्त्रिका अनुलोमविलोम, प्राणायम सँग जोडिएको छु । यसले शारिरिक तन्दुरुस्तीसँगै बौद्धिक क्षमतामा निखार ल्याएको छ । अनलाईन शिक्षा लिने, मोबाइलसँग जोडिएका खेलमार्फत दिमागलाई सक्रिय बनाउने, युटुबमा गीत संगीत र ज्ञानबद्र्धक चलचित्र हेर्ने गर्छु । सँगै अभियानका कार्यक्रमहरुसँग भौतिक रुपमा सुरक्षित तवरले अनि अभौतिक रुपमा फेसबुक, स्काईप, ‘कन्प्रेन्स कल’ जस्ता बहु–संवादका माध्यमबाट सक्रिय छु । मनोसामाजिक परामर्श, इन्टरनेटको माध्यमबाट आफन्त साथीभाईसँग छोटा वार्तालाप, घरायसी काममा सहभागिता, सृजनात्मक कार्य आदिमा लाग्न सहकारीकर्मीहरुलाई आग्रह गर्छु ।

सदस्य सेवा र कार्यालय व्यबस्थापन    
सुरक्षा पहिलो प्राथमिकता हो । सदस्यहरुका अत्यावश्यकीय वित्तीय र गैर वित्तीय सेवाका लागि सबै तयार रहनुपर्छ । अधिकांश सदस्यहरु सहज र सामान्य अवस्थामा रहनुभएको खबर पाएको छु । अत्यावश्यक सेवामा सबै संस्थाहरुको तत्परता भएपनि सेवाग्राहीहरुको संख्या अहिलेसम्म न्यून छ ।  अर्कोकुरा, बन्दाबन्दी लम्बिएपनि प्रारुप फेरिन सक्छ । मानसिक ‘क्वारेन्टिन’ का लागि तयार रहनुपर्छ ।  पैसा माध्यम बनेर रोग संक्रमणको खतरा बढ्न नदिन संघ संस्थाहरु सचेत हुनुपर्छ । मास्क, पञ्जा, ‘स्यानिटाइजर’ लगायतका माध्यमबाट सदस्यहरुसँग भौतिक दुरी कायम गरी सेवा प्रवाह गर्नुपर्छ । ‘डिजिटाइजेशन’ को सवालमा, संस्थाहरुलाई प्रविधियुक्त वित्तीय साक्षरता (डिजिटल फाइनान्सिङ लिट्रेसी), अनलाईन कक्षा आादि माध्यमबाट अहिलेको चुनौतीलाई अवसरमा बदल्ने मौका प्राप्त छ ।

तरलता व्यबस्थापन
अत्यावश्यक मात्र बचत फिर्ता, लामो अवधिका ठूला ऋणहरु प्रवाहमा कमी र सामान्यभन्दा बढी तरलता तात्कालिक आवश्यकता हो । सहकारीहरुप्रति अविश्वासको स्थिति पैदा हुन नदिई स्थायित्व प्रत्याभूतिको समय हो । नेफ्स्कूनले यसै विषयलाई सम्बोधन गर्न प्रारम्भिक चरणमा १० करोडको तरलता व्यबस्थापन कोष खडा गर्ने विषयमा सघन छलफल अघि बढाएको छ । यसमा आवश्यकताको आधारमा थप्न पनि सकिन्छ । हामी सहकारी बैंकसँग सहकार्यमा जोडिएका छौं भने सरकारी निकायसँगको समन्वय पनि निरन्तर छ ।

आगामी दिन  
‘फोर्सफुल्ली डिजिटल फाइनानान्सीङ’ को युगमा प्रवेश ग¥यौं । यसमा राज्यले अनुमतिसँगै प्रशिक्षित र प्रवद्र्धन गर्नुपर्छ अन्यथा जनता अगाडि राज्य पछाडि पर्छ । हामी युग फड्को मार्दै छौं । । ‘जुम भर्सन’, ‘भिडियो कन्फ्रेन्स’, ‘क्युआर कोड’, ‘डिजिटल वालेट’ जस्ता अनेकन सम्भावनाहरुको ‘फोर्सफुल’ खोजीमा थप सफलताहरु प्राप्त हुनेछन् । अब वित्तीय सुशासन कायम गर्ने ‘ब्राण्डेड’ संस्थामात्रै टिक्न सक्छन् र ती दिगो संस्थाका परिचायक बन्छन् । एकीकरण र स्तरीकरण वा ‘ब्राण्डिङ’ को विषयले थप महत्ता पाउँछन् ।

‘लकडाउन’ स्टेशन
छोरा, छोरी, बुबा र आमा तनहुँमा रहनुभएकाले कामनपा वडा नं १५ स्वयम्भूस्थित घरमा म र पत्नी मात्र छौं । मेरो जन्म २०३४ साल बैशाख १ गते तनहुँमा भएको हो ।

‘सँगै छौ, आत्तिनु पर्दैन’

चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष, नेफ्स्कून

वर्तमान आवश्यकता 
अहिलेको प्रतिकुल अवस्थामा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्छ । बन्दाबन्दीको सरकारी निर्देशन पूर्ण पालना गर्नुपर्छ । वित्तीय विषयनै ‘प्रोटेक्टिभ्’ भएकाले केन्द्रदेखि प्रारम्भिक तहका सबै सहकारीहरुले राहत संकलन, समुचित वितरण लगायतका विषयमा अग्रसरता र अभिभावकत्व लिनुपर्छ । सुरक्षित तवरले सदस्यलाई प्रदान गर्ने वित्तीय सेवा सुचारु गर्नुपर्छ । एकपटकका लागि अनुदान भन्दा पनि योजनाबद्ध हिसाबले संस्थाको स्थायित्वलाई विशेष हेक्का राखी दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्छ । आत्मनिर्भरतालाई खलल नगर्ने गरी वित्तीय सहयोग गर्नुपर्छ । न्यून सदस्यीय दायित्व रहने गरी सरल र सहज रुपमा वित्तीय सहयोगका नवीनतम योजना अबलम्बन गर्नुपर्छ ।

तनाव न्यूनीकरण
अगाडिका सम्भावना कमजोर देख्ने, सकारात्मक सन्देश र सफलताको योजनाभित्र आफुलाई कमजोर पाइयो भने व्यक्तिमा तनाव उत्पन्न हुन्छ । यो समयमा सबै तहका सहकारीहरुले सदस्यहरुलाई सम्भावना देखाउने हो । नेफ्स्कूनले विपद व्यबस्थापन मार्गदर्शन र निर्देशिका जारी गरेको छ । ुस्थानीय निकायमा सहयोग जनाउन र राहतमा खटिन आग्रह गरेको छ । मनोसामाजिक सँगै वित्तिय परामर्शका विषयमा नेफ्स्कूनले श्रब्य सामाग्रीमार्फत सन्देश जारी गरेको छ । तनाव पूर्वका परामर्श, पूर्वाभ्यासका विधिसँगै तनाव मुक्तिका लागि पनि हरसम्भव प्रयासमा खटिन आग्रह गर्दै आफु पनि जुटेको छ ।  दुःखमा सधै साथ छ नेफ्स्कून भन्नेमा व्यावहारिक सन्देश हामीले पनि दिएका छौं, किनभने तथ्यपरक सूचनाको अभाव पनि तनावको हो । यस्तैगरी, अन्य संस्थाहरुले पनि सामाजिक सञ्जाल लगायतका प्रविधिसँग जोडिएर सदस्यहरुलाई तनावमुक्त राख्न हरसम्भव यत्न गर्नुपर्छ । म भने सहकारीकर्मीसँगै सामाजिक अयिभन्ता भएकाले सहकारी अभियानसँगै समसामयिक घटनाक्रमको सघन अध्ययनका अतिरिक्त समुदायमा राहत तथा सहयोगको काममा जुटिरहेको छु । यो बेलामा आत्मकेन्द्रित नभई सुरिक्षत तवरले सामुदायिक सेवामा जुट्न आग्रह गर्छु ।

तरलता व्यबस्थापन
यो हाम्रो मात्र समस्या होइन, यसको समाधानका लागि सर्वपक्षीय सहयोग आवश्यक छ । पल्र्ससँग जोडिएर नियममा रहदै आएकोमा यो संकटको अवस्था भएकाले सञ्चिति अलि बढी आवश्यक छ भन्दा अत्युक्ति नहोला । ठूला र लामा अवधिका ऋणलाई कम गर्नुपर्छ । मितव्ययीता, वित्तीय साक्षरताका विषयमा सदस्यहरुलाई आग्रह मात्र होइन संस्था र संघहरुले पनि परिपालना गर्नुपर्छ । सहकारी बैंक, बाणिज्य बैंक, अन्य वित्तीय संस्थाहरु र राज्यका सम्बद्ध निकायहरुसँग पनि नेफ्स्कून निरन्तर सम्पर्कमा छ–यस विषयमा । हामी सगै छौ आत्तिनु पर्दैन । हतारमा दिने र हतारमा माग्ने काम अहिलेको आवश्यकता होइन । सञ्चित रह्यो भने मात्र वितरण गर्न सकिन्छ । यसका लागि सञ्चालक समिति, पदाधिारी, उपसमिति, व्यबस्थापनको बैठकमा सघन छलफल चलाउनुपर्छ । केन्द्रीय कोषमा तरलता भएको राम्रो हो भन्ने बुझिदिनुपर्छ ।  यस्ता विषयमा नीति कार्यविधि बनाएर आम सहमतिमा अघि बढ्नुपर्छ । नेफ्स्कूनले जारी गरेका सूचना, मार्गनिर्देश, निर्देशिका, अनलाईन सर्भेक्षण फारम यो दिशामा सहयोगीसिद्ध हुन्छन् भन्ने लाग्छ ।

आगामी दिन
निराश हुनुपर्दैन । संकट सधै रहदैन । सम्भावना राम्रो छ । सञ्जाल सहकार्यका माध्यमबाट जस्तोसुकै समस्याको पनि निकास निस्कन्छ । बादलभित्र पनि चाँदीको घेरा रहन्छ । केही समयको गत्यावरोध अन्त्य सँगै हामी पुनः आफ्नो गति र लयमा फर्कन्छौं ।

‘लकडाउन’ स्टेशन
नवलपरासी बर्दघाट सुस्ता पश्चिम वडा नं १ स्थित घरमा ५ जना छौं ।  मेरो जन्म २०२४ सालमा पाल्पामा भए हो ।

 

बचतको महत्व सिकायो

शान्ति अधिकारी, उपाध्यक्ष, नेफ्स्कून

व्यक्तिगत स्वास्थ्य र सदस्य शिक्षा
‘लकडाउन’ लाई पूर्ण पालना गर्नु हाम्रो दायित्व हो । म बाहिर गएकै थिइन, हिजो मात्र बाध्यात्मक अवस्थाका कारण गए । यो बेलामा सहकारीका सदस्यहरुलाई घरमै परिवारसँग बस्न, चिल्लो पिरो नखान, व्यायाम गन आग्रह गर्दछु । किनकि अन्य खालका बिरामीको अहिले उपचारको समस्या छ ।  

सदस्य सेवा र कार्यालय व्यबस्थापन
यसैसँग सम्बन्धित विभिन्न समिति,उपसमितिमा पनि भएकाले आफुसँग प्रत्यक्ष ठोक्किने विषय हो यो । प्राथमिक कुरो सदस्य सेवा हो । बन्द भनेर पुरै बेवास्ता र खोल्ने भनेर लापरबाही गर्न भएन । निश्चित समयावधि र कर्मचारी तोकी स्थानीय प्रशासनको समन्वयमा सेवालाई निरन्तरता दिनुपर्छ ।

तनाव न्यूनीकरण
यतिका दिन कसरी बित्यो थाहा छैन । घरको कामसँगै परिवारको साथ हुँदा तनाव हुँदैन ।  घरको काम गर्ने, टीभी, चलचित्र हेर्ने, पारिवारसँगै बाल्कोनीबाट छिमेकीहरुसँग गफ, तरकारी गोडमोल आदि काममा समय बित्दै छ ।  यस्तै विषयमा व्यस्त राख्न सबैलाई आग्रह गर्दछु । डराउने, आत्तिने आदि नगरौं । त्यस्तै आफन्त, छिमेकी वा कसैमा संक्रमण देखिएपनि त्यो अपराध होइन, गालीगलौज गर्ने, , सामाजिक सञ्जालमा जथाभावी लेख्ने, हतोत्साही बनाउने काम कदापि नगरौं । मेरै छोरा बुहारी नै अमेरिकामा चिकित्सक छन् । बुहारी १५ दिन आइसीयुमा काम गरेर निस्केपछि पनि उनको आत्मविश्वास दरिलो पाए । पूर्वसावधानी अपनाउने विषय हो, स्वास्थ्यक्षेत्रमा काम गर्ने मान्छेलाई हुनसक्छ तर डराउनुपर्दैन भनेर मलाई समेत सम्झाइन् ।

तरलता व्यबस्थापन 
अहिलेको सबैभन्दा ठूलो समस्या हो । खुकुलो भएपछि झन गाहे परिस्थिति आउन सक्छ । संयमित भएर संस्था र सदस्यहरु अघि बढ्नुपर्छ । नेफ्स्कूनले जारी गरेको १९ बुँदे मार्गनिर्देशनका आधारमा सानो र छोटो अवधिको आपतकालीन ऋण मात्र प्रवाह गर्ने, २५ प्रतिशत तरलता कायम राख्ने, सदस्यहरुलाई मितव्ययीताको विषयमा सचेत गराउने हो भने फेरि डराइहाल्नुपर्ने पनि अवस्था होइन । केन्द्रीय सञ्जालहरु पनि सहयोगका लागि तयार छन् । नियमित सम्पर्कमा रहनुपर्छ । कोरोना संकटले बचत कति महत्वपूण रहेछ भन्ने पाठ सबैलाई सिकाएको छ । पुग्ने बेलामा प्रशस्त बचाउनुपर्छ भन्ने अहिले सबैलाई लागेको हुनुपर्दछ ।

बचत ऋण सहकारीका आगामी दिन
बन्दाबन्दी धेरै लम्बियो भने मात्र हो नत्र १–२ महिनाले त्यत्रो असर पार्दैन । कतिपय संस्थाहरु केही घन्टा सेवा दिइरहुनभएको छ । समुदायमा आधारित संस्थाहरुलाई धेरै गाहे नपरेपनि दैनिक संकलकहरु धेरै राखेर काम गर्नेहरुलाई भने समस्या हुन्छ । संस्थाहरुपनि वर्गीकरण गरेर नेफ्स्कूनले थुप्रै निर्देशिकाहरु बनाउने र सहजीकरण गर्नुपर्ने काम छ । सँगै जनशक्ति व्यबस्थापनको विषय पनि छ, तरलताको समस्याका लागि जिल्ला संघ, नेफ्स्कून लगायत उपल्लो निकायले कसरी सहयोग गर्न सक्छ, राज्यको भूमिका कस्तो रहन्छ त्यसले पनि धेरै कुरा निर्धारण गर्छ । यो संकटले योजना, बजेट र लक्ष्य गडबड हुने भएको छ । भाखा नाघेको ऋणको समस्या हुन सक्छ । त्यसैले, यस्ता यावत विषयमा हामी निरन्तर स्थानीय, प्रादेशिक र संघीय सहकारी र सम्बद्ध निकायसँग छलफलमा छौ ।

लकडाउन’ स्टेशन
भरतपुर महानगरपालिका वा ११ पारिजात टोलमा केही दिनअघि सम्म ३ जना रहेकोमा हेटौडा उपमहानगरपालिकामा कार्यरत श्रीमान कामका लागि जानुभएकाले अहिले आमा र छोरी बसेका छौं । पाख्रिवासमा कृषि अनुसन्धान परिषद् (नार्क) मा काम गर्ने छोरी पनि केही दिनअघि मात्र आएकी हुन् । चितवन खैरहनी नगरपालिका कठारमा २०२४ मंसीर ८ गते मेरो जन्म भएको हो ।

 

वेट एन्ड वाच

दामोदर अधिकारी, महासचिव, नेफ्स्कून

व्यक्तिगत स्वास्थ्य र दैनिकी
अहिले व्यक्तिगत, पारिवारिक र सामुदायिक स्वास्थ्यको विषयलाई सँगै लिएर जानुपर्छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका मापदण्डलाई सबै सहकारीकर्मीहरुले पूर्ण पालना गर्नुपर्छ । व्यक्तिगत सरसफाई, मास्क, पञ्जा, स्यानिटाइजरको प्रयोगका विषयमा आफु, परिवार, सदस्य र समुदायलाई उपलब्ध सबै माध्यमबाट सचेत तुल्याउनु पर्छ । म पनि यही प्रयत्नमा जुटेको छु । बिहान ४ बजे सधै उठ्छु, बेलुकी साढे ८ बजेसम्ममा सुतिसक्छु । प्रातःकाल डेढ घन्छा योग प्रणायममा बित्छ । आधा घन्टा कम्पाउन्ड भित्रै हिड्छु, घरमा परिवारलाई फोन गर्छु । समाचार हेर्ने, संगीत सुन्ने, लेखपढ गर्ने अतिरिक्त अभियानका साथीहरु, पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत लगायत व्यबस्थापनका साथीसँग भौतिक अभौतिक रुपमा जोडिन्छु ।

सदस्य सेवा र कार्यालय व्यबस्थापन
सहकारीको मूल, मान्यता सिद्धान्त आत्मसात गर्दै सुखमा मात्र होइन दुःखमा पनि सदस्यको साथी बन्नुपर्छ । सहकारीकर्मीहरुको सामुदायिक दायित्व पनि छ । यो आपत्कालिन अवस्थामा कार्यालय व्यबस्थापन कार्यविधि, मापदण्ड, निर्देशिका आदि बनाएर अघि बढ्नुपर्छ । नेफ्स्कून पनि यसैगरी अघि बढेको छ । सुरक्षामा कुनै प्रकारको सम्झौता नगरी कर्मचारी र सदस्यहरुको मनोवल उच्च राख्न पूर्व सावधानीका हरसम्भव उपाय अबलम्बन गर्नुपर्छ र त्यसमा नेफ्स्कूनले सहजीकरण गर्छ । कुनै पनि सदस्य पैसाको अभावमा भोकै बस्न नपरोस, औषधि उपचार गर्न रकम अभाव नहोस, यसका लागि सदस्यलाई कार्यालयमा बोलाएर हुन्छ कि कर्मचारी घरदैलोमा गएर हुन्छ, सेवा पु¥याउनुपर्छ । मानवीय संवेदनाका मुद्दाहरु किनारामा पर्न हुँदैन । नेफ्स्कून पनि सदैव सदस्य र समुदायको सहयोगमा छ भन्ने विषयमा हामी सचेत छौं । सम्भव भएसम्म स्थानीय प्रशासनको अनुमति लिएर नभए अनलाइन मार्फत पनि नियमित सम्पर्कमा रही अवस्था जानकारी लिनुपर्छ ।  
जोखिम कार्यदलमार्फत स्थानीय निकायसँगको समन्वयमा असहाय, विपन्न, रोगी एवम् दैनिक कमाएर गुजारा गर्नेहरुलाई सहयोगका लागि राहत संकलन, कोष व्यबस्था, एवम् स्वयंसेवी मागका विषय सम्बोधन गर्न सबै सहकारीहरुलाई अनुरोध गरेका छौं । नेफस्कून पनि सबै फिल्ड कार्यालयमार्फत सूचना संकलन गरी सदस्यहरुका माग र आवश्यकताका बारेमा जानकार रहेको छ ।

तरलता व्यबस्थापन
कुनै पनि भविष्यवाण्ी गर्न सक्ने स्थिति छैन । सदस्यहरुलाई वित्तीय परामर्श उपलब्ध गराउनुपर्छ । पैसा अड्कलेर खर्च गर्न सिकाउने मात्र होइन संस्थाहरुले सञ्चालन खर्च कटौती गर्ने, जनशक्ति भर्ना प्रक्रिया स्थगित गर्ने सँगै पूँजीगत खर्च गर्ने बेला होइन यो । नेफस्कूनले बनाए अनुरुप तरलता व्यबस्थापन योजना बनाई कम्तिमा २५ प्रतिशत तरलता कायम राख्नुपर्दछ । नेफ्स्कून यो बेला अभिभावकत्व प्रदान गर्न तयार छ, मार्गदर्शन, निर्देशिकाका साथै अनलाईन सर्भे फारम पनि बनाएर वेबसाइटमा राखेका छौं । त्यसैगरी, अहिले घर कौसी करेसावाबरीमा उत्पादन गर्ने, बढी भएर बिक्री गर्ने विषय पनि अहम् हो । सदस्य एवम् संस्थहरुले वित्तीय योजना परिचालन सही रुपमा गर्ने समय हो ।

आगामी दिन 
वेट वाचको स्थितिम छौ । प्रारम्भिक, जिल्ला, प्रदेशसँगै सम्बद्ध केन्द्रीय निकायहरुसँग निरन्तर छलफलमा छौं । तनाव पछि तङ्ग्रिन केही समय लाग्न सक्छ । सबैको सहयोग, आत्मबल र सुरक्षित अभ्यासको माध्यमबाट समस्या समाधान भई हामी फेरि सक्रियतापूर्वक अभियानलाई अघि बढाउन सक्छौं भन्ने लाग्छ ।

‘लकडाउन’  स्टेशन
श्रीमती र दिदी गाउँमा रहेकाले यो समय ललितपुर मानवभवनमा छोराबुहारी र नाति सँग छु । २०२० सालमा प्युठानको उदयपुरमा जन्म भएपनि हाल बर्दियाको ठाकुरबाबा नपा वडा नं १ मा स्थायी बसोबास छ ।

 

‘चुनौतीहरु चुलिए’

दीपक पनेरु, कोषाध्यक्ष, नेफ्स्कून

व्यक्तिगत स्वास्थ्य र दैनिकी 
सबैलाई परेको समस्या हो यो । व्यक्तिगत स्वास्थ्यलाई हेक्का राख्दै अरुलाई पनि जानकारी गराउने बेला हो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका निर्देशन र मापदण्ड भित्र रहेर आ–आफ्ना ठाउँबाट भूमिकाको खोजी, सहजिकरण र समन्वय गर्दै योगदान गर्ने समय हो । उपलब्ध प्रविधिको प्रयोग गर्दै स्वास्थ्य र समसायमयिक विषयमा चेतना फैलाउने काममा लागेको छु र सबै सहकारीकर्मीहरुलाई पनि आग्रह गर्दछु ।

सदस्य सेवा र कार्यालय व्यबस्थापन
स्वास्थ्य र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनुकुलत मिलाएर, सामाजिक दूरी कायम गर्दै सेवा प्रदान गर्नुपर्ने दायित्व हो । यो समयमा सहकारीले साँच्चिकै सहकारिताको उदाहरण पेश गर्न सक्दा समुदायमा सकारात्मक धारणा विकासमा मलजल गर्दछ । हाम्रो भूमिका र साथले सदस्यहलाई आवश्यक विषय र क्षेत्रमा सहयोग पुग्यो भने त्यो भन्दा राम्रो केही हुँदैन । उपलब्ध विधि, प्रविधिहरुको उच्चतम प्रयोग गरी जहाँ, जसरी र जे सकिन्छ त्यो सेवा दिनुपर्छ । सामान्य अवस्था जस्तो कार्यालय सञ्चालन गर्न भने अझै केही समय लाग्छ ।

तनाव न्यूनीकरण
यसलाई संकट मात्र भनेर अनावश्यक तनाव लिनुभन्दा अवसरको रुपमा सदुपयोग गर्नुपर्छ । परिवारसँग बस्ने, गफ गर्ने, योजना बुन्ने, समस्याहरु केलाउने र सम्भावनाहरुको खोजी गर्ने अवसर जुटेको छ । व्यस्त दैनिकीबाट ब्रेक लाग्दा पारिवारिक सम्बन्धको आयामलाई थप फराकिलो बनाउने मौका मिलेको छ । मेरो समय छोराछोरीसँग विभिन्न खेल खेल्ने, करेसाबारीमै उ्रत्पादन गर्न सकिने काममा जुट्ने, सरसफाइ, खाना बनाउने, गीत संगीत सुन्ने, आदिमा बितिरहेको छ । सबै साथीहरुलाई पनि यसैगरी तनावबाट टाढा रहन आग्रह गर्दछु ।

तरलता व्यबस्थापन
यो प्रमुख समस्या हो । यद्यपि, हिजोको विधि, प्रक्रिया र प्रविधिमा चलेका संस्थाहरुलाई भने खासै समस्या नहोला तर हौसिएर लगानी गरेका, बाटो बिराएकाहरुलाई भने जोखिमको स्थिति छ । यस विषयमा नेफ्स्कूनले अनेकन कोणबाट गहन आन्तरिक, सञ्जाल र सरकारी निकायसँग छलफल चलाएको छ ।

आगामी दिन    
कोरोना संकट निमिट्यान्न हुन समय लाग्छ । चुनौतीहरु चुलिएका छन् र संकट अन्त्य भएपछि पनि समस्याहरु अग्लिन सक्छन् । यसतर्फ सबै सचेत हुनुपर्छ । सोचे अनुरुप निर्वाध र सहज ढंगमा हाम्रा योजना, कार्यक्रम र उपलब्धिहरु हासिल हुन सक्दैनन् ।

‘लकडाउन’ स्टेशन
काठमाडौंको चन्द्रागिरी नपा वडा नं १३ मा आमा, श्रीमति, छोरा र छोरी सहित ५ जनाको परिवार बन्दाबन्दीको पालनामा छौं । अत्यावश्यक कामको लागि भने म सुुरक्षित तवरले स्थानीय प्रशासनको  अनुमतिमा कार्यालयीय काममा सहभागी भएको छु । मेरो जन्म २०३४ साल भदौं २३ गते काठमाडौंमा भएको हो ।

 

‘एक गाउँ, एक उत्पादनमा जोड’

डिबी बस्नेत, निवर्तमान अध्यक्ष, नेफ्स्कून

व्यक्तिगत स्वास्थ्य र सदस्य शिक्षा
‘लकडाउन’ अवधि भर घरमै छु । यो समय देशभरका सहकारीकर्मी साथीहरुका बारेमा प्रविधिमार्फत निरन्तर सम्पर्कमा रहेर उहाँका समस्याहरु समाधानको हरसम्भव प्रयासमा छु । यो समय नेतृत्वका साथीहरुले सूचना र सञ्चारलाई सशक्त बनाउनुपर्छ, धेरैभन्दा धेरै अभियानकर्मीहरुसँग नियमित सम्पर्कमा रहदै यो बेलामा सँगै छौं है भन्ने सन्देश दिनुपर्छ ।

सदस्य सेवा र कार्यालय व्यबस्थापन
सम्भव भए केही समय कार्यालय खोलेर नभए सम्पर्क व्यक्तिहरु तोकेर सेवा पु¥याउनुपर्छ । आवश्यक परेका सदस्यहरुलाई सुरक्षित तवरले पूर्वसावधानीका साथ सम्पर्क व्यक्ति मार्फत घरदैलो सेवा पु¥याएर भएपनि रकमको गर्जो टार्नुपर्छ ।

तनाव न्यूनीकरण 
तनाव लिनुपर्छ भन्ने लाग्दैन । सकारात्मक कुराहरु सोच्ने, लेख्ने पढ्ने र सक्रिय हुने बेला हो । हरेक १ सय वर्षमा यस्तो समस्या आउँछ भनिन्छ, यसको सफल व्यबस्थापन गर्न सबै लाग्नुपर्छ । जहाँसम्म मेरो कुरा छ, मैले यो समयमा दैनिक फेसबुकमा सकारात्मक सन्देश प्रवाह गर्ने ‘स्टेटस’ अपडेट गर्छु । बेलुकी ९ बजे अगाडि सुत्छु, बिहान ३ देखि साढे ३ सम्ममा उठ्छु, योगा गर्छु, घरभित्रै हिड्ड्ल,  सरसफाई र भान्छामा सहयोग, बगैचामा काम, पुस्तक अध्ययन र समाचार अवलोकन गछु । यी काम अरु साथीहरुका लागि पनि सहयोगी नै हुन्छन् भन्ने लाग्छ ।

तरलता व्यबस्थापन
नेफ्स्कूनले भनेको २५ प्रतिशत तरलताको कुरा सही छ । सदस्यहरुलाई वित्तीय परामर्श दिने समय हो । धेरै ठूलो पैसा झिक्ने समय होइन । अहिले घरजग्गा, गाडी र भव्य खर्च गरेर भोजभतेर गर्न पैसा आवश्यक छैन । केन्द्रीय संघहरुले सरकारको पनि सहयोगमा एउटा ठूलो तरतला कोष स्थापनाको लागि पहल गरिरहेका छन् । यसमा देशभरका वित्तीय सहकारीहरुले निक्षेपका रुपमा योगदान गर्दा सबैलाई राम्रो हुन्छ ।

आगामी दिन
नेफ्स्कूनको अनुशासन भित्र बसेर चलेका संस्थाहरुलाई धेरै गाहे पर्दैन । बन्दाबन्दी लम्बियो भने  ऋणहरु नउठ्ने सम्भावना रहेकाले त्यसको व्यबस्थापन गर्नुपर्छ । मलाई लाग्छ, यो अवसर हो पनि सहकारीलाई उत्पादनसँग जोड्ने । वैदेशिक रोजगारीबाट फर्किएका र फर्किनेहरुलाई समेत सहभागी गराई ‘एक गाउँ एक उत्पादन’ को विषयलाई प्राथमिकतामा राख्नुपर्छ । वर्षमा ३० करोडको हरियो खोर्सानी मात्र भारतबाट आयात हुन्छ । यसबाहेक तुरुन्त नोक्सान नहुने, छिटो उत्पादन र बिक्री हुने नगदे बालीमा युवा जनशक्तिलाई जोड्नुपर्छ ।

‘लकडाउन’ स्टेशन
आमा, श्रीमती, छोरा, छोरी सहित ५ जना अहिले मध्यपुर थिमि वडा नं १ लोकन्थलीस्थित घरमा बसिरहेका छौं । मेरो जन्म २०१९ साल फागुन ११ गते रामेछापको बेतालीमा भएको हो ।

 

‘कोरोना ट्रेलर मात्रै’

ऋषिराज घिमिरे, पूर्व अध्यक्ष

वर्तमान आवश्यकता
हतोत्साही बनाउन खोजेको होइन तर ठूला प्रलय र विपत्ति आउन सक्छन् । मान्छेहरु भौतिकवादी भए, नैतिकतावादी र आध्यात्मिक भएनन् । जीवनयापनलाई पुग्ने मात्र कमाई आवश्यक छ, रीसराग  त्यागेर सेवामा लाग्नुपर्छ भनेर प्रकृतिले हामीलाई सिकाउन आएको विपत्ति हो कोरोना । यो ‘ट्रेलर’ मात्र हो । एफ. डब्लु. राइफाइसनले ऋणभन्दा पनि नैतिक मूल्यमा जोड दिएका थिए । अहिले सहकारी शिक्षामा नैतिकता, भौतिक मूल्यका कुरा सिकाएर पहिला मनोवृत्ति (बततष्तगमभ) परिवर्तन गराउन सके जस्तोसुकै विपत्तिमा पनि सहज सेवा दिन सकिन्छ ।

संस्था र सदस्यलाई जीउने कला सिकाउनुपर्छ । सहज अवस्थामा कोही पनि यस्ता कुरा सोच्दैन, युवाले आफु कहिल्यै बुढो हुन्छु भन्दैन । खुसीको कुरा के भने कोरोना संत्रासको आजका दिनसम्म सबै सहकारीहरुको कुुरा सकारात्मक नै आएको छ । सहकारी तालिम शिक्षाका पाठ्यक्रम परिमार्जन गरेर विपत्तिका समयमा कसरी आफु र संस्थालाई सुरक्षित, मितव्ययी, उत्तरदायी र नैतिकवान, इमान्दार बनाउदै प्रतिकुलताको सहज व्यबस्थापन गर्ने भन्ने विषय सिकाउनुपर्छ । अनि मात्रै साह्ै अफठेरो पनि सहन सकिन्छ ।

सदस्य सेवा र कार्यालय व्यबस्थापन
समुदायमा आधारित सहकारीलाई पटक्कै समस्या हुँदैन । सबैलाई एकैपटक अफठेरो पर्दैन । व्यबस्थापक र सीमित कर्मचारीको सहयोगमा सबै सदस्यलाई सम्पर्क गरी उनीहरुको अवस्था बुझ्नुपर्छ । सुरक्षित तवरमा ऋण र बचतको होम डेलिभरी पनि गर्नुपर्छ । आवश्यक पर्यो भने सञ्चालकहरु पनि परिचालन गर्न सकिन्छ । आकस्मिक ऋण, लिने र दिने ब्याजदर परिमार्जन गर्नुपर्छ ।

तनाव न्यूनीकरण
मुल मन्त्र भनेका आफुलाई व्यस्त राख्ने हो । घर डेरा जहाँ रहेपनि बाथरुम, सोफा, बेडरुम, कार्पेट, कम्पाउन्ड सफा गर्ने, भाडा र लुगाधुने, गमलामा पानी हाल्ने, बारी रेखदेख गर्ने, ध्यान गर्ने, जीउ तन्काउने, ‘जगिङ’ गर्ने लगायतका कामबाट व्यस्त राख्ने र शरीरलाई थकन महसूस गराउनुपर्छ । म पनि पछिल्लो समय युटुबमा शिवभक्ति, आध्यात्मिक विषय, विश्व घटना, भोजन बनोटसँगै चलचित्र हेर्ने, घरको काममा हात बढाउने गरिरहेको छु ।

आगामी दिन
यो प्रकोप निमिट्यान्न हुन समय लाग्छ । कोरोना कहरले सहकारीहरु सेवा दिन सक्ने र थेग्ने हदसम्म एकीकरण भएर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । ‘ग्लोबल रिसेसन’ मात्र होइन ‘इकोनोमिक डिप्रेसन’ को समेत अवस्था नआउला भन्न सकिन्न । संयमित भएर कारोवार अघि बढाउनुपर्छ ।

‘लकडाउन’स्टेशन
रामेछापको बाबियाखर्क जन्मथलो भएपनि विगत लामो समयदेखि काठमाडौं महानगरपालिका वडा नं ३२ सुविधानगरस्थित घरमा पत्नी, सहयोगी, नातिनी सहित ४ जना बसिरहका छौं ।




Leave a comment