Sahakari Akhabar

तिमीलाई सोध्दैनन्, किनकी तिमी पत्रकार !

तिमीलाई सोध्दैनन्, किनकी तिमी पत्रकार ! :: Sahakari Akhabar

कठै ! तिमीले सोध्नेहरुले प्रतिप्रश्न नै सही, तिमीलाई सोध्ने कसले र कहिले ? हिँउद बर्खा, भेल बाढी जंघार तर्न सक्छौं ? जीवनका उकाली ओराली कठिन गोरेटाहरुमा थालमा पस्केका शब्दहरुले भोक मेट्न सक्छौ ? प्रतिप्रश्न नै सही ! तिमीलाइ सोध्दैनन्, किनकी तिमी पत्रकार । अक्षरको बगैंचामा शब्दहरुको लटरम्म झुप्पा फले पनि कागजका पाना अनी माइक र स्क्रिनका भित्ताहरुमा समाचार अनि विचारका परिकार पस्किएर जिवन जिउन सक्छौं ? कि कसो ! 
 

-खिलानाथ दाहाल

तिमी राज्यको चौथो अंग, तिमीसंग धेरै जिम्मेवारी छ । तिमीले राज्यको ऐना बन्नुपरेको छ, जनचाहना बुझेर उनको बोली आंैलाले कोर्नु छ, ल्यापटप र डेक्सटपका स्क्रिनहरुमा अनि छपाउनु छ तीनै स्क्रिन र कागजका पानाहरुमा । अनी उनकै आवाजमा बोल्नु छ श्रब्यदृष्य र उही रेडियो तरङहरुमा ।

दैनिकी बिनाको तिम्रो समयको अनिश्चिततालाई चिर्दै झिसमिसेमा रमाउँदै, छक्कालमा छलिइदै छपाइकालागि अक्षरको जोहो गर्न तिम्रा मन मस्तिकहरु पाइलालाई लम्कीइरहेका छन् । किनकी, तिमी पत्रकार । स्वदेश अनी विदेशका कथा ब्यथा कोर्नु छ, अन्धकार र अविश्वासका डल्ला फोर्नु छ ।

शिक्षाको ज्योती छरेर जनचहनाका बादल छिचोल्नु छ । तिमी राज्यको चौथो अंग, किनकी तिमी पत्रकार । बुढा आमा बालाई खाना खानु भो ? सन्चै हुनुहुन्छ ? सन्तानले किन छाडेर गएका ? कती सम्पत्ती छ ? छोरा छोरी किन विदेश गएका ? घरमा दुहुना के छ ? खेतबारी कती छ ? साहुले जग्गा जमिन किन हडपेको ? छोरा बुहारीले पालेनन ? विदेशमा भएका आफन्तलाई केही सन्देश दिनुहुन्छ ? भनी प्रश्नै प्रश्न गर्नु छ, अनि आएको जवाफलाई शब्दको मालामा उनेर सफलताको कथा बनाउनु छ, किनकी तिमी पत्रकार ।

नेपाली आमा बाबुका विदेशीयका सन्तानको दैनिकी उतार्नु छ, तिमीले राज्यका पहिलो देखि अन्तिम अंगै, अंगका कथा, कहानी लेख्नुछ, सुनाउनुछ अनि देखाउनुछ । कसैको जवानीको कहानी लेख्नु छ, कसैको जिवनका रामकहानी लेख्नुछ हरेक जिवका जिब्राका स्वादको पनि वर्णन गर्नुछ । किनकी तिमी पत्रकार । कसैको जिज्ञाशा मेटाउन तिमीले रेडियो तरङमा माइकसंग पौठाजोरी खेल्नुछ त कही सजिएर सिंगारिएर शब्दचित्रमा सिंगै नभएपनि आधा अंग समेटिनु छ, तिमीमै भरोसा छ तीमीमै विश्वाश छ, किनकी तिमी पत्रकार, तिमी राष्ट्रको चौथो अंग ।

दुखीले पोको पारेर साँचेका दुखका, पिडाका पोकाहरु खेलेर तिमीले दुनियाँमाझ पस्कनु छ । नेता ज्युलाई सोध्नु छ देश कहिले बनाउँछौ ? आयातलाई विस्थापित गर्दै निर्यात कहिले गर्छौ ? स्वदेशमै स्वरोजगार सिर्जना गरी बाकसमा लासको सट्टा गाँस कहिले ल्याउने बनाउँछौं ? चुनावमा चर्को स्वरमा चर्चियका बाचाहरु कहिले पुरा गर्छौ ? कालो बजारीको अन्त्य गरी स्वदेशमै उपद्रो उत्पादनको उर्दी कहिले लगाउँछौ ? भनी तिमिले प्रश्नको प्रहार गरी जवाफको जोहो गर्नु छ, किनकी तिमी पत्रकार ।

सवै तह र तप्काकालाई उही अनुरुपको जिज्ञाशा र प्रश्नहरु राखेर जवाफको खुराकले खल्ती भरेर गमक्क गमेर जनताको चाहनाको जिज्ञाशा मेटाउनुछ । किनकी तिमी पत्रकार । दिनभर दिनदुखिका दर्दनाक दैनिकी, दान पुण्य र दयालुका दिनचर्याका अक्षरहरु तिम्रालागि कल्पित चौराषी ब्यञ्जन । किनकी तिमी पत्रकार । आहलमा भैंसी डुलाउने आले दाई देखि आलिशान महलमा रमाउने आन्द्रेका आइज र आइस्योस्का अनि आलुको बोटमा हुर्केर आलु जस्तै जिवन जीएका देखि भालुको जुल्फिमा परेका जुम्रा जमाईराजालाई बेचेर जमेर घरजम गरेका सम्मको रामलिला अक्षररस भर्नु छ, किनकी तिमी पत्रकार ।

भारी बोक्ने भरिया देखि सारी बेच्ने दारीवालाले वारीको बारी पारी पारेको, हर्केको लैनो भैंसी जुनेली रातमा बिर्खेले सुटुक्क टारी झारेको अनी दारी र सारीले छाउपडी र दाईजोको कुरा त्यसैगरी टुहुरा र अवला नारीको कुरा डलर फल्ने बारी बनाएको कुरा, किन यसो गरेको भनी प्रश्न सोध्नु छ, किनकी तिमी पत्रकार । कसैलाई खान नपाएको कुरा, कसैलाई नाङ्गो भएको कुरा, कसैलाई महंगोको कुरा कसैलाई सस्तोको कुरा । कसैलाई होचो अग्लोको कुरा कसैलाई दुब्लो पातलोको कुरा ।

कसैलाई दुख सुखका कुरा कसैलाई, दान धर्मका कुरा । ज्ञानगुणका कुरा कसैलाई विज्ञानका कुरा । कसैलाई नाफा घाटाका कुरा, कसैलाई उदारका कुरा त कसैलाई उद्धारका कुरा । कसैलाई शिक्षाका कुरा त कसैलाई भिक्षाका कुरा । कसैसंग फापका कुरा त कसैसंग अफापका कुरा । सवैलाई केही न केही प्रश्न गर्नुछ, तानाबाना बुनेर रंग भरिकन त्यसमा ज्यान हाल्नुछ । मलजल गरी पलिफाप दिने फल फलाउनुछ, किनकी तिमी पत्रकार ।

कठै ! तिमीले सोध्नेहरुले प्रतिप्रश्न नै सही, तिमीलाई सोध्ने कसले र कहिले ? हिँउद बर्खा, भेल बाढी जंघार तर्न सक्छौं ? जीवनका उकाली ओराली कठिन गोरेटाहरुमा थालमा पस्केका शब्दहरुले भोक मेट्न सक्छौ ? प्रतिप्रश्न नै सही ! तिमीलाइ सोध्दैनन्, किनकी तिमी पत्रकार । अक्षरको बगैंचामा शब्दहरुको लटरम्म झुप्पा फले पनि कागजका पाना अनी माइक र स्क्रिनका भित्ताहरुमा समाचार अनि विचारका परिकार पस्किएर जिवन जिउन सक्छौं ? कि कसो ! 
 



Leave a comment